अरुणबहादुर खत्री नदी
मनको आकाशभित्र चियाउँदा
गीतकार गणेश श्रेष्ठ ‘अपेक्षा’को मनको आकाश नामक गीतसङ्ग्रह पहिलो कृतिको रुपमा २०७७ सालमा प्रकाशित भएको छ । यो गीतसङ्ग्रहमा मान्छेसँगै बस्न सके, महान् सृष्टि मान्छे, जिन्दगी के हो ? मन बुझ्न सकिदैन, बाटो हिँड्दा, झुटहरूको माझ लगायत विभिन्न शीर्षकका ५५ वटा गीतहरू सङ्गृहीत छन् । साहित्यको संवेदनशील विधा हो गीत । लामो आख्यानले वर्णन गर्न नसकको कथा एउटा कविताले भन्नसक्छ, र एक पूर्ण कविताले व्यक्त गर्ने भावलाई एकफाँकी गीतले मुटुसम्म पुग्ने गरी च्वास्स पारेर अभिव्यक्त गर्नसक्छ । यस अर्थमा गीत साहित्यका संवेदनशील र उत्कृष्ट विधामध्ये एक हो । यस्ता हृदयस्पर्शी गीत लेख्ने समकालीन गीतकारमध्ये गणेश श्रेष्ठ ‘अपेक्षा’ एक हुन् । सिङ्गो संसार एक्लै जित्ने रहर छैन मलाई मान्छेको मन जित्न सके पुग्छ ।
यस सङ्ग्रहभित्रको मान्छेसँगै बस्न सके शीर्षकको पहिलो गीतमा अरूलाई लिस्नु बनाइमाथि चढे पनि जिउनलाई यही धर्ती हो जता हिँडे पनि गीतकार अपेक्षाले लेखेका छन् । आफूजस्तै मान्छे अर्को कोही हुँदैन एउटा मनलाई अर्को मनले बुझ्नै सक्दैन, मन बुझ्न सकिदैन शीर्षकको गीतमा उनले लेखेका छन् । अनेकौ आवश्यकता र असन्तुष्टिबिच पनि जीवन आशावादी र गतिशील हुनुपर्छ भन्ने भावलाई मार्मिक रुपमा गीतकारले व्यक्त गरेका छन् । गीतकार अपेक्षाले प्रेममा आफ्नो कठोर व्यवहाप्रति पश्चाताप र लज्जाबोध पनि गरेका छन् ।
धेरै मान्छे आफैँलाई जान्ने बुझ्ने बाठो ठान्छन् अरूलाई होच्याएर बोल्दा आफ्नो जित मान्छन् ।
गीतकार अपेक्षालाई साहित्य मन पर्छ । साहित्यिक रचना लेखेर यसमै डुब्न उनी मन पराउँछन् । स्नातक तहको विद्यार्थी हुँदातिर नै उनका केही गीतहरू पत्रपत्रिकाहरूमा प्रकाशित भएका थिए । गीत, कवितालाई आफ्नो क्षमता, मनस्थितिको आवश्यकता अनुसार गीतकार अपेक्षाले बुझ्न थालेदेखि नै मन परेका रचना सुन्दा वा पढ्दा आफूले पनि त्यस्तै लेख्न सके हुन्थ्योजस्तो उनलाई लाग्थ्यो । उनको यस कृतिभित्रका गीतहरूमा सृष्टि, प्रकृति, जीवन र जगत्प्रति असीम अनुराग, प्रेम र श्रद्धा सघनरुपमा प्रतिबिम्बित भएका छन् ।
अपेक्षाको मानवतावादी विचार समेटिएका गीतमा आफू रित्तिएर पनि अरूको मन भर्नुपर्ने, आफ्नो खुसीको लागि अर्कालाई दुःख दिन नहुने, कसैले इमान बिर्सन नहुने विचार प्रकट भएको पाइन्छ । मान्छे संसारकै सुन्दर सृष्टि भए पनि उसको मन सधैँ पवित्र नहुने कुरा पनि उनले कलात्मक ढङ्गमा बताएका छन् । मेरा हरेक सफलतामा डाहा गर्ने धेरै देख्छु मैले हिँड्ने बाटोभरि पाइलैपिच्छे खाडल भेट्छु भनेर उनले डाहा गर्नेहरू शीर्षकको गीतमा लेखेका छन् ।
थाहा छैन, किन दुख्छ ? मेरो खुसी अरूलाई आफन्तैले पहाड ठान्छन् मेरो सानो गल्तीलाई ।
नियत खराब हुनेहरू शीर्षकको गीतभित्र ठुलो स्वरमा बोल्दा रै’छन् गल्ती छोप्न खोज्नेहरू कपटी मनका हुँदा रै’छन् वनावटी हाँस्नेहरू भनेर अपेक्षाले लेखेका छन् । मनको मान्छे शीर्षकको गीतभित्र तिम्रो लागि जुनतारा झार्छु भन्दिनँ म, आगोमाथि बस्नुपर्छ भन्ने मान्दिनँ म भनिएको पाइन्छ । उनले लेखेका देशप्रेमका गीतहरूमा आपसी कलह र अस्थिरताप्रति असन्तोष पनि देखिन्छ । कुनै व्यक्ति जन्मभूमि छोडेर परदेशिनुको वाध्यात्मक कारण देशमा त्यसको असर आदि उनका गीतमा व्यक्त गरिएका छन् ।
सम्झना मात्रै छोडेर मलाई ऊ कता गयो नि ?
जिन्दगी मेरो घर न घाटको बेहाल भयो नि ।
गीतकार अपेक्षा रेडियो नेपालकै उत्पादन गीतकार हुन् । उनको गीत लेखनको यात्रा साढे दुई दशकभन्दा लामो देखिएको छ । उनले लेखेका धेरैजसो गीतहरूमा माया प्रेम, संयोग वियोगजस्ता माानवीय भावभङ्गीमा पाइन्छ । यसका अलावा जीवन भोगाइका सुस्केरा, राष्ट्रियताको भाव समेटिएको अभिव्यक्ति, प्राकृतिक प्रेम, सामाजिक दायित्व आदिसँग मिल्ने शब्दभाव व्यक्त गरिएका मिठासपूर्ण गीतहरू समावेश गरिएका छन् ।
उनले लेखेका गीतहरू मार्मिक, सुन्दर र प्रभावशाली छन् । गीतकार अपेक्षाले सिर्जना गरेका गीतहरू यस कृतिभित्र बेजोडले कुदिरहेको देख्न पाइन्छ । कविको मन अत्यन्त कोमल हुन्छ, संवेदनशील हुन्छ त्यसैले ऊ सूक्ष्मभन्दा सूक्ष्म कुराहरूलाई नजिकबाट नियाल्न सक्छ । गीतकार अपेक्षाको हृदय भावुक छ । अन्त्यमा उनका अन्य राम्रा राम्रा गीतसङ्ग्रह थपिदै जाओस् भन्न चाहन्छु ।
कृतिः मनको आकाश (गीतिसङ्ग्रह)
गीतकारः गणेश श्रेष्ठ ‘अपेक्षा’
प्रकाशकः गीतकार स्वयम्
संस्करणः प्रथम, २०७७
मूल्यः रु. १९९÷–
पृष्ठः १२८