संस्मरण
२०४६ र जेन जी आन्दोलन
नेपालको राजनीतिक अवस्था जहिल्यै अस्थिर रहेको पाइन्छ । राजा पृथ्वीनारायण शाहको कालमा केही समय स्थिर देखिएको भए पनि त्यो समय युद्धमै खर्चनु परेको इतिहास छ । त्यहीबेला पनि दलमर्दन शाहले राज्य अंश मागेको चर्चा सुन्ने गरिन्छ । यताआएर कहिले दरबारभित्रको दाउपेच त कहिले जेठीरानी र कान्छी रानीको संघर्ष । यसका कारण भाइभारदारहरूलाई विभाजन गर्ने कार्य भयो । आफ्नो पक्षकालाई संरक्षण गर्ने अर्को पक्षकालाई मार्ने र आफ्नो शक्ति सुदृढ गर्ने सिलसिलाकै बिच घटेका हुन् कोतपर्व र भण्डरखाल पर्व । यिनै पर्वहरूबाट जङ्गबहादुरको उदय भयो र निरङ्कुश राणशासनको अभ्युदय हुनपुग्यो । त्यसपछि त बेल्लै संसार बन्यो नेपाली राजनीतिको । हामी विश्व राजनीतिको समय सापेक्ष विकास र पहुँचबाट बाहिरिन पुग्यौ । १०४ वर्षको राणशासनले हामीलाई निकै पुरानो युगमा थुनिरह्यो निकै लामो समय । प्रजातन्त्र २००७ सालमा त आयो भनियो तर विदेशी उद्देश्य बोकेर आयो । त्यो पनि दरबारको कोपभाजनमा पर्यो र पञ्चायती निरङ्कुशताको प्रादुर्भाव हुनपुग्यो ।
हामी निरङ्कुश राजनीतिबाट उन्मुक्ति पाउनका लागि विभिन्न घुम्ती मोड र कुइनेटाहरू
पारगर्दै पञ्चायतका करिव ३० वर्ष गुजादैगर्दा विश्व राजनीति निकै अगाडि बडिसकेको थियो
। हामी पछाडि धकेलिइरहेका थियांै । अगाडि जाने हाम्रा विभिन्न प्रयत्नहरू पञ्चायतले
निमोठी रहन्थ्यो । आज राजनीतिक परिवेश प्रजातान्त्रिक प्रणाली अनुरुप रहे तापनि सोहीअनुरुपको
नेतृत्वको अभाव र भूराजनीतिक प्रभावको कारण नेपाली जनता सिन्की खाँदिएझै खाँदिएका खाँदियै
छन् । भरखर मात्र पनि जेन जी समूहको नाममा देशमा विप्लव भयो । तर यो कतैबाट पढ्दा पनि
परभिाषित हुन नसक्ने र नबुझिने स्तरमा व्यख्या हुँदैछ ।
राजनीतिक परिवेशको
कुरा गर्दा मेरो मन उडेर विगततिर दौडिन्छ । राजनीतिक परिभाषा हुनसक्ने र भएका राजनीतिक
आन्दोलन तर्फ मेरो मन पौढिन्छ । देशमा
सुधारिएको पञ्चायतले शासन गरिरहेको थियो । जनमत संग्रहले
विभाजन गरेको नेपाली जनताको राजनीतिक चेतको द्वन्द्व चलिरहेको थियो भित्रभित्रै । यही
बिचमा संयुक्त जनआनदोलनको खाका बन्यो नेपाली राजनीतिक मैदानमा । २०४६ साल फागुन सात
गतेबाट काङ्ग्रेस र कम्युनिस्टको संयुक्त मोर्चा बनाएर पञ्चायती व्यवस्थाविरुद्ध सङ्घर्ष
गर्ने घोषणा गरिएको थियो । विभिन्न सात वाम (नेकपा माले, माक्र्सवादी, चौथो महाधिवेशन (निर्मल
लामा), मजदुर किसान पार्टी, नेकपा मानन्धर, नेकपा अमात्य, नेकपा वर्मा) को एउटा सशक्त मोर्चा कमरेड सहाना प्रधानको नेतृत्वमा बनेको थियो
।
धन्य भन्नुपर्छ, प्रजातान्त्रिक आन्दोलनका निम्ति शक्ति एकीकृत गर्नु नै पर्ने हुन्थ्यो । विगतमा विश्वेश्वरप्रसाद कोइरालाले कहिल्यै एकता चाहेनन् । गिरिजाप्रसाद कोइराला, सुजाता, आचार्यहरू यतिखेर पनि माले, मसाले र मण्डले एकै हुन् भन्दै थे । लौहपुरुष गणेशमान सिंहले मोहनचन्द्र अधिकारीलाई अभिनन्दन गर्दै ‘नेल्सन मण्डेला’ भने । अफ्रिकामा २८ वर्ष राजनैतिक बन्दी भएर जेलमुक्त भएका थिए नेल्सन मण्डेला । संसारभर काला जातिका मानिसको अहम् र इज्जत निकै माथि चढेको र बडेकोे थियो । बालबच्चा, भरिया, हली, व्यापारी, मालिक, नोकर सबैसित परिचित बनेको थियो नेल्सन मण्डेला नाम । उनी दक्षिण अफ्रिकाका राष्ट्रपति भएका थिए । जनताको अगाध आस्था र भरोसा उनमाथि चुलिएको थियो । यही नामले सम्बोधन गरे गणेशमान सिंहले मोहनचन्द्र अधिकारीलाई । मोहनचन्द्र अधिकारी, नरेश खरेल लगायत कतिपयले १७ वर्ष र केपी शर्मा ओलीलगायत केही अन्यले राजकाजसम्बन्धी अपराधमा १४ वर्ष जेल बसेर भरखर छुटेका थिए । गणेशमान सिंहको यो दूरदृष्टिले अरूलाई उछिन्यो । कृष्णप्रसाद भट्टराई कार्यवाहक अध्यक्ष थिए काँङ्ग्रेसका । उनले पनि गणेशमान सिंहलाई साथ दिए । वर्षाँैदेखिको काँङ्ग्रेस कम्युनिस्टबिचको तिक्तता केही हदसम्म मेटियो । गिरिजाप्रसादहरूको मत हा¥यो । आन्दोलनका निमित्त संयुक्त मोर्चा बन्यो ।
यस विषयमा नेपाली रानीतिका एकजना जानकारले भनेको सम्झन्छु
उनले भनेका थिए “यस्तै मोर्चाको चाहाना पुष्पलालको थियो । मनमोहन अधिकारीको थियो ।
जनमत सङ्ग्रहताका मनमोहन अधिकारीले राखेका पाँच पूर्वसर्त विपी कोइरालाले मानिदिएको
भए देशको राजनैतिक नक्सा नै फरक पर्ने थियो तर त्यसताका त्यो सद्बुद्धि पलाएन । पुष्पलाल, मनमोहन दुवैको बुझाइ
नेपालको भूराजनीतिमा वामपन्थी र काँङ्ग्रेस नमिली धरै छैन भन्ने प्रस्ट थियो । त्यसबेला
यो कुरा काँङ्ग्रेसले बुझेन ।”
यो कुरा सुनेपछि मलाई याद आउँछ नेपाली लोक गीतको
“बुझ्नेले कुरा नबुझेपछि,
मनमा कुरा नलिएपछि
मनमा पिर त पर्ने नै भयो
यो मन यसै मर्ने नै भयो”
आँखिर करिब तिस
वर्षपछि आएर कुरो बुझ्यो काँङ्ग्रेसले । काँङ्ग्रेसले पनि के भन्ने गणेशमान सिंहले
। हाटबजारमा, पसल पसलमा, चिया दोकानमा, मेलापातमा, भरियाले भारी बिसाउने चौतराहरूमा, स्कुल पाठशालामा, कलेज र कार्यशालाहरूमा, भजन मण्डली वा संस्कृतिकर्मीलगायत
कर्मचारीबिचमा पनि कुरा सुरुभएको थियो । यसपाला पक्कै पञ्चायत ढल्छ । अहिलेसम्मका मूल
दुई शक्ति वामपन्थी र काँङ्ग्रेस फुटाएर शासन गरेका थिए राजाले । अब एक भएर जुटेका
छन्, एक भएर उठेका छन् यी शक्तिहरू । मानिसहरू भन्नथाले, ‘यी दुई मिल्दा त पञ्चायत
टिक्दैन, हार्छ ।’
म बहिनी शारदाको विवाहामा रंजनी गएको थिएँ । बहिनीको
विवाह फागुन दुई गते सकेर भाइ लक्ष्मी र म पाँच गते काठमाडौँ आयाँै । बहिनीज्वाइँ पनि
आए । फागुन सात प्रजातन्त्र घोषणा भएको दिन, त्यही दिन आन्दोलन सुरु हुँदै थियो । सबै राष्ट्रसेवक, निजामती कर्मचारी, बैङ्क बित्तीय संस्था
तथा सार्वजनिक संस्थानका
कर्मचारी, शिक्षक, प्राध्यापकलगायतलाई कडा उर्दी थियो । दशरथ रङ्गशालामा
हाजिर
गराउने । आन्दोलनका विपक्षमा जुलुस निकाल्ने । कति मानिसहरू
रङ्गशाला
गए । यता आन्दोलनकारीहरू विभिन्न गाँैडाहरूमा थिए । धेरै कर्मचारी उर्दी पालनातिर लागेनन् । आन्दोलनकारीलाई साथ दिएर चुनौती सामना गर्न तयार भए । हामी पनिरङ्गशाला गएनौँ । रत्नपार्कमा आन्दोलनकारीका साथमा रह्यौँ ।
म सोच्न थाल्छु यसक्षण ‘चेतनाको गर्भबाट अभिलाषाको जन्म
हुन्छ । यो अभिलाषा जातको शिशु जन्मदै धेरै शक्तिशाली भएर जन्मन्छ । सतिसालझँै हुन्छ
यो अभिलाषा । छेकेर छेकिन्न । थुनेर थुनिन्न । सिएर सिइन्न । मारेर मर्दैन । यो अभिलाषा
भन्ने चिज जन्मिसकेपछि अजम्बरी हुन्छ । मर्ने भए यो ‘स्पार्टकस’भन्दा अगाडि मरिसक्थ्यो
। अझ भनौँ “सुकरात”को वीरत्वपूर्ण मृत्युसँगै यो सिद्धिन्थ्यो तर अहँ, सिद्धिदैन । यो भेल हो
चाहनाको । यसले ठुला बाँधहरू, ड्यामहरू भत्काएर निकास लिन्छ । यो दुबो हो जीवनको फैलिएर
धरती ढाक्छ । यो हावा हो मूल्यको यो सारा जीवनमा सर्वत्र व्याप्त हुन्छ । कहाँ थुन्नु
? कहाँ मार्नु ? कहाँ निषेध गर्नु् !
निषेधको प्रयत्न केवल आफ्नो सत्ता र स्वार्थरक्षाको रहर मात्र हो, भत्किन्छ त्यो रहँदैन
अजम्बरी भएर सत्ताको स्वार्थ । अतः अभिलाषाका मार्गमा रोक्न वा टोक्न आउने सबै नष्ट
हुन्छन्, भएका छन् । संसारको मानव इतिहासमा यही लेखिएको छ । यही भेटिएको छ । यही नै देखिएको
पनि छ ।
म यहाँनेर भरखर भएको
जेन जी विद्रोलाई मनन गर्छु । के यो पनि चेतनाको गर्भबाट निसृत अभिलाषाको जन्म लिएर
भएको विद्रोह हो ? मेरो मन अल्मलिन्छ । जवाफ पाउन नसक्दै मनले अर्को प्रश्न तेस्र्याउँछ । यो विद्रोहले
प्राप्तगर्ने लक्ष के हो ?
भैरहेको राजनीतिक प्रणालीको विरुद्ध हो कि ! शासकीय शैलीको सुधारका निमित्त यो
प्रयत्न भएको हो ? मेरो मनले निश्कर्ष सुनाउँछ शासकीय शैली सुधारको माध्यम आमचुनाव हो, प्रणाली परिर्वनको माध्यम
विद्रोह । यो परिघटनाले प्रणालीमा के सुधार गर्छ वा
गर्यो । जवाफ निकाल्न मेरो दिमागले सक्दैन र यसको निस्कन
सहज छैन पनि ।
म विगततिरै फर्कन्छु ‘हामीले देख्ने, भेट्ने र महसुस गर्ने
कुरामात्र हाम्रालागि चेतना अभिव्यक्तका माध्यम हुन् । समाज विकासमा सामाजिक चेतका
किरणहरू कति गहिराइसम्म पुग्छन् त्यसको परिणामको स्तर त्यही अनुरूप कमजोर, दरो, बलियो वा अविचल हुने
हुन्छ ।’
यस प्रसंगमा
एकजना नेता भन्दै थिए “नेपालमा विभिन्न कालखण्डमा भएका समयसापेक्ष एवम्् मानवोचित परिवर्तनका
राँका पूरा बल्न नपाउँदै निभेका विगत
छन् । मात्र सानामसिना झिल्काको प्रकाशमा स्वतन्त्रताको
आकार, रूप र सार नियाल्नु परेको छ । हो कि होइन ? को द्विविधामा मानव चेतना फैलाउनुपरेको छ । यस्तो
परिवेशमा यो एक्काइसाँै शदीको अन्त्यमा विश्व मानव चेत विकासले सगरमाथाको उचाइ छोइसक्दा पनि हामी सगरमाथाका देशका मानिस, सगरमाथाका फेदमा बत्तीमुनिको अँध्यारो व्यहोरिरहेका छौँ । यसपटक हामीलाई पनि विश्व मानव चेतसित जोड्नेगरी नवयुगका सारभूत मूल्यमान्यता सुहाउँदा नयाँ सोच र प्रावधानसहितको व्यवस्था चाहिएको छ । संसारका प्रजातान्त्रिक अरू मुलुकहरूजस्तै हामीलाई पनि हामीले छानेका मानिसले हाम्रा निमित्त शासन गरुन् भन्ने छ । ‘अफ द पिपुल, बाई द पिपुल, फर द पिपुल’ सुनेको पढेको थुप्रै समय बिते । अब्राहम लिङ्कन नामका काला जातका मानिसले १९ आँै शताब्दीमा भनेको यो कुरा हामीले एक्काइसौँ शताब्दीमा महसुस गर्न पाएका छैनाँै, पाउनुपर्छको दरो आस्था आज हाम्रा मनमा गाँसिनुपर्छ । सबै पेसा व्यवसायका मानिसहरू जुर्मुराउनुपर्छ ।” उनले भनेजस्तै भयो । मानिसहरू जोडिए, गीत बज्न थाल्यो ।
“गाउँ गाउँबाट
उठ
बस्ती बस्तीबाट
उठ
यो देशको मुहार
फेर्नलाई उठ”
गीतले डो¥यायो मानिसहरूलाई । डोरिए मानिसहरू । फागुन सात गते नैदोहोरो भिडन्त भयो ठाउँठाउँमा । हामी संलग्न भएको रत्नपार्क भएर गुड्ने सरकारी गाडी र पदाधिकारीहरू आन्दोलनकारीका निशानामा परे । भागे देशका शक्ति हत्याएर बसेका पदासीनहरू ! सुरक्षाकर्मी परिचालित गरिए । यस्तै चारैतिर सबै गौँडामा सुरक्षाकर्मी र आन्दोलनकारीबिच झडप भयो । यो सुरक्षाका विषयमा हाम्रा अगुवा विद्यार्थी नेता भन्दै थिए । “साथीहर नडराउनु होला । हामी सुरक्षित हुँदै, जोगिदै आन्दोलनमा सरिक हुनुपर्छ । कसैले हाम्रो सुरक्षा गदैन । सत्तामा बसेकाका लागि हो सुरक्षा त ! हेर्नुहोस् ! राज्यमा जो छ, पदमा जो बसेको छ, उसको निगाहाको आहारा खाएपछि उसकै सुरक्षा गर्छ सुरक्षाकर्मीले । अरूको त के सुरक्षा हुनु ! हुँदैन आम मानिसको सुरक्षा ! सडकमा हिँड्दै गरेको मानिस अनाहकमा कुटिएको छ, लुटिएको छ ! परिश्रम गरेर गुजारा गर्ने मानिस हरेक पाइला पाइलामा हेपिएको छ, ठगिएको छ, शोषणमा परेको छ, दबिएको छ ! नाबालक केटाकेटी हराएका छन्, चोरिएका छन् ! नवयौवना चेली लुटिएका छन् ! विदेश पु¥याएर नारकीय जीवन जिउन कोठीमा बेचिएका छन् । उनीहरू नारकीय जीवन जिउन बाध्य छन् । बाध्य पारिएका छन् ! देशमा उद्योगधन्दा खुलेका छैनन्, रोजगारी छैन, विदेश पलायन हुँदैछ युवाशक्ति । आशाको एउटा मात्र भरोसा विदेश कमाउन गएको घरको मियो काठको बाकसमा फर्कन सक्छ । हिजो जीवन धान्न बाध्य भएर लडाई लड्न फौजी बनेर गएको हाम्रो दाजुभाइले शाहदात भएर फर्किएको हामीले देखेकै छौँ । त्यतिखेर ! वृद्ध आमाबाबुको सहारा, नवयौवनाको जीवन शृङ्गार, लालाबालाको भविष्य सबै खोसिएको बोध भएकै छ ! सबै भरोसा सकिएपछि निराकार अँध्यारो बाहेक केही बाँकी रहन्न । कहाँनेर सुरक्षा छ त मानव जीवनका सकस भित्र ? छैन सुरक्षा ! आफ्नो सुरक्षा आफँै गर्नु मात्र विकल्प हो । राज्यले सुरक्षा दिन सक्नु पर्ने त हो, तर देश लाचार छ । आफ्नै सुरक्षामा सीमित छ सरकार । यसै कारण हाम्रो यो आन्दोलन हो । हामीले आफ्नै रक्षा कवच लगाउनुपर्छ अब ।”
आन्दोलन मच्चियो, आन्दोलन निस्तेज पार्न मरिचमानसिंह श्रेष्ठ सरकारको कडा निर्देशन भयो । सबै राष्ट्रसेवक कर्मचारी अनिवार्य कार्यालयमा उपस्थित भएर पूरै समय काममा खटिनुपर्ने भयो । कर्मचारी कार्यालय गए पनि काम गर्ने माहौल रहेन । हरेकका बिचमा आन्दोलनको चर्चा हुन्थ्यो । बिहानबेलुका जुलुसमा राष्ट्रसेवक हुन्थे । म राष्ट्रिय बाणिज्य बैङ्क योजना तथा अनुसन्धान विभाग टेकुमा कार्यरत थिएँ । आफ्नो क्षेत्रमा आन्दोलनको माहौल बनाउन म कोसिसरत थिएँ । गायत्री आचार्य (माधव नेपालकी श्रीमती) हामी सँगै काममा थिइन् । उनका विषयमा माधव नेपाल वा त्यो स्तरको नेताकी श्रीमती हुन् भन्ने त थाहा थिएन मलाई तर शंकरदेव क्याम्पस पढेकी, त्यहाँ विद्यार्थी नेतृको भूमिका खेलेकी, उतै झापाकी हुन् भन्ने जानेबुझेको थिएँ मैले । म सहयोगको निमित्त उनीसित नजिक हुनखोज्थेँ । उनी अलि तर्कन्थिन् । सायद भूमिगत शैलीको कारण त्यसो भएको होला भन्ठान्छु ।
म विभागमा विभागीय प्रमुखको सर्कुलरविरुद्ध फरक मत लेखेर जितेका कारण अघोषित नेताजस्तो भएको थिएँ । आन्दोलनमा विभागीय प्रमुख श्यामलाल चित्रकारले रोकावट गर्लान् भन्ने लागेको थियो । त्यसो भएन । उनी अलि अलि गर्दै मेरो नजिक हुँदै “तपाईं त नेता हो कि के हो ?” भन्नथाले ।
बिचार र चेतनाले मानिसलाई एकाकार बनाउँछ । सानामसिना
फरक बुझाइ र असमझदारीहरू पनि बृहत् उद्देश्यले हटाइदिन्छ । यस्तै भयो श्यामलाल चित्रकार
र
मेरोबिचमा पनि । उनी मसित आन्दोलनमा सहभागी हुनथाले
। उनी प्रजातन्त्रप्रेमी
रहेछन् । वेलावेला भन्ने गर्थे उनी, “खरेलजी यसपटक प्रजातन्त्र
पक्कै आउँछ हो ?” म आउँछको आशा भरिदिन्थेँ र भन्थेँ, “कसरी नआउला र सर ! दुवै शक्ति मिलेपछि ।”
विभागमा स्वभावजन्य हिसाबले जागिर खाएपछि काम गर्नुपर्छ
भन्ने कृष्णमणि आदिबाहेक अमिरालक्ष्मी तुलाधर, मोहनप्रसाद गौतम, प्रमोद रिजाललगायत ठुला हाकिम
आन्दोलनको खासै विपक्षमा नरहेपछि हाम्रो विभाग आन्दोलनमा होमिएकै स्तरमा रह्यो ।
आन्दोलनमा हिँड्नेलाई थाहा हुने कुरा हो । २०४६ सालको
जनआन्दोलन पनि नागबेली आकारमै हिँड्यो । हरेक आन्दोलन सिधा रेखाबाट मात्र हिड्न
गारो हुन्छ । यो पनि यस्तै भयो । फागुन सात गते सुरु भएको आन्दोलन सुरुताका एकदुई हप्ता
निकै तातेजस्तो भयो अनि फेरि सेलाउँदै गयो । मानिसलाई एकोहोरो दैनिकीले विकर्षण गर्छ
भनेझँै पुलिससितको दैनिक पौँठेजोरी, अश्रुग्याँस, लाठीचार्ज र गिरफ्तारले
आन्दोलनकारीको बल घटेको, पञ्चायतको बल बढेको अवस्था
बन्यो । यो दुईको द्वन्द्वमा एक कमजोर हुँदा अर्काे बलवान् देखिने सामान्य नियमभित्रै
पथ्र्याे ।
हामी अफिस जान्थ्याँै दिनमा । बिहानबेलुका आन्दोलनमा कुद्थ्यौँ । कति भोकै हुइन्थ्यो । कति तिर्खै । सबैथोक भ्याउनका निमित समय नहुने । बाहिर खाना खान पैसा नहुने । एकदुई छाक नखाएर के हुन्छ र ! आन्दोलनमा कति मानिसहरूले अश्रुग्याँस खाइरहेका छन् । कतिले कुटाइ खाएका छन् । कति थुनिएका छन् । आजसम्म त हामीले यै खाना मात्र न त्यागेका छौँ आन्दोलनका निमित्त । कहिलेकाहीँं थोरबहुत चन्दा दिएका छाँै बस्, यति हो हाम्रो योगदान । बिहानबेलुका हिँडेका छाँै जुलुसमा । पोस्टर टाँसेका छाँै, वाल पेन्टिङ गरेका छौँ, यति त हो हाम्रो भूमिका आन्दोलनका सन्दर्भमा ।
आन्दोलनमा पोस्टर टाँस्ने कुराको पनि हरेकपटक कथा थपिने
गर्छ । २०४४ सालको कुरा हो । शोभियत संघको युक्रेनमा चेर्नाेविल आणविक भट्टी विस्फोटनमा
परेर विकिरण फैलिएको थियो । त्यहाँबाट आयात गरिएको पाउडर
दुधमा विकिरण छ भन्ने हल्ला चल्यो । विराटनगर नगरपालिकामा ध्रुवनारायण प्रधान प्रधानपञ्च
थिए ।
विराटनगरबाट आन्दोलन उठ्यो र देशभर फैलियो । हामी विकिरणयुक्त दुधको विरुद्ध बागबजारमा वाल पेन्टिङ, पोस्टरिङ गर्दै थियौँ । जागिर खानेहरूलाई साढे नौबजेसम्म मात्र काम गरेर जाने कुरा भएको थियो । हामी कर्मचारीजति ९.३० मा हिँड्यौँ । हामी हिँडेको दश मिनेटमा पुलिस हस्तक्षेप भएछ । जगन्नाथ खतिवडा, सुवास श्रेष्ठलगायत साथीहरू गिरफ्तार भएछन् । निकै समयसम्म थुनिए । उनीहरूलगायत अरूहरूले निकै धेरै गणना हुने स्तरको आन्दोलनमा योगदान पुर्याएका छन् । हामीले त केवल सहयोग मात्र गरेका त छौँ नि !
म सोच्न पुग्छु
त्यसक्षणको देशको अवस्थाको विषयमा । अघिल्लो वर्षदेखि नै नेपाल भारत सीमाका दुई नाकाबाहेक
अरू सबै नाका बन्द गरिएका छन् । उर्जा सङ्कट छ देशमा । सहरबजारमा चुल्हो बाल्न मट्टितेल
छैन । विगत एक वर्षदेखि हप्तामा एक दिन बिहान दुई बजे उठेर मट्टितेलको लाइन बस्नुपरेको
छ । परिवार सङ्ख्या हेरेर दुईदेखि चार लिटर मट्टितेल पाइन्छ हप्तामा । अरू महिना त
त्यस्तै उस्तै हो हिउँदका चिसाको सास्ती व्यहोरी नसक्नु छ । डोरीमा जर्किन छिराएर आलोपालो
रुङ्दै रात गुज्रन्छ । हात गोजीमा वा खोकलीमा हालेर तताउनुपर्ने । गङ्ग्रिएर हातले
केही नसमाउने । जीवन जिउन उर्जाको विकल्प छैन आम मानिसका निमित्त ।
“यो नाकाबन्दी किन रे ?” जर्किन सार्दै गरेकी
वर्ष साठीजतिकी बुढी आमैले बिँडीको धुवाँ फुक्दै भनिन् । एकजना युवाले जवाफ दियो “के
हुनु नि आमै, अस्ति हतियार चीनबाट ल्याए रे राजाले । यस घटनाले भारत रिसाएको छ रे, अनि नाकाबन्दी गरेको
रे ।” त्यो यु्वाले आफ्नो बुझाइप्रति कसको के प्रतिक्रिया छ, यसो नियाल्यो । अर्काे
अधबैँसे पुरुष बोल्यो “कहाँ त्यति मात्र हो र ! सोनिया गान्धीलाई पशुपतिमा क्रिस्चियन
भनेर पुजारीले पस्न नदिएको रिस पोखेको रे ।”
“साँढेको जुधाइ बाच्छाको मिचाइ भनेको यही हो ।” आफ्नो
रित्तो ग्यालन अगाडि ठेल्दै एक अर्काे बुज्रुक बोल्यो । अघि पहिले बोल्ने बुढीमान्छे
बिँडी तान्दै हाँस्ने भएकी धुवाँ सर्केर खोक्न थालिन् । निकै सकस भयो उनलाई । पानी
पिउन भन्नथाले कसैले । कोही चैँ ‘यो बुढेसकालमा के तानेको होला त्यो बिँडी’ भन्दै थिए
। बल्लतल्ल बुढी मानिसको खोकी रोकियो । रालसिँगानले लेपिइन् ती वृद्धा । मैले सम्झिएँ, ‘सन्तान थरीथरीका ।’
मैले कतै पढेको थिएँ । राजा महेन्द्रको पालामा २०२७, ०२८ सालमा पनि
भारतले नेपालमा नाकाबन्दी लागाएको थियो रे । राजा महेन्द्रले
भारतीय हस्तक्षेपको विरुद्धमा सीमाक्षेत्रमा पुनर्वास खोलेर भूतपूर्व सैनिकहरूलाई
राखेका रे । यस्ता कुरा हुन्थे मानिसहरूका बिचमा । अझ कतिले त अघिल्लो दिन सकुशल रहेका
राजा महेन्द्र
कसरी मरे ! यो रहस्यमय छ भनेर पनि भने । उपचार गर्न भनेर भारतीय डाक्टर आएका थिए भन्ने कुरा यत्रतत्र सुनिन्थ्यो । “उनीहरूले नै विष खुवाएर मारेका हुन्, बुझ्यौ !” कुरा सुनिरहेका अर्का एक व्यक्ति बोले ।
शैलेन्द्रप्रसाद उपाध्याय परराष्ट्र मन्त्री थिए । केही
समय अगाडि हामी गुरुङ्नी दिदीकोमा टिभी हेर्न जाँदा टेलिभिजनमा कराउँदै थिए, “भारतको सदाशयता चाहिएन
हामीलाई । ऊ आफैँ विकासोन्मुख देश आफ्नै विकास गरोस् । हामी आफैँ सक्षम छौँ देश चलाउन
।” उनको प्रस्तुतिमा निकै आक्रोश थियो । मरिचमान सिंह श्रेष्ठ प्रधानमन्त्री थिए ।
उनले तेस्रो देशबाट इन्धन आयात गरेर यो मट्टितेल बाँडेको भन्थे मानिसहरू ।
“यो भारत हाम्रो छिमेकी, यसले कहिल्यै हाम्रो भलो गर्दैन । यसलाई पर सार्न पनि सकिँदैन । तीनतिर सीमा जोडिएको छिमेकी सुरसाको जत्रो मुख बाएर बसेको छ नेपाल खान । अलि पहिले सिक्किम खायो ।” अलि ठुलो जर्किन भएका विद्वानजस्ता देखिने मानिसले भने । त्यसताका भारतमा सिक्किम विलय गर्न ल्यान्डुप दोर्जे जन्मिए सिक्किममा । तिब्बतलाई चीनले आपूmमा मिलायो । पाकिस्तान विभाजन भएर बङ्गलादेश बनेको थियो । असन्तुष्टि र विग्रह एवम्् विद्रोहले शासन व्यवस्था मात्र परिवर्तन हुँदैन । भूगोलमा राज्यको औचित्य र हैसियत पनि नामेट हुनपुग्दछ । तीनतिर भारतीय सीमा नभएर कुनै एकतिरको सिमाना अर्कै देश भएको भए बेग्लै हुन्थ्यो नेपालको अवस्था । कुनै एकातिर मात्र भारत भएको भए फाइदा हुन्थ्यो भन्ने कल्पना गरेर के गर्नु ! यो नेपालको बाध्यता ‘न निल्नु न ओकल्नुको छ !’
म यस्तै केही सोच्ने क्रममै जनआन्दोलनबारे सोच्न पुगेछु । ‘२००७ सालको प्रजातन्त्र भारतको पहलमा दिल्लीमा त्रिपक्षीय सम्झौता भएर टुङ्गियो । आशय र दुराशयबिच त्यो टिकेन । फेरि भरखर मात्र नेपाली काँङ्ग्रेसको महाधिवेशनलाई सम्बोधन गर्दै भारतीय जनता दल (समाजवादी)का नेता चन्द्रशेखरले चाक्सीबारीमा बल लगाए । पछि उनी भारतका आठौ प्रधानमन्त्रीसमेत भए । रामायणमा विभिषणले खेलेको भूमिकालाई जति नै धर्म र मूल्यवान् ठानिए पनि मेरो दिमागमा त्यो कार्य राम्रो जँचेन । “भाइ फुटे गँवार लुटे हुन्छ ।” राज्यसत्तामा परम्परागतरूपको निरङ्कुश शासनशैली बिस्थापित भएर जनपक्षीय रूपान्तरण हुनुको विकल्प छैन र होइन पनि । तर राज्यसत्ता परिवर्तन र रूपान्तरणको नाममा विदेशी भरोसा महँगो पर्छ । संसारका राज्यहरू निर्माण र विघटनलाई नै हेरे पुग्छ । आफ्नालागि आफैँ सामथ्र्य निर्माण गरेर परिवर्तन खोज्नुपर्छ । अरूका एजेन्डा बोकेर देश खोक्रो बनाउनुहुँदैन । मेरो मन यसो भन्छ । मलाई यस्ता विषयले बारबार कोतरिरहन्छ । सायद अरूहरूलाई पनि यसरी नै छुँदो हो । कतै विदेशी बलले त आन्दोलन हुँदै छैन ? मानिसहरूका बिचमा प्रश्न उत्पन्न हुन्थ्यो । यसैकारण त आन्दोलन अधमरो हुँदै
चलिरहेको थियो ।
आन्दोलनको गति ओर्लदा नवराज सुवेदी कराए “निभ्न लागेको
बत्तीले छरेको प्रकाश हो अबको आन्दोलन ।” हो, थियो पनि त्यस्तै । मानिसहरू त्रस्त देखिए । तथापि यसलाई
उठाउनुको बिकल्प थिएन । नहोमिनु आन्दोलनमा होमिइ सकियो । सुराकीहरूले सबै रेकर्ड सङ्कलन
गरेका छन् । यस्तो अवस्थामा आन्दोलन हारियो भने भन्नुपर्दैन युद्धमा हारेको युद्धबन्दीको
अवस्थाको कुरा । आङ नै सिरिङ्ङ गरेर आउँछ सम्झँदा पनि ।
आन्दोलन मत्थर हुन थालेपछि भित्री भेला बढी हुनथाले । आन्दोलनमा ‘विदेशी एजेन्डा र सहयोगले हामीलाई कहीँको पनि रहन दिँदैन’ भनेर प्रश्न उठ्यो हलमा । जबाफमा नेताहरू भन्नथाले, “होइन, यो आन्दोलनमा विदेशी एजेन्डा र लगाब छैन । विशुद्ध नेपाली अर्थ र आशय रहेको छ । यी हेर्नुस्, हामी ‘सात वाम एक ठाम’ भएका छौँ । उता नेपाली काँङ्ग्रेस हामीसित सहकार्यमा छ । दुवै पक्षले लौहपुरुष गणेशमान सिंहलाई नेता मानिएको छ । गणेशमान सिंहलाई विश्वास नगर्ने ठाउँ छैन । यता मनमोहन अधिकारीको व्यक्तित्व र झापा आन्दोलनका जगमा उभिएको नेकपा (माले)को शक्तिले यो आन्दोलन नेपालीपन र मनमा अडेको छ । उता फेरि पुष्पलाल श्रेष्ठ जसले कम्युनिस्ट पार्टी स्थापना गरे, उनकै श्रीमती सहाना प्रधानले वामहरूको नेतृत्व गरेकी छन् । मुहानबाट पानी रसाउने हो, उम्रने हो, यो आन्दोलनको मुहान नेपाली हो र छ । उही अलिली मुखको सहयोग जसले पनि गर्छ । जसले पनि लिन्छ । अन्तर्राष्ट्रिय सम्बन्ध भनेकै त्यही हो । हाम्रो परिवारमा झगडा बढ्दा असल छिमेकीले ए यसो नगर, उसो नगर भनेजस्तै हो ।”
आन्दोलन शिथिल
हुँदै गर्दाका आन्तरिक भेलाले निकै ऊर्जा भर्यो । सात वाम र काँङ्ग्रेसद्वारा तय गरिने
कार्यक्रमलाई पर्खदा आन्दोलन अगाडि जान सक्दैनथ्यो । गणेशमान सिंहलाई मानक मानेर तत्काल
कार्यक्रमहरू नेकपा मालेले तयार गर्न
थाल्यो । सुरु सुरुमा यी कार्यक्रम कहाँबाट कसरी आए, कसले ल्यायो ? कहाँ अनुमोदित भएजस्ता
प्रश्नहरू उठे पनि गोपालप्रसाद रिमालको आमाको सपना कविताका यी अंश सडकभरि छरिए ः
“हेरौंला,
त्यो हुरी भएर आउने छ,
तिमी पात भएर
पछ्याउने छौ ।”
कार्यक्रमले
आँधीको रूप लियो, कार्यकर्ता र जनता पातझैँ सोहोरिएर । गणेशमान आफैँले भने, “हामीले नेतृत्व गरेको
भनेको त जनताले हामीलाई डो¥याए । जनता अघि अघि, नेता पछि पछि ।” लौह पुरुषको यो आत्मस्वीकृतिले पनि अवस्था प्रस्ट पार्न मद्दत
गर्दछ । ‘जताततै देशभरि सडकभरि पेटीभरि’ नवजागरण सन्देश प्रवाह गर्न सफल भयो आन्दोलन
।
मुर्झाएको आन्दोलन उठाउन, साँढेका शरीरमा, पञ्चायतविरोधी ब्यानरले
एउटा बिम्बको काम ग¥यो । गधाको शरीरको व्यङ्यात्मक प्रचार ब्यानरले पञ्चहरूलाई लाजमर्दाे बनायो । अझ
सडकका छाडा कुकुरमा प्रवाहित आन्दोलनका ब्यानरले पञ्चहरूलाई छाडा कुकुरमा तुलना गर्यो
। यो र यस्तै अन्य कार्यले निभ्न लागेको आन्दोलन जुरुक्क उठ्यो । झन् बिराटनगरमा अधिकारी
दिदीबहिनीलाई सडकमा निकाले पछि वा सहरबजारमा बेलुका आठ बजेपछि एकै पटक बत्ती निभाउने
(ब्ल्याक आउट) कार्यले नयाँ उत्साह थप्यो ।
‘म समाउँछु तिम्रा
हात
तिमी समाऊ मेरा हात
निरन्तर सँगै
हिँडौं हामी
नछुटोस् कहिल्यै
हाम्रो साथ ।’
कति आत्मीय भावले समातिएका थिए ती हातहरू । कति न्याना
थिए ती साथहरू । मलाई आजकल याद आउँछ, मानिस आफ्ना स्वर्णिम भविष्य खोज्न वर्तमान समाप्त हुने
कुराले डराउँदैन । आन्दोलन उठ्दै गयो ।
विद्यालय, कलेजमा उठ्यो
सहरमा उठ्यो,
बजारमा उठ्यो,
हाटमा उठ्यो,
मेलापातमा उठ्यो,
बाटामा उठ्यो,
वनजङ्गल र वस्तुचरणमा उठ्यो,
चिया पसल र घरघरमा उठ्यो
कहीँ रहेन खाली ठाउँ
सर्वत्र उठ्यो ।
आन्दोलनको क्रममा कतिपय जानेर हो कि नजानी हो केही गलत
नारा लेखिएका पर्चा भेटिए । ‘बैङ्कबाट निक्षेप झिकांै, राज्यलाई कर नतिरांै
।’
यस्ता नारा र
भनाइ खराब नियतले हो वा देश र प्रजातन्त्रका बिचको भेद र सीमा नबुझेर हो भनिए, गरिए । त्यस्ता दृष्टिकोणले
प्रजातन्त्र आउँदैन । बरु देश असफल बनाउन सहयोग पुर्याउँदछ । देश नरहे प्रजातन्त्र
केवल भजन गाउने कुरा मात्र हुन्छ । ऋण लागेको टुहुरो सन्तान र देश गुमाएको नागरिकको
पीडा अरूले बुझ्न सक्दैन ।
यस विषयमा एकजना
विद्वानले भनेका थिए “यस्तै तरिका नमिल्दा भरखर मात्र विश्व राजनीतिको एक ध्रुव शोभियत
सङ्घ विघटन भएर चौध टुक्रा भएको छ । मिखाइल गोर्वाचोभ सत्तामा आएपछि उनले स्वतन्त्रता
र खुलापनको नारा दिएका थिए ।
‘पेरेस्त्रोइका’ र ‘ग्लास्तनोस्त’ नामका यी क्रार्यक्रममार्फत
विश्वराजनीतिको ध्यान उनमा परेको थियो । अझ पुँजीवादी विश्वले उनलाई हिरो बनायो । विरोधीले
प्रशंसा गर्दा होसियार हुनु भन्ने चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको भनाइ यहाँ
गोर्वाचोभले खण्डित गरे । परिणामतः शोभियत सङ्घ विघटन भयो । गोर्वाचोभले यो कुरा समय
बितेपछि मात्र थाहा पाए । छुटेको गोली चुकेको निशानजस्तो भयो उनको अभियान ।
‘पेरेस्त्रोइका’ र ‘ग्लास्तनोस्त’ आफैँमा गलत बिचार होइनन् । ७० वर्षको समाजवादी शासनप्रणालीभित्रका ऐजेरु हटाउने उद्देश्य अन्तरनिहित थियो । तर समय कति बलवान् हुन्छ ! सन्दर्भ र परिवेश कति कठोर बन्छ, उनका सदाशयतामा पश्चिमा घनको प्रहारले छताछुल्ल, भताभुङ्ग बनाउँदा उनी हेरेको हेर्यै भए । गेन्नाडी यनायभले गरेको प्रणाली रक्षाले वोरिस एल्सिन जन्मायो । जसले विश्व पँुजीवादलाई एकध्रुवमा शक्तिशाली बनाउँदै शोभियत शक्तिलाई आत्मदाह गरायो । कम्युनिस्ट शासन प्रणालीका एकतन्त्रीय चेतले उब्जाएका एकल नेतृत्व वा भनुँ केन्द्रीकृत शासनप्रणालीको उपचार ठिक ठाउँमा नपरेको कारण शोभियत सङ्घ विघटन भयो ।
शोभियत सङ्घ असफल भयो । यो असफल हुँदा पनि विभिन्न पुराना
राज्य जन्मिए । राज्य लोप भएन तर नेपाल देश असफल बनाइयो र भयो भने यसको समग्र लोप हुन्छ
। निरङ्कुशताविरुद्ध प्रजातान्त्रिक आन्दोलनमा राज्यलाई आघात पुग्ने नारा कसले दिन्छ
? कसले उठाउँछ । बडो दुःखलाग्दो
विषय हो यो ।”
मलाई पनि लाग्छ
यस्ता दृष्टिकोण घातक हुन्छन् देशका लागि । उही नजान्नेले भनेझैँ÷गरेझैँ ‘सौताको रिसले पोइको काख
बिगार्नुजस्तो । खराब साधनले असल लक्ष्य प्राप्त हुन्न भन्ने कुरा अगुवाले समयमै सचेत
हुनुपर्छ र अरूलाई त्यसैअनुरूप सुशिक्षित गराई परिचालन गर्नुपर्छ । नत्र त ‘राम भन्न
सकिन्छ काँध थाप्न सकिन्न ।’
हामी काठमाडौँ केन्द्रका मानिस दिनभरि कहिले पाटनतिर, कहिले कीर्तिपुरतिर, कहिले बालाजुतिर हुँदै २० चैत्रपछि काठमाडाँैका मूल सडकतिर बृहत् जुलुसमा हुन्थ्यौँ । कतिपय कर्मचारीले बैङ्कका वा अन्य कार्यालयका झ्यालबाट हेरेर हामीलाई अभिवादन गर्दथे । मलाई देखेर आँैलाले उ...महेश भनेर देखाउँथे । सहरका घरघरका बरन्डा, छत र झ्यालहरूबाट आन्दोलनको समर्थनमा मानिसहरूको ताली गुञ्जन्थ्यो । चैत्रको खडेरीले तातेको धरतीमा किञ्चित थकान नगर्ने आन्दोलनकारीलाई हौसला दिन,
घरघरबाट पानीका जार, लोहटा, झारी, अंखोरा र गाग्रीलगायतबाट
पानी सिञ्चन गर्दथे । हामी पानीको सगुन शिरले ग्रहण गर्दै भित्री सहरका सडकहरू, गल्लीहरू छिचोल्दथ्यौँ
।
म यहाँनेर रोकिएर अहिलेको परिवेशमा उभिन चहान्छु । भरखर
जेन जीको नाममा देशमा ठुलो आन्दोलन भयो । मानिसले परम्परागत रुपमा बुझ्ने गरेको आन्दोलन
जस्तो यो आन्दोलन थिएन, भएन । हुनसक्छ यो समय परिवर्तन भएर पनि होला । हामी पुराना मानिसले बुझ्न अप्ठ्यारो
परेको । त्यस दिन राष्ट्रिय वाणिज्य बैङ्क बाँनेश्वरमा खास काम थियो मेरो । आन्दोलन
हुने भनेपछि त्यता जाने नजाने द्विविधामा परेर कसैजानकार व्यक्तिलाई सोध्न पुग्छु ।
‘आन्दोलन त छ तर, त्यो शान्तिपूर्ण हुन्छ भनिएको छ । फेरि त्यो माइतीघर परिसरमा केन्द्रित
हुन्छ
रे । ’
मैले यस्तो जानकारी पाएपछि आफ्नो काम बानेश्वर हुँदै
डिल्लीबजार चारखालसम्मको भएकोले जाने निधो गरेँ । श्रीमती सरु र म त्यता हिँड्यौ ।
राष्ट्रिय बाणिज्य बैङ्कको काम नसकिँदै माइतीघरमा शन्तिपूर्ण हुने भनिएको आन्दोलन अलिक
अनियन्त्रित हुँदै बानेश्वर आइपुगेपछि सुरक्षाकर्मीको निर्देशन बमोजिम हामी डिल्लीबजार
जाने सिधाबाटो परिवर्तन गरेर पुरानो बाँनेश्वर हुँदै मैतिदेवी भएर चारखाल पुग्यौँ ।
त्यहाँको काम नसकिँदै मालपोतका स्टापले भने ‘संसद भवनमा आन्दोलनकारीहरूले धावा बोलेपछि
गोली चल्यो बानेश्वर संसद भवन परिसरमा । मानिस हताहती भए । कफ्र्यु लाग्यो ।’
हामी महा अचम्ममा पर्यौ । आन्दोलन सुरुभएको दुईघण्टा
नाघेको छैन, के भएको होला यस्तो । अगाडि चैत्र १५ गते पनि यस्तै भएको थियो । मामा नारदमणि उप्रेती
बितेको पाँच दिन भएको थियो । म, सरु र लीला दिदी सिधा लिए कुलप्रसाद दाइको
घरमा कृयापुत्रीहरूलाई भेट्न पुगेका मात्र थियौं ।
‘लौ तीनकुनेमा गोली चल्यो । मानिस हताहत भए । कफ्र्यु लाग्यो ।’ मोवाइलमा हेरेर मानिसहरूले
भने । हामी किंकर्तव्यविमुढ भएका थियौँ । जेनतेन बाटो छल्दै जोगिँदै मुस्किलले घरपुग्दा
थाहा भयो । दुई जनाको ज्यान गएछ । आगजनी लुटपाट भएछ । कोटेश्वरमा रहेको भाटभटेनी सुपर
स्टोरमा क्षति पुर्याउनुका साथै लुटपाट भएको भिडियो प्रसारित हुन थाल्यो । कस्तो अचम्म
राजालाई पुनः स्थापित गराउने आन्दोलनमा भव्य जनसमर्थन लिएर चलाइने आन्दोलन किन यस्तो
उग्र बन्यो होला भन्ने मनमा परिनै रहेथ्यो । अझ आन्दोलनकारीहरूका कतिपय समूह तोडफोड
आगजनी र लुटपाटमा लाग्नु राजनीतिक मूल्य मान्यता विपरीत अराजक हुनु हो । अराजकता भनेको
नेतृत्वको नियन्त्रण नहुनु वा नियन्त्रण गुमाउनु हो । त्यस्तै लागेको थियो दुर्गा प्रसाई
नेतृत्वको त्यो आन्दोलन ।
आजको यो भाद्र २३ गतेको आन्दोलन सिधै संसद भवनमा कसरी
पुग्यो । माइतीघर मण्डलामा शान्तिपूर्ण रुपमा संचालन गरिने भनेका आन्दोलनकारीहरू सुरक्षा
निकाएका ब्यारिकेड तोडेर कसरी त्यहाँ पुगे । म अचम्ममा परेँ । जेनतेन काम सक्न लागेका
बेला छोरा अग्रिमको फोन आयो । “नयाँ बानेश्वर भएर घरजान सकिँदैन,
त्यसकारण मम्मी पापाहरू ! पुतलीसडक हुँदै भद्रकाली, त्रिपुरेश्वर, थापाथली, शंखमुल हुँदै घरजानु
होला ।”
हामी छोरा अग्रिमले भनेको बाटो पछ्याउँदै घर पुग्यौ
। घर पुगेर टिभी खोल्दा पो थाहा भयो । १३ जना बालकको ज्यान गइसकेछ । कयौं अन्य हताहत भएका
छन् । जानकारी आउन बाँकी छ । घाइतेहरू त कति हो कति ! भनीसाध्य छैन । सबै अस्पताल घाइतेहरूले भरिएका छन् । म स्तब्ध भएँ । सरुले निरास र हतास हुँदै भनिन् “लौन यो के हुन लागेको हो देशमा ! मानिसको मूल्य त कौडी बराबर पनि भएन । बिचरा ती बालकहरू ! हेर तिनीहरूका आमालाई कस्तो बज्र पर्यो । अनाहकमा ती स्कुले बालक ! त्यहाँ किन गएका होलान् ! कसले बहकाएर लग्यो तिनलाई त्यहाँ ? के आमाहरूले आफ्ना बच्चालाई आन्दोलनमा यसरी आफैं पठाउन सक्छन् ? वा कसैले बहकाएर लग्यो ।”
सरुका कुराले पिरोलिएर म थप सूचना प्राप्त गर्न थाल्छु
। मैले बुझेको
व्यहोरेको राजनीतिक आन्दोलनभन्दा यो अलि फरक प्रकृति
वा प्रवृतिको लाग्छ मलाई । म पुरानै आन्दोलनको एउटा भङ्गालोमा अल्झिन पुग्छु ।
म सम्झन्छु २०४६ साल चैत्र २३ गतेको कुरा । गणेशमान सिंहले वीर अस्पतालबाट विज्ञप्ति जारी गरे । “आन्दोलन जारी छ; आन्दोलन सहमतिले रोकियो, सरकार परिवर्तनले आन्दोलनकारीका माग सम्बोधन भए भनेर भ्रम फैलाइएको छ । जबसम्म म आन्दोलन रोकियो भन्दिनँ, आन्दोलन रोकिंदैन । भोलि २४ गते अपरान्ह खुला मञ्चमा आमसभा गर्ने । त्यहीँबाट प्रजातन्त्र पुनः बहाली भएको घोषणा गरिनेछ ।”
लौह पुरुष आन्दोलनका सर्वमान्य कमान्डर गणेशमान सिंहद्वारा
जारी विज्ञप्ति सुनिसकेपछि सबै आन्दोलनकारीहरू नारा लगाउँदै आआफ्ना निवासतर्फ लागेँ
। भोलि पक्कै प्रजातन्त्र आउनेमा अब शंका रहेन । काँङ्ग्रेसले बिचमा कुरा सिध्याउनसक्छ
भनेर वामहरू सशङ्कित देखिन्थे । गणेशमानले वामहरूलाई आफ्नो निष्ठामा विश्वस्त रहन आश्वस्त
पार्थे ।
प्रयोग हुने साधन र प्राप्त हुने साध्यका बिच र विषयमा
कहिलेकाहीँ खास तालमेल नभएर संसारमा कैयौँ आन्दोलन, विग्रह, विद्रोह दबिएका छन् ।
कैयाँैको तालमेल ठिक भएर सफल भएका छन् । मूलतः लक्ष्यप्राप्तिको विषय र सीमा अनि त्यहाँ
पुग्ने साधन र यात्राबिचको संयोजन ठिक मिल्नु अनिवार्य हुन्छ । २०४६ सालको जनआन्दोलनले
साधन र साध्यको बाटो ठिकै लिएको थियो । यसर्थ त पञ्चहरू पर्दा पछाडि पुग्दै थिए ।
२४ गते चैत्रमा देश जुर्मुराइरहेको थियो । मरिचमान सिंहको
सरकार हटाएर लोकेन्द्रबहादुर चन्दको सरकार बनेको थियो । आन्दोलनकारीसित वार्ता गर्न
राजाले सीमा तोकेर केही अधिकार दिएका थिए । खाना खाएर ठिक १० बजे फाइनल आन्दोलनका जुलुसहरू
निक्लिए । हामी टेकुबाट जुलुसमा मिसिएर त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, भित्रबाट सहरैसहर राजदरबारअगाडि
पुग्यौँ । मसित मेरा विभागीय प्रमुख श्यामलाल चित्रकार दिनभरजसो हात समातेर आन्दोलनमा
सहभागी थिए । मानिसहरूको समर्थन व्यापक थियो ।
इन्क्लाब – जिन्दावाद
प्रजातन्त्र– आयो आयो
पञ्चायती व्यवस्था – मुर्दावाद
संयुक्त सङ्घर्ष समिति– जिन्दावाद
वीर सहिद– अमर रहुन् लगायतका
नारा घन्किइरहेका थिए । बिच बिचबाट पम्फादेवी – देश छोड, वीरेन्द्र चोर– देश छोडजस्ता
अस्वीकृत नाराहरू पनि लागिरहेका थिए । दरबारदक्षिण सडकमा सुरक्षाकर्मी र आन्दोलनकारीको
आमनेसामने भयो । निकैबेर तनाब भयो । आन्दोलनकारीहरू ताता सडकमा पलेटी मारेर बसे ।
यहाँनेर म रोकिएर अहिलेको आन्दोलनको
र त्यसबेलाको आन्दोलनको
चरित्रगत फरक छुट्याउन थाल्छु । त्यसदिन त्यसक्षण राजदरबार
अगाडिको मास भयङ्कर थियो । मासको उन्मादमा आन्दोलनकारीहरूले एउटा सानो ढुङगा वा यस्तै
केही चिज दरबारतिर हानेको भए के हुन्थ्यो । सयौं त के हजारौं जना भुटिन्थे
सायद ! अवस्था कल्पनाभन्दा बाहिर पुग्थ्यो । तर त्यसो भएन । आन्दोलनकारीहरू
अनुशासित र संयमित रहे । त्सैकारण सुरक्ष दस्ताले रोक्दा प्रतिवादमा उम्लिएनन् । थपक्क
ताता पिच सडकमा बसे । शान्तिले नै सबै मार्ग बनाउँछ । तर त्यो निरन्तर हुनुपर्छ भन्ने
कुरा सत्यझैँ भएको थियो । महात्मा गान्धीले यसैलाई आफ्नो विजयको आधार बनाएका रहेछन्
भन्ने बोध हुनपुग्यो ।
अगाडिपछाडि मानिसहरूको असङ्ख्य सङ्ख्या देखेर सुरक्षाकर्मीले अवस्था खुकुलो बनायो । हामी दरबारको दक्षिण सडकबाट त्रिचन्द्र हुँदै खुलामञ्च पुग्यौँ । बागबजारबाट, भृकुटी मण्डपबाट, भद्रकालीबाट, सहिद गेटबाट, वीर अस्पतालतिरबाट अनि असन इन्द्रचोकबाट हजारौँहजार मानिसको भेला भयो खुला मञ्चमा । खुलामञ्च पञ्चायती व्यवस्थाले निषेध गरेको स्थान, सबै मानिस भेला हुँदा माहौल नै बेग्लै बनेको थियो । पहिलोचोटि सम्बोधन गर्न मञ्चमा नेताहरू चढ्दै थिए । रघुजी पन्त उद्घोषण गर्दै थिए । काँङ्ग्रेसका मार्शलजुलुम र हरिबोल भट्टराईले सम्बोधन गरे । विष्णुबहादुर मान्धरले सम्बोधन गरेपछि कृष्णराज वर्माले सम्बोधन गरे । उनले सम्बोधनका क्रममा श्री ५ महाराजाधिराज भनेपछि स्रोतामाझ विद्रोह जन्मियो । मास भड्कियो । राष्ट्रिय जनआन्दोलन संयोजन समितिको नामको पर्चा छरियो । आन्दोलन जारी छ । सरकार परिवर्तन हाम्रो माग होइनलगायत उल्लेख गरिएको पर्चा थियो । मशाल बाक्लो–पातलो, रूपलाल विश्वकर्माको श्रमिक सङ्गठन, शम्भुराम श्रेष्ठको पार्टीलगायतले संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समिति गठन गरेका थिए ।
मास भड्कियो । गणेशमान सिंहको सम्बोधन विज्ञप्ति आइनपुग्दै
रत्नपार्कको पञ्चायत वर्गीय सङ्गठनको कार्यालय (रातो घर) मा आगो लाग्यो । त्रिचन्द्र
क्याम्पस अगाडिको महेन्द्रको सालिकमा आन्दोलनकारीले आक्रमण गरे । सुरक्षाकर्मी (नेपाली
सेनासमेत) ले गोली चलायो । ठाउँको ठाउँ आन्दोलनकारीहरू ढले । कयौं घाइते भए ।
म यहाँनेर अडिन्छु र सोच्नपुग्छु । अपवादबाहेक अनाहकमा सुरक्षाकमीले गोली हान्दैन । कयांैदिनदेखि दिनभर चलेका आन्दोलनमा कहीँकतै सुरक्षाकर्मीको हस्तक्षेप भएको थिएन । मेरो अनुभव भन्छ ‘संवेदनशील क्षेत्र तोकेर सुरक्षा गर्न खटिएका सुरक्षाकर्मीले ती क्षेत्रको सुरक्षा गर्नु उनीहरूको कर्तव्य हो, जिम्मेवारी हो । यो
संसारमा जहाँ पनि हुने कुरा हो । हामी आन्दोलनकारीहरूको एउटा उपाय हुने गर्छ सधँै नै । लामो समयसम्म लान्दोलन गर्दा सफल नहुन पनि सकिन्छ । यस्तो बेलामा आफ्नो बस्तुगत र आत्मगत अवस्थाको परीक्षण गरेर आन्दोलनलाई अन्यत्र मोड्ने गरिन्छ । सबभन्दा पहिले निषेधित स्थानमा प्रवेश गर्ने । यस्ता स्थानहरूमा सुरक्षाकर्मीहरूले ब्यारिकेड लगाएका हुन्छन् । त्यो तोड्न जाँदा सुरक्षाकर्मीले चेताउनी स्वरुप माइकिङ्ग गर्ने, लाठीचार्ज गर्ने, पानीको फोहोरा हान्ने, अश्रुग्यास हान्ने । त्यति गर्दा पनि आन्दोलनकारीको हस्तक्षेप रोकिएन भने सुरक्षाकर्मीले गोली हान्छ । पहिले हवाई फायर गर्ने, रबर्डका गोली हान्ने, भरसक घुँडामुनी हुनेगरी गोलीहान्ने कानुनी अधिकार उनीहरूलाई हुन्छ ।
कहिलेकहीँ प्रचलित कानुनको सीमाक्षेत्र उलङ्घन आन्दोलनकारीहरूबाट हुनपुग्छ । त्यतिखेर सुरक्षाकर्मीको सुरक्षा चुनौती बढेको हुन्छ । उसले कानुनमा तोकिएका प्रावधानको पालना गर्न सक्दैन । कर्तव्य र जिम्मेवारी निर्वाह गर्न एकैचोटि गोली
हान्छ । मलाई लाग्छ त्रिचन्द्र कलेज अगाडि भएको त्यही
हो ।’
म फेरि सोच्छु, यसपटकको माइतीघर मण्डेलामा शान्तिपूर्ण गरिने भनिएको आन्दोलन बानेश्वरस्थित संसद भवन परिसरसम्म कसरी पुग्यो ? त्यहाँ जान निषेध गरिएका सुरक्षा ब्यारिकेट लगाइएका थिएनन् ? थिए भने ती ब्यारिकेडहरू कसरी
तोडिए ? बरिकेडचै तोडिनु तर सुरक्षार्थ खटिएका सुरक्षाकर्मी
र आन्दोलनकारीहरू सहिसलामत हुनु । आन्दोलनकारीले दिनदहाडै संवेदनशील परिसरमा प्रवेश
गर्नु र देशको सार्वभौम संसदमाथि आक्रमण गर्नु । यो नाटकमा मात्र हुने कुरा हो । यथार्थमा
यस्तो सम्भव हुँदैन । तर नेपालमा भयो । कसरी यस घटनाको व्याख्या होला भविष्यले नै बताउला
। मेरो विचारमा आन्दोलनकारीले ब्यारिकेड तोड्न खोज्दा नै वा सुरक्षा घेरा तोड्दा नै
सुरक्षा निकायले कानुनमा उल्लेख गरिएका प्रावधानको प्रयोग गरेर थोरै क्षतिमा आन्दोलन
रोक्न सक्थ्यो । तर त्यसो भएको पाइएन । सरासर संवेदनशील क्षेत्रसम्म आन्दोलन पुग्दा
सुरक्षाकर्मी के हेरेर बसेको थियो ? यस प्रश्नले मलाई कोतरी रहन्छ । यी सबै प्रकारका प्रश्नको
उत्तर नसुझेपछि म फेरि पुरानै सन्दर्भमा फर्किन्छु ।
त्यसदिन अर्थात २०४६ साल चैत्र २४ गते करिव पाँचबजेजसो भएको हुँदो हो । त्रिचन्द्र कलेज अगाडि रहेको राजा महेनद्रको सालिकमा आन्दोलनकारीबाट आक्रमण भएपछि सेनासमेतको गोलीबाट झण्डै दर्जन जत्तिको ज्यान गयो । दर्जनौ घाइते भए । हाम्रो राष्ट्रिय वाणिज्य बैङ्कका खगेन्द्र उप्रेती र प्रेमध्वज कार्की पनि घायल भए । म भाइ लक्ष्मीलाई समातेर त्रिचन्द्र क्याम्पस अगाडि घण्टाघर छेउमा छु । सुरक्षाकर्मीको चेतावनीबिनाको शक्ति प्रयोगले स्थिति नियन्त्रण बाहिर पुग्यो । रञ्जनीका छिमेकी भाइ शंकर ओझा लगायत अरुहरूसित साथ भएर हामी बागबजार हुँदै डिल्लीबजार पिपलबोट पुग्दा उत्तरपट्टि शरदचन्द्र शाहको घर जलिरहेको थियो । हामी लखतरान हुँदै घट्टेकुला डेरा पुग्यौँ । थकाइ एकातिर भोक अर्कातिर भए पनि हाम्रो ध्यान आजको जनधनको क्षति बुझ्नमा गयो । रेडियो, टेलिभिजन सुन्दा र हेर्दा दुई दर्जन बढी मानिसहरूले सहादत प्राप्त गरेछन् । मनमा आक्रोश जन्मियो ।
म आज पनि सोच्ने गर्छुृ त्यो आन्दोलनमा घुसपैठ भएको थियो कि थिएन । मलाई लाग्छ भएको थियो । त्यो आन्दोलन मन नपराउने वा आन्दोलनमा आफ्नो हैसियत सीमित हुने ठान्ने संगठित शक्तिहरूका पर्चा भेटिएकै थिए । नत्र त कृष्णराज वर्माले श्री ५ भनेकै भरमा यत्रो विधि उपद्रो गर्नुपर्ने कारण थिएन । आन्दोलनका कमाण्डरको आदेश नै नपर्खी यो स्तरको घटनाको जिम्मेवारी आन्दोलन आयोजकले लियो । यसैलाई भन्छन् जिम्मेवार नेतृत्व । आफ्नो आयोजनामा कोही अर्कोले घुसपैठ भएर हुन गएको परिणमप्रति आयोजक जिम्मेवार हुनुपर्छ नत्र आन्दोल स्थगित गर्नुपर्छ । यस प्रसंगमा म फेरि अझ पुरानो श्रृखलामा जोडिन पुग्छु । २०४२ सालमा नेपाली काँग्रेस पार्टीले सत्याग्रह सुरु गरेको थियो । त्यहीबेला रामराजाप्रसाद सिंहले सिंहदरबारमा बम पड्काए । काँग्रेसले तत्कालै आफ्नो सत्याग्रह स्थगन गर्यो र भन्यो यो कार्यको जिम्मेवार हाम्रो होइन । पछि भारतबाट यसको जिम्मेवारी रामराजाप्रसाद सिंहले लिए । । हो यसैलाई भन्छन् नेतृत्व ।
आज सोच्छु म ! भदौ २४ गते भएको देशको विध्वंशको जिम्मेवारी
लिने कोही छैन । त्यो बेबारिसेझँै भएको छ । के आन्दोलनको परिभाषा यस्तै हुन्छ । जवाफ
कतै नपाउँदा म पुरानै कुरामा फेरि फर्कन्छु ।
चैत्र २४ को घटनापछि सरकारले देशभर सङ्कटकाल लगायो । तोकिएको समयमा राष्ट्रसेवक कर्मचारीलाई परिचयपत्रका साथ कार्यालयमा अनिवार्य उपस्थित गरायो । २५ गते राति कफ्र्यु उलङ्घनको नाममा सामान्य काम गर्ने श्रमिकलाई पुतलीसडकमा गोली हानेर मारियो । संकटकालका नाममा निकैजना निर्दाेष मानिसले ज्यान गुमाए । २६ गते पनि आन्दोलनले निषेधाज्ञा तोड्यो । २६ गते बेलुका दरबारले आन्दोलनकारीलाई वार्तामा बोलायो । कृष्णप्रसाद भट्टराई, सहाना प्रधान, गिरिजाप्रसाद कोइराला र राधाकृष्ण मैनालीले राजासित वार्ता गरे । पञ्चायतको विघटन र आन्दोलनकारीको मागबमोजिम बहुदलीय व्यवस्था लागु गर्न राजा राजी भए ।
फागुन सातबाट १९ गतेसम्मको पहिलो चरण, फागुन २६ बाट चैत्र १० सम्मको दोस्रो चरण, चैत्र १६ गतेबाट २७ गतेसम्मको तेस्रो चरणको आन्दोलन क्रमशः घोषित हुँदै कार्यान्वयन भयो । अगाडि उचाइमा पुगेको आन्दोलन चैत्रको पहिलो हप्ताबाट ओर्लियो । १० गते पुग्दा लर्बरायो, विशेषतः तेस्रो चरणको प्रारम्भ सुरु भएपछि चैत्र १९ गतेबाट आन्दोलनले रूप फे¥यो । सरकार डग्मगायो । मन्त्रिपरिषद् फेरबदल भयो । गोली चल्यो । जनताको रगत बग्यो । सहिद थपिए । पञ्चायतको विघटन र बहुदलीय व्यवस्थाको स्थापना भयो । चैत्र २७ गते देशभर खुसीयाली छायो । मानिसहरू रमाए । दिउँसो खुलामञ्चमा आन्दोलनकारीहरूले आमसभा गरे ।
समय र सन्दर्भ कति मूल्यवान हुन्छ
। कसैले सिकाउनुपर्दैन, अराउनुपर्दैन । स्वतः स्फुर्त उठ्छ, फैलिन्छ । यसैलाई समूह व्यवहार भनिन्छ । कहिलेकाहीँ
समूहको नेता
हुँदैन । एकअर्काबिचको चेतना, सोच्ने तरिका, बुझ्ने क्षमताले भावनात्मकरूपमा
एकाकार गराइदिन्छ अनि त कसैको निर्देशन अवज्ञा गर्छ मासले, समूहले । त्यस्तै भयो
२७ गते चैत्रमा ! अरू नेताहरूले बोलिन्जेल शान्त रहेको मास गिरिजाप्रसाद कोइरालाले
“यो जनताको जित हो, यो पञ्चहरूको जित हो,
यो राजाको पनि जित हो” भन्ने बितिक्कै मासले हुटिङ ग¥यो । गणेशमानले शान्त
रहनभन्दा पनि मासले मानेन । पद्मरत्न तुलाधर निकै रुचाइएका चर्चित जनपक्षीय रा.प.स.थिए
त्यसताका । उनले निकै जोड लगाए ।
गिरिजाप्रसादले नबोल्ने गरी मात्र मास शान्त भयो ।
वास्तवमा प्रजातन्त्रमा निरङ्कुशतावादीलाई पनि सच्चिने ठाउँ हुन्छ, यसर्थ यो सबैको जित हो भन्नु कुनै गलत थिएन । फेरि त्यत्रो नेताले त्यो नबुझी बोलेका थिए भन्न मिल्दैन पनि । मात्र ठाउँ, परिवेश र सन्दर्भ त्यो बेग्लै थियो । त्यसो नभनेर पनि २७ गते सम्बोधन गर्न सकिन्थ्यो । यस सभामा सर्वोच्च नेता गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, सहाना प्रधान, जे एन खनाल, पद्मरत्न तुलाधरलगायतले सम्बोधन गरेका थिए ।
‘रात बिते अग्राख पलाउँछ’ भनेझँै राजाले बहुदलवादीको नेतृत्वको सरकार गठन गरेनन् । बरु राजा अल्पमतमा परे रे ! दरबारमा भन्ने हल्ला आयो । नेपाल प्रज्ञा–प्रतिष्ठान भवनमा कार्यरत लोकेन्द्रबहादुर चन्द सरकारलाई आन्दोलनकारीहरूले ढुङ्गा र इँटाले हानेर हटाउनुप¥यो । अनि मात्र आन्दोलनका कमान्डर गणेशमान सिंहलाई सरकार बनाउन राजाले आग्रह गरे । गणेशमान सिंहको त्यो सगरमाथाझैँ चुलिएको व्यक्तित्वले सरकारमा जाने इच्छा देखाएन । बरु सहकर्मी कृष्णप्रसाद भट्टराईलाई सिफारिस ग¥यो र वैशाख ०३ गते २०४७ मा बहुदलीय व्यवस्थाको सरकार कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा गठन भयो । सहाना प्रधान, झलनाथ खनाल र नीलाम्बर आचार्य वामपन्थीबाट सरकारमा गए । डाक्टर मथुरा श्रेष्ठ र पूर्व अर्थ सचिव देवेन्द्रराज पाण्डे आन्दोलनकारी नागरिकको तर्फबाट मन्त्री भए । महेन्द्रनारायण निधी, योगप्रसाद उपाध्याय, मार्शल जुलम शाक्य काँङ्ग्रेसबाट मन्त्री भए । अच्युतराज रेग्मी र केशरजङ्ग रायमाझी दुईजना राजाले मनोनित गरेका थिए । भट्टराई सरकारलाई दैनिक प्रशासन चलाउनुका अलावा संविधान निर्माण गर्ने र निर्वाचन गराउने कार्यादेश थियो । उनले त्यो काम फत्ते गरेर देखाए ।
मेरो ध्यान अहिलेको सरकारतिर जान्छ । आन्दोलनकारी जेन जी समूह हुन् भनिन्छ । हुन् पनि । उनीहरूको बुझाइ अनुरुपको विगत सरकार भएन । जेन जी पुस्ताको प्रतिनिधि नरहेको सरकारले यस समूहको भावनाको प्रतिनिधित्व गर्न सक्दैन भन्ने थियो । हो पनि उमेर समूहका भावना र चाहना भिन्नै हुने गर्छन् । त्यो प्रकृति प्रदत्त कुरा पनि हो । तर आन्दोलनपछि बनेको सरकार देखेर अचम्म लाग्छ राजनीतिको ‘र’ भूमिका नभएका पेशा वा जागिरमा आफ्नो विगत भएका मानिसहरूको संलग्नतामा सरकार बन्छ । त्यहाँ एउटा पनि जेन जी उमेरको मन्त्री छैन । कसरी आन्दोलनको भावना अभिव्यक्त हुन्छ होला र ! अन्य समयका सबै आन्दोलनपछि बनेका सरकारमा आन्दोलनकारीकै नेतृत्व रहने गरेको तथ्य घामझँै छर्लङ्ग छ । लुकेको विषय कतै छैन । यसपटक के भएको हो पत्तै छैन ।
समाप्त, क्रमशः