लघुकथा
भारी
सरूले बिहे
गरेको विषय आफन्तहरूमा निकै चर्चामा थियो । आफन्तहरूले सरूको बिहे गरिदिन निकै चासो
देखाएका थिए । कुटुम्बहरू पनि निकै झुम्मिएका
थिए । किनभने सरु परिवारमै
सबैभन्दा पढेलेखेकी छोरी थिइन् । सुन्दर पनि थिइन् ।
तर सबैलाई सरूले अस्वीकार गरेकी थिइन् ।
‘पढाइ र सुन्दरताको
घमण्डले बहुलाएकी छे सरू । पछि लङ्गडासँग यसको बिहे हुन्छ हाहाहा’, गाउँले केटाहरू यसरी सरूको कुरा काटिरहेका थिए फलैंचामा बसेर ।
यत्तिकैमा एकजना
मान्छेले खबर ल्याए सरूको बिहे भइसक्यो भनेर । उनी प्रत्यक्षदर्शी थिए ।
‘हो र ? कहाँ बिहे गरिछे ?’
‘एक महिना भएको
थियो काठमाडौँ गएकी । उतै बिहे गरिछ । हिजो बेलुका टीका लगाइमाग्न ज्वाइँलाई पनि लिएर
आइछ । टिकोटालो गर्ने रे ।’ ती प्रत्यक्षदर्शीले सूचित पारे ।
‘घमण्डीले त
बिताइछे । सुरेश, तैँले दश कक्षा पढ्दादेखि ताकेको
स्वाहा भयो, हाहाहा ।’
‘अनि केटो पनि
देख्नुभयो त ?’
‘देखेँ....बिचरा
! सरूको जिन्दगी नर्क भयो ।’
‘छिटो भन्नु
न, किन नर्क भयो ? एकछिन नकुद है केटा हो त्यसको
मुख हेर्न । पहिला कुरा सुनौं, हाहाहा ।’
‘के सुन्नु
र ?
सुनिसक्नु भए पो ! त्यो केटाका दुईवटै खुट्टा चल्दैनन् । व्हील चेयरमा हिँडाउनु
पर्दोरहेछ ।’
‘हाहाहा ! जोक
नगर्नु न हौ !’
‘साँच्ची ?’
‘साँच्ची ।’
‘सुरेश, हिँडोस् अब त्यो लङ्गडाको भारी बोकेर ! राम्रा केटीको दिमाग हुँदैन भन्थे, हो रहेछ गाँठे !’
‘दिमाग सबैभन्दा
धेरै रहेछ भन न सरूको ।’ प्रत्यक्षदर्शी बिङ्गो लगाउन थाले, ‘ट्वाइलेटमा बोकेर लग्दा के भयो त ! ऊ वातावरण मन्त्रालयको राष्ट्रिय भू—संरक्षण
आयोजनाको कार्यकारी निर्देशक रहेछ । महिनामा आधा त विदेशमा जानु पर्दोरहेछ । सरूलाई
पनि ठुलै जागिरमा हालिदिएको रहेछ । स्वर्ग पुगिछे सरे !’
सन्नाटा ।
‘खोइ हाहाहा
गरेको ?’ ती प्रत्यक्षदर्शीको प्रश्नमा केटाहरूका मन भारी भयो
। बोक्नै नसक्ने गरी भारी ।
- दमक, झापा