कविता
९२ वर्षे बुढी आमाको
शरीर चिसिएको थियो
तर उनको इतिहास तातो थियो
आफ्नो हातले रोपेका बिरुवाहरू
आफ्नै गोडामा सम्हालेका पुस्ताहरू
तर आज
मलामीको पर्खाइमा छिन्
गाउँमा उडेको करुण खबरले
साँझसम्म १७ वा १८ जना मलामी
१० महिला, ७ पुरुष मात्र मलामी
हातमा डोको होइन, काँधमा लास
धेरै भारी थियो आज
शरीरभन्दा बढी समाजको मौनताले
बिर्सिएझैँ भए कतिपय
तर घाटमा ?
झन्डै १०० जना मलामी !
सहरबाट हुलका हुल
मोबाइलमा सन्देश आयो, घाट पुगँे
आँखा रसाएर फोटो खिचिए
तर काँधमा काँध दिन मलामीलाई
कसैले चासो दिएन
यो हो आजको मलामी संस्कार
कर्मको होइन,
क्षणिक देखावटी संवेदना
तर आशा र हिम्मत अझै बाँकी छ
१० जना महिलाहरूले काँध थापे
“मलामी जान हुन्न” भन्ने
जमानालाई चुनौती दिए
बोकेर होइन, भोगेर मलामी बने
समाजको चेतनालाई काँध दिए
गाउँ बिस्तारै रित्तिदैछ
बाँझो खेत, सुनसान आँगन
बुढी आमाको सम्झना मात्रै बाँकी
तर मलामी संस्कार
नयाँ मोड लिँदैछ
यो बदलावको सुरुवात हो,
जहाँ महिला मलामी बन्न सक्छन्
जहाँ उपस्थितिमा होइन,
सहभागितामा मर्म देखिन्छ
आउनुहोस्,
घाटमा मात्र होइन
काँधमा पनि साथ दिऔं
समाजलाई फेरि काँध दिने समय हो
नयाँ सोच, नयाँ संस्कारको ।
– बागलुङ नगरपालिका–१०, भकुण्डे धौलेचउर
९८४७६५७३००
