कृतिसमीक्षा
“लौ भन्नोस् त !” कथाकृति : कथाकारको जीवनदृष्टि
‘लौ भन्नोस् त !’ नेपाली साहित्यका विभिन्न विधामा कलम चलाएर दुई दर्जन बढी कृति प्रकाशित गराइसकेका स्रष्टा नवराज रिजालको २०८१ सालमा प्रकाशित कथा कृति हो । यस अघि नै आख्यानका चार कृति प्रकाशित गराइसकेका रिजालको यो सोही विधाको पाँचौँ कृति हो । उनी साहित्यिक लेखकका अलावा सम्पादक, प्राध्यापक, पाठ्यपुस्तक लेखक र व्याकरणकारसमेत हुन् । २०३९ देखि लेखन कर्ममा निरन्तर जुटेका रिजाल अहिले पनि सो कर्मबाट पछि हटेका छैनन् । २०५० सालदेखि बारा जिल्लाबाट उनैको सम्पादन तथा प्रकाशनमा ‘नवप्रज्ञापन’ साहित्यिक पत्रिका निरन्तर प्रकाशित भइरहेको छ । अहिलेसम्म १०९ अङ्क प्रकाशित भइसकेको यो पत्रिका राष्ट्रिय ‘क’ वर्गमा वर्गीकृत छ । आफ्नो कामप्रति कोही कसैसँग गुनासो नगर्ने उनी जवीनको एउटा अवस्थामा थालेको लेखनयात्राप्रति खासै गुनासो नभएका नेपाली साहित्यका अथक यात्री हुन् ।
यस क्षेत्रमा लागेर आफूले समयमै सुमार्ग पहिचान गर्न सकेको बताउने
रिजाल आफू जीवनभर यसैमा रम्ने रमाउने सोचमा रहेको बताउँछन् । साहित्य क्षेत्रमा लागेकाहरू
धेरैका अनेकौं गुनासा भए पनि उनी आफ्नो चाहिँ कुनै गुनासो नरहेको सुनाउँछन् । आफू कसैको दबाव
प्रभावमा नभएर स्वेच्छाले यतातिर आकर्षित बनेको बताउने उनी स्वास्थ्यले साथ दिएसम्म
नेपाली भाषा साहित्यको उत्थानमा लागिरहने बताउन पनि चुक्दैनन् । यो सेवाको क्षेत्र
हो, धन आर्जनको होइन भन्दै
धन आर्जन गर्ने चाह बोक्नेहरूको क्षेत्र अरू
नै भएको उनको तर्क छ । रिजाल भन्छन् भाषा, साहित्य व्यापार व्यवसायको नभएर सेवाको क्षेत्र
हो, यसर्थ यो कुरालाई
यही रूपमा बुझेर अगाडि बढ्नु बुद्धिमत्तापूर्ण कदम हुन्छ ।
उनी अगाडि थप्छन् साहित्य जीवन देखाउने बाटो हो । त्यहाँ जनमनका
आवाजमात्र नभएर विचार र जीवन दर्शन पनि हुन्छ । प्राकृतिक र सांस्कृतिक सम्पदाको प्रतिविम्बित
हुन्छ । पसिना वा माटोको सुगन्ध हुन्छ । त्यस्तो साहित्यमात्र वास्तवमा असल साहित्य
हुनसक्छ । जब साहित्यलाई व्यवसायमुखी बनाउनुपर्छ भनिन्छ तब साहित्यको अधोगति प्रारम्भ
भयो भन्ने बुझ्दा हुन्छ । प्रयास गरिनु राम्रो हो तर नेपाली साहित्य व्यवसायमुखी बन्न
सक्ने दर्बिला आधार छैनन् । यसलाई संरक्षण र संवर्धन गरिनु आवश्यक छ । साहित्य आम सर्वसाधारणको
उपभोग्यवस्तु हुन सक्दैन । यसका त निश्चित मात्र पाठक हुन्छन्, यसकारण यो आम उपभोग्यवस्तु
बन्न नसकेको हो । भाषा साहित्यमा काम गर्नु जननी र जन्मभूमिको सेवा गर्नु हो । यसर्थ
साहित्य र साहित्यिक पत्रकारितालाई मैले आर्थिक पक्षसँग कहिल्यै जोडेको छैन । म खुसी
र सुखी हुनुको मूल कारण यही हो ।
रिजालको प्रस्तुत सङ्ग्रहभित्र जीवनको खोज गर्ने, मानिस दुखी बन्नुपर्ने
कारण पत्ता लगाउने, हाम्रा विचार
समयअनुसारका हुन नसक्नाका कारण के हुन् भनेर जाँचबुझ गर्ने, हामी देश दुख्दा कति
संवेदनशील हुन सक्यौँ नापजोख गर्ने, पुर्खादेखिका सपना किन जस्ताकोतस्तै रहे विमर्श
गर्ने,
हाम्रा तन, मन बाढीमा बगिरहनुका
कारण के हुनसक्छ आफैँमाथि प्रतिप्रश्न गर्ने, सिमानाका जनताका अप्ठेरा असजिलामा हाम्रा मुख किन
खुल्न सक्दैनन् रहस्य खोज्ने र सपनाका व्यापारीका राइँदाइँ कस्ता छन्, कारोवारी अगाडिका
अगाडि र सामान्य जनता पछाडिका पछाडि किन व्यापार गरिरहेछन् र हामी उनीहरूका आश्वासन
किन्न के कारणले तँछाडमछाड गरिरहेका छौँ यी र यस्ता अनेकौँ प्रश्नका उत्तर खोजीगर्ने
काम उनका कथाहरूले गरेका छन् ।
विश्व ब्रम्हाण्ड कथै कथाले भरिएको साझा घर हो । हामी पात्र
हौँ । हिँड्नु, बोल्नु, खानु र विविध गतिविधिमा
भाग लिनु कथाकै श्रृङ्खला हुन् । ‘लौ भन्नोस त !’ शीर्षकले यही कुरा सङ्केत गर्छ ।
यहाँ नहुनुपर्ने कुरा भएका छन् तर हुनुपर्ने कुरा भएका छैनन् । हामी पलपलमा चुकेका
छौँ । उनी कथाहरूमा भन्छन् । कथा पढ्दै जाँदा ती रहस्य बिस्तारै खुल्दै जान्छन् । सङ्ग्रहमा
आवम्, हामी, असहजता, साँध, खुसी, अभिमन्यु, पराकम्पन, ऊ, आहत, विपर्यास, स्मृति, अधैर्य, सहर, महाशून्य, बागबजार, विषय, अनित्य, आज र बयान शीर्षकका
१९ कथाहरू छन् । मैले एक हप्ताको अन्तरालमा सबै कथाहरू पढेँ । कथा जति पढ्यो उति पढौँ
पढौँ लाग्नुका साथै कौतुहलता जगाउने खालका छन् । कथामा के लेखिएको होला, पछि के होला, अझ पछि के होला, यस्ता कौतुहलता जगाउने
सन्दर्भहरू धेरै छन् ।
कथाले नेपाली समाज, राष्ट्र, राष्ट्रियता, परिवार, संघर्ष र जीवनका आरोहअवरोह देखाउने काम गरेका
छन् । पारिवारिक जीवनका उतारचढाव, सामन्ती शोषण र थिचोमिचो, वैदेशिक रोजगारले
निम्त्याएका अप्ठेरा र असजिला, जीवनका अनेकौँ उतारचढाव र विकृति विसङ्गतिका तथ्य तथा मानवीय
संवेदनाका विविध पक्षलाई उजागर गरेका छन् । अधिकांश रचनामा सङ्घर्षशील जीवनका छापहरूका
साथ लेखक आफैँले सङ्घर्षमा भोगेका दृष्टान्त पनि कथाका पात्रहरूले भोगेका विषयवस्तु
बनेर आएका छन् । बेरोजगारी, सीमा समस्या, प्रतिभा पलायन, कृषिप्रतिको उदासिनता, नैरास्यपूर्ण जीवन
दृष्टि, मनोगतवादी
कुण्ठा र निराशा पनि कथा बनेर आएका छन् ।
एउटा लामो तर सरल जीवन बाँच्ने र भोग्ने क्रममा कतिपय विषयवस्तु
जानेर त कतिपय अनजानमै लेखे होलान् । हिँडाइका
क्रममा आफ्ना कतिपय कर्महरू गर्दागर्दै जीवन कहिले यी कथाका पात्र÷घटना÷कथानक÷विषयवस्तु आदि कथाकारले
भोगे र लेखे होलान् । यतिबेला उनको कथाका कथानक बनाउने सपना विपनामा सार्थक भएका छन्
। कर्म नगरी भाग्यलाई दोष थुपार्नेप्रति कडा चुनौती दिएका छन् । बाल्यकालदेखि नै लागेको
साहित्यिक भोक र झोँकबाट सन्तुष्ट हुन सकिरहेका
छैनन् । सन्तुष्ट नभएकै कारण लेखिरहेका हुन् । मनमा कर्मप्रति अगाध श्रद्धा छ, भाषा साहित्यको नाममा
केही योगदान गरौँ भन्ने जोश र जाँगर छ, यसैले निर्भिक बनेर लेखिरहेका छन् । साहित्यकर्ममा
निरन्तर लागेवापत दर्जनौँ मानसम्मान र पुरस्कार प्राप्त गरेका छन् । यो सकारात्मक उपलब्धि
हो ।
नेपाली साहित्यको विभिन्न विधामा कलम चलाइरहेका रिजाल खासमा
आख्यानकार हुन् । मेरो विचारमा उनको लेखनी आख्यानकारिता जमेको छ अर्थात् अब्बल छन्
। भविष्यमा अझ अब्बल हुने सम्भावना देखिन्छ । आख्यानकै पाँचकृति प्रकाशित गराएका रिजाल
सरल मिजासका साहित्यकार हुन् । ‘गरौँ र गरे गर्न सकिन्छ’को सकारात्मक चेतले अभिप्रेरित
उनी देशको आमनागरिकप्रति मात्र नभएर आमनागरिकको पनि देशप्रति उत्तरदायित्व रहन्छ भन्छन्
। अस्तव्यस्त बन्दै गएको आम सर्वसाधारणको जीवनशैली, बढ्दो सामाजिक आर्थिक राजनैतिक प्रशासनिक
पारिवारिक र वातावरणीय विकृति विसङ्गति तथा यो देशमा केही पनि छैन जे छ बाहिर छ भनेर
बनाइएको भाष्यजस्ता धेरै कुरा कथाका विषयवस्तु बनेर आएका छन् ।
कथा लक्षणा र व्यञ्जनामूलक छन् । कथाभित्र अनेकौँ उपकथा छन्
। पढ्दा मनमा कौतुहलता जाग्छ । मैले आनन्दका साथ यी कथाहरू पढेँ । तर यी कथा पढ्न राम्रो
धैर्यता चाहिँन्छ । अधैर्यता बोकेर पढ्न सकिँदैन । लेखकका आआफ्नेै शैली हुन्छन् । रिजालको
पनि आफ्नै विशिष्ट शैली छ । साहित्य कोरा काल्पनिक नभएर जीवन र समाजमुखी हुनुपर्छ, उनको मत छ । रचनामा
यी कुरा यत्रतत्र भेटिन्छन् । कथा साँच्चै जीवन बुझाउने किसिमका छन्, यो मैले अनुभूति गरेको
कुरा हो । विषयगत मात्र नभएर शीर्षकगत तथा शैलीगत नवीनताले पनि उनी साहित्यका प्रयोगधर्मी
कथाहरूका कोटीमा पर्दछन् । जीवनका विसङ्गतिको प्रस्तुति, मातृभूमिप्रतिको समर्पण, सीमावासीप्रति सम्मान, र युगीन यथार्थको
प्रतिबिम्बन तथा मानवीय चेतना र भावनाको उच्च आख्यानीकरण यस कृतिका मुख्य विशेषता हुन्
। अन्त्यमा स्रष्टा रिजाललाई हार्दिक बधाई ।
०००