कविता
काेपिला मञ्जरी
पल्लवी दौँतरी के कुरा गर्नु र ?
पूर्वको कैरनै क्षोभझैँ हुन्न र ?
लालिमा ओठ ती चाँदझँै झल्झली
आज बिर्सुं भयो कोपिला मञ्जरी । ।१।
बैँसको मात हो स्वप्नझैँ आज भो
लोचना स्रग्विणी मोहिनी याद यो ।
पुष्पिका पुष्प भै तान्दथ्यौ सुन्दरी
आज बिर्सूं भयो कोपिला मञ्जरी । ।२।
ज्यान त्यो बारुली मारुनी तालको
वर्णनै गर्नु के वृद्ध बेहाल भो ।
खात नै खातका दृश्य ती बल्लरी
आज बिर्सूं भयो कोपिला मञ्जरी । ।३।
बेग्लिनै हुन्नझैँ लाग्दथ्यो प्यार त्यो
खै कता गो जुनी बाढझैँ गाढ भो ।
चल्दथे ओठका बातका दिल्लगी
आज बिर्सूं भयो कोपिला मञ्जरी । ।४।
बैँसका याद ती रूपसी रम्यता
कल्पना बर्सिने देह भो शून्यता ।
व्यर्थ छन् लौ न ती तिर्सना बाडुली
आज बिर्सुं भयो कोपिला मञ्जरी । ।५।
– मादी न.पा. ६, सङ्खुवासभा
हाल, लोकन्थली, भक्तपुर, मो.
९८४२०९९८३१