कविता
विवाह
जमुना आचार्य कोइराला
मण्डप सिँगारियो दीप उज्यालोले
फूलहरू मुस्काए शुभको मालाले ।
बाजागाजा घन्किए हर्षको धुनमा
मायाको डोरीले जीवन सुगन्धमा ।।
आँखामा सपना सुनौला मिलनका
हातमा हात बाँधी प्रतिज्ञा विपनाका ।
साथसाथ हिँड्ने अठोट मनभित्र
सुखदुःख बाँड्ने वाचा आज मित्र ।।
घरआँगन रमायो हाँसोको लहरले
आशिष्का वर्षा चारैतिरका प्रहरले ।
दुई मुटु जोडिए एकै धड्कनमा
नयाँ यात्रा शुभ प्रेमका वन्धनमा ।।
सम्बन्ध गहिरियो विश्वासको डोरी
मनमन मिलेर संसार सजाइवरी ।
विवाहको पावन बन्धन सिलाइयो
जीवनको गतिमा अमृत मिलाइयो ।।
– सिन्धुपाल्चोक