संस्मरण
धनकुटामा सङ्ग्रहालय स्थापनामा लाग्दा
साहित्य
विशाल सागर हो जहाँ पौडन अति मज्जा हुन्छ । समुन्द्रको उर्लदो छाललाई च्याप्प समाती
घुमाउन, रिगाउन र बुई चढ्न झन् मज्जा हुन्छ । यही तुफानीभित्र असङ्ख्य
दार्शनिक, वैज्ञानिक र चिन्तकहरू आफ्नो सम्पूर्ण जीवन यसैमा बिताएका छन्
।
म पनि
यही छालभित्र रिङ्छु, घुम्छु र सयर गरी रहन्छु । यसरी सयर गर्दा
हिरा भेटिन्छ, मोती भेटिन्छ, ज्वाहा र पन्ना भेटिन्छ
। नभेटिए पनि निराश नभै आफ्नो यात्रालाई अविछिन्न राख्नुपर्दछ । आफ्नै देशको जिल्ला, गाउँ र बस्तीहरूमा
रम्न चाहान्छु । आफू मात्रै रमेर हुँदैन हुलका हुललाई रमाउन चाहान्छु ।
एउटा
शोधखोजको काममा लाग्दा सोलुखुम्बुको लोदिङ, तामाखानी, थुलुङ, राजविराजको
लङ्काटोल, उदयपुरको कटारी, लेखानी, भेककेनी र
देशको विभिन्न जिल्लाको दूरदराज पुग्ने क्रमकै सिलसिलामा ओखलढुंगामा ओखलढुंगा साहित्य
प्रतिष्ठान स्थापना गर्ने काम भयो । धनकुटा आइपुग्दा लक्ष्मीकृष्ण श्रेष्ठ राजभण्डारीसँग
सम्पर्क हुन पुग्यो । धनकुटा जन्मघर भै धरानलाई कर्मभूमि बनाउनुभएका उहाँ धरानको क्याम्पसमा
प्रध्यापन गर्नुहुन्छ । उहाँबाट मैले धनकुटाको राजभण्डारी वंशज, साहित्य, पुस्तकालय
र विविध विषयमा जानकारी लिने अवसर मिल्यो । उहाँकै हार्दिकता स्वरुप श्री गर्गाचार्य
सामुदायिक विश्व भाषा पुस्तकालय धनकुटाबाट प्रकाशित श्रोत व्यवस्थापक टिकाप्रसाद लामिछाने
र लेखक÷सम्पादक घनश्याम बराल “औलाली” रहेको “धनकुटेली
स्रष्टा र साहित्य” पुस्तक लक्ष्मीकृष्ण श्रेष्ठ राजभण्डारीले
कुरियर गरी मलाई पठाइदिनु भएको थियो । कुरियर गर्दा रु. १००।– ढुवानी सेवा गरी पठाइदिनुभएको
थियो २०६०।०६२ सालतिर ।
पुस्तक
खोल्दा साहित्यकार काजी रोशनज्यूमा पुस्तकालय तर्फबाट उपहार स्वरुप प्रदान भनी लेखिएको
थियो ।
त्यसपछि
मेरो क्रमशः धनकुटा साहित्य उत्थानका प्रणेता एवम् श्री गर्गाचार्य सामुदायिक विश्व
भाषा पुस्तकालय धनकुटाका संस्थापक एवम् संरक्षक टिकाप्रसाद लामिछाने, पुस्तकालयका
अध्यक्ष घनश्याम बराल, सचिव मुकुन्द प्रयास लगायत धनकुटाका धेरै साहित्यकारहरूसँग
मेरो फोन हुन गयो । टिकाप्रसाद लामिछानेको नाम मैले २०५१ सालमा विराटनगर साहित्य सम्मेलनमा
गएको बेला सुनेको थिएँ । घनश्याम बराल सो पुस्तकालयका अध्यक्ष, सेवा निवृत्त
शिक्षक एवम् साहित्यिक व्यक्तित्व हुनुहुन्छ । पुस्तकालयको सचिव मुकुन्द प्रयास कवि
एवम् त्यस क्षेत्रका सुयोग्य कलाकार हुनुहुन्छ ।
धनकुटाका
सम्बन्धमा घनश्याम बरालसँग मेरो बाक्लो सम्पर्क भयो । उहाँ मार्फत मैले धनकुटासम्बन्धी
धेरै कुराको जानकारी लिने अवसर मिल्यो । अञ्जु अञ्जान (खण्डकाव्य), परिवर्तन
(खण्डकाव्य), कुरुले (कवितासङ्ग्रह), धन कि मन (शोककाव्य)
समेतका रचयिता र साप्ताहिक पत्रिकाहरूका स्तम्भकारसमेत रहनुभएका उहाँले मलाई पुस्तकालयको
व्यवस्थापन, फोटो लगायत धेरै कुराको जानकारी गराएर कृतार्थ बनाउनुभएको थियो
।
टिकाप्रसाद
लामिछानेको जन्म वि.सं. १९९७।०२।३० गते माता धनमाया र पिता डिल्लीराम लामिछानेको कोखबाट
धनकुटा भिरगाउँमा भएको थियो ।
उहाँको शैक्षिक योग्यता शास्त्री रहेको छ । उहाँ श्रीमान टंक मा.वि. धनकुटा भिरगाउँको प्र.अ. (२०२०–२०२४), त्रिभुवन हाइस्कुल पाँचथर लिम्वामा प्र.अ. (२०२५–२०२७) भै शिक्षण गर्नुभएको थियो ।
साहित्यका
अनन्त साधक उहाँका कृतिहरूमा अभिव्यक्ति (कवितासङ्ग्रह) २०३७, चार धाम यात्रा
वर्णन–२०६२, छन्दसङ्ग्रह–२०६४, प्रश्नोत्तर धर्म
संवाद–२०६६, पूर्वाञ्चलमा धनकुटा–२०६८, अभिव्यक्ति (कवितासङग्रह)
२०७२, प्रकृति कि रानी धनकुटा (लोककाव्य) २०७२, कालजयी वाणी–२०५९, आर्योद्वेश्य
रत्नमाला–२०७३, तपोभूमि विद्यन्ती–२०७४, धनकुटी स्रष्टा र
साहित्य (श्रोत व्यवस्थापन) २०७७, महर्षी दयानन्द सरस्वतीको जीवनी–२०७३, मोह भङ्ग
(जीवन कथा) २०७८, राजा भतृहरीका तीन शतक र अनुवादहरूमा– नीति
शास्त्र–२०५७,, विदुर निति–२०५८, नीति शतक–२०६२, वैराग्य शतक–२०६२, चणक्य सूत्रावली–२०७२
रहेका छन् ।
उहाँ
विभिन्न पुरस्कार सम्मानबाट सम्मानित हुनुहुन्छ जसअनुसार कृषि तथा भूमि सुधार मन्त्रालय–२०२२, साहित्य, कला संगम
झापा–२०५४, वाणी प्रकाशन विराटनगर–२०५८, राइटर फेड्रेसन बंगलादेश
ढाका सन् २००४, सनातन धर्मसेवा समिति २०५७, धर्नासो साहित्य प्रतिष्ठान
झापा–२०६३, जिल्ला विकास समिति, धनकुटा–२०६०, श्रीमान टंक
उ.मा.वि. भिरगाउँ–२०७७, आदिकवि भानुभुक्त सम्मान–२०७१, ज्येष्ठ नागरिक
जिल्ला संघ धनकुटा–२०७१, धनकुटा नगरपालिका–२०७१, हेमराज मेदनी
खरेल प्रतिष्ठान झापा विशिष्ट साहित्य पुरस्कार–२०७३, डा. नरेन्द्र
चापागाईं स्मृति सेवा समिति पुरस्कार विराटनगर–२०७४, दुर्गा दाहाल स्मृति
पुरस्कार–२०७५, लक्ष्मी वाचनालय धरान देवकोटा स्मृति सम्मान–२०७५, कर्मयोगी
समाजसेवी गणेशमान–कृष्ण प्यारी सैंजु प्रतिष्ठान बुटवलबाट अभिनन्दित–२०८०, साहित्यका
साथै धार्मिक, आध्यात्मिक र समाज सेवाका चिन्तक उहाँले अमरदह–५, मोरङ केचनामा
दुर्गा भगवती मन्दिरको २०५७ मा पुननिर्माण र १५ केजीको घण्टी चढाउनुभएको थियो । त्यस्तै
विश्रान्ती मन्दिर धनकुटामा पनि २०७५ मा १४ के.जी.को घण्टी चढाउनुभएको थियो ।
टिकाप्रसाद
लामिछानेले धनकुटामा श्री गर्गचार्य सामुदायिक विश्व भाषा पुस्तकालय स्थापना गरी धनकुटा
वडा नं. ५ देवलटारमा ८ आना जग्गामा बनेको २ तले पक्की घर २०६८ मा पुस्तकालयलाई हस्तान्तरण
गर्नुभएको थियो । सोभित्र रहेको पुस्तक, फर्निचर आदि पनि पुस्तकालयलाई
हस्तान्तरण गर्नुका साथै पुस्तकालयमै साहित्य, कला, संस्कृति
कोष खडा गरी १० लाखको अक्षयकोष प्रदान गरी यस कोषबाट प्रतिवर्ष निम्न पुरस्कारहरू प्रदान
गरिदै आएको छ ।
· श्री गर्गाचार्य सामुदायिक विश्व भाषा पुस्तकालय
पुरस्कार
· वेणी माधव कृष्णा कुमारी समाज सेवा पुरस्कार
· भाष्कर लामिछाने लोक संस्कृति पुरस्कार
· गंगाराम धर्मशिला स्मृति पुरस्कार
· धनमाया लामिछाने स्मृति सम्मान
· दुल्लभ लामिछाने स्मृति सम्मान
· गर्गश्री सम्मान
· मधुश्री विशिष्ट साहित्य पुरस्कार
· स्वर्ण प्रभा पत्रकारिता पुरस्कार
· धनन्जय घिमिरे स्मृति सम्मान
टिकाप्रसाद
लामिछानेका यस्ता अनन्त योगदानहरू छन् । यस्ता महान् त्यागी, देवत्व रुपधारण
गरेका व्यक्तिको संगतले पनि मानिस पवित्र हुन्छ । कहिलेकाहीँ मैले उहाँसँग फोनमा कुरा
गर्छु । उहाँ खुसीको अनुभूति व्यक्त गर्नुहुन्छ । उहाँको अमरवाणीबाट म उपकृत भएको छु
।
उहाँको
योगदानको उच्च कदर गर्दै मेरो सोच र चिन्तनमा बुटवलमा स्थापना भएको कर्मयोगी समाजसेवी
गणेशमान–कृष्णाप्यारी सैंजु स्मृति प्रतिष्ठानबाट २०८० मा बुटवलमा एक भव्य समारोहबिच
लामिछानेलाई अभिनन्दन र पुस्तकालयका अध्यक्ष घनश्याम बराललाई सम्मानको व्यवस्थापन गर्ने
अवसर मिलेको थियो ।
श्री
गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयको साधारण सभामा मैले बागलुङबाट अध्यक्ष मार्फत
साधारण सभामा पेश गर्न ३ बुँदा प्रस्ताव पठाएको थिएँ ।
१. संस्थापक संरक्षक
टिकाप्रसाद लामिछानेको नाममा पुस्तकालयबाट टिकाप्रसाद लामिछाने पुरस्कार स्थापना गर्ने
।
२. पुस्तकालयको सम्पादन
र प्रकाशनमा टिकाप्रसाद लामिछाने व्यक्तित्व र योगदान
ग्रन्थ निकाल्ने ।
३. पुस्तकालयको एक
कक्षमा टिकाप्रसाद लामिछाने सङ्ग्रहालय स्थापना गर्ने ।
प्रस्ताव
पठाएको केही दिनपछि घनश्याम बरालज्यूसँग सम्पर्क हुँदा १ र २ नं. प्रस्ताव पुस्तकालय
कार्य समितिले नै व्यवस्थापन गर्न सक्ने दफा ३ सङ्ग्रहालयसम्बन्धी साधारण सभामा प्रस्तुत
हुँदा सभाले मिति २०८० जेष्ठ ३० गते सहर्ष अनुमोदन गरेको मलाई जानकारीका साथै साधारण
सभामा भएको निर्णयको दफा नै उहाँले मलाई फेसबुक मार्फत पठाउनुभयो । एउटा ऐतिहासिक व्यक्तित्वको
सङ्ग्रहालय स्थापना गर्न पाएकोमा सन्तोषको अनुभूति भयो ।
त्यसपछि
सङ्ग्रहालयमा के के सामग्री राख्ने भन्ने सम्बन्धमा बरालजीसँग बाक्लो कुराकानी भयो
। खास गरी उहाँले चलाएको सबै सामान, औजार, पुस्तक, फोटो, प्रमाणपत्रहरू
यावत सजाएर राख्ने जानकारी गराएँ ।
गर्गाचार्य
सामुदायिक विश्वभाषा पुस्तकालयको एक कक्षामा रहेको टिकाप्रसाद लामिछाने सङ्ग्रहालयकोे
धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलबाट उद्घाटन भएको थियो ।
हाल यस सङ्ग्रहालयमा
टिकाप्रसाद लामिनेका विभिन्न फोटो, प्रमाण–पत्र, उहाँले लिखित
पुस्तक, कागजपत्र, उहाँ स्वयंको
अर्ध प्रतिमा रहेका छन् । सङ्ग्रहालयभित्र समारोहका व्याज, उपहारहरू, उहाँले प्रयोग
गरेका करौती, हँसिया, रेती, पेन्चिस, ढलौटको बत्ती, लालटिन, विज्ञान प्रविधिहरू, डमरु, खैजडी आदि
र दरजाभित्र लुगाहरू रहेको छ । सङ्ग्रहालयमा फर्निचर र आगन्तुक पुस्तिका समेत रहेको
छ ।
श्री
गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालय र टिकाप्रसाद लामिछाने सङ्ग्रहालय धनकुटाको
गहनाको रुपमा रहेको छ ।
– मोवाइल नं. ९८४७६२१३०९
