साहित्यिक समाचार
आफू विरुद्ध आफैं अभियानको तेश्रो शृृङ्खला सम्पन्न
“आफू विरुद्ध आफैं” अभियानको तेस्रो श्रृङ्खला कथाकार नवराज रिजालको अब उप्रान्त कथा सङ्ग्रहमाथि समीक्षा गर्दै मिति २०८१ पौष १९ गते काठमाडौँमा सम्पन्न भएको छ । कथाकार रिजालको कथाकारिता, विषयवस्तु चयन र लेखनशिल्पको बारेमा कवि तथा समालोचक आर एम् डंगोलले प्रकाश पार्नुभएको थियो । कृतिमाथि प्रकाश पार्दै डंगोलले पात्र चयन र विषयवस्तुका आधारमा रिजालका कथाले छुट्टै पहिचान बनाएको चर्चा गर्नुभएको थियो ।
कथामा के भन्ने प्रश्नमा विषयवस्तुको महत्वपूर्ण भूमिका हुन्छ । पात्रले कसको बारेमा भन्ने र कथाशिल्प वा कथन पद्धतिले कसरी भन्ने सो बारेमा
जानकारी दिने समीक्षक डंगोलले बताउनुभयो । कथा जति कल्पनाशील भएर अघि बढ्छ त्यति नै नवीनतम थपिने समेत डंगोलले बताउनुभयो । यसमा भाव पक्षले समस्याको उजागर गर्ने र विचारले निष्कर्ष दिने उहाँको भनाइ थियो ।
कथाकार रिजालले पनि आफ्नो कथा लेखनको धरातल भनेको नेपाली माटो र यसको जर्गेना कसरी गर्ने भन्ने रहेको बताउनुभयो । “मैले तीस वर्षको लेखन यात्रामा जे सिके, देखे त्यो समाजभित्र विभिन्न कालखण्डमा राजनीतिक परिवर्तन भए पनि नागरिकको जीवनस्तरमा कुनै परिवर्तन नभएको हुनाले फेरि यो व्याथा भोग्नु
नपरोस् भन्ने हेतुले यस सङ्ग्रहको नाम नै ‘अब उप्रान्त राखेको’ बताउनुभयो । कार्यक्रममा कवि तथा समीक्षक छविरमण सिलवाल, होमशंकर बास्तोला र बोधराज पौडेलसमेतले कथाकार र कथाङ्ग्रहका बारे आफ्नो धारणा राख्नुभएको थियो । कार्यकमको संचालन अभियानका सचिव होमशंकर बास्तोलाले गर्नुभएको थियो ।