कविता
विकीर्ण चिन्तन
पसिना नबगेसम्म माटो भिज्दैन राम्ररी
किसान श्रमले गर्छन् माटाको भव्य चाकरी ।।१
मिथ्याका बालुवामाथि भ्रमबीज नछर्नुहोस्
सप्रमाण कुरा गर्नुस्, तथ्यहीन नगर्नुहोस् ।।२
पाकेको होस् कि काँचो होस्फल हो फल नै तर
पाकेका फलको जस्तै काँचाको मूल्य हुन्छ र ?३
दुःखीका घरमा पुग्ने दुःख देख्दा स्वयं रुने
परमार्थीहरू हुन्छन् आँखामा नबिझाउने ।।४
उत्पन्न हुन सक्नेछन् अनपेक्षित अड्चन
औचित्य नबुझी ह्वात्तै नगर्नुहोस् समर्थन ।।५
थुनेको हुन्छ घेरामा पानीलाई इनारले
सहन्छन् किन्तु सङ्घात नदी बग्दा किनारले ।।६
फलको मूल्य पाइन्न पाकेर कुहिएपछि
ओखती काम लाग्दैन मिति नै सकिएपछि ।।७
फूलमा नरहेजस्तै सौन्दर्य वैलिएपछि
स्थानको हुन्न अस्तित्व फोहोर फैलिएपछि ।।८
चिनारी खास मान्छेको कर्म हो, परिवेश हो
सामान्य हो उही व्यक्ति, उही व्यक्ति विशेष हो ।।९
योजना नबनाएमा उद्देश्य अनुरूपको
बिनाजग बनाएको घरजस्तै हुने छ त्यो ।।१०
आँखा चिम्ली नगर्नुहोस् भ्रष्टलाई समर्थन
हुनेछ यसले आफ्नै प्रतिष्ठा, मानमर्दन ।।११
आशावादी भए मान्छे मिल्नेछ कर्मको फल
निराशावादले चिन्ता बढ्छ, हट्छ मनोबल ।।१२
०००