कथा
मलामीबिनाको बस्ती
‘माझघरे बाले संसार छोडे ।’
घामको पहिलो किरणसँगै डाँडागाउँमा यो दुःखद समाचारले
गाउँ नै स्तब्ध बनायो ।
पहाडको विकट गाउँ भए पनि यस गाउँको नामसँग अपरिचितहरू
कमै छन् । वरपर सात गाउँमा डाँडागाउँ भनेपछि प्रायः नचिन्नेहरू भेट्टाउन गाह्रै पर्छ
। कुनै समय डाँडागाउँ भनेपछि सदरमुकामबाट एक दिन पूरै कस्सिएर हिँड्न पर्ने गाउँ भए
पनि देशमा आएको राजनीतिक परिवर्तनपछि यस गाउँमा बाटोको आकार कोरिएर केही विकास भएको
छ । एउटा डाँडामा छ घरको एउटा सानो गाउँ बसेको छ, डाँडागाउँमा । कडेलहरूको कति पुस्ताले यहाँ बिताए,
कतियौँ पुस्ता र को कहाँबाट यहाँ
आएर बस्ती बसाएका थिए ? यो प्रश्न कसैले सोधेमा कसैले पनि उत्तर दिन सक्दैनथे । कडेलहरूका चार पुस्ताभित्रका
छ घरको मात्र यहाँ बसोबास छ । चार पुस्ताका सबै जन्मथलोमै स्थायी रूपमा बसोबास गरिरहेका
भए पनि यो डाँडामा अहिले चार पुस्ताका बन्डामा चार पुस्ताभित्रका दाजुभाइले भरिने थियो
। काम र मामका लागि यो गाउँबाट बाहिरिनेहरूले कालान्तरमा धेरैले जन्मस्थान नै बिर्सिएर
सुविधासम्पन्न सहरतिरै स्थायी रूपमै बसोबास गर्न थाले । जन्मभूमिको माया गर्ने पुराना
व्यक्तिहरूको मात्र यहाँ बसोबास भएकाले गर्दा यो गाउँमा फिजारिएर पातलो रूपमा बस्ती
बसेको छ ।
डाँडागाउँका माझघरे बा बेलुका बुढीसँगै खाईपिई गरेर
सुतेका थिए । सधैँ चाँडै उठेर बस्तुभाउको धन्दा गर्ने बुढा किन आज उठ्न ढिला गरे भनेर
कडेलनी आमोई बोलाउन जाँदा बुढा त शीताङ्ग भइसकेका रहेछन् । बुढाको त्यो अवस्था देखेर
बुढीको हंसले ठाउँ छोड्यो । आत्तिँदै बाहिर निस्किएर चार कान्लामुनिका धने बालाई चिच्च्याएर
बोलाइन् । पल्लाघरका रमेश बाकी बुढीले पनि सुनिन् । धने बाका बुढाबुढी हस्याङ्गफस्याङ्ग
गर्दै उकालो चढे । रमेश बाका बुढाबुढी र धने बाका बुढाबुढी आत्तिँदै हस्याङफस्याङ गर्दै
आइपुगे । घामको किरणसँगै डाँडागाउँमा कडेलनी आमोईको चीत्कारले आपद्को सूचना दिएको थियो
। यहाँ रहेका छ घरमै घामको किरणले पनि आपद्को सूचना लिएर पहिलो पाइला डाँडागाउँमा बिच्छ््याएको
थियो ।
छ घरको स्थायी बसोबास भएको डाँडागाउँमा धर्मनाथ
कडेल, घननाथ कडेल, धनप्रसाद कडेल, रमेशप्रसाद कडेल, मुक्तिप्रसाद कडेल र गोरखप्रसाद
कडेलका घर छन् । पूरै घर फेरो मार्ने हो भने कस्सिएर हिँड्नेलाई एक घण्टा लाग्ने यी
घरहरू टाँढाटाँढै छन् । डाँडामा अवस्थित यी घरहरूमा प्राय बुढाबुढी र केटाकेटी मात्र
छन् । धर्मनाथ कडेलको घर छ घरको बिचमा भएकाले त्यो घर र घरकालाई माझघरे भन्ने चलन केटाकेटीहरूमा
चलेको थियो । कडेल बाका बुढाबुढी मात्र त्यो घरमा बस्थे । कडेलहरूको बस्ती रहेका यस
गाउँमा उनको नाउँ धर्मनाथ कडेल हराएर बाहिरिया गाउँलेहरूमा कडेल बा भएका छन्,
डाँडागाउँका सबैले उनलाई माझघरे
बाका नाउँले सम्बोधन गर्छन् । यो गाउँमा मात्र नभएर अझ सात गाउँमै कडेल भनेपछि उनी
नै चिनिन्छन् । उनका पाँच भाइ छोरा र तीन बहिनी छोरी भए । काठमाडौँमा चौकीदारी गरेर
भए पनि यिनले छोराछोरीलाई राम्रै शिक्षादीक्षा दिए । जीवनभरि नोकरी गरेर यिनले कमाएको
भनेको छोराछोरीको शिक्षा नै थियो । बुढीलाई पहाडमै छोडेर छोराछोरी आफूसँगै राखेर राम्रोसँग
पढाए । यिनले राम्रो शिक्षादीक्षा दिएकाले गर्दा जेठा छोरा राजन र माहिला छोरा नारनले
सरकारी जागिर खाए । साहिँला छोरा नरेश क्यानडा, काहिँला छोरा नवराज अमेरिका र कान्छा छोरा नरेन्द्र
अस्टेलियासम्म माझघरे बाका सन्तानका रूपमा पैmलिएका छन् । दुई भाइ छोराले नोकरी गरेपछि केही कमाएर
काठमाडौँमा जग्गा लिए । यसमा केही उनको पनि रकम परेको थियो । पछि छोराहरूले कमाएर जेठा
र माहिलाले छुट्टाछुट्टै एकएकवटा घर बनाए । बाआमालाई काठमाडौँमै राख्ने छोराहरूको प्रयास
सफल भएन । माझघरे बाले जागिरबाट अवकाश पाएपछि आफ्नो जन्मथलोमै फर्किए । बुढी त झन्
पहिलादेखि नै गाउँमै बसेकाले गर्दा सहरको उकुसमुकुसमा बस्नै सकिनन्, मान्दै मानिनन् । बुढी काठमाडौँ
सहरसँग परिचित हुन नसकेर पनि होला माझघरे बाले पनि गाउँ नै रोजे । तीन छोरीहरूको विवाह
पहाडतिरैका केटालाई दिए पनि उनीहरूको पनि बसाइ सदरमुकाममै छ, एक छोरीको बसाइ काठमाडौँमै छ
तर पनि माझघरे बाआमालाई जन्मथलो नै प्यारो लाग्यो । कर्मभूमिमै बस्तुभाउ र खेतीपाती
गरेर दुःखजिलोका साथ दुई जोईपाइ बसेका छन् ।
पहाडको ढुङ्ग्यानेछानो भएको दोस्रो घर रमेश कडेलको
हो । उनको घर माझघरे बाको घरभन्दा चार कान्ला तल छ । माझघरे बाको घरलाई केन्द्र मानेर
उनी र उनको घरलाई तल्लाघरे भनिन्छ । उनको घरमा दुई बुहारी र तीन नातिनातिना छन् । पहाडको
दुःखबाट पार पाउन सदरमुकाममा बसाइ सर्नका लागि कमाउन भनेर छोराहरू परदेश भास्सिएका
थिए । उनका छोराहरूमा जेठो हरि खाडी मुलुक र कान्छो भरत भारतको नागाल्यान्डमा नोकरीका
लागि गएका थिए । चार छोरीपछिका दुई छोरामा जेठाबाट एकएकवटा नातिनातिना र कान्छाका एक
नातिनी छन् ।
केही समथल भागबाट उकालो सुरु भएपछिको पहिलो र यस
गाउँको तेस्रो घर डाँडागाउँको पुछारमा रहेको घर घननाथ कडेलको हो । उनलाई पछिल्लो पुस्ताले
पुछारघरे बा भनेर चिन्छन् । उनका दुई सन्तान छन्— एक छोरा र एक छोरी । सन्तान त धेरै
भएका थिए तर दुई बचेर अरू भगवान्का प्यारा भए । छोरो रवि सदरमुकामतिरनोकरी गर्ने र
बुहारी पनि सदरमुकामकै पाठशालामा पढाउने भएकीले छोराबुहारीको बसाइ सदरमुकाममै छ,
त्यसैले घननाथ कडेलका पनि बुढाबुढी
मात्र गाउँको यस घरमा बस्दछन् ।
गाउँको अन्त्य र जङ्गलको सुरुवात हुने सिमानाभन्दा
केही तल चौथो घर डाँडागाउँको सिरानमा मुक्तिप्रसाद कडेलको रहेको छ । उनी बुढी र एक
सुस्त मनस्थितिकी नातिनीसहित सिरानघरे बाका नामले कहलिएर डाँडागाउँको सिरानमा बस्छन्
। देशमा चलेको माओवादी द्वन्द्वमा उनको एक मात्र छोरो चिजकुमार मरेबाँचेको अत्तोपत्तो
छैन । एक साँझ भातभान्छा सकेर सुत्ने तरखरमा रहेका बेला माओवादीको एक जत्था आएर चिजकुमारलाई
चाँडै फिर्ता ल्याइदिने भनेर घरबाट लिएर गएका थिए तर लामो समयसम्म पनि छोरालाई फिर्ता
ल्याइदिनु त के मरेबाँचेको खबरसम्म पनि ल्याइदिएनन् । बुहारी पनि छोरो बेपत्ता भएपछि
कहाँ गई, कोसँग गई, जिउँदै छे वा मरिसकी । केही अत्तोपत्तो
नभएकाले एक दिन छोरो फर्किएर सकुशल आउने आशामा बुढाबुढी बाटातिर आँखा बिछ्याएर बसेका
छन् ।
दुई खोल्साको बिचमा अवस्थित यस गाउँको पूर्वपट्टिको
घर पाँचौँ घरका रूपमा धनप्रसाद कडेलको घर छ । उनको घर माझघरेको पूर्वपट्टि भएकाले माझघरेवाला
केटाकेटीहरूले पल्लाघरे बा भनेर उनलाई बोलाउने गरे, यही मेसोमै उनलाई पल्लाघरे बा भनेर सबै केटाकेटीहरूले
सम्बोधन गरे, यही पल्लाघरे बा नामलाई
उनका दौतरीहरूले पनि पल्लाघरे भनेर बोलाउने गरे । प्राय बुढाहरूको नाम कसैलाई पनि थाहा
छैन । उनका सन्तान चार भाइ छोराहरूमा जेठो गोकुल माओवादीमा लागेर राजनीतिज्ञ भएको छ
। माहिलो शङ्कर व्यापार, व्यवसायमा लागेर कहलिएको व्यापारी भएको छ, साहिँलो अर्जुन जे भेटिन्छ त्यसैको दलाली गरेर दलालको
रूपमा प्रख्यात भएको छ र कान्छो दिनेश गुन्डागर्दीमा लागेर डन भएको छ । बुढाबुढी यो
गाउँमा बस्न नचाहँदानचाहँदै पनि चार भाइ छोराहरूमा एकले अर्काले पाल्छ भन्दाभन्दै उनीहरूलाई
गाउँको घरले पालेको छ ।
माझघरेका पश्चिमपट्टिको घर यस भेगको छैटौँ घर हो
। यस घरका हर्ताकर्ता गोरखनाथ कडेल भए तापनि बुढा पोहोर स्वर्गे भएपछि उनकी जहान फतौरी
आमोईका रूपमा यो गाउँमा चिनिएकी छिन् । प्यारप्यार बोलिरहने र बोल्न पालो आउँदा अरू
कसैलाई पालै नदिई मै मात्र जान्ने छु भनेर बोलिरहने भएकाले गर्दा उनको अति प्यारो र
राम्रो नाउँ सीता पनि फतौरी आमोईले जित्यो । घरायसी आर्थिक अवस्थालाई सुधार गर्नका
लागि उनका दुई छोरामध्ये जेठो वाणीप्रसाद खाडी मुलुकमा र कान्छो दण्डपाणि भारतको नागाल्यान्डमा
श्रम गर्दछन् । दुई बुहारी सँगै छन्, तीनवटा नातिनातिना सदरमुकाममा बसेर पढ्दै छन् ।
यी छ घरमा रहेका बुढाबुढी पैँसठ्ठी वर्ष उमेर कटेका,
बुहारीहरू अधबैँसे उमेरका र नातिनातिनाहरू
दस वर्षभन्दा कम उमेरका छन् । बिरामी हुँदा र लास पर्दा बोक्न सक्ने कोही पनि यस गाउँमा
छैनन् । यी छ घरको आर्थिक अवस्था गरिबीको रेखामुनि नभए तापनि भोलिको सुन्दर भविष्यका
लागि सुविधासम्पन्न सहरमा बिताउने रहरमा भएकाले गर्दा कसरी यो गाउँ छाडेर सदरमुकाम
या काठमाडौँमा घरघडेरी जोड्ने भन्ने सेचाइमा छन् । त्यसैले यस गाउँमै मात्र घर हुनेहरू
सुविधासम्पन्न सहरको खोजीमा गाउँलाई छोडेर कठिन श्रममा भविष्य खोज्दै छन् । जब अवकाशप्राप्त
जीवन सुरु हुन्छ त्यसपछि आफू जन्मेको गाउँ नै सबैलाई प्यारो लाग्छ, त्यसपछि जन्मस्थान सम्झिएर गाउँमै
फर्कन्छन् । खेतीपाती बुहारीहरूले जेनतेन भ्याइरहेका छन् । भएको खेतबारीमा बाली लगाउन
र भित्र्याउन कहिलेकाहीँ सहरमा नोकरी गरिरहेकाहरू पनि आउँछन् नत्र यी बुहारीहरूले नै
बुढाबुढीको समेत सहयोग लिएर बाली लगाउने र भित्र्याउने गर्दै आएका छन् । यी गाउँका
हरेक घरकाले बस्तुभाउ पनि पालेका छन्, बस्तुभाउले पनि यिनीहरूको समय बितेको छ । घाँस, पराल, पानी, चरन आदि भनेर आफूलाई व्यस्त पनि तुल्याएका छन् ।
माझघरे बाले संसार छोडेको कुरा तुवालो फैलिएसरि
फैलिएर माझघरे बाको आँगनमा छ घरकै बुढाबुढीहरूको उपस्थिति भइसकेको छ । रमेश कडेलले
माझघरे बाको नाडी छाम्न भ्याएका थिए । नाडीमा कतै धड्कन नभेटेपछि उनी निराश भए,
तैपनि कतै धुकधुकी बाँकी छ कि
भनेर रमेश बाले माझघरे बाको नाडी धेरैबेर छामेर मुख बिगारे । त्यतिखेरै फतौरी आमोईले
रमेश कडेलको मुखको चेहरा देखेर फतौरी आमोई नै यथार्थ सबैसामु राख्न अगाडि भइन्— ‘माझघरे
बा अब यस संसारमा छैनन्’ भन्ने घोषणा गर्न, उनले नै पहिलो औपचारिक रूपमा घोषण गर्न भ्याएकी थिइन्
।
जम्मा भएका सबै मिलेर तन्नासहित उचालेर लासलाई झानाकुटी
पार्दै तुलसीको मठमा लगेर परालमाथि सुताए । सबै रामराम र नारायण जप्न थाले । माझघरे
बाकी अर्धाङ्गिनी मनकुमारी अगिसम्म साक्कसुक्क गर्दै थिइन् अब डाँकै छोडेर रुन थालिन्
। फतौरी आमोईसहित वृद्धाहरू सबै उनलाई सम्झाए ।
माझघरे आमोईको रुवाइले
प्राय सबैका आँखा रसाए । बुढाका बाह्र छोरा तेह्र नाति भए पनि अहिले उनलाई अन्तिम अवस्थामा
ठाउँ सार्ने बेलामा आफ्ना सन्तान कोही पनि भएनन् । लासलाई अब घरमा यसरी आँगनमा लडाएर
राख्न नहुने भएकाले अब लासको सद्गति गराउन उनका पाँच भाइ छोराहरूको आवश्यकता पर्याे, छोराहरूको आवश्यकता यतिखेर टड्कारो
भयो । काठमाडौँमा रहेका दुई भाइ छोरालाई माझघरे बाको मृत्युको जानकारी गराउने काम भयो
। जतिसक्दो चाँडो गाउँ आउन उनीहरूलाई खबर गर्दा ‘हामी जतिसक्दो चाँडो आउँछौँ बरु लासलाई
घाटतिर झार्दै गर्नु’ भन्ने छोराहरूको आवाज सुनेपछि बुढाहरूलाई अबको समय असहज लाग्यो
। रित्तै त घाटसम्म जान नपरे हुन्थ्यो भन्ने अवस्थामा रहेका उनीहरूका सामु शवयात्रा
विशाल पहाड बनेर खडा भयो । सबै एकले अर्कालाई हेर्न थाले, मौनताले उनीहरूमा डेरा जमायो । एक दिन सबैको बाटो त्यही
हो भन्ने जान्दाजान्दै पनि यो अवस्था नआइदिए हुन्थ्यो भनेर मनमनै कामना गरेका थिए ।
केही समयको मौनतालाई चिर्दै घननाथ कडेल बोले— ‘अब लासलाई यसरी राखिरहन भएन,
चाहिने सामानको जोहो त गर्नुप¥यो । ल हिँड् रमेश, तँ र म भएर बाँस काटेर ल्याऊँ,
अरू यहाँको चाहिने जोहो यिनीहरूले
मिलाउँदै गर्छन् ।’ रमेश र घननाथ बन्चरो बोकेर बाँसाँ झाङतिर लागे । दुई बुढाहरू पराल
र छ्वालीको जोहो गरेर बाबियोको डोरी बाट्न थाले । यति गर्दा नै दुवै बुढाहरू थकितजस्ता
भइसकेका छन् । बाँस काट्न गएकाहरू पसिनैपसिना भएर एकएकवटा बाँस बोकेर आए । स्याँस्याँ
गर्दै आएका बुढाहरू थाच्च भुइँमै थचारिए । अबको बाँकी त्यति लामो शवयात्रा कसरी पार
लगाउने होला भनेर माझघरे बाको लम्पसार लासतर्फ एकोहोरो हेरिरहे ।
घाम पश्चिमी आकाश भेट्न मध्य भागतिर अगाडि बढ्दै
थियो । भोक र थकानले सबैलाई हमला गरेको थियो । वृद्ध शरीरमा शक्तिले क्षीण भएका उनीहरूका
सामुन्ने माझघरेको लास एउटा विकराल समस्या बनेर खडा भएको छ । घरबाट तीन घण्टा परको
घाटसम्म रित्तै त जान नसक्ने उनीहरूका लागि लासलाई कसरी घाटसम्म पु¥याउने भन्ने प्रश्न नै सबैका
सामु ढिङ्ग उभिएर उनीहरूलाई गिज्याइ रहेछ । चाहिने सम्पूर्ण सरजामको व्यवस्था मिलाए
। सबै सामानको जोहो भइसक्दा पनि केके बाँकी रहेजस्तो सबैलाई लागेको छ । शवयात्राका
लागि बाँसको खट तयार भयो । लासलाई बाँसमा कस्ने कार्य पूरा गरे । अब लास बोकेर घाटतिरको
यात्रा अगाडि बढाउनुछ । बाँसलाई काँधमा राखेर शव बोक्न अगाडि सर्ने साहस चारवटै बुढाहरूमा
आइरहेको छैन । चारै जना एकअर्काको अनुहारमा हेर्दै छन् । अब यो माझघरेको शवयात्रालाई
कसरी अगाडि बढाउने भनेर सबै भगवान् पुकार्न थाले— ‘ए भगवान् हाम्रो पिर बुझेर यो लास
बोक्न सक्ने चारपाँच जना पठाइदिएर हाम्रो कल्याण गर्नुहोस्’ । तर यतिखेर यहाँ भगवान्को
कुनै उपस्थिति हुनेवाला थिएन । कसैले पनि यसै गर्ने त भन्न सकिरहेका छैनन् । सबै जना
लास आफैँ उठेर घाटतिर गए हुन्थ्यो भन्ने कपोलकल्पित भम्रमा छन्, जुन यी वृद्धहरूको शक्तिहीन शरीरले
बताइरहेको छ । तर लास लास न हो, यो अरूको दुःख देख्ने अवस्थामा छैन । मलामी बनेका बुढाहरू आफ्नै मलामी जान तयारजस्ता
देखिन्छन् । ‘लास उठेर आफ्नै घाटसम्म गइदिए हुन्थ्यो’ भनेर
लास उठेर घाटसम्म गइदिने समयको प्रतीक्षा गर्न थाल्छन् ।
– गोकर्णेश्वर— ३, सुन्ताखान, काठमाडौँ
सम्पर्क ः ९८४१८५१०२०