यसपालिकाे भेटवार्ता - श्रीओम श्रेष्ठ 'राेदन'सँग
(वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’को जन्म वि. सं. २०१९ साल लक्ष्मीपूजा (२७ अक्टोबर १९६२) मा
झम्सिखेल ललितपुरमा भएको हो । साहित्य लेखन एवम् साहित्यिक पत्रकारितामा समेत विशिष्ठता
हासिल गरिसक्नुभएका वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’का ललिता (कवितासङ्ग्रह–२०४५), सरगम (कवितासङ्ग्रह–२०४७),
संवेदनाका स्वरहरू
(निबन्धसङ्ग्रह–२०५४),
अर्थहीन अर्थहरू (निबन्धसङ्ग्रह–२०५४,२०८०),
आँखीझ्याल (हस्तलिखित
लघुकथासङ्ग्रह–२०५८),
समयका सम्भावनाहरू
(निबन्धसङ्ग्रह–२०५९),
समुद्रपारि समुद्रवारि
(नियात्रासङ्ग्रह–२०६०), नबिर्सने दिनहरू (नियात्रासङ्ग्रह–२०६२),
प्रसङ्गवश (अन्तर्वार्तासड्ग्रह–२०६७),
भ्रममार्ग (लघुकथासड्ग्रह–२०६७),
एक्लो परिचय (निबन्धसङ्ग्रह–२०६९),
भनौँ कि नभनौँ (निबन्धसङ्ग्रह–२०७३,२०७५),
अभिवन्द्य (व्यक्ति
निबन्धसङ्ग्रह–२०७८,२०७९) लगायत तेह्रभन्दा बढी पुस्तकहरू प्रकाशित भइसकेका छन्
। उहाँले नेपाली साहित्यको उन्नयन गरे वापत उत्तम शान्ति पुरस्कार–२०५४,
प्रतिभा युवा सम्मान–२०५४,
श्रीविक्रम राणा स्मृति
साधना सम्मान–२०५६,
युवावर्ष मोती पुरस्कार–२०५७,
शंकर लामिछाने युवा
निबन्ध पुरस्कार–२०६३,
अन्तर्राष्ट्रिय नेपाली
साहित्य समाज पुरस्कार–२०६४ वीरगञ्ज साहित्य परिषद् सम्मान, महाकवि देवकोटा शतवार्षिकी
सम्मान, हरिकला–गुणाकरदायित्व रचना पुरस्कार–२०६८, भद्रकुमारी घले सेवा
सदन पुरस्कार–२०६८,
सिरपा सम्मान–२०७८,
लगायत दर्जनौँ पुरस्कार
एवम् सम्मानबाट सम्मानित भइसक्नुभएको छ । साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले साहित्य लेखनमा मात्र सक्रिय नरही पुस्तक एवम् पत्रिकाहरूको समेत सम्पादन गर्नुभएको
छ । उहाँले शुभारम्भ (लघुकथासङ्ग्रह–२०५४),
सञ्चयन (लघुकथासङ्ग्रह–२०५५,
शब्दान्जली (कवितासङ्ग्रह–२०५७),
कवितान्जली (कवितासङ्ग्रह–२०५७),
शब्द सुमन (कवितासङ्गह–२०५९),
ल्यापटपको अलमल–२०६२),
मधुपर्कका प्रतिनिधि
कथासङ्ग्रह–२०६७),
मधुपर्कका प्रतिनिधि
निबन्धसङ्ग्रह–२०६७),
मधुपर्कका प्रतिनिधि
हास्यव्यङ्ग्यसङ्ग्रह–२०६७), चराका कथा (बालकथासङ्ग्रह–२०६९),
संरक्षण र सिर्जना–२०७१,
भानु निबन्धसङ्ग्रह–२०७२,
सांस्कृतिक सौरभ–२०७४,
आजका लघुकथा–२०७४,
प्रतिनिधि लघुकथायेँ–२०७४,
झिल्का–नेपालको पहिलो लघुकथासङ्ग्रह–२०७८,
सम्झनामा आर.बी.राजा–२०७९),
समकालीन नेपाली निबन्ध
(२०७९), मै एक मै अनेक (तेजेश्वरबाबु ग्वंगःका निबन्धसङ्ग्रह–२०८१) जस्ता पुस्तकहरूको सम्पादन गर्नुका साथै, स्रष्टा दर्पण (२०७८), नेपाली लघुकथा २०६४–२०७३),
अभिव्यक्ति (द्वैमासिक–२०७९,
पूर्णाङ्क २१५), गोरखापत्र दैनिक (प्रधान सम्पादक–२०७५ असारदेखि २०७७ साउनसम्म), गोरखापत्र दैनिक (प्रबन्ध सम्पादक २०७३–२०७४),
मधुपर्क साहित्यिक
मासिक (२०४८ देखि २०७२ सम्म), नयाँमार्ग (साप्ताहिक–स्तम्भ लेखन २०४० देखि २०४३), कलाकार आवाज (साहित्यिक मासिक –२०४२),
खसखस (साहित्यिक मासिक–२०४३),
विश्वास (मासिक डाइजेष्ट–२०४६),
मधुपर्क (साहित्यिक
मासिक–२०४८ देखि) पूर्णिमा (सिने मासिक–२०५०),
वारपार (सिने मासिक–२०५०),
कुमारी (सिने मासिक–२०५२),
चिमाल ( कविता विशेषाङ्क–२०५२),
ललित ज्योति (त्रैमासिक–२०५३),
ध्येय चिन्तन (वार्षिक–२०५४),
झम्सिखेल (सामायिक–२०६५),
प्रगति (स्मारिका २०६९,२०७१) जस्ता साहित्यिक पत्रिका एवम् पुस्तकहरूको सम्पादन गर्नुभएको
छ । लामो समयसम्म मधुपर्क साहित्यिक मासिक पत्रिकाको सम्पादकसमेत रही सक्नुभएका श्रीओम
श्रेष्ठ ‘रोदन’ विभिन्न साहित्यिक संघसंस्थामा रहेर भाषा साहित्यको उन्नयनमा
सक्रिय हुनुहुन्छ । हाल श्रष्टा समाजका अध्यक्ष रहनुभएका वरिष्ठ साहित्यिक व्यक्तित्व
श्रीओम श्रेष्ठ ‘रोदन’सँग होमशंकर बास्तोलाले गर्नुभएको छोटो कुराकानी ।
यहाँले साहित्यक क्षेत्रमा
लाग्ने प्रेरणा कसरी प्राप्त गर्नुभयो ?
–
थाहा पाउने गरी कसैले
प्रेरित गरेको थिएन । सबै कुराको एकपटक समय आउँदो रहेछ । केटाकेटीदेखि नै नाटकमा लागिएको
भए पनि पढ्न भने खुब मन लाग्थ्यो । एसएलसी सकिएपछि त तीनवटा पुस्तकालयमा सदस्य बनेको
थिएँ । दिनको एउटाजस्तो उपन्यास र कथा पढ्थेँ । हिँड्ने अघिको समयमा लडेजस्तो, दाँत आउनुअघि चिलाएजस्तै हुँदोरहेछ नवयुवा हुँदा लेख्न । सुरुमा अर्थात् २०३६ देखि
डायरी लेख्न थालेँ । क्याम्पस पढ्न थालेपछि कविता, गीत, मुक्तक भनेर जे मन लाग्यो त्यही लेख्न थालेँ । लेख्न थालेको थिएँ । मलाई साहित्यमा
प्रेरणा दिने मेरो उमेर, मेरो इच्छा र परिवेश नै हो जस्तो लाग्छ ।
यहाँको साहित्यिक यात्रा
बारेमा केही जानकारी पाउन सकिएला कि ?
–
मेरो पहिलो कविता २०३६
मा प्रकाशित भएको थियो । वि. सं. २०४० देखि नयाँमार्ग साप्ताहिक पत्रिकामा कला र साहित्यसम्बन्धी
स्तम्भ लेख्न थालेँ । पहिलो कृति ‘ललिता’ कवितासङ्ग्रह वि.सं. २०४५ मा प्रकाशित भएको थियो । अहिले कविता, लघुकथा, निबन्ध, नियात्रा, निबन्ध र अन्तर्वार्ताका गरेर १३ वटा कृति प्रकाशित भइसकेका
छन् । विभिन्न विधाका १९ कृतिको सम्पादन र १२ वटा पत्रिकाहरूको सम्पादन गरिसको छु ।
अहिलेसम्म तीन निबन्धकृतिका दोस्रो संस्करण प्रकाशित भइसकेका छन् भने ‘अभिवन्द्य’ निबन्धसङ्ग्रहको तेस्रो संस्करण यही महिनामा आउँदैछ ।
नेपाली सहित्यमा यहाँ सुपरिचित निबन्धकार
हुनुहुन्छ । नेपाली निबन्धका बारेमा यहाँ के भन्नुहुन्छ ?
–
नेपाली निबन्ध आफ्नो
बलियो जगमा उभिएको छ । प्रकाशन सङ्ख्याले अहिलेसम्म हुनुपर्ने जति हुन नसकेको भए पनि
गुणस्तरको हिसाबले भारी नै बनिरहन सकेको छ । त्यसैले यसको बौद्धिकता र प्रतिष्ठामा
कहिले कमी आएको छैन । त्यसैले निबन्धकार बन्ने
मोह धेरैमा भएको देखिन्छ । त्यसैले अखबारमा लेखेको लेखहरूको सङ्ग्रह निकाल्दा पनि निबन्ध
भन्ने मोह राख्छन् । तर त्यस्ता निबन्धकार र त्यस्ता निबन्धसङ्ग्रहले निबन्ध मार्गमा
यात्रा गर्न सकेको देखिँदैन । सृर्जनामा सङ्ख्याको खासै अर्थ हुँदैन । त्यसैले नेपाली
निबन्ध अहिलेसम्म धनी विधाको रुपमा रहेको छ ।
हाल यहाँ नेपाल श्रष्टा समाजको
अध्यक्ष हुनुहुन्छ । समाजका बारेमा पाठकले केही जान्न पाउलान् कि ?
– नेपाल स्रष्टा समाज वि. सं. २०६४ मा स्थापना भएको साहित्यिक संस्था हो । यसमा शैलेन्द्र साकार, चन्द्रप्रसाद चट्टराई, पवन आलोक, विधान आचार्यपछि पाँचौँ अध्यक्षको रुपमा काम गरिरहेको छु । हामीले जिम्मा पाएपछि समाजलाई सातै प्रदेशमा विस्तार गरेका छौँ । यसको प्रकाशन ‘स्रष्टा दर्पण’लाई नियमित गर्नसकेका छौँ । वार्षिक रुपमा अर्पण गरिने नौ वटा पुरस्कार र सम्मानलाई नियमित गर्न सकेका छौं । वैदेशिक सम्पर्क र सहकार्यलाई विस्तार गरेका छौँ । गत वर्ष पहिलोपटक स्थापना दिवस पुस १६ लाई सप्ताहव्यापी कार्यक्रम गरेर मनायौँ । गत वर्ष ३१ वटा साहित्यिक कार्यक्रम गरेर सबैभन्दा धेरैवटा कार्यक्रम गर्ने संस्थाको रुपमा पनि परिचय थपेका छौँ । समाजका पुरस्कार र सम्मानलाई अझ बढी निष्पक्षताको आदर्श बनाउने प्रयासमा पनि हामी लागिरहेका छौँ ।
लघुकथाको विकासमा तपाईंको लगाव शसक्त छ । यस बारेमा केही जान्न
सकिएला ?
–
नेपालमा लघुकथाको काम
गरियो कसैले चासो र चिन्ता नगरिएको बेला । सिद्धान्त निर्माण गर्ने, पत्रिकामा विशेषाङ्क प्रकाशित गर्ने, प्रतियोगिता गर्ने, लघुकथा समाजको स्थापना गर्ने, नियमित कार्यक्रम र पत्रिका प्रकाशन गर्ने, पुरस्कार र सम्मानहरूको
स्थापना गर्ने कामहरू वि. सं. २०५४ देखि वि. सं. २०७८ सम्म संस्थागत रुपमा निरन्तर
लागेको थिएँ । लघुकथामा धेरै वर्ष सक्रिय भएकाले आफ्नो अरु विधाका सृजनालाई अन्याय
भएको थियो । अहिले धेरै संस्था र लघुकथाकारहरू सक्रिय हुनुहुन्छ । म खुशीले भरिएको
अनुभव गरिरहेको छु ।
साहित्यिक पत्रिका प्रकाशन कार्य कठिन विषय हो । यहाँ मधुपर्क, युवामञ्चजस्ता साहित्यिक पत्रिकाहरूको सम्पादक भई लामो अनुभव
प्राप्त गरिसक्नुभएको छ । यहाँको लामो अनुभवबाट नेपाली साहित्यिक प्रकाशन र सम्पादकलाई केही सुझाव छन् कि ?
–
निजी क्षेत्रबाट साहित्यिक
पत्रिका प्रकाशन गर्नु भनेको सम्पादक,
प्रकाशकको एकप्रकारको
साधना हो । इतिहासमा अखबारी पत्रकारिताभन्दा साहित्यिक पत्रकारिता जेठो भएको भए पनि
यसको खासै उन्नयन हुनसकेको छैन । साहित्यिक पत्रकारिता भनेको साहित्य र साहित्यकारहरूका
लागि सेवा पत्रकारिताजस्तै मात्र बनेको छ । सत्ता र समाजले यसलाई सजिलो पत्रकारिताको
रुपमा पनि लिएको छ । यस्तो हुनुमा अरुका दृष्टिकोण र निर्णयहरू त जिम्मेवार छँदैछन्
। साथै साहित्यिक पत्रिकाको सम्पादन गर्न केही नजाने पनि हुन्छ भन्ने हाम्रो गरिब मानसिकता
छ । सम्पादकका नाममा सङ्कलक मात्र हुनु पनि अर्को दोष हो । कुरा समग्रको होइन । केहीकेहीका
कारण समग्रप्रतिको दृष्टिकोण सकारात्मक हुनसकेको छैन । त्यसैले साहित्यिक पत्रकारितामा
परम्परागत शैलीलाई परिवर्तन गरेर आजको प्रविधिअनुरुप बनाउन जरुरी छ ।
वर्तमान नेपाली साहित्य कस्तो छ भन्ने लाग्छ यहाँलाई ?
–
वर्तमान नेपाली साहित्य
अन्य देशका तुलनामा प्रतिस्पर्धी बनिरहेको छ । यसको बिडम्बना भनेको साहित्यमा रहर गर्नेहरूको
भिड बढेको छ । सामाजिक सन्जालमा सक्रिय भएर वरिष्ठ बनिरहेका छन् । सम्मानहरूले कोठा
भरिरहेका छन् । यसले साधना गर्नेहरूको हुनुपर्नेजस्तो सम्मान हुन सकिरहेको छैन । साहित्य
भनेको कुनै दौड प्रतियोगिताजस्तो दौड सकिनासाथ स्याँस्याँ गर्दै पदक लाइहाल्ने क्षेत्र
होइन । अहिले नेपाली साहित्यमा सृजनाको गम्भीरतामा भन्दा प्रचारमा विश्वास गर्ने साहित्यकारहरूको
सङ्ख्या दिनानुदिन बढिरहेको छ । साहित्य साधनाको क्षेत्र भएकोले यसमा लागेपछि धैर्य
गर्न जान्नुपर्छ भन्ने बुझिदिए हुन्थ्योजस्तो लाग्छ ।
हाल साहित्यसम्बन्धी के गरिरहनुभएको छ । भविष्यमा के, कस्तो लक्ष्य राख्नुभएको छ ?
–
अहिले म आत्मपरक निबन्ध
र नियात्रा प्रकाशनमा बढी केन्द्रित भएको छु । नेपाल स्रष्टा समाजका नियमित कार्यक्रमहरू
छँदैछन् । अन्य संघसंस्थाहरूले दिइरहनुभएको जिम्मेवारलाई पनि सकेसम्म निर्वाह गरिरहेको
छु ।
जीवनमा साहित्य क्षेत्रमा लागेर के चाहिँ प्राप्त गरेजस्तो लाग्छ ?
–
साहित्यमा लागेर जीवनमा
सबैभन्दा धेरै सन्तुष्टि पाएको छु । समाजमा स्रष्टाहरूप्रतिको दृष्टिकोण अझै सकारात्मक रहेको छ । यसैलाई जीवनको कमाइ ठानेर दङग परिरहेको छु । खुशी छु र सन्तुष्ट
छु । योभन्दा ठुलो उपलव्धि अरु के हुन सक्छ र ?
नामले पनि साहित्यमा काम गरिरहेको हुन्छ भनिन्छ । के सिर्जनाभन्दा
नाम शक्तिशाली हुन्छ ?
–
सिर्जना बलियो नहुनेको
नाम कुनै हालतमा बलियो हुँदैन । हो,
साहित्यमा स्थापित
भएर योगदान पुर्याइसकेपछि नामले पनि काम गर्छ । नामले मात्र काम गर्छ भन्नु
चट्याङ पर्दाको उज्यालो भएजस्तै मात्र हो । हो सामाजिक सन्जालले गर्दा यस्तो भ्रम बढाउन
सकेको हुनसक्छ ।
यहाँको साहित्य सिर्जनाको
उद्देश्य के हुने गर्छ ?
–
पहिले आफ्नो सन्तुष्टि
त्यसपछि नेपाली साहित्यको उन्नयन नै मेरो
उद्देश्य हो ।
लेखक र पाठकप्रति यहाँको कुनै सुझाव एवम् प्रतिक्रिया छ ?
–
साहित्य साधनाको क्षेत्रको
भएकोले लेखक गम्भीर हुनुपर्छ र हतार गर्नु हुँदैन । अहले पाठक धेरै सचेत छन् । अझ सचेत
र निष्पक्ष भयो भने समग्र साहित्यका लागि फलदायी हुन्छ ।
अन्त्यमा अन्तर्बोधमार्फत केही भन्नु छ कि ?
–
साहित्यलाई सामाजिक
सन्जालको प्रयोग गरेर सस्तो बनाउनु हुँदैन । अहिले साहित्यमा सबैले देख्ने गरेर नाङ्गो
विकृति बढिरहेको छ । यसलाई न्यूनीकरण गर्नु स्रष्टा, साहित्यिक संस्था, साहित्यिक पत्रिका र सहयोगी संस्थाका साथै सरकारको पनि जिम्मेवारी बनेको छ ।