सार्वजनिक नीतिको उद्देश्य
हासिल गर्न गरिने क्रियाकलाप सर्वजनिक नीति भए झैँ विदेशी राष्ट्रसँग मित्रतासहित आर्थिक, सामाजिक, सांस्कृतिक, पारस्पारिक सहयोगको
आदनप्रदान गर्न गरिने क्रियाकलापलाई परराष्ट्र नीतिको रुपमा लिन सकिन्छ । कुनै
देशको विदेश नीति नै परराष्ट्र नीति हो । यही नीतिको आधारमा राज्यले आफ्नो
राष्ट्रिय हितको रक्षा गर्न र अन्तर्राष्ट्रिय सम्बन्धको विस्तार गरी आफ्ना
लक्ष्यहरू प्राप्त गर्ने रणनीति बनाइरहेको हुन्छ । नेपालले आफ्ना मित्र राष्ट्रहरू
एवम् छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलका सिद्धान्त, असल छिमेकीपनमा आधारित
स्वतन्त्र र सन्तुलित ढङ्गबाट सञ्चालन गर्ने नीति लिएको देखिन्छ । त्यति मात्र
नभएर सबै मित्रराष्ट्रसँगको सम्बन्धलाई थप सदृढ र सक्षम पार्दै पारस्पारिक सहयोग
मार्फत राष्ट्र हितको प्रवद्र्धन गर्ने खालको हुनुपर्दछ ।
वि. सं. २००७ सालसम्म
आइपुग्दा वेलायत, भारत, संयुक्तराज्य अमेरिका र
फ्रान्ससँग कुटनैतिक सम्बन्ध स्थापित भएको भए पनि त्यति धेरै सम्बन्धमा विस्तार
भएको देखिदैन । राणाशासनको समाप्त भई प्रजातन्त्रको स्थापनापछि परराष्ट्र नीतिमा
परिवर्तन आयो र अन्तर्राष्ट्रियस्तरमा हुने सभा सम्मेलनमा नेपालले सक्रियताका साथ
भाग लिदै आएको देखिन्छ । संयुक्त राष्ट्र सङ्घको मूल्य र मान्यताप्रति आस्था राख्दै असंलग्नता एवम्
छिमेकी मुलुकहरूसँग मैत्रीपूर्ण तथा सुमधुर सम्बन्ध नै नेपालको परराष्ट्र नीतिका
प्रमुख आधारहरू हुन् । नेपालका परराष्ट्र नीति संचालनका आधारहरूमा असंलग्नता, पञ्चशील सिद्धान्त, एकले अर्को मुलुकको
स्वतन्त्रताको सम्मान, सार्वभौमिकता र क्षेत्रीय
अखण्डताको सम्मान, अर्काको आन्तरिक मामिलामा
अहस्तक्षेप, क्षेत्रीय सहयोग अभिवृद्धि
गर्न जोड, समस्याको शान्तिपूर्ण
समाधान, भूपरिवेष्ठित मुलुकको
हकहितको सुरक्षाजस्ता परराष्ट्र नीतिका सिद्धान्त बमोजिम नेपालले विदेशी
राष्ट्रहरूसँग सम्बन्ध कायम गरिरहेको छ । छिमेकी राष्ट्र एवम् मित्र राष्ट्रहरूसँग
सम्बन्ध थप सुदृढ गर्न राजकीय भ्रमणहरू समय समयमा भइरहेका हुन्छन् । राष्ट्र
प्रमुख, कार्यकारी प्रमुख एवम्
उच्च तहको प्रतिनिधिमण्डल मित्र राष्ट्रहरूमा भ्रमण गर्दा हाम्रो देशमा
अनावश्यक टीकाटिप्पणी हुने गरेको देखिन्छ । यो देश वा त्यो देशमा पहिले राजकीय
भ्रमण गर्नुपर्छ भनी टिप्पणी गर्नु जायज होइन । किन भने पहिले कुन देशमा भ्रमण
गर्ने भन्ने कुरा राष्ट्रले तय गर्ने कुरा हो । अतः विदेशी राष्ट्रसँग सन्तुलित
सम्बन्ध कायम गर्न राज्यका सरकारी निकायमात्र नभएर सम्पूर्ण नागरिकको समेत उत्तिकै
दायित्व रहन्छ ।