मुक्तक
चार मुक्तक
कृष्णकुमार वैद्य
१
हरियालीको पर्याय हुन् श्रावण जताततै हरित
सर्वत्र मनमोहक सुन्दर प्रकृतिका छटा जडित
कतिका छन् श्रावणको महिना रीतिले चलेका
भेशभूषा पनि हरियो रोज्छ नारी भएर मोहित
२
बाँच्न पाउनु प्राणी मात्रको मनोभावना हुन्छ
वृक्ष विनाशमा जीवन मरणको सामना हुन्छ
विकास गर्दा हिफाजत गर्नु पर्यावरणको पनि
अकाल मृत्यु नहुन् भन्ने सबको चाहना हुन्छ
३
कानमा फुकेको बतासले तुफान आउन सक्छ
छुल्याहाको कुराले मनभित्र चोट लाउन सक्छ
हत्केलाले छेक्न सक्नुपर्छ मुख र कान बिचमा
सुनेको कुरो लाउने गर्दा अबगाल पाउन सक्छ
४
स्याल कराउनु कुखुरा हराउनु कस्तो संयोग परेछ
काले काले मिलेर खाउँ भाले भनेर सल्लाह गरेछ
धुर्त स्यालको गठबन्धन फलिफाप हुन्न निर्धोलाई
फरक यत्ति हो; वल्लो घरको नरे पल्लो घर सरेछ
– बनेपा ९, काभ्रे