साहित्यकार
दधिराज सुवेदी
९७४६८९९२४४
पूर्वीय आकाशका शिक्षा, संस्कृति र सदाचारको ज्योति बालगुरु सन्त षडानन्द अधिकारीको पुण्यभूमि भोजपुरको दिङ्लामा शिवशङ्कर र खड्गदेवी सुवेदीको पवित्र कोखबाट वि.सं. २००३ सालमा जन्मनुभएका साहित्यकार एवम् प्राज्ञ दधिराज सुवेदी २०२३ सालदेखि विराट राजाको ऐतिहासिक राजधानी विराटनगरमा बसेर भाषा–साहित्य, धर्म–संस्कृति र समाजसेवामा निमग्न हुनुभएको छ । प्रारम्भिक शिक्षा दिङ्लामै ग्रहण गरेर विराटनगर स्थानन्तर हुनुभएका यी मेधावी पुरुष बहिदारदेखि उपसचिवसम्मको करिव ४५ वर्ष जागिर खाइ कलेज तथा विश्वविद्यालयका कक्षाकोठा नटेकीकन स्वाध्यायका भरमा त्रि. वि. वि. बाट एम. ए. गर्नुभयो । भाषा–साहित्य, धर्म–संस्कृति, समाजशास्त्र र इतिहास आदिका २५ जति किताव लेख्नुका साथै करिव ७५ जति ऐतिहासिक ग्रन्थको सम्पादन गरेर नेपाली वाङ्मय जगत्मा ख्याति आर्जन गरिसक्नुभएको छ । उहाँ र डा. नरेन्द्र चापागाईं मिलेर लेखन तथा सम्पादन गर्नुभएका पूर्वाञ्चल समालोचनासङ्ग्रह (काव्य समालोचन) र विश्वेश्वरप्रसाद कोइरालाका साहित्यको समग्र अध्ययन नामक कृतिहरू धेरै विश्वविद्यालयका पाठ्यक्रमले स्वीकारेको पाइन्छ । उहाँले नेपाल प्रज्ञा प्रतिष्ठान, पूर्वाञ्चल साहित्य प्रतिष्ठान, प्रतिभा पुरस्कार प्रतिष्ठानजस्ता १३० जति शैक्षिक, साहित्यिक र सामाजिक संस्थाहरूमा बसेर दीर्घ सेवा गर्नुभयो । उहाँ २०७० को प्रज्ञा पुरस्कार, कैलाली साहित्य संस्कृति प्रतिष्ठान कैलालीद्वारा प्रदान गरिएको मनिराज वाङ्मय पुरस्कार, गोपाल पाँडे असीम पुरस्कार आदि करिव तिस पुरस्कारहरूद्वारा विभूषित एवम् अलङ्कृत हुनुभएको छ । २०७५ सालमा देशभरका २५१ संस्था र नागरिक समाज मिलेर रथारुढ गराइ विराटनगरमा नागरिक अभिनन्दनसमेत गरिसकिएको छ । यस्ता पुरुषार्थ पुरुष साहित्यकार एवम् प्राज्ञ दधिराज सुवेदीसँग होमशंकर बास्तोलाले गर्नुभएको सङ्क्षिप्त कुराकानी ।
यहाँले साहित्यमा लाग्ने प्रेरणा कहाँबाट प्राप्त गर्नुभयो ?
– मेरा बा शिवशङ्कर सुवेदी र आमा खड्गदेवी ज्यादै नै मिठो स्वर र लयमा नेपाली भाखामा रामायण र महाभारतका श्लोक वाचन गर्नुहुन्थ्यो । बाको भन्दा पनि आमाको स्वर र वाचनकला मिठो थियो । म उहाँहरूले गाएको बेलामा छेउमा बसेर सुनिरहन्थेँ । साथसाथै गाउँमा चाडपर्वमा हुने खैंजडी भजन वा बालुन नृत्य पनि खुब चाख मानेर भररात हेर्ने र सुन्ने गर्थँे । अर्थात् म ज्यादै जिज्ञासु बालक थिएँ । संभवतः यिनै परिवेशले मेरो कलिलो मन र मस्तिष्कलाई साहित्य तर्फ आकर्षित ग¥यो होला । मैले ४ कक्षामा पढ्दादेखि नै कविता लेखेर साथीहरूलाई सुनाउने गरेको थिएँ । बाआमाले मलाई पनि रामायण र महाभारतका श्लोक पढेर सुना भन्नुहुन्थ्यो । म पनि सुनाउँथँे । यो नै मेरो साहित्य तर्फको पहिलो प्रयास थियो होला ।
यहाँको साहित्यक यात्रा कसरी अगाडि बढ्यो होला ?
– म २०२३ सालमा भोजपुर दिङ्लाबाट विराटनगर झरेँ । त्यो बेला कोशराज रेग्मीको सम्पादनमा निस्कने, ‘जनवार्ता’, ‘समाचारपत्र’ र विपिनदेव ढुङ्गेलको सम्पादनमा निस्कने ‘पारिजात’ द्वैमासिक साहित्य पत्रिका अनि गुरु नरेन्द्र चापागार्इंको सङ्गतमा पुगँे । चापागाईंले साहित्यका पुरस्कारहरू दिएर पढ्न र लेख्न प्रेरित गर्नुभयो भने रेग्मी र ढुङ्गेलले क्रमश ः कविता र समालोचन छापिदिएर मलाई धेरै प्रोत्साहित गर्नुभयो । २०२४ सालमा ‘जनवार्ता’मा छापिएको कविता र २०२५ सालमा‘पारिजात’मा छापिएको मेरो पहिलो समालोचनबाट लिखित साहित्यक यात्रा अगाडि बढेको हो । २०२७ सालमाराजाको उपस्थितिमा विराटनगरमा सम्पन्न देशव्यापी चतुर्थ साहित्य सम्मेलनमा छातीमा बिल्ला टाँसेर विराटनगरको प्रतिनिधित्व गर्दै अग्रजहरूको पङ्क्तिमा बसेपछि ता मेरो उत्साह चुलिएर आयो । २०२८ सालमा विराटनगरको राजनैतिक र ऐतिहासिक पत्रिका ‘बरगाछी’को सम्पादक बनेर छपाउन बनारस जाँदा विश्वेश्वरप्रसाद कोइरालाले धापमार्दै ‘साहित्यमा निरन्तरता चाहिन्छ’ भन्ने पाठ पढाएपछि म साहित्यमा नदीझैँ अविरल यात्रा गरिरहेँ । वि.पि. को यो मार्मिक वाक्यले मलाई ज्यादै प्रोत्साहन गरेजस्तो लाग्दछ । २०३९ सालमा वि. पि. को देहावसानपछि २०४० सालमा ‘बरगाछी’ वि.पि. विशेषाङ्क (साहित्य खण्ड) छापिएपछि पञ्चायतमा जुन खैलाबैला मच्चियो र त्यसले देखाएको निडरता र प्राज्ञिक गुणात्मकताले मेरो मर्यादामा अभिवृद्धि भई प्रज्ञा सभामा मनोनित भएँ । यिनै मर्यादाहरूले म प्राज्ञ भनिएँ र २०७० सालको प्रज्ञा पुरस्कार पनि प्राप्त गरेँ ।
यहाँ समालोचना विधामा विशेषत केन्द्रित हुनुभएको र पाठकहरूले रुचाएर पढेको पाइन्छ, यसको कारण के होला ?
– म लेखकका कृति पढेर प्रभाव र प्रेरणा ग्रहण गर्दै प्रभावपरक समालोचन लेख्न बढी मन पराउँछु । मेरो समालोचना पाण्डित्य छाँट्दै क्लिष्टताको बाटो हिँडिरहेको हुँदैनन् । सरल र मर्यादित भाषा, मिठो प्रस्तुति, चुरो र कुरोको यथार्थ विश्लेषण, सकारात्मक सोचका साथ अगाडि बढिरहेका हुन्छन् । म लेखकको मर्यादा राखेर लेख्छु र अनुजहरूलाई प्रोत्साहित गरिरहेको हुन्छु । अग्रजहरूबाट अभिप्रेरित हुनु र अनुजहरूलाई प्रोत्साहित गर्दै जानु म आफ्नो कर्तव्य ठान्दछु । थोरै लेखेर चाँडै प्रतिष्ठा आर्जन गर्ने र धेरै लेखेर मर्यादा कायम गर्न नसक्नै दुवै वर्गका बिचमा सन्तुलन मिलाउन भने असजिलो नै हुन्छ । त्यसैले समालोचकहरू यदाकदा आलोचित भएको पाइन्छ । समालोचकसँग लेखकमा भन्दा बढी दायित्व रहन्छजस्तो लाग्दछ । शङ्कर लामिछानेको समालोचनात्मक भूमिका नभएको भए ‘शिरीषको फूल’को मर्यादा कस्तो हुन्थ्यो त्यो मननयोग्य छ । त्यसैले स्रष्टाको सिर्जन र द्रष्टाको दृष्टि दुवै अन्योन्याश्रित हुनुपर्दछ भन्ने मेरो ठहर छ । हाम्रा अग्रज गुरु पारसमणि प्रधानले ‘शब्द थुपारीकन के हुन्छ, भाव भए पो कविता हुन्छ’ भनेको कुरालाई विशेष गरी नवागन्तुक सर्जकहरूले मनन गर्नै पर्दछ । पठन संस्कृतको विकास नगरी हामी मर्यादित हुन सक्दैनौँ । कुनै पनि सर्जकले विज्ञका गुणात्मक कृति अनिवार्य पढ्नुपर्दछ ।
समालोचनाले कमजोर लेखनलाई चाहेभन्दा बढी उचाल्न सक्छ भनिन्छ, यहाँको के प्रतिक्रिया छ ?
– स्रस्टाको नवलेखनलाई द्रष्टाले प्रोत्साहित गर्ने हो, उचाल्ने होइन । हामीलाई थाहा छ चर्चामा आउन लामो साधना गर्नुपर्दछ तथापि नवागन्तुक सर्जकहरू चाँडै चर्चाको अभिलाषा राख्दछन् । त्यसको मर्यादा पनि राखिदिनै पर्दछ । प्रारम्भमै यो भएन, त्यो भएन भनेर हतोत्साही तुल्यायो भने उसमा विचलन आउँन पनि सक्छ । तसर्थ दुवै वर्गले आ–आफ्नो क्षेत्रमा होस् प¥याउनु नितान्त जरुरी हुन्छ ।
यहाँ असीको छेउछाउमा पुग्दा पनि लेखनमा सक्रिय हुनुहुन्छ । यो उमेरमा यस्तो उर्जा कहाँबाट प्राप्ति भइरहेको छ ?
– सबैभन्दा पहिला हामीमा यो गर्छु भन्ने शुद्ध सङ्कल्पसहितको दृढ इच्छाशक्ति हुनुपर्दछ । उमेर ढल्कँदै गएपछि सन्तुलित भोजन र नियमित आहार विहार पनि चाँहिँदो रहेछ । शुद्ध सङ्कल्प, दृढ इच्छाशत्ति र सन्तुलित आहार विहारले मानिसलाई आवश्यक उर्जा प्रदान गर्दो रहेछ । मैले प्राइभेट परीक्षार्थीका रुपमा यो वर्ष यो परीक्षा दिन्छु भन्ने सङ्कल्पका साथ एक्लो मिहिनेतले प्रवेशिकादेखि एम.ए. सम्मको परीक्षा दिएर सफलता प्राप्त गरेँ । अचेल पनि अब यो गर्छु वा यो लेख्छु भनेर सङ्कल्पसाथ अगाडि बढ्छु । आजसम्म असफल भएको छुइँन । अचेल बिहान ३ बजेदेखि राति १० बजेसम्म म केही न केही गरिरहेको हुन्छु । अनिन्द्रा, प्रोष्टेड, भिटामिन डिको कमी र स्वासप्रश्वासको रोगले दुःख दिन्छ कि भन्ने लाग्छ, तथापि उच्च मनोवलका साथ अगाडि बढिरहेको छु । मलाई बुझ्न भर्खरै प्रकाशनमा आएको ‘अविरल यात्रा’ नामक कृति पढिदिनुहुन सादर अनुरोध गर्दछु । जसको मूल्यमा चिन्तन मनन र अध्ययन मात्र लेखिएको छ ।
यहाँ विराटनगरमा रहेर भाषा–साहित्यको विकासमा सक्रिय हुनुहुन्छ । आजभोलि विराटनगरको साहित्यक अवस्थाका बारेमा केही जान्न सकिएला कि ?
– विराटनगरमा नेपाली साहित्यको प्रारम्भ वि. पि. का पिताजी कृष्णप्रसाद कोइरालाको वि.स. १९७७ को ‘कृष्ण विनोद’ नामक कृतिबाट भएको पाइन्छ । त्यसपछि क्रमशः मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, देवकुमारी थापा, महानन्द सापकोटा, बालकृष्ण पोखरेल, भानुभक्त पोखरेल, नरेन्द्र चापागाईं, कृष्णभूषण बल आदिले प्रतिनिधित्व गर्दै आए । आज प्रतिभा पुरस्कार प्रतिष्ठान, पूर्वाञ्चल साहित्य प्रतिष्ठान, विराट साहित्यिक सङ्गम, चेतना संरक्षण प्रतिष्ठान आदि साहित्यक संस्थाहरूको व्यानरमा सयौँ कवि, कथाकार, उपन्यासकार, निबन्धकार, समालोचक तयार भएर यसको मौलिक साख जोगाइरहेका छन् । मोरङ विराटनगरले १९७७ देखि आजसम्म करिव ५०० उल्लेख्य साहित्यकार जन्माइसकेको कुरा मैले लेखेको ‘मोरङमा नेपाली साहित्यको उत्पत्ति र विकास’ २०७७ ले पुष्टि गरिसकेको छ । यसै क्रममा विराटनगरबाट सर्वप्रथम ‘वुद्धिविनोद प्रश्नोत्तरी’ नामक कृतिमा लेखनाथका ६५ श्लोके प्रश्नलाई डा. पिनाकीप्रसाद आचार्यले १८६ श्लोकमा उत्तर लेखेपछि विराटनगरको कविताक्रम अगाडि बढेको पाइएको छ । आधुनिक नेपाली कथालाई विश्वेश्वरप्रसाद कोइरालाले १९९२ को शारदामा ‘चन्द्रवदन’ नामक कथा छपाएर प्रारम्भ गरेका हुन् । यसरी नै वि.सं. २००२ सालमा छापिएको आइ. ए. तथा वि. ए. का विद्यार्थीलाई पढाउन तयार पारिएको निबन्धसङ्ग्रहका लेखक विराटनगरकै श्यामकृष्ण शर्मा थिए । आधुनिक नेपाली उपन्यास ‘पाटलीपुत्र’ १९९६ र ‘विमला’ २००५ का लेखक शोभाचन्द्र खनाल र माक्र्सवारी उपन्यास र समालोचनाको शुभारम्भ गरेर ख्याति आर्जन गर्न सफल डि. पि. अधिकारी पनि विराटनगरकै थिए । विराटनगरमा अभिनय कलालाई अगाडि बढाउन सर्वप्रथम रङ्मञ्चमा नाँच्ने कलाकार सुशीला कोइराला (वि.पि. पत्नी) पनि विराटनगरकै गौरव थिइन् । विराटनगरको बालशिक्षा र बालसाहित्यको शुभारम्भ पनि उनै कृष्णप्रसाद कोइरालाले गरेका थिए । यसरी विराटनगरको उर्वर भूमिमा नेपाली साहित्यको श्रीगणेश र विकास भएको पाइन्छ ।
यहाँले विशेष रुपमा मोरङ जिल्लाको भाषा साहित्य संस्कृति र कलालाई अनुसन्धान तथा लेखन गरेर पाठक समक्ष पु¥याइ रहनुभएको छ यस्तो कार्य कठिन भएन ?
– जुनसुकै काम पनि प्रारम्भमा कठिनै हुन्छ । अब म यो गर्छु भन्ने दृढ निश्चयका साथ अगाडि बढेपछि गन्तव्यमा पुगिन्छ नै । २०२८ सालमा गुराँस पुस्तकालयको मुखपत्र ‘बरगाछी’को सम्पादक भएर साहित्यमा प्रवेश गरेपछि २५ जति कृतिको लेखन र ७५ जति सम्पादन गरेर धर्म–संस्कृति, साहित्य र अनुसन्धानका क्षेत्रमा विशेष काम गरेको छु । त्यसैले मलाई कसैले बरिष्ठ साहित्यकार, कसैले समालोचनक र कसैले प्राज्ञ भनेर सम्बोधन गर्छन् । तर म साहित्यको उपासक वा साधारण चिन्तुक मात्र हुँ । वानप्रस्थतिर लम्किएको यो वृद्ध शरीरले काम गरेसम्म साहित्यको उपासना गरिनै रहने विचारमा छु ।
विशेष उपलब्धि चाहिँ केलाई मान्नुहुन्छ ?
– म समालोचना लेख्न विशेष अभ्यस्त भएकोले मेरा प्रकाशनमा आएका छ ओटा समालोचनासङ्ग्रहलाई विशेष उपलब्धि मान्दछु । मैले सम्पादन गरेको ‘बरगाछी’ वि. पि. विशेषाङ्क साहित्य खण्ड (२०४०) अभावको बेला ठुलै उपलब्धि मानिएको थियो । साझा समालोचना बाहेक अरु गुणातत्मक कृति नभएको अवस्थामा डा. नरेन्द्र चापागार्इं र मेरै सहसम्पादनमा पूर्वाञ्चल समालोचनासङ्ग्रह (२०४४), काव्यसमालोचना (२०५२) र संयुक्त लेखन गरेर विश्वेश्वरप्रसाद कोइरालाको साहित्यको समग्र अध्ययन (२०५१) जस्ता कृति लिएर त्यो समयको अभावलाई हामीले परिपूर्ति ग¥यौँ । त्यसैलाई उपलब्धि मान्नुपर्दछ । प्रतिभा पुरस्कार प्रतिष्ठान (२०३९) र पूर्वाञ्चल साहित्य प्रतिष्ठान (२०४१) पनि मेरा साहित्यक जीवनका उपलब्धि नै मानिएका छन् । म जे काम गर्छु भरसक त्यो गुणत्मक नै हुन्छजस्तो लाग्छ ।
हाल यहाँ साहित्यसम्बन्धी के गरिरहनुभएको छ, भविष्यमा के कस्तो कार्य गर्ने लक्ष राख्नुभएको छ ?
– हाम्रो परोपकार अभियान समूह भन्ने नितान्त सामाजिक संस्था छ । त्यो संस्थाले विशेष गरी मेरै प्रयत्नमा एउटा सुविधा सम्पन्न पुस्तकालय र ज्येष्ठ नागरिकहरूको निमित्त एउटा साँस्कृतिक कक्ष पनि निर्माण गरेका छौं । जुन पुस्तकालयमा आज २५ हजार पुस्तकहरू छन् । मैले प्रयोगमा ल्याएका करिव ८ हजार पुस्तक पनि त्यहीँ प्रदान गरेको छु । यो १ नं. प्रदेशको भौतिक सुविधा सम्पन्न गुणात्मक पुस्तकालय मानिएको छ । म यसैमा सेवारत छु । भविष्यमा यहाँ एउटा बौद्धिक कक्ष निर्माण गरी विद्वानहरू भेला भएर चिन्तन मनन र अनुसन्धानको कार्यलाई अगाडि बढाउने प्रयत्नमा लागेको छु । शरीरले साथ दिएमा मेरो यो सङ्कल्प पनि पूरा हुनेछ ।
जीवनमा साहित्य क्षेत्रमा लागेर के चाँहि प्राप्त गरेजस्तो लाग्छ ?
– मैले साहित्यमा लागेर ज्ञान, मान, प्रतिष्ठा आर्जन गरेँ । जीवन र जगत् बुझेँ र सम्मानित नागरिक बनेको अनुभव गरेँ । म भुइँमान्छेले प्रज्ञा प्रतिष्ठानको सभामा पुग्नु र प्रज्ञा पुरस्कार ग्रहण गर्न पाउनु पनि सौभग्यको कुरो हो । ममा सकारात्मक चिन्तनको विकास हुनुलाई पनि साहित्यकै उपलब्धि मान्दछु । मान्छेको ह्दयमा बत्ती बलेपछि बाहिरभित्र उज्यालै उज्यालोको अनुभव हुँदोरहेछ ।
नामले पनि साहित्यमा काम गरिरहेको हुन्छ भनिन्छ, के सिर्जनाभन्दा नाम शक्तिशाली हुन्छ ?
– हुँदैन । नामले मात्र साहित्यकार हुने भए पृथ्वीनारायणशाह, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला आदि पनि ठुला साहित्यकार हुने थिए । बैँसमा प्रेमीले लेखिदिएका कविता वाचन गरेर चर्चित बनेका प्रेमिकाहरू कालान्तरमा जिरोमा झरेका उदाहरण प्रसस्तै पाइन्छन् । आजभोलि अरुलाई लेखाएर चर्चामा आउने साहित्यकारको पनि कमी छैन । तिनीहरू वर्षादका पानीका फोका मात्र हुन् । पैसा दिएर कृति लेखाउने परम्परा पुरानै हो, आज यो व्यवसाय अझ फस्टाएको पाइन्छ । उनीहरू सधैँ हीनतावोधले ग्रसित अवस्थामा रहन्छन् । तसर्थ नामले होइन उपासनाले दिगो साहित्य लेखिन्छ भन्ने मेरो ठम्याइ छ ।
वर्तमान नेपाली साहित्य कस्तो छ भन्ने लाग्छ यहाँलाई ?
– नेपाली साहित्य विविध आयामका साथ अगाडि बढिरहेको छ । भारतीय भाषा र साहित्यको २०० वर्षमा गरेको प्रगति हामीले ६०÷७० वर्षको समयमा गरेर देखाएका छौं । भारतीय विद्वानले आफ्ना महाकविहरू प्रसाद, पन्त, निरालाभन्दा नेपालका एक्लै महाकवि देवकोटा ठुला छन् भनेर उच्च मूल्याङ्कन गरेका छन् । देवकोटामा मौलिक सिर्जनाशक्ति र प्रचुर कल्पनाशक्ति भएकै कारणले हाम्रो वाङ्मयले फड्को मारेको हो । आज नेपाली साहित्यका सबै विधा अग्रगतिमा छन् । नाटकले भने चाहेजति प्रगति गर्न सकेको छैन ।
अन्त्यमा अन्तर्बोध मार्फत साहित्यिक मनहरूलाई केही भन्नु छ कि ?
– साहित्यमा निरन्तरता चाहिन्छ । गुणात्मक पनि हुनुपर्छ । पाठकलाई मिठासपूर्ण र सुस्वाद पनि हुनुपर्दछ । हामीले कालजयी साहित्य लेख्न थालेपछि मात्र पास होइन्छ । तसर्थ दीर्घ साधना गर्न नसक्नेहरूले समयमै सोचविचार पु¥याउनुपर्दछ ।