जानकी तिमल्सिना
देशको लागि बलिदान प्यारो लाग्छ जनतालाई
सबै भन्दा स्वाभिमान प्यारो लाग्छ जनतालाई
उस्तै–उस्तै लागे पनि फरक हुन्छ फूलको सुवास
आफ्नो–आफ्नो पहिचान प्यारो लाग्छ जनतालाई
अचानो को पीडा बुझ्ने खुकुरीको धारा हुँदैन
समावेशी संविधान प्यारो लाग्छ जनतालाई
फूल सयौँ थुङ्गा एउटै हामी माला नेपालीका
माटो बोल्ने राष्ट्रिय गान प्यारो लाग्छ जनतालाई
नेपाल तिमी आमा हाम्री बुढी कहिल्यौ हुन दिन्नौँ
राष्ट्रियताको यौवनपान प्यारो लाग्छ जनतालाई
सुत्दा पारि भा’को किल्ला उठ्दा वारि सरेपछि
देश बचाऊ अभियान प्यारो लाग्छ जनतालाई
