ओमप्रसाद कोइराला
असल सोच विचार भयो भने
सरल भै सहजैसँग उम्कने
गलत काम गरेपछिको यहाँ
सफल हुन्छ सखे मन को कहाँ ?
असल भै अरुको हितमा कुरा
नगर अल्मल गर्न सके पूरा
सकस भो नभनीकन कर्ममा
दिल दिमाख लगाउनु धर्ममा ।
नगर बिल्कुल बिध्न हुने कुरा
बरु गरे सहजैसँग यो पूरा
अटल बन्न सकिन्छ भने प्रण
गर न सार्थक हुन्छ समर्पण ।
युवक हो ! उठ देश सजाउन
सफल भै अब बस्न रमाउन
पुग सबैतिर सोख दिलाउन
सकल मानिस शान्त गराउन ।
उठन हे ! अब लाग सुकर्ममा
नगर बिध्न विनाश अनर्थमा
शिखर चुम्न सके सहजै यहाँ
बस सबै टुहुरा नबनी यहाँ ।
नव युवा उठ जाँगर जोसले
समरमा लड है लड होसले
श्रम गरे गर भन्दछ यो धरा
समय सार्थक हुन्छ बसुन्धरा ।