काजी राेशन
सभा समारोहमा जाउँ
या स्कुल, कलेज
खुद्रा पसलमा जाउँ या छापाखाना
संघ संस्था या कार्यालय
नेरफेर वरपर
मेरो उपस्थितिले
साहित्यलाई जनाउँछ
मेरो उपस्थितिले
साहित्यको प्रतिनिधित्व गर्छ
जहाँ जे बोल्छु
साहित्य बोल्छु
जहाँ जे भन्छु
साहित्य भन्छु
औषधि पसल या कपडा पसल
जहाँ जे जुन प्रयोजनमा जाउँ
सियोदेखि सुनसम्मकाले
भन्छन् साहित्यकार आयो, कवि आयो
सहर, गाउँ, बस्ती
जहाँ जहाँ जाउँ
साहित्यले चिन्छन्
साहित्यको बोर्ड नै टाँगेको छु
विगत विगतदेखि
कानेखुसी गर्छन् हेर्नेहरू–
यहाँ पनि साहित्यको संस्था रहेछ
हो म साहित्यको
अखाडा जमाएर बसेको छु
साहित्यको किलो गाडेर बसेको छु
जो छ यसैमा म छु
यसैमा रमाएर बसेको छु