१. लत
रामबहादुरले धेरै बर्ष अघिदेखि रक्सीको स्वाद लिँदै आए । घरमुली उनै
थिए । त्यसैले उनलाई रक्सी पिउने लतको पोखरीबाट कसैले बाहिर निकाल्न
सकेनन् । नानीदेखि लागेको बानी भनेझैँ उनको दैनिक जीवनमा रक्सी अभिन्न अङ्ग हुँदै आएको थियो । कसैले अवरोध गर्न खोजे पनि उनी अनेक जुक्ति निकाल्थे र
रक्सीसँग भेट गरेरै छोड्थे ।
तर उनले अब रक्सी खान सकेनन् । रक्सीले उनलाई खान थाल्यो । उनको शरीरमा अनेक विकारहरू देखिन थाले । उनको कलेजोले काम गर्न छोड्यो ।
शरीरका आँखा लगायतका अङ्गमा पहेँलोपन बढ्न थाल्यो । खानेकुरामा अरुची बढ्दै गयो । उनी कमजोर हुँदै गए । उनको बास अब अस्पतालमा हुन थाल्यो ।
अब पनि पिउन नछोडे ज्यान नबाँच्ने भएकाले रक्सी छोड्ने कडा निर्देशन सहित डाक्टरले उनलाई एक महिनाको औषधि लेखे र औषधिको मात्रा पूरा गरी आफूलाई भेट्न आउन सुझाए ।
उनी जहान परिवारको साथ लागेर घर आए । घरकाले उनको कडा
निगरानी गर्न थालेका थिए । उनी सिधा आफ्नो कोठामा उक्लिए । उनको कोठा अव्यवस्थाको नमुना थियो । उनकी श्रीमती पनि उनको कोठामा छिर्न नपरोस्
भन्थिन् । अरु झन् किन छिर्थे ?
पतिको रक्सीको लत छुट्ने आशाका साथ उनकी श्रीमती आज उनको कोठामा छिरिन् । कोठामा जताततै रक्सीका बोतलहरू लडेका थिए । अनि श्रीमतीले देख्ने गरी उनले भुइँमा लडेका खाली बोतल टिपे । मलाई बिगार्ने तैं होइनस् भनेर
रिसाउँदै रक्सीको खाली बोतलहरू झ्यालबाट बाहिर मिल्काउन थाले । पतिको आजको क्रियाकलापले उनलाई खुशी तुल्याएको थियो ।
उनले श्रीमतीतिर हेरेर भने, ‘हेर त राधा ! मलाई हानि गर्ने खाली बोतलहरूलाई मैले फाल्दिसकेँ ।’
रामबहादुरले श्रीमतीको आँखा छलेर रक्सीका भरी र आधा बोतलहरूलाई भने पहिल्यै लुकाइसकेका थिए ।
१. डेरा
गोकर्णले आफ्नो घरका कोठाहरू बहालमा लगाएको थियो । ऊ
वरिपरिका अरु घरधनीले भन्दा बढी भाडा लिन्थ्यो । उसले बत्ती, पानी र फोहोरको सबै खर्च डेरावालबाट नै असुल्थ्यो ।
उसको घरमा शिव, हरि र गोपालका परिवार बहालमा बस्ने गरेका
थिए । हिजो शिवको कोठामा पाहुना आएको देखेर उसले जुत्ता गन्यो र सराप्न
थाल्यो । अनि शिवलाई देख्नासाथ भन्यो, ‘हिजो बाबु कहाँ पाहुना आएका
रहेछन् । अब त पाहुनालाई नबोलाउनु नि ! तपाईंहरू धेरै नुहाउने, लुगा धुने गर्नुहुँदो रै’छ ! हप्तेपिछे नुहाउन, लुगा धुन त पानीले धान्दैन त !’
‘पानीको पैसा बेग्लै लिनुहुन्छ । हप्तामा एकपटक नुहाएको, लुगा धोएको नि रिस गर्नुहुन्छ । आफू भने हरेक दिन नुहाउनुहुन्छ नि ! कति लोभ गरेको घरबेटी बा ! तपाईंका छोरा छैनन् त ! छोरी मात्रै हुन् क्यारे !’ सबैले सुन्ने गरी उनले
घरबेटी बालाई भने ।
कार्य व्यस्तताले हरि बेलुका सात बजेतिर आइपुगे । बाहिरको मूल गेटमा घरबेटीले ताल्चा मारिसकेको थियो । बेलुका सात बजे नै मूल गेटमा ताल्चा मारेर ऊ सुरक्षित महसुस गरी माथि उक्लियो । मूल गेट बजेको आवाजले ऊ झस्कियो अनि छतबाट हे¥यो । गेटमा मानिस उभिएको देखेर ऊ डरले काम्न थाल्यो ।
हरिको आवाज सुनेपछि मात्र ऊ त्रास मुक्त भयो र उनलाई सराप्दै साँचो लिएर
तल आयो ।
सधैँ मसान्तको दिन बहालको चिट पठाउने उसले यो पटक मसान्तभन्दा दुई दिन अगाडि नै पठायो । चिटमा उसले घर भाडा, पानी, बिजुली, फोहरका
अतिरिक्त बहाल करको रकम पनि उल्लेख गरेको थियो ।
यतिखेरै उसको घरमा नगरपालिकाको प्रतिनिधिले पाँच वर्षदेखिको बक्यौता कर सात दिनभित्र नतिरे सबै सुबिधा काटिने सूचना टाँसेर गयो ।
डेरावालहरू भने अन्तै डेरा सर्न हतार हतार सामान मिलाउन थाले ।
– बागमती ११, कर्मैया, सर्लाही