कविता
प्रकृतिको मौनता
गङ्गा लिगल
प्रकृति रमाउँछिन् मस्तसँग
आफ्नै सुन्दरतामा
यिनलाई न बादलको गडगडाहटको
न चिन्ता छ सेतै तुसारोको
बुड्याइँको आभास दिएको
सन्का उडानको व्यग्रता
न निर्जन वनमा कोलाहलको कौतुहलता
केवल प्रफुल्लित छिन्
सदाबहार जीवनमा ।
संसारमा कहीँ हर्ष उल्लास
कहीँ रोदन क्रन्दनको
दर्दनाक आवाज गुन्जिरहेछ भने
कहीँ रोमान्च क्षणले रमाएको छ
कर्कलाको पातमा मोतीको दानाझैँ
टिलपिल टिलपिल गर्ने थोपाहरू
मर्नु न जिउनु भै
सशङ्कित अवस्थामा झुण्डिरहेछन्
जीवनको प्रतिबिम्ब स्वरुप ऐनाले
जीवन गाथा कोर्दा कोर्दै
यौवनको स्वरुपलाई
बृद्ध अवस्थाको प्रतिबिम्बले
ढाकेपछि
ऐना एक बर्बरताको भाडो बन्न पुग्दछ
त्यही ऐनाले
यौवनमय सुख दिएको थियो
निर्जन बनको भयावह ब्यग्रतालाई
प्रकृतिको मौनताले आफैंमा समेटिन्छ
बायुयानको भयङ्कर टकराहटलाई
ढुङ्गाको जवाफ ढुंगाले दिँदै
निश्चिन्त रहन्छिन प्रकृति
अनि अग्निको ज्वालामा लपेटियका
महत्वकाङ्क्षाका जीवनहरू
आमाको आवाजको जवाफमा
प्रकृतिको मौनतामै निम्तिन्छन्
यो अवर्णनीय आतङ्कित जीवनहरू
एकको खुटा अर्कोमा मिसिन पुग्दछन्
केवल भौतिक तत्वको पोकालाई
सन्ध्याको घन्टी सँगसँगै
रुढीबादी र ढोङलाई सीमित पार्दै
आँसुका थोपाहरू बिसर्जित गर्दछन्
यत्रो दुःखको कहानीलाई
प्रकृतिले आफूभित्र लुकाउन खोज्छिन्
उनी मौन रहन्छिन्
आफ्नो जीवनको बहारलाई
कलङ्कित बनाउन चाहदिनन्
मौनतामै आफूलाई
समेटी दिन्छिन्
यही सृष्टिको देनलाई
प्रष्ट पारी
निश्चिन्त भै सुशोभित हुन्छिन् ।