अनुवाद कविता
युद्ध
सहदेव मिश्र “शांडिल्य”
मार्ने र मर्नेहरूको
यो अन्तहीन श्रृंखला
आखिर कहिले रोकिनेछ ?
युद्धको उन्माद
कहिले शान्त हुनेछ ?
अहंकारको दन्किरहेको ज्वाला
कहिले निभ्नेछ ?
यहाँसम्म कि
असीम सागरलाई पनि
यी हैवान प्रवृत्तिहरूले बाँकी
राखेनन्
आधुनिक अस्त्र–शस्त्रको अन्धो
प्रयोगले
मानिसले मानिसलाई नै
नेस्तनाबुद बनायो
ध्वस्त अट्टालिकाहरूको धुलोभित्र
मानवता सिस्किरहेको छ,
दानवता अट्टहास गर्दै उभिएकी
छ,
र मानिसहरू—
रोइरहेका, बिलखिरहेका,
आफ्नै अस्तित्वको
भग्नावशेषमा हराइरहेका छन्
के यो
प्रलयको पूर्व सूचना होइन ?
तर होइन—
यो अन्तिम सत्य होइन
कराइरहेको मानवतालाई
त्राण दिनका लागि
कुनै न कुनै करुणामय शक्ति
अवश्य प्रकट हुनेछ,
अहिंसाको पुजारी
फेरि एकपटक
यस संसारलाई
विनाशको किनारबाट फर्काउनेछ ।
(४७६ भ्, लोको कालोनी प्रयागराज, उत्तर प्रदेश, भारत)
हिंदीबाट नेपालीमा अनुवादः
मिथिलेश ‘आदित्य’