कुइभिरलाई सम्झदा
हरि कट्टेल
बाल्यावस्था, यौवनावस्था र प्रौढावस्थाको आधार अवस्था हो । बाल्यकालका कुरा कति दीर्घस्मृति रहने खालका हुँदा रहेछन् भनेर आज म बाल्यकालको केही सुन्दर समय बिताएको कुइभिर र त्यसको सेरोफेरोलाई सम्झिने महसुस गर्दैछु ।
स्मरण, विस्मरण, पुनःस्मरण आदि मानव जीवनका महत्वपूर्ण पक्षहरू हुन् । यी जीवन मान्छेको मन र मनोविज्ञानलाई सन्तुलित र व्यवस्थित गर्नका लागि पनि आवाश्यकीय कुराहरू हुन् । ज्ञानको पिरामिडमा अरू ज्ञान थप्नका निम्ति पनि विस्मरणको आवाश्यकता हुन्छ भनिन्छ । तर कतिपय कुराहरू यस्ता हुन्छन् जो कहिल्यै बिर्सन सकिँदैन । अझ मेरो निजी अनुभवको कुरा गर्ने हो भने बाल्यवस्थाका कुराहरू अन्य उमेरका कुराहरूभन्दा अझै बढी स्मरणीय र प्रिय हुँदा रहेछन् । बाल्यवस्थामा खेले, डुलेका ठाउँहरू, साथी सरू्गातीहरू, घटनाक्रमहरू जिन्दगीका पर्याय बनेर रहने रहेछन् । त्यसैले नै हुनुपर्छ मैले बाल्यकालको केही काल खण्ड बिताएको कुइभिर, कुमल्टार अथवा माझीटार अनि मैले कक्षा दुई, तीन र चार पढेको कुइभिर नि. मा. वि. र कुइभिरटार मेरा मानसपटलमा, मेरा जिन्दगीमा स्थायी स्मरण बनेर बसेका छन् ।
म त्यतिबेला आठ÷नौ वर्षको हुँदो हुँ मलाई कुइभिर निमाविमा कक्षा दुईमा भर्ना गरियो । उसो त मैले कक्षा एक भने नेचा कालिका प्राविबाटै पास गरिसकेको थिएँ । एउटा काउकाउ थियो कक्षा एकका पाठहरू शिरपुछार कण्ठै थिए । दुई कक्षामा स्कुल भर्नापछि म त्यो स्कुलकै एउटा मेधावी छात्रका रुपमा दरिएँ । छविलाल भन्ने हेडसर हुनुहुन्थ्यो । मिनबहादुर कटुवाल, दुर्गा अधिकारी, हिरण्य, वीरबहादुर लगायतका अन्य सरहरू । मास्टरका अगाडि भूतको छाया परेझैँ हुनु र घण्टी (सिट्ठी) बजेको नै थाह नहुने गरी सस्वर वाचन गरी आवाज निकालेर पढ्नु हामीजस्ता विद्यार्थीहरूका दिनचर्या थिए । कक्षाका अगाडि उभिएर दुनांङ्क कक्षालाई रटाउदाको मजा अहिलेसम्म ताजै छ ।
एक बजेको घण्टीको पहिलो आवाज सुन्ने बित्तिकै उता पर गाउँको तित्रीको बोट ताकेर हावाले झारेका तित्री टिप्न कुदेका, स्कुल मुन्तिरको पँधेरा नजिकै रहेको बरको चौतारीका चिल्ला ढुङ्गामा ढुङ्गैले कोरेर बनाएको बोर्डमा ढुङ्गाका गोटीहरू राखेर क्यारामबोर्ड मारिएका र स्कुल छुट्ने बित्तिकै स्कुल मास्तिर रहेको सिंहकाली देवीको जरैजराले घेरिएको अथाह मोटाइको वरका रुखका तुर्लुङ्ग झुण्डिएका जराहरूलाई समातेर आकाशै छुँलाझैँ गरी पालो गरी गरी साथीहरूसँग पिङ खेलेर हुइँकिनु मेरा अतिरिक्त दैनिकीहरू हुन्थे । यादव राई, ढकीशोभा, लीला भुजेल, तारा, शिव थापा, खिल अधिकारी, मोती राई (भर्ती), केशवहरूसँग गट्टा खेल्नु, ओखर र पैसाका खोपी खेल्नुको आनन्द बेग्लै हुन्थ्यो ।
एक दिनको कुरा हो सिंहदेवीको थान नजिकै बाटोको दुइतिर कोदो झ्याम्म भएको बाटोमा (जहाँको कोदोका पात बाँधेर साथीहरू लडाउने काम पनि हुन्थ्यो) हामी केही साथीहरू खोपी खेल्दै थियौँ । स्कुलका अध्यक्ष थाकु राई फुत्त आइपुगे । थाकु बाजेको अचम्मको स्वभाव थियो कि केटाकेटीहरू जो भेट्यो च्याप्प समातेर कन्सिरी तान्ने । हामी उनलाई देख्ने बित्तिकै टाढैबाट भाग्थ्यौँ । उनलाई देख्ने बित्तिकै हाम्रो सातो गयो । हामी खालका पैसा, फुकालेका अस्कोट, कितावका झोलै छाडेर भाग्यौँ । संयोगले मैले चाहिँ मेरो नाम्जे झोला च्यापेर कुद्न भ्याएँछु । थाकुले साथीहरूको झोलाहरूको थाक काँधमा झुण्ड्याए र उनको घरतिर लागे । हामी डराउँदै घर गयौँ । घर गएपछि छिमेकी खिलका हजुरबा हजुरआमा सब मसँग घरमै आए र खनिए । उनीहरूले उल्टै मलाई भने ‘तैँले आफ्नो बचाएर मेरो नातिको झोला थाकुलाई लान लाइस् । त्यो झोला तैँले तु ल्याउनुपर्छ ।’ पछि उनीहरू गएर झोला लिए आए ।
स्कुल छुट्टीपछि टार र हिले छापका साथीहरू छुट्थे तर आत्मारा, कुमल्टार र कुइभिरेली साथीहरू रत्न, साङ्गी, रामकुमार, चीनबहादुर मगर, छवि (जो उहीबेला परलोक भए), कुमार, सुवास, मोती बास्तोला, नेत्र आदि साथीहरू सँगसँगै हामी बरडाँडा पुग्थ्यौँ र तल टारी हेरौँलाझैँ गरेर बरका जरामा हुइँकिन्थ्यौँ । त्यो सम्झेर आज डर लाग्छ । सम्झन्छु हात खुस्केको भए त्यो भिरबाट कहाँ पुगिन्थ्यो होला ।
एक दिनको कुरा हो दिउसो निकै ठुलो पानी प¥यो । स्कुल छुट्टी भएपछि हामी जब आत्माराको सिरमा रहेको (झुकी आमैका घर मास्तिरको चौतरीमा पुगेर बिसायौँ तल दुधकोशी कालो भएर बाढीमा मडारिइरहेको थियो । साथीहरूले भने लु भलमा आज माछा मरे, माछा टिप्न जाउँ । हामी घोरलभन्दा दु्रत गतिमा हाम फाल्दै सतीघाट पुग्यौँ । हो त्यहाँ केही पर पर माछा टिप्ने मान्छेहरू पनि देखिन्थे । तर हामीले किनारमा एउटै माछा भेटेनौँ । हामी बिस्तारै बाढीका गल्छँडाहरू तर्दै चारैतिर पानीले घेरिएका ठुला ढुङ्गामाथि चढ्यौँ । स्वाँ.....को आवाजबाहेक केही नसुनिने त्यो एकान्तमा जान्नेहरूले सुसेल्यौँ, नजान्नेहरू चिच्यायौँ । एकाएक कुनै साथीले त्यो वारिपारि जोडिएको समुद्रतुल्य विशाल नदीको मूल प्रवाह तर्फ देखाउँदै भन्यो यसबेला पौडिएर कसैको तर्ने आँट छ ? त्यो प्रश्नले मेरो साहसलाई गिज्याएजस्तो लागेछ । मैले बाकटे हात फिजाउँदै भनेँ म तर्न सक्छु । म पौडी हान्न आटेँ । साथीहरूले हैट सक्दैनस् हुँदैन भनेर रोक्न खोेजे । उनीहरूले रोक्न खोजेपछि त झन् म पौडी हान्ने नै भएँ । भरे साथीहरूले रिक्वेस्ट गरेर रोके । ममा साँच्चै त्यसबेला त्यो पानीमा हाम फाल्ने हौसला कसरी आयो ? त्यसमाथि त्यसदिनसम्म मैले कोसीमा पौडिने अनुभव गरेको पनि थिइनँ । इन्केस साथीहरूले नरोकेका भए... । बच्चाहरू कसरी लहडमा दुर्घटनाका शिकार हँुदा रहेछन्, अहिले सम्झन्छु र लामो सास फेर्छु ।
सायद कुरो दुई कक्षाकै हुनुपर्छ । हिरण्य सर सामाजिक विषय पढाउँदै हुनुहुन्थ्यो वा विज्ञान कुन्नि ! सरले भन्नुभयो नानीहरूले फूल देखेका छौ नि ? हामीले स्वरमा स्वर मिलाएर भन्यौँ छौँ सर । सायद सर पाठप्रति विद्याथीहरूलाई मोटिभेटेड गर्दै हुनुहुन्थ्यो । सरले फेरि सोध्नु भयो ‘फूल कुन कुन रङ्गका हुन्छन् ?’ हामी स्वरमा स्वर मिलाएर फूलका रङ्ग भन्दै गयौँ—राता, पहँेला, सेता, गुलावी आदि आदि । भन्दै जाँदा मैले भनेछुँ कालो पनि । सरले लगत्तै सोध्नुभयो ‘ए हरि तिमीले कालो फूल कहाँ देखेका छौ ? नहुने कुरा गर्छौ ।’ अब त्यसबेला मेरो अहम्मा चोट पुगेछ क्यारे मैले भनेँ देखेको छु सर । उहाँले अलि ठुलो स्वरमा भन्नुभयो ‘अरु ठिकै छन् तर कालो फूल भनेँ हुँदैन । मैले पनि देखेको थिइँन तैपनि सरले कक्षा छोडेपछि साथीहरूसँग सरभन्दा आफैँ जान्ने भएझैँ भनेँ । यी सरले देखेकै रहेनछन् तर माथि बिहिबारे बजार जाँदा एकरातेमा धारो छ नि हो त्यहाँ कालो फूल छ त । बाल स्वभाव कति हठी हुँदोरहेछ छक्क पर्छु ।
कुइभिर र त्यसको सेरोफेरो त्यसकारणले पनि बिर्सन सकिँदैन कि कतिपय कुराहरू जन्मचिन्ह र जीवनका महत्वपूर्ण पाटोका रुपमा अहिलेसम्म रहिरहेका छन् र मृत्युपर्यन्त रहिरहनेछन् । स्वस्फुर्त रुपमा आफूमा हावी भएको राजनैतिक विचार र दर्शन, वाल्यकालतिरै आँकुरा पलाएर धेरथोर मौलाएको मेरो साहित्यिक प्रतिभा, कुइभिर नि.मा.वि.कै शिक्षाको जगमा विकसित औपचारिक शिक्षाका तीनतीन विषयको स्नातकोत्तर डिग्री यी सबैमा कुइभिरको वास्ना आउँछ ।
सम्झनामा त्यो बेलाका अनेकन घटनाक्रम मनमा छन् । सबैको उल्लेख यहाँ सम्भव छैन । कुमल्टार पारिको कोल्डाडा मुनिको पाखामा टिपेर चपाएको चिउरी, गोठमा राती बस्दा बाँसमा पकाएको खिर, बाँसमा पानी भरीभरी पाड्को ठोकेर आगोमा बालेर पड्काएको बम, झ्याउँकिरीको आवाजसँगै गरिएको उकाली ओराली घरीघरी झझल्को बनेर आउँछन् । कुइभिरसँग जोडिएका यस्ता थुप्रै संस्मरणहरू छन् । माझीहरूको नाच, राईहरूको मारुनीदेखि ठुलोपित्रका दृष्यहरू आँखामा दुरुस्त छन् । स्कुले नाच लिएर सिलौरी बजार जाँदाको सम्झना अझै ताजै छ । विभिन्न दिवसहरूमा खानीभञ्ज्याङ र पोखरे पुगेर सहभागी हुँदा र फर्कदा भोकका झोँकहरू, रुखका टोड्का र खरका झाम्टाभित्र खाजा लुकाएर स्कुल गएका र आउँदा घाँसेले चप्काउदै गरेका स्मरणहरूदेखि डुम्री र बर टिपेर खाँदाका स्मरणहरू ताजै छन् । जेहेन्दार छात्रवृतिमा बुझ्ने गरेको रु. २५ कक्षा प्रथम र स्कुल प्रथम भएर हातभरि पुरस्कार लिएका चेलपार्क मसी र बैँसाली कपी, अनुहारभरि अबिर पोतिएर घरतर्फ जाँदाको खुशी आहा ! कति रमाइला थिए ती क्षणहरू !
आखिर कक्षा पाँचको सुरुआतको केही महिनापछि नै म नेचा फर्कनै पर्ने भयो । चक्र कटुवाल भर्खरै सरुवा भएर आउनुभएको थियो । पातलो ज्यान, कालो चस्मा अङ्ग्रेजी विषय अध्यापन गर्ने सर उहाँलाई म अहिलसम्म यसैगरी सम्झन्छु । त त्यसैबिचमा मेरो जीवनमा एउटा घटना घट्यो । माघ फागुनतिर हुनुपर्छ हाम्रा गाईबस्तु शिव राईकोमा घाँस खुवाउन लगेका थियौँ (बारी खेत मल्न, घाँस खुवाउन भनेर एउटाका गाईबस्तु अर्काको गोठ लाने चलन थियो) । शिव राई र म मिल्दा साथी थियौँ । हामी बाँस नुहाउन गयौँ । शिव मभन्दा अलि उमेरले जेठा थिए र अलि बलिया पनि । हामीले टाँगोले बाँस नुहायौँ । उनले भने हरि भाञ्जा ! जाऊ त टुप्पामा समाऊ । म दह्रो गरी तानिराख्छु । मैले त्यसै गरेँ । बाँसको टुप्पालाई मुस्किलले समाएँ बाँस मलाई नै लिएर भागुँ भागुँ गर्दै थियो । तर त्यहीबिचमा शिव बुरुक्क उफ्रेर बाँसको घनामा झुण्डिएछन् । बाँस उनको वलले लच्कियो र त्यसको टुप्पो, जुन अघिल्लो सालतिर खुकुरीले छड्के बनाएर काटेको रहेछ; मेरो तिघ्रामा भासियो । म ऐया भन्दै बाँस छोड्न विवस भएँ । अब बाँस उनीबाट पनि उम्कियो । तर बाँस उम्किदा बाँसको टुप्पो मेरो तिघ्राभित्रै भाँचिएर गयो । अब मलाई घर लगियो । स्थानीय बुज्रुकहरू भेला भए । बाँसको छड्के खुट्टामा ठुलो सुम्लाका रुपमा देखिन्थ्यो । छरछिमेकी बुज्रुकहरूले पुरानो ब्लेड लिएर त्यसलाई चिरेर निकाल्ने गलत प्रयास गरे । हात खुट्टा समातियो र चिर्न थालियो । रगत बगेर म बेहोस भएँछु । पछि म वेहोस भएँपछि तिनीहरूले मलाई छोडेछन् । जे होस् म अपाङ्ग हुन अथवा मर्नबाट जोगिएँ ।
केहीदिन म ओछ्यान परेँ । खुट्टा टेकिएन । तरपछि बिस्तारै म त्यहीँ काँडासहित हिँड्न थालेँ । छ महिना जतिपछि मलाई टेकनपुर हस्पिटल लगियो र अप्रेसन गरेर त्यो टुप्पा निकालियो । त्यसको खाल्डे खत अहिलेसम्म पनि कुइभिरको चिनो बनेर मेरा बायाँ तिघ्रामा रहेकै छ । जे होस् कुइभिरले मलाई बिस्र्यो होला तर मैले बिर्सेको छैँन, नत बिर्सनै सक्छु । आज कुइभिरका हरेक गतिविधिहरूलाई नियाल्छु, खुशी लाग्छ । आफू कुइभिरबारे अपडेट हुन खोज्छु । मेरो प्यारो कुइभिरलाई कोटी कोटी नमन ।