बिबाह
मधुर भट्टराई
पर्खिंदै थिएँ एउटा बस
जिन्दगीको बसस्टपमा
एउटा लामो यात्राको निम्ति ।
आउन त आयो एउटा बस
तर रंगमा बसेको थियो सघन उदासी
निधारमा झुन्डिएको थियो बुढो घाम
यो देखेर
चढ्नै मन लागेन
र पुनः पर्खिएँ प्रतीक्षामा अर्को बस
कुर्दा कुर्दै आयो अर्को पनि
तर चढ्न खोज्दा खोज्दै
देखेर चालकको जुँगामा खुइलिएको इमान
र गालामा लागेको मैलो दाग
फेरि पनि निधो गरेँ
नगर्ने यात्रा र पर्खिने अर्को बस पनि
पर्खिदा पर्खिदै
समय कपालमा उग्लिन थाल्यो
र छालामा चाउरिन थाल्यो ठिमाहा कालखण्ड
तर आउन त आयो पर्खिरहेको बाटोमा अर्को बस पनि
आफन्तले करबल गरे
सथीभाइले सम्झौताको फेहरिस्त सुनाए
तर चढ्नै लाग्दा–
देखेर भिडको असहिष्णुता
र यात्राको अँध्यारो दर्शन
ढोकाबाटै फर्किएँ प्रतीक्षालयमा
यतिबेला घाम आकाशमा ओइलिन थालेको छ
उद्दिग्न पर्खाइको डिल
उफानको बाढीले भत्काउन लागेको छ
तर कुर्दाकुर्दै पुनः आयो अर्को बस पनि
र सहचालक भन्दैछ यतिखेर
यो अन्तिम बस हुन पनि सक्छ
नचढे छोप्न सक्छ पश्चात्तापले
म सोच्दा सोच्दै उम्किएको माछाको कल्पनामा छु
र गहिरो दोधारमा पिल्सिएको छु
नचढुँ–
पुग्नुछ गन्तब्य समयमै
चढुँ–
हार हुन पनि त सक्छ
अब्बल बिकल्पको ।