तनाव व्यवस्थापन
डा. भागवत आचार्य
(प्रस्तुत लेखमा तनावको परिचय, तनाव उत्पत्तिको प्रक्रिया, तनाव न्युनीकरणका व्यावहारिक उपायका बारेमा केही सनातन परम्परा, दार्शनिक दृष्टिकोण र बौद्ध अभ्यास आदिका बारेमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । अध्यात्म विषय अति नै व्यापक भएकाले यो प्रस्तुति अध्यात्मको किनारै किनार दौडिएको हुन पुगेको छ । तनाव व्यवस्थापन सम्बन्धमा पाठकलाई केही व्यावहारिक विधिबारे पनि लेखले जानकारी दिन्छ र त्यसलाई व्यवहारमा यथोचित उतार्न सकिने र यसो गरेमा लाभ लिन अवश्य सकिने अपेक्षा पनि गरिएको छ– लेखक ।
विषय प्रवेश
अहिले अधिकांश मानिस कुनै न कुनै किसिमको तनावबाट पीडित देखिन्छन् । भागदौडपूर्ण जीवनशैली, आर्थिक अभाव, व्यक्तिगत महत्वकाङ्क्षा, तनाव उत्पति र सोको व्यवस्थापन सम्बन्धमा रहेको अज्ञानता आदिका कारणले मानिसमा तनाव सिर्जना भइरहेको अवस्था छ । तनाव एक किसिमको मानसिक दुःख हो, जुन सामान्य अवस्थाभन्दा फरक तर प्रतिकूल परिस्थितिका कारण उत्पन्न हुने गर्दछ । त्यसैले तनाव व्यवस्थापनमा मान्छेको ज्ञान, बुद्धि, विवेक, उदारताजस्ता सकारात्मक मानवीय गुणको आवश्यकता पर्दछ । मानिसको मन, बुद्धि, चित्त, चेतनाजस्ता आत्मिक पक्ष अध्यात्मका विषय हुन् ।
तनाव के हो ?
मान्छेको मन आफूमा नरहेर अन्यत्र दौडिने, कुनै दुःखद घटनाले मनलाई तानिरहने अवस्था नै तनाव हो । ‘तनाव सोचाइ आदिका कारण उत्पन्न हुने मानसिक तन्काइ वा झमेलाको कामकुरा हो’ भनी नेपाली बृहत् शब्दकोशले परिभाषित गरेको छ । तनाव मनको दुःखात्मक अवस्था हो । जबसम्म मनले अनुकूल अनुुभव गर्छ त्यो सुख हो । जब प्रतिकूल अनुभव गर्छ त्यो दुःख हो (अनुकूल वेदनीयं सुखम्, प्रतिकूल वेदनीयं दुःखम्) । यस प्रकारको प्रतिकूल वेदनाको कारण दुई प्रकारका हुन्छन् ः कुनै घटनाका कारण उत्पन्न भएको दुःख र मनको स्वभावका कारण सोप्रति मनले गर्ने प्रतिक्रिया । तनावका सम्बन्धमा केही सत्य र तथ्य यस्ता रहेका छन् ः
– ४३ प्रतिशत युवाहरू तनावकै कारण गम्भीर स्वास्थ्य समस्यामा पर्ने गरेका छन्,
– फिजिसियन डाक्टरका ७५–९० प्रतिशत सेवाग्राही तनावबाट सिर्जित समस्याबाट पीडित छन्,
– मान्छेको मृत्युको दोस्रो मुख्य कारण तनाव,
– कार्यकुशलता घटाउने मुख्य कारण तनाव,
– पारिवारिक र आर्थिक कारणभन्दा तनावले स्वास्थ्यलाई बढी नकारात्मक असर गर्ने ।
तनावलाई चिन्ता, क्तचभकक, एचभककगचभ, त्भलकष्यल जस्ता शब्दले पुकारिएको पाइन्छ । सामान्यतया तनावलाई छोटो अवधिको मानसिक दुःख भनेर बुभ्mने गरिएको छ । यसले मानिसको कार्य तथा दैनिकीलाई नकारात्मक प्रभाव पार्दछ । यसले मानव मनको सन्तुलनमा प्रभाव पार्दछ र चेतनालाई मुढ गराइदिन्छ । यसको फलस्वरूप उसले आफ्नो काम राम्ररी गर्न नसक्ने मात्र नभई काम बिगार्दै जान पनि सक्छ । त्यसो भए तनाव कहाँ उत्पन्न हुन्छ त ? अर्थात् तनाव बस्ने ठाउँ कुन हो ? मन भावनाहरूको भण्डार हो । साहित्यमा नवरसको विशद व्याख्या गरिएको छ । जसमा आलम्बनका कारण मनमा सुषुप्त अवस्थामा रहेका स्थायी भाव रसका रुपमा परिणत हुन्छ । शृङ्गार रस, वीर रस, करुण रस आदि मनका भावहरू नै हुन् । यद्यपि नवरसअन्तर्गत मनका सकारात्मक तथा नकारात्मक दुवै पक्षको विश्लेषण गरिन्छ । तनावको विश्लेषण गर्दा भने मनको प्रतिकूल वेदनाको मात्र चर्चा गरिन्छ । सुख, दुःख, पीडा, व्यथा, कष्ट आदि सबै अनुभव मनले गर्दछ । यसमा बाहिरी घटनाले जस्तो प्रभाव पार्दछ, त्यस्तै भाव उजागर हुन्छ ।
सामान्य मान्छेलाई दुःखको कारण बाहिरी घटना वा सन्दर्भ हुन् भन्ने लाग्न सक्छ । तर बाहिरी घटना दुःखको कारण होइन । यो त मनको भाव ब्युँझाइदिने माध्यम मात्र हो, जसले मनमा प्रतिकूल प्रभाव पार्दछ र दुःख अनुभव हुन्छ । दुःख मान्छेभित्रै छ, बाहिरी घटनाले त्यो दुःखलाई ब्युँझाइदिन्छ र दुःखित तुल्याइदिन्छ । कोही मान्छेलाई त्यही घटनाले प्रभाव पार्दैन । कसैलाई कम र कसैलाई बढी प्रभाव पार्छ । कति र कस्तो प्रभाव पार्छ भन्ने कुरा मान्छेको स्वभाव, गुण, ज्ञानको मात्रा विवेकको गहिराई आदिले निर्धारण गर्दछ । यसैले तनाव मान्छेको मनमा हुन्छ बाहिरी घटनामा होइन भन्ने स्पष्ट हुन्छ ।
मान्छेमा शिक्षा, ज्ञान, बुद्धि, विवेक, सकारात्मक सोच, उदार भाव आदि उच्च मानवीय गुण अवस्थित छन् भने बाहिरी घटना वा सन्दर्भले खास प्रभाव पार्दैन । यसको ठिक विपरीत उपर्युक्त गुण कम छन् भने त्यस्तो मान्छेलाई तनाव बढी हुन्छ । उपर्युक्त सकारात्मक मानवीय गुणले मानवमा द्रष्टा भाव जगाइदिन्छ । जहाँ द्रष्टा वा साक्षी भाव प्रबल हुन्छ त्यहाँ तनाव कम हुन्छ । मनका आरोह अवरोहप्रतिको द्रष्टाभावले तनाव घटाउँछ भने भोक्ता भावले तनाव बढाउँदछ ।
भावनाको भण्डार मन
उपर्युक्त विश्लेषणबमोजिम मानव मनमा दुई प्रकारका भाव उत्पन्न हुन्छन् ः सकारात्मक भाव र नकारात्मक भाग । कामना वा आशक्ति, क्रोध वा रिस, लोभ, मुढता, घमण्ड, ईष्र्या, डाह आदि मान्छेका नकारात्मक भाव हुन् जसलाई पूर्वीय दर्शनमा षड्शत्रु भनेर चिनिन्छ । यसै गरी दया, करुणा, सहनशीलता, निस्वार्थता, सेवा, सहयोग, प्रशन्नता, सहिष्णुता, उदारता आदि मानव मनका सकारात्मक भावहरू हुन् । अध्यात्मको गहिरो रहस्य के हो भने मानव मनमा उत्पन्न भएका नकारात्मक भावप्रति मान्छेमा सजगता वा होस उत्पन्न हुन्छ, तब त्यो नकारात्मक भाव कमजोर हुने गर्दछ । तत्कालका लागि मात्र हैन, भविष्यमा समेत सोको शक्ति कमजोर हुन्छ । भविष्यमा उसमा यस प्रकारको सजगता वा होस आउँछ जसले उसलाई भविष्यमा तनाव कम गर्न मद्दत गर्दछ । अर्थात् नकारात्मक भावप्रतिको सजगता वा द्रष्टाभाव वा साक्षीभावले नकारात्मक भाववृत्ति क्षयीकरण हुनपुग्छ । त्यसैले कुनै पनि घटना र सो घटनाले मानिसको शरीर वा मनमा पार्ने प्रभावप्रति तटस्थ भाव, द्रष्टा भाव वा साक्षी भाव राख्न नै तनाव व्यवस्थापनको महत्वपूर्ण अस्त्र हो ।
यसै गरी, उपर्युक्त सकारात्मक भाव जसलाई उच्च मानवीय गुण मानिन्छ, यसप्रतिको तटस्थ भाव, द्रष्टा भाव वा साक्षी भावले सो गुण अभिवृद्धि गर्दछ जसले भविष्यमा मानिसमा यी गुण अभिवृद्धि गराउँदै लग्छ । यही ज्ञान त अध्यात्मको गहिरो रहस्य हो, गरिमा हो, चित्तशोधनी ज्ञानगङ्गा हो ।
के यस प्रकारको तटस्थ भाव, द्रष्टा भाव वा साक्षी भाव राख्नु सजिलो छ त ? रिसका बेला कसले वेद पढेर बस्छ र ? सामान्य व्यक्तिका लागि यो असम्भव हुन्छ । तर संयमी व्यक्तिका लागि यो अचुक अस्त्र हो । विश्वका ठुला नेतृत्व दिने व्यक्ति, पेसा व्यवसायी, पदाधिकारीहरू पनि वादविवादको क्रममा क्रोधलाई थाम्न नसक्दा हात हालाहालको स्थितिमा पुगेको देखिएको छ । यो अवस्था भनेको मानसिक आवेग संवेगमाथि व्यक्तिले नियन्त्रण गुमाउनु हो, भोक्ताभाव सक्रिय हुनु हो ।
तनाव कसरी सिर्जना हुन्छ ?
पूर्वीय वाङ्मयमा षड्शत्रु मानिएका काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई दुःखको कारण मानिएको छ । पूर्वीय धर्म दर्शनले शत्रु बाहिर होइन, आफैँभित्र देख्दछ । यीमध्ये कामना वा आशक्तिलाई दुःखको पहिलो कारण मानिएको छ । कुनै पनि वस्तु वा सन्दर्भ प्राप्त गर्ने चाहना नै कामना हो । कुनै कर्मको परिणाम वा उपलब्धिमा आफ्नो मनको चाहना राख्नु अर्को शब्दमा कामना वा आशक्ति हो । आफूले चाहेको कुरा पूरा भएन भने तनाव हुन्छ । श्रीमद् भगवद्गीतामा भगवान् श्रीकृष्ण अर्जुनलाई भन्नुहुन्छ ः
कर्मन्ये वाधिकारस्ते माफलेसु कदाचन
मा कर्मफल हेतुर्भु मातेसङ्गोस्त्व कर्मणी । (श्रीमद्भगवद्गीता २ः४६) ।
अर्जुन ! कर्म गर्ने तिम्रो अधिकार छ तर फलको अधिकार तिमीमा छैन । तसर्थ तिमी कर्मफलको आशक्तिबाट अलग रहेर निष्काम कर्म गर ।
भगवान् श्रीकृष्णको यस भनाइका आधारमा तनावको जरो पत्ता लगाउन सकिन्छ । कुनै पनि कुराको अपेक्षा, आशक्ति वा कामना नै तनावको मुहान हो । मनले जब कुनै कुराको अपेक्षा गर्दछ । सो अपेक्षा पूरा नहुन पनि सक्छ । अपेक्षा पूरा नभएमा तनाव सिर्जना हुन्छ । यसैले आशक्तिरहित हुनु, आशक्तिबारे ज्ञान हुनु तनाव हुन नदिने उपाय हो । यसै गरी कामना पूरा भयो भने पनि अहङ्कार उत्पन्न हुन्छ जो पनि दुःखकै कारक हो । यसैले कामना नै सम्पूर्ण दुःखको मूल हो । यसलाई बौद्धदर्शनमा राग भनिएको छ । कुनै कुरा प्राप्ति होस् भन्ने चाहना नै राग हो । अर्को शब्दमा सुखद कुरा प्राप्त भइरहोस् भन्ने भाव नै राग हो ।
तनाव व्यवस्थापनसम्बन्धी केही व्यावहारिक उपाय
(क) मनको भाववृत्तिप्रतिको सजगता
मनको भाववृत्तिप्रतिको सजगता तनाव कम गर्ने पहिलो उपाय हो । आपूmमा तनाव उत्पन्न भएको कुरा थाहा पाउनु यसको व्यवस्थापनको पहिलो खुट्किलो हो । यससँगै तनाव के हो ? कसरी उत्पन्न हुन्छ ? यसको आयु कति हुन्छ ? आदिका बारेमा ज्ञान भएमा तनाव व्यवस्थापन गर्न थप सहज हुन्छ । तनाव मनको वृत्ति हो यो केही समयपछि हराएर जान्छ । साक्षी भाव मान्छेको मूल स्वरूप अर्थात् आत्मा हो भने तनाव मनको उपज । तनाव भौतिकताको उपज हो भने साक्षी भाव दिव्यता वा ईश्वरत्वको पक्ष । तनावप्रति सजगता वा द्रष्टा भाव राखेमा तनाव स्वतः कम भएर जान्छ, जुन प्रकृतिको नियम हो भन्नेबारे माथि चर्चा भइसकेको छ । मानिसमा उत्पन्न हुने सम्पूर्ण नकारात्मक भावहरू पूर्वीय धर्मदर्शनमा व्याख्या गरिएका षड्शत्रुका सन्तानहरू हुन् । तसर्थ आफ्नो मनमा उपर्युक्त छ वटा भाववृत्ति उत्पन्न हुने बित्तिकै ममा यी भाव आए भन्ने थाहा पाउने र यी भाव क्षणिक हुन्छन् भन्ने ज्ञान वा सजगता आएपछि सो तनाव स्वतः कमजोर भइहाल्छ । यसपछि तनाव कम हुने मात्र नभई जीवनको बाटो नै सुख, शान्ति र आनन्दतर्पm मोडिने गर्दछ । तसर्थ आफ्नो मनको भाववृत्तिबारे ज्ञान हुनु र सोप्रति सजग रहनु नै तनाव व्यवस्थापनको पहिलो आधारभूत उपाय हो ।
(ख) आफ्नै शरीर र स्वासको निरीक्षण
अकस्मात् तनाव उत्पन्न हुनुमा कुनै पनि किसिमको घटना हुनुपर्दछ । जस्तैः घरझगडा हुनु, कसैले अप्रिय शब्द बोलिदिनु, छिमेकी या आफन्तसँग कुनै कुरामा दुई मत उत्पन्न हुनु, अफिसमा काम बिग्रनु, उपल्लो दर्जाका व्यक्तित्वबाट गाली खाइनु आदि । यस प्रकारका घटनाले मनमा एक किसिमको प्रतिकूल भाव सिर्जना गर्दछन,् जसले मनमा दुःख ल्याउँछ र तनाव उत्पन्न हुन्छ । यस अवस्थामा शरीरले एक किसिमको प्रतिक्रिया उत्पन्न गर्दछ । जस्तैः शरीर तात्ने, पसिना आउने, शरीर काप्ने, श्वास बढ्ने आदि शारीरिक प्रतिक्रिया उत्पन्न हुन सक्छ ।यस्तो अवस्थामा शरीरको अवस्था विचार गरी शरीरको प्रतिक्रियालाई निरीक्षण गरेमा सो तनाव स्वतः घटेर जान्छ । यस प्रकारका शारीरिक प्रतिक्रियालाई तटस्थ भाव वा साक्षी भावले निरीक्षण गरेमा तनाव केही समयपछि नै कम हुँदै जान्छ । तनाव व्यवस्थापनको यो अर्को उत्तम उपाय हो । सामान्य मानिस शरीर र मनमा उत्पादन हुने प्रतिक्रियाप्रति ध्यान दिँदैनन् अर्थात् आफूतर्पm फर्कन सक्दैनन् । उनीहरूले सो घटनाप्रति तीव्र प्रतिक्रिया जनाउँछन् भने संयमीले सो घटनाले आफूमा के कस्तो प्रभाव उत्पन्न ग¥यो भनी शरीर, श्वास तथा संवेदनाको निरीक्षण गर्दछन् । आत्म निरीक्षण सो समयको तनाव व्यवस्थापनमा अचुक औषधि साबित भएको छ ।
(ग) मनको स्वभावप्रति द्रष्टाभाव
घटना घटेको अवस्थामा मान्छेको मनमा दुई वटा विकल्प रहन्छन् । पहिलो सो घटनाप्रति प्रतिक्रिया व्यक्त गर्ने र दोस्रो सो घटनाप्रति सजग रहँदै द्रष्टा भावले हेर्ने । कुनै पनि घटनाप्रति प्रतिक्रिया व्यक्त गर्नु मनको भोक्ताभाव हो भने सो घटना र सोबाट उत्पन्न शारीरिक मानसिक प्रतिक्रियालाई हेर्नु तर कुनै पनि प्रतिक्रिया व्यक्त नगर्नु द्रष्टा भाव हो । जस्तैः मनमा रिस, राग, द्वेष, ईष्र्या, वासना, अहङ्कार आदि उत्पन्न भएको हुन सक्छ । यस्तो अवस्थामा मनको प्रतिक्रियालाई भोग्ने होइन, सजग रहेर द्रष्टा भाव राखेमा तनाव कम भएर जान्छ ।
(घ) मनको भावको क्षणिकता र समताको ज्ञान
मनका भावहरू कुनै पनि आलम्बनका कारण उब्जन्छन् र केही समयपछि ती बिलाएर जान्छन् । कुनै अप्रिय घटनाले रिस उत्पन्न हुन्छ तर व्यक्तिले आपूmमा रिस उठेको थाहा पायो र ऊ होसमा आयो भने त्यो रिस तुरुन्तै कम भएर जान्छ । भगवान् बुद्धले मनको उतार चढावको समयमा समताभाव राख्नुलाई शान्ति वा सुखको आधार मान्नुभएको छ भने पतञ्जलीसमेत समतालाई नै योग अर्थात् ईश्वर साक्षात्कारको माध्यम मान्नुहुन्छ (समत्वं योग उच्यते ।) यसको विपरीत मान्छे विकारको विषयतर्फ वा आलम्बनतर्फ एकोहोरियो भने उसले होस (चेतना) गुमाउँछ र तनावमा पर्दै जान्छ । रिसले अन्त्यमा बुद्धिमा क्षति पु¥याउँछ र व्यक्ति पतनतर्फ अग्रसर हुन्छ ।
क्रोधाद्भवति सम्मोहः सम्मोहत्स्मृतिविभ्रम ।
स्मृति भ्रंसाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति) ।। श्रीमदभगवद्गीता ।।२।६३।।
क्रोध वा रिसलाई व्यक्तिको पतनको मुख्य कारण मानिएको छ । यसले शारीरिक मात्र होइन मानसिक क्षति गराएर सर्वनाशतर्पm लैजाने हुनाले रिस वा तनावलाई बेलैमा व्यवस्थापन गर्नेतर्पm लाग्नुपर्छ । यो ज्ञान अर्थात् मनमा उत्पन्न हुने आवेग, संवेगजस्ता भावनाहरू क्षणिक हुन्छन् भन्ने ज्ञान भएका मान्छे तनावमा कम पर्छन् ।
(ङ) तनाव व्यवस्थापन र विपश्यना
अध्यात्मको हरेक पथ वा गुरुपरम्परा (सम्प्रदाय) को मूल लक्ष्य एउटै हुन्छ ः मान्छेलाई सुखी र खुसी तुल्याउने । यसका लागि व्यक्तिको मन वा अन्तश्चेतनाको शुद्धीकरणलाई जोड दिइएको हुन्छ । भगवान् बुद्धले बताएको र अभ्यास गरेको विपश्यना साधना पथ व्यक्तिको चित्तको निर्मलीकरण (एगचषष्अबतष्यल या ःष्लम) गर्ने एक सजिलो र प्रभावकारी उपाय हो । यसले तत्कालका लागि मात्र होइन दीर्घकालीन रूपमा व्यक्तिको मनलाई शुद्धीकरण गरी सुखी र खुसी तुल्याउन मद्दत गर्दछ । ‘वि’ को अर्थ स्वयम् र ‘पश्यना’ को अर्थ हेर्नु भन्ने हुन्छ । विपश्यनाको बारेमा ऋग्वेदमा उल्लेख छ, तसर्थ यो विधि वैदिक विधि नै हो । शरीर र श्वासको संयोगबाट शरीरमा उत्पन्न हुने संवेदनालाई तटस्थ भावले निरीक्षण गर्ने विधि नै विपश्यना हो । विपश्यनाको अभ्यासबाट व्यक्तिमा कुनै पनि घटना वा सन्दर्भलाई तटस्थ भाव वा वस्तुगत भावले हेर्ने स्वभावको विकास हुँदै जान्छ जसले गर्दा बाह्य घटना वा सन्दर्भले व्यक्तिको मनमा प्रभाव पर्ने दर न्युनीकरण हुँदै गई व्यक्ति विकारमुक्त हुँदै जान्छ । यस अभ्यासले नयाँ संस्कार बन्न नदिने मात्र नभई पुरानो संस्कार उदीर्ण हुँदै जाने र व्यक्तिको मन चित्त निर्मल भई ऊ तनावरहित हुँदै जान्छ । उसमा नयाँ घटना वा कारणले प्रभाव पार्न नसक्ने मात्र हैन घटना वा सन्दर्भप्रति प्रतिक्रिया व्यक्त गर्ने स्वभाव न्युनीकरण हुँदै जान्छ, जसले उसमा नयाँ संस्कार बन्न नपाउने मात्र होइन पुराना संस्कार उदीर्ण हुँदै जान्छन् । ती उदीर्ण भएका संस्कार जो संवेदनाको रुपमा प्रकट हुन्छन्, तिनलाई तटस्थ भाव वा साक्षी भावले हेरेमा संस्कार समाप्त हुन पुग्छन् ।
मानव मनको स्वभाव कि त भूतकालीन घटनाको समीक्षा गर्नमा केन्द्रित हुन्छ कि त भविष्यको कल्पनामा रमाउन वा योजना बनाउनमा संलग्न रहन्छ । अर्थात् मानवमन वर्तमानमा एकछिन पनि रहँदैन । यसरी घटिसकेका घटनाको समीक्षा वा भविष्यको कल्पना दुवैले मानव मनमा राग वा द्वेष सिर्जना गरिरहेका हुन्छन् । विपश्यना अभ्यासको क्रममा मानव मनलाई वर्तमानमा राखेर चित्तको निर्मलीकरण गरिन्छ । बौद्ध दर्शनले मानिसको दुःखको मूल कारणका रूपमा यी दुई तत्व अर्थात् राग र द्वेषलाई मानेका छन् । अरू कारण यी दुुईवटा कारणका शाखा सन्तानहरू हुन् । क्रोध, डाह, ईष्र्या, अभिमान आदि मनोविकारहरू राग र द्वेषकै छोरा नातिहरू हुन् भन्ने दृष्टिकोण रहेको छ । विपश्यनामा मान्छेभित्रको संवेदनालाई तटस्थ भावले हेरी रागद्वेषबाट विमुक्त हुने अभ्यास गरिन्छ । किनभने बाहिरी घटना वा विषयलाई व्यक्तिले रोक्न सक्दैन तर सो घटनाले असर नगर्ने मनस्थितिको तयारी गर्न सक्तछ । निर्मलीकृत मन नै सोका लागि आवश्यक हुन्छ । तनाव बाहिरी विषय वा घटनाभन्दा मनस्थिति वा संस्कारका कारणले जटिल बन्छ भन्ने कुरा स्पष्ट भइसकेपछि तनावलाई निवारण गर्न निम्नलिखित दुई दृष्टिकोणबाट विष्लेषण गरी निष्कर्षमा पुग्नुपर्ने हुन्छ ः
तत्कालीन तनाव व्यवस्थापन र विपश्यना
कुनै पनि घटना वा सन्दर्भले शरीर वा मनमा परेका प्रभावबारे तटस्थ भाव, द्रष्टा भाव, साक्षी भाव वा वस्तुगत रूपले निरीक्षण गर्नु नै तत्कालीन तनाव व्यवस्थापनको अचुक औषधि हो । यसका लागि मानसिक रूपले ‘म तनाव लिन्न’ भनेर बलियो सङ्कल्प गर्नुपर्ने हुन्छ । सङ्कल्पशक्ति आफूले लिइसकेपछि ब्रह्माण्डीय ऊर्जाले पनि तनावलाई कमजोर बनाउन मद्दत गर्दछ । यसमा शरीरमा उत्पन्न हुने संवेदनाप्रति कुनै पनि प्रतिक्रिया नजनाई तटस्थ भावले हेर्नुमात्र पर्दछ । यस अवस्थामा मनप्रति, मनको अवस्थाप्रति कुनै द्वेष भाव नराखी ‘अहिले मेरो मन अशान्त छ तर यो अशान्ति केही क्षणमै समाप्त भइहाल्छ’ भन्ने भावले मनको सो अवस्थालाई स्वीकार गर्नुपर्दछ । आफ्नो मनप्रति कुनै पनि द्वेष नराख्ने र सो अवस्थालाई स्वीकार गर्नु तनाव व्यवस्थापनको महत्वपूर्ण आधार हो । तसर्थ कुनै पनि अप्रिय घटना वा सन्दर्भका कारण तत्काल उत्पन्न तनाव व्यवस्थापन गर्नका लागि आत्मनिरीक्षणको यो उपाय निकै प्रभावकारी मानिएको छ । अनेकन प्रयोग र अनुभवमार्पmत यसको पुष्टिसमेत भइसकेको छ ।
दीर्घकालीन तनाव व्यवस्थापन र विपश्यना
विपश्यना मनमा अवस्थित नकारात्मक भाव वा विकारको जरैदेखि निर्मलीकरण गर्ने विधि हो । प्रकृतिको नियमअनुसार कुनै पनि कुराको बढोत्तरीका लागि कुनै न कुनै रूपमा मलजल अर्थात् खाना आवश्यक पर्दछ । मनोविकारलाई मनले नै खाना दिइरहेको हुन्छ । जब विपश्यना गरिन्छ त्यसपछि सो विकारले खाना (ऊर्जा) पाउँदैन । यथार्थमा विपश्यना एक प्रकारको ध्यान हो जसमा मनलाई वर्तमानमा राख्ने अभ्यास गरिन्छ । मनद्वारा सिर्जित सुखदुःखप्रति समता वा तटस्थता भावले हेर्न थालेपछि पुराना संग्रहित संस्कार उदीर्ण अर्थात् उत्खनन् हुन थाल्दछ । त्यसलाई तटस्थ भावले अवलोकन गरेपछि अर्थात् त्यसप्रति भोक्ता भाव नराखी द्रष्टा भाव राख्दा सो संस्कार नष्ट भएर जान्छ र मानिस चित्तविकाररहित निर्मल बन्दछ । यो नै स्थायी शान्तिको पहिलो खुड्किलो हो । यसप्रकार विपश्यना अभ्यास गर्ने गरेमा तनावरहित हुनमा यसले ठुलो मद्दत गर्दछ । दीर्घकालीन यो उपाय तत्कालका विकार मात्र होइन बासना वा संस्कारका रूपमा जमेका जन्मौ जन्मका भावविकारलाई उत्खनन् गरी फाल्ने र नयाँ चित्तविकार निर्माण हुनै नदिने उपाय हो । यसैले विपश्यना अभ्यास तनाव व्यवस्थापनको लागि अत्यन्त उपयोगी र व्यावहारिक उपाय हो भन्न सकिन्छ । यति मात्र होइन यो नै मोक्ष (ीष्दभचबतष्यल) को मार्ग हो भनी धम्मपदमा उल्लेख गरिएको छ ।
निष्कर्ष
तनावलाई कम गर्न अध्यात्मको ज्ञान र अभ्यास अत्यन्त प्रभावकारी उपाय हो । तनाव व्यवस्थापनको अध्यात्मिक उपाय तनावको जरै उखेलेर फाल्ने विधि हो । अहिलेसम्म नेपालमा तनाव व्यवस्थापनका सम्बन्धमा पाश्चात्य दृष्टिकोणमाथि बहस र छलफल भए पनि पूर्वीय ऋषि परम्पराद्वारा स्थापित ज्ञान र अभ्यासप्रति ध्यान कम दिने गरिएको छ । सुख, शान्ति, प्रशन्नता, खुसी, उत्साह अभिवृद्धिजस्ता विषयलाई पूर्वीय ऋषि परम्पराले अत्यन्त गहन रूपमा चिन्तन मनन गरी हजारौँ उपायहरू बताएको छ । पूर्वीय षड्दर्शन, पतञ्जलीको योगविज्ञान, बुद्धको ज्ञानमार्ग र यसको व्यावहारिक प्रयोग आदि मूलतः तनाव व्यवस्थापनकै प्रायोगिक साधनहरू हुन् ।
