गजल
बगरे र सरकार उस्तै उस्तै लाग्छ
भिखारी र खरदार उस्तै उस्तै लाग्छ !
बचनले भित्रैसम्म घाउ पार्दो रै’छ
हप्काइ र चिरफार उस्तै उस्तै लाग्छ !
कोही मरे आफ्नो फलिफाप सोच्ने
पुरोहित र हकदार उस्तै उस्तै लाग्छ !
अज्ञानी, बेसोमती सवालकर्ता हुँदा
संवार्ता र केरकार उस्तै उस्तै लाग्छ !
सिमेन्ट, गिटी, रड पनि निल्दा रहेछन्
अगस्ती र ठेकेदार उस्तै उस्तै लाग्छ !