कथा
लाेभलाग्दाे ज्यानकाे गाेठालाे
विकल त्यागी
कथा आजभन्दा अलि अगाडिको समयको हो ।
झमकबहादुर गाउँका सबभन्दा टाठाबाठा थिए । उसको धुत्र्याइँपूर्ण फाइँफुट्टी बयान गरी साध्य थिएन । त्यही भएर उनी समाजसेवाको नाम लिएर राजनीतिमा होमिए । राजनीतिमा संलग्न भएपछि उनले घरायसी काममा चाहेर पनि समय निकाल्न सकेनन् । सामाजिक समस्या बोकेर गाउँलेहरू घरमा आएको आएकै गर्न
थाले । उनलाई बाहिरी काम भ्याइनभ्याइ हुन थाल्यो । यता घाँसपानी खान नपाएर बाख्रा, बस्तुहरू भोक तिर्खाले कराएको करायै गर्न थाले । खेतबारीहरू नाङ्गिएर उनलाई गिज्याउन थाले । घरकी गृहमन्त्री पोथी भएर कर्कराउनुको सट्टा उनलाई देख्यो कि “कुखुरी काँ” गर्दै बासेको बास्यै गर्न थालिन् । थुतुनो चुच्चो पारेर उसको टाउकोमा ठुङ मारेको मा¥यै गर्न थालिन् ।
असारे झरी एकनाससित झरिरहेको थियो । तल्लोघरे सान्जेठोको पाखो खेतमा धमाधम रोपाइँ चलिरहेको थियो । घुमराडी ओढेर हलीदाइ हलो जोतिरहेका थिए । बाउसेहरू बाउसे गरिरहेका थिए । असारे गाउँदै रोपाहारहरू धानबिउ छुपुछुपु रोपिरहेका थिए । सान्जेठोको मनभरि हरियाली मौसम मौलाउँदै थियो र उसको
घरको खाली भकारीभरि मङ्सिर भरिदै थियो । उसकै साँधसित जोडिएको आफ्नो बाझो खेतभरि खुर्सानीझारले ढकनी लगाइरहेको दृश्यमाथि सिरान चौतारामा बसी झमकबहादुरले नियाल्दै सोचिरहे– राजनीति सराबीको सराबजस्तै रहेछ । नसालुको नसाजस्तै रहेछ । ज्यान जाला छाड्नै नसकिने । मलाई थाहा छ, मेरो राजनीतिक कार्यव्यस्ताले घरमा भद्रगोल हुँदैछ । छोरी प्रमिलाको पढ्नमा बाहेक अन्यत्र ध्यान
छैन । एक्ली आमालाई घरायसी काममा सघाउपघाउ गर्नुपर्ला भन्ने उनमा होस् आएको छैन । विचरी ! शशीकान्तीलाई कामले आच्छु आच्छु बनाएको छ । उनलाई हत्तारोको दौडधुपले बिल्लीबाठ बनाएको छ । उनको सहजताको निम्ति अब एउटा बलियो र जाँगरिलो गोठालो राख्नुपर्लाजस्तो छ ।
जब्बरबहादुर नेपालीको ज्यान पनि जब्बर नै थियो । उसको नलीपासुला
केराको थामजस्तै सलसली थियो । उचाइ सतिसालजस्तै थियो । छालाको छिद्र छिद्रबाट रगत चुहेलाजस्तो देखिने ऊ फुर्तिलो नौंजवान थियो । मुरीको धोक्रो ऊ एकै हातले जुरुक्क उचाल्थ्यो । बेँसीबाट अरुले सकिनसकी बोकेको धोक्रो ऊ दुई धोक्रो खप्ट्याएर सजिलै ल्याउँथ्यो । उसको हातमा गोरु पनि छिटो हिँड्थ्यो । अरुले एउटा फोगटो जोतिसक्दा उसले एउटा ठुलो ढाप जोतिसकेको हुन्थ्यो । जब्बरबहादुरजस्तो गोठालो राख्न पाएर झमकबहादुर ढुक्क थिए । उसले घरायसी कामबारे निधार खुम्च्याउनु परेको थिएन । शशीकान्ती पनि मन हलुको बनाएर प्रसन्न थिइन् ।
लता÷प्रविता÷हर्कमाया÷शर्मिला र प्रमिलाको स्कुलबाट घर फिर्दैगर्दा बाटोमा सल्लाह भयो–भोलि शनिबार बिहानको भोजनपछि सालघारीमा दाउरा टिप्न जाने ।
बसन्ती मौसम लागेपछि पाखैभरि लालीगुराँस ढकमक्क फुल्नु उदेक होइन । पहराको चेपचेपबाट सुनाखरी सप्रिएर संसार सिँगार्नु अनौठो होइन । भिरैभरि वनमारा फुलेर मगमग हुनु अचम्म होइन । ओस्याइला ओढारभित्रका उन्युँले अरुको सारमा सार मिलाउँदै सुगन्धित हुन खोज्नु आश्चर्य होइन । विचित्र त मान्छेको मन हुन्छ । अन्य आम सामान्य । अरु सबै स्वाभाविक ।
जेठको धूप । सालघारीमा हावा ठप्प । माटै बल्लाजस्तो तातो गर्मी छ हपहपी । पसिनाको धारो बहेको छ जिउभरि धर्धरी । सबै साथीहरू दाउरा भारी पु¥याउन एकातिर लागे भने जब्बरबहादुर र प्रमिला अर्कातिर । सबै साथीहरू तीनछक्क परे । आ–आफ्नो सुरमा चल्दाचल्दै साथी शर्मिला बोली–औइ प्रमिला, हामीलाई छाडेर तँ एक्लै कता हिँडेकी हँ ? तेरो चल्नीको पेज खुस्क्यो कि क्या हो ?
प्रमिलाले मुसुमुसु मुस्कुराउँदै जवाफ दिइन्– यी देखिनस् जब्बरबहादुर नेपाली अब मलाई उसैले दाउराको भारी पु¥याइदिन्छ । यहाँ आफूलाई क्या अल्छी लागिराखेको छ । घरमा खानासित चिसो दही खाएकी थिएँ, टाउको दुखेर बिचमा भुलुकभुलुक उम्लिराखेको छ । यिनीहरू चाहिँ खाली मलाई नेगेटिभ सेन्स मात्रै लगाउँछन् ।
जा जा तँलाई सालघारीमा साथीसँगाती भन्दा जब्बरबहादुर नेपाली नामको तेरो घरको गोठालो नै पियारो ! शर्मिलाले च्याठ्ठिदै भनिन् ।
जब्बरबहादुर नेपालीले सालको अग्लो रुखमा चढेर सुकेको दाउरा
झारिरहँदा तल फेदमा बसेर प्रमिलाले दाउरा बटुली रहिन् । तिनको खाइलाग्दो भुसतिघ्रे सुढौलो ज्यान तलबाट माथि हेरिरहँदा उनलाई लाग्नुसम्म अद्भुत आनन्द लागिरह्यो । उनले मनमनै गमिन्– बजिया ! अष्टमीमा मार हान्नलाई पोस्याएको बोको जस्तो क्या लोभलाग्दो ज्यानको !!
दाउराको भारी पु¥याइसकेपछि उखरमाउलो गर्मीको चौपटतालाई एकछिन उच्छेद गर्नको निम्ति ती दुई रावाखोलामा पौडी खेल्न झरे । रावाखोलाको चिसो पानीमा एकसाथ डुबुल्की मारी पौडिन पाउँदा ती दुईको गर्मी तन मनलाई साह्रै शीतल र आनन्द मिल्यो । प्रमिलाले सोची– जिन्दगीको हरेक भेल यस्तै मस्त मर्दसित मिलेर बाँकटे हान्दै पार गर्न पाइरहे पो मज्जा हुन्थ्यो । पानीले भिजेको कारण प्रमिलाको सेतो÷पातलो÷पारदर्शी टिसर्ट जिउमा लपक्कै टाँसिन पुग्यो । जब्बरबहादुर नेपालीले उनको अंग, नितम्ब वरिपरि आँखाका नानी किरकिर डुलाइरहयो र ब्वाँसोले झैँ थुक घुटुघुटु निल्दै टोलाइरहयो ।
रावाखोला किनारको चिप्लेटी ढुंगामा बसेर आ–आफ्नो जिउको मयल
आ–आफैँले माड्दै गर्दा शारीरिक उचाइ अनुसार हातका औँलाहरू अलिक छोटा छोटा भएका जब्बरबहादुर नेपालीमा समस्या देखियो । उसले आफ्नो आङको बिच भागमा हात पु¥याउन सकिरहेको थिएन । उसको यही समस्यालाई नियाली रहेकी प्रमिलाले जब्बरबहादुर नेपालीको आङ जोडजोडले माड्न थालिन् । र... आफ्नो
सक्सकाइरहेको जिब्रोलाई फड्कार्न थालिन्– हेर आङको बिचमा मयलको बरम ! कठै ! क्या चिल्चिलाइरहेको थियो होला । नुहाइधुवाइ गरेर सफा–सुग्घर हुनु छैन । कस्तो लाटो गोठालो ! हेरिरहन सक्ने बोल्न नसक्ने गुहे ! गठेरो ! अघि नै भन्नुपर्दैन थियो ? मेरो हत्केला अघिदेखि चिलाएर क्या जम्जमाइरहेको थियो । हामी दुईजना मात्रै भएको ठाउँमा के को लाज र डर ? खुल्ला आकाशमुनि चुराचुरूङ्गीलाई उडान भर्न हावाले साथ दिन्छ बाँध हाल्दैन । यसघडी लुकाएर लुक्ने चिज केही छैन । तिम्रो मनमा के रहर छ ? त्यो सबै मलाई थाहा छ ।
जब्बरबहादुर नेपालीले मनमनै भने– एकछिन समस्या बुझेर के गर्नु ? जिन्दगीभरिलाई बिल्कुल मिल्दैन क्यारे ! कुखुरे बैँसले मैमत्त भएकी अल्लारे प्रमिला बित्थामा बतासे बात गर्छिन् । भरेभन्दा जताततै बन्धनै बन्धन खडा गरिएका छन् । यत्रतत्र तरबारै तरबार तैनाथ पारिएका छन् । स्वच्छ प्राकृतिकता माथि कुटिल कृत्रिमताको कालो साम्राज्य छ । बिच्चै, मेरो कमलो मन बिथोलेर विचलित पार्नु मात्रै ।
