यसपालिको भेटवार्ता –
९८४१२१२५८६
नुवाकोट, विदुर–८, बगुवा बजारका श्याम रिमाल कवि, निबन्धकार तथा पत्रकार हुनुहुन्छ । लेखक रिमालका ‘एउटा काँडा बिझ्दा’ गीतसङ्ग्रह –२०४८, ‘त्रिशूलीको किनाराबाट’ कवितासङ्ग्रह– २०६६, ‘बारपाक’ कम्पकाव्यसङ्ग्रह –२०७४ र ‘नदी बग्दैन’ काव्यसङ्ग्रह – २०७८ प्रकाशित छन् । विद्यालयदेखि नै प्रगतिशील विद्यार्थी सङ्गठनमा आबद्ध उहाँ काठमाडौँ आएपछि प्रगतिशील साहित्यिक सङ्गठनहरूमा आबद्ध हुनुभयो । साहित्यिक पत्रकारितामा पनि मनग्य योगदान दिनुभएका रिमाल बेलाबखत दैनिक तथा साप्ताहिक पत्रपत्रिकामा समसामयिक राजनीति, भाषा–साहित्य–कला, कुटनीति आदि विषयमा लेखहरू लेखिरहनुभएको छ । उहाँले केही साहित्यिक पत्रिका र स्मृति ग्रन्थ, समसामयिक पत्रिका, साहित्यिक पुस्तक आदिको सम्पादन पनि गर्नुभएको छ । हाइकु, मुक्तक, सिजो, गजल पनि लेख्नुभएका रिमालले ‘त्रिशूली प्रवाह’ साप्ताहिकमा करिब २५ शृङ्खलाको ‘जेठी तरबार’ शीर्षक ऐतिहासिक उपन्यास (पृथ्वीनारायण शाहसम्बन्धी) पनि लेख्नुभयो । शैक्षिकोपाधि बिएल, एमबिए रिमाल पत्रकारिताका सिलसिलामा चीन, भारत, इजिप्ट, म्यान्मा र जापानको वैदेशिक भ्रमण गर्नुका साथै मुलुकका करिब ४५ जिल्ला पुग्नुभएको छ । कला पत्रकारितासम्बद्ध केही संस्थासँग पनि आबद्ध उहाँ पत्रकारिताका लागि सोफाज नेपाल र रासस उत्कृष्ट पत्रकार पुरस्कारका लागि नेपाल पत्रकार महासङ्घ राससबाट सम्मानित÷पुरस्कृत हुनुभएको छ । उहाँका केही कविता अङ्ग्रेजी र नेपालभाषामा पनि अनूदित र प्रकाशित भएका छन् । पत्रकार तथा साहित्यकार एवम् राससका नायब महाप्रबन्धक श्याम रिमालसँग ‘अन्तर्बाेध’ साहित्यिक त्रैमासिक पत्रिकाका लागि होमशंकर बास्तोलाले गर्नुभएको छोटो कुराकानी ।
यहाँले साहित्यमा लाग्ने प्रेरणा कहाँबाट प्राप्त गर्नुभयो ?
– मेरा पिताजी शिवप्रसाद रिमाल त्रिभुवन त्रिशूली हाइस्कुल (पछि त्रित्रिव्यामावि, त्रित्रिउमावि, त्रित्रिमावि) मा संस्कृत, नेपाली, नागरिकशास्त्र, ऐनस्रेस्ता, सामाजिक अध्ययन) का शिक्षक हुनुहुन्थ्यो । पछि नुवाकोट आदर्श बहुमुखी क्याम्पसका अध्यापक पनि हुनुभयो । साहित्य पढ्ने र पढाउने उहाँको पेशाका कारणले हामी छोराछोरीलाई पनि त्यो गुण सरिहाल्यो । उहाँ बेलाबेलामा छन्द कविता लेख्नुहुन्थ्यो र सुनाउनुहुन्थ्यो । मेरा कान्छा काका हरिप्रसाद रिमाल (जसका हाल एक कवितासङ्ग्रह र एक पशुपतिसम्बन्धी आध्यात्मिक पुस्तक प्रकाशित छन्, फुटकर कविता र निबन्ध पनि लेखिरहनुभएको छ, जसले वि. सं. २०३४ मा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवमा द्वितीय स्थान हासिल गर्नुभएको थियो, नेपाल सरकारको सहसचिव पदबाट सेवानिवृत्त) को लेख्ने र पढ्ने बानीबाट पनि प्रेरित भएँ जस्तो लाग्छ । मेरी दिदी डा. अम्बिका घिमिरे (त्रिविको सहप्राध्यापकबाट सेवानिवृत्त, पूर्व प्राज्ञसभा सदस्य, कवयित्री–लेखिका, महाकवि लक्ष्मीप्रसाद देवकोटाको बालसाहित्यमा विद्यावारिधि) पनि साहित्यमा रुचि राख्ने भएकाले मैले उहाँबाट पनि यस क्षेत्रमा लाग्ने प्रेरणा पाएँ कि ! विद्यालयमा नेपाली विषय पढाउने गुरु शाक्य सुरेन (हाल राजनीतिक कार्यकर्ता, ललितपुर) कविता साह्रै मिठो गरी पढाउनुहुन्थ्यो । हामीलाई नेपाली नै पढाउने साहित्यकार माया ठकुरी (कथाकार, प्राज्ञ) पनि कक्षाकोठामा साहित्यिक कार्यक्रम गरिरहनुहुन्थ्यो । उनलाई पनि म प्रेरकमध्ये नै मान्छु । रेडियो नेपालका ‘साहित्य संसार’ र ‘बाल संसार’ कार्यक्रम तथा तिनका तत्कालीन सञ्चालक दाहाल यज्ञनिधि र वासुदेव मुनालले पनि मलाई साहित्यमा लाग्न प्रेरणा दिएका छन् । त्रिशूली र समग्रमा नुवाकोट धरती नै ऐतिहासिक, सांस्कृतिक, धार्मिक, प्राकृतिक रूपले वैभवशाली छँदै छ जुन साहित्य रचनाका लागि उर्वरस्थल हुन् ।
यहाँको साहित्यिक यात्राबारेमा केही जानकारी पाउन सकिएला कि ?
– विद्यालयका गुरुगुरुमाहरूको अग्रसरतामा हुने औपचारिक, अनौपचारिक कार्यक्रममा विद्यालयका कक्षाकोठामा कविता सुनाउने तथा विद्यालय र जिल्लास्तरीय विद्यालयका कविता र निबन्ध प्रतियोगितामा भाग लिइरहेको थिएँ । रेडियो नेपालको ‘बाल संसार’ कार्यक्रममा ‘परीक्षा’ शीर्षकमा हवाइ पत्रिकामा निबन्ध पठाएर रु. २५ धनादेशमार्फत पुरस्कार पाएको थिएँ । काठमाडौँ आएपछि क्याम्पसका भित्ते पत्रिका र सामयिक पत्रिकाहरूमा मेरा कविता छापिए । क्याम्पसका निबन्ध प्रतियोगितामा पनि भाग लिएँ । नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसनले आफ्नो विद्यार्थी बुलेटिनमा मेरा मुक्तक शैलीका छोटा छोटा (‘केही छेस्का’लगायत शीर्षक) मा र अन्य प्रगतिशील कविता प्रकाशन गथ्र्यो । वि. सं. २०३९ तिर नै तनहुँबाट प्रकाशन हुने ‘भञ्ज्याङ’ साप्ताहिक पत्रिका (सम्पादक विश्वबन्धु भण्डारी) ले मेरो ‘यसपालिको हुरी’ (तत्कालीन आन्दोलनसम्बन्धी विषयवस्तु) कविता प्रकाशन गरेको अहिले पनि सम्झन्छु ।
म साहित्य सन्ध्या, प्रतिभा प्रवाह, प्रलेस आदिसँग विस्तारै जोडिँदै गएँ । नयाँ छिमलका कविहरूको छुट्टै समूहमा पनि कविता वाचन गर्थें । त्यतिबेला ‘सोभियत भूमि’को नेपाली संस्करण तथा राजधानीबाट प्रकाशन हुने लहरा, तन्नेरी, जनमत, मधुपर्क, गरिमा, मिर्मिरे, समष्टि, नवकविता, कविता एवम् भारत, सिक्किमको ‘निर्माण’ आदि साहित्यिक तथा नेपालबाट प्रकाशन हुने दैनिक–साप्ताहिक पत्रिकाहरू कान्तिपुर, हिमालय टाइम्स, नेपाल समाचारपत्र, नागरिक, राजधानी, दृष्टि, प्रकाश, बुधबार, जनता, समकालीन साप्ताहिक, मातृभूमि आदिमा म विस्तारै छापिन थालेँ । केही अनलाइनमा पनि कविताहरू प्रकाशित छन् । मैले काठमाडौँबाहेक नुवाकोट र रामेछापसम्म पुगेर कविता सुनाएको छु । हाल केही पुराना र कोरोना महामारीसम्बन्धी कविता, विविध निबन्धसङ्ग्रह (दैनिकी, नियात्रा र निबन्ध) र उपन्यास प्रकाशन गर्ने योजना बनाएको छु । भविष्यमा हाइकु र मुक्तकसङ्ग्रह पनि प्रकाशन गर्ने सोच छ । पत्रपत्रिकामा छरिएका भाषा, साहित्य, कला, इतिहास, संस्कृतिसम्बन्धी लेखरचना पनि सङ्ग्रह गर्नुपर्ने विचार छ ।
यहाँ पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ ? सरकारी पत्रकारिता र निजी पत्रकारिताबिच कस्तो फरक पाउनुभएको छ ?
– म छयालिसदेखि पत्रकारिता क्षेत्रमा छु । राष्ट्रिय समाचार समिति (रासस) मा समाचारदाता, सम्पादक, प्रधानसम्पादक हुँदै अहिले नायब महाप्रबन्धक पदमा छु । निजी र राज्यनियन्त्रित समाचार संस्था जहाँ भए पनि जनतालाई सुसुचित गर्नुपर्ने पत्रकारको कर्तव्य हो । निजी क्षेत्रका पत्रकारले राज्यको आलोचना मजासँग गर्न पाउँछन् भने राज्यनियन्त्रित समाचार संस्थाका पत्रकारले भने शालीन ढङ्गले आलोचनात्मक सामग्री प्रस्तुत गर्न सक्छन् । राज्यनियन्त्रित समाचारगृहमा आधिकारिक, विश्वसनीय र सत्यतथ्य समाचार प्रकाशित प्रसारित हुन्छन् भने निजी क्षेत्रका कतिपय समाचारमा विश्वसनीयता पाइँदैन । जागिर र पारिश्रमिकका हकमा पहिलोमा ढुक्क होइन्छ भने दोस्रोमा सधैँ भय र चिन्ता रहन्छ ।
यहाँ राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत हुनुहुन्छ ? राससबारे पाठकले केही जानकारी पाउन सक्लान् कि ?
– वि. सं. २०१८ फागुन ७ गते स्थापित राससले समाचार सङ्कलन गर्ने, सम्पादन गर्ने र सम्पादित सामग्री आफ्ना ग्राहक समाचार संस्थाहरूलाई नगण्य शुल्क लिई वितरण गर्छ । रासस विदेशका एपी, एएफपी, सिह्वा आदि समाचार समितिको पनि ग्राहक हो । यसले हाल नेपाली र अङ्ग्रेजीमा राष्ट्रिय अन्तर्राष्ट्रिय समाचार, आलेख, तस्बिर, श्रव्य र श्रव्यदृश्य सामग्री मुलुकका समाचार संस्थाहरूलाई उपलब्ध गराएर सेवा गरिरहेको छ । यसले बेला बेलामा शैली पुस्तक तथा आमसञ्चारमाध्यमसँग सम्बन्धित पुस्तकहरू पनि प्रकाशन गरेको छ । राससका सेवाग्राही जुनसुकै नेपाली र विदेशी मिडियाहरू बन्न सक्छन् जसबाट बिहान ६ देखि बेलुकी ११ बजेसम्म लगातार समाचारहरू पाइरहन सक्छन् । यसको आफ्नो छुट्टै पत्रिका वा मिडिया आउटलेट भन्ने हुँदैन । यसका सामग्री अन्य मिडियामा प्रकाशन वा प्रसारण भएपछि मात्र थाहा पाउन सकिन्छ । कतिपय मिडियाले राससलाई श्रेय नदिएर यसका सामग्री प्रचारप्रसार गर्ने भएकाले यो ओझेलमा परेको जस्तो लाग्ला तर यसका सामग्री दिनहुँ नेपाल र विश्वभर नै प्रयोगमा आएका छन् ।
सरकारी मिडियामा कार्यरत रहेर स्वतन्त्र पत्रकारिता गर्न कत्तिको सजिलो छ ?
– राज्यलाई जनताका कुरा र जनतालाई सरकारका नीति, योजनाबारे सूचना गर्न राज्यनियन्त्रित समाचार संस्था (गोरखापत्र, रासस, रेडियो नेपाल र नेपाल टेलिभिजन) को कर्तव्य हो । राज्यनियन्त्रित समाचारगृहमा अराजक नभई शालीन ढङ्गले पत्रकारिता गर्न सबै स्वतन्त्र छन् । यसलाई आधिकारिक, विश्वसनीय र तथ्यपरक समाचार सामग्री दिन कसैले रोक्न सक्दैन । राससमा काम गरे पनि अन्य मिडियामा समाचार दिन वा लेख्नबाहेक मजाले लेखरचना लेखेर प्रकाशन गर्न स्वतन्त्रता छ ।
यहाँ पत्रकारिता पेसामा संलग्न हुनुहुन्छ । पत्रकारिताले सामान्य व्यक्तिलाई चाहेभन्दा बढी उठाउन र खसाल्न सक्छ भनिन्छ । यसमा यहाँको भनाइ के छ ?
- समाज र राष्ट्रका लागि योगदान दिएकाहरू ओझेलमा परेका छन् भने तिनलाई उजागर गर्न सके अरूलाई पनि प्रेरणा मिल्छ । मिडियाले उठाएका व्यक्तित्वहरूलाई निजी क्षेत्र र राज्यले चिनेर पुरस्कार वा सम्मान दिएका उदाहरण धेरै छन् । अनैतिक काममा लागेकाहरूको भण्डाफोर गर्नु पत्रकारिताको धर्म हो । काम नै नगरेकालाई मिडियाले जति उचाले पनि ती क्षणिक हुन्, यथार्थमा ती माथि कहिल्यै उठ्न सक्दैनन् ।
यहाँ कविका रूपमा परिचितसमेत हुनुहुन्छ । वर्तमान नेपाली कविता विधा कस्तो छ भन्ने लाग्छ ?
– नेपाली कविता विधा परिमाणका हिसाबले अगाडि बढिरहेको छ । हरेक हप्ताजसो कवितासङ्ग्रहको विमोचन तथा कविगोष्ठी, प्रतियोगिता, हाइकु–मुक्तक वाचन आदि कार्यक्रम भइरहेका छन् । कविताको बाढी त आयो त तर पाठकका मनमा सबैले स्थान भने पाउन सकेका छैनन् । केही रचनाले मुलुकलाई नै उचाल्ने गरेको छ । बेला बेलामा राजनीतिकर्मीहरू जस्तै केपी शर्मा ओली, झलनाथ खनाल, वामदेव गौतम, भीमबहादुर रावल, राजेन्द्रप्रसाद लिङ्देन, गगनकुमार थापा, कोमल वली पनि कविता लेख्न, सुन्न र सुनाउन रुचि राख्छन् । पूर्वराजा ज्ञानेन्द्र शाह पनि गीतकारबाट ‘दुई मुटु यौटा बाटो’ कवितासङ्ग्रह प्रकाशन गरेर कविमा रूपान्तर भएका छन् ।फेसबुक जस्ता सामाजिक सञ्जालमा कविता निरन्तर पोस्ट भइरहेका छन् र तिनमा हरेक साता कविता वाचन चलाउने चलन पनि चल्न थालेको छ । एक टेलिभिजन च्यानलले त पोएट आइडल कार्यक्रम नै सञ्चालन गरेको छ । बेलाबखत छन्द कविता लेखन प्रशिक्षण पनि चलिरहेको छ । तथापि झुर कविताहरूले कवि र कविताको बेइज्जत पनि गरेका छन् । कविहरू राजनीतिकर्मी, उद्योगी, व्यापारी आदि क्षेत्रमा खासै घुलमिल हुन सकेका छ्रैन, तिनको आफ्नो मात्रै छुट्टै संसार छ । खासगरी कवितालाई हाँस्ने, हँसाउने, मजाक गर्ने तहबाट मात्र उठाएर गम्भीर सामग्रीका रूपमा लैजानु आवश्यक छ । कविता घर घरमा पुग्नुपर्छ र नयाँ पुराना पुस्ताले यसमाथि चर्चा, परिचर्चा गर्ने वातावरण बन्नुपर्छ ।
उत्कृष्ट रचना सिर्जना गर्न के गर्नुपर्ला ?
– विचार वा भावलाई लय, कला वा सौन्दर्य थपेर पाठक वा श्रोताको मन जित्न गाह्रै काम हो । कथ्यमा मौलिकता, खँदिलोपन र आन्तरिक लय पस्कन सक्ने कविता मात्र पाठकका मनमा बस्न सक्छन् । धेरै वर्णन नगरी नयाँ विषयवस्तु र शैलीका साथ सूत्रात्मक रूपमा ट्वाक्क प्रस्तुत हुन सके पाठक–श्रोतालाई प्रभावमा पार्न सकिन्छ । त्यसका लागि राष्ट्रिय–अन्तर्राष्ट्रिय गतिविधि, समसामयिक घटना, इतिहास, भूगोल, संस्कृति, विज्ञान, प्रकृति आदिको निरन्तर अध्ययन, अवलोकन गरिरहनुपर्छ ।
यहाँले भविष्यमा साहित्य सम्बन्धमा के कस्तो लक्ष्य राख्नुभएको छ ?
– अब कविता लेखेँ भने नयाँ शैलीका नै लेख्नुपर्ला । निबन्ध लेखनलाई निरन्तरता दिँदै ससाना उपन्यास पनि लेख्ने विचार राखेको छु । क्रान्तिकारी साहित्यकार तथा राजनीतिज्ञ गोपालप्रसाद रिमालका स्मृतिमा मेरो एडमिनमा ‘गोपालप्रसाद रिमाल काव्यमिलन’ फेसबुक पेज खोलेको छु । रिमालका नाममा एक संस्था खोलेर गतिविधि गर्ने योजना बनाएको छु । जागिरबाट अवकाश पाएपछि त्यतातिर लागुँला । त्यसअघि काव्यमिलनबाट नै साहित्यिक कार्यक्रम आयोजना गर्ने विचार पनि गरेको छु ।
जीवनमा साहित्य क्षेत्रमा लागेर के चाहिँ प्राप्त गरेजस्तो लाग्छ ?
- साहित्यका समूह त छँदैछन्, त्यसबाहिरका मित्र तथा शुभेच्छुकहरूले पनि मलाई अलिकता चिन्छन् । प्रगतिशील विचार र सङ्गठनमा आबद्ध भएको मात्र छु, पदाधिकारी तहमा बसेर योगदान दिन सकेको छैन । मुख्य कुरा आफूले आफूलाई अभिव्यक्ति गर्न पाउँदा रमाइलो लाग्ने नै भयो । आफ्नो विचार अरू कसैलाई राम्रो लागेमा विचारकलाई खुसी नलाग्ने कुरै हुँदैन । उकुसमुकुस पोख्न पाउनु र त्यसलाई केहीले ग्रहण गरिदिँदा आफूलाई पनि सन्तोष लाग्नु स्वाभाविक नै हो ।
नामले पनि साहित्यमा काम गरिरहेको हुन्छ भनिन्छ । के सिर्जनाभन्दा नाम शक्तिशाली हुन्छ ?
– सिर्जना नै ठुलो कुरा हो । कुनै व्यक्तिले लेखन, सिर्जनामा दिएको सामग्री नै मुख्य हुन्छ । सङ्गठनमा लागेर वा नियमित रूपमा मिडियामा नाम चलेर मात्र हुँदैन, व्यक्तिको सिर्जना पनि त्यत्तिकै हारालुछ हुनुपर्छ भन्ने लाग्छ । कुनै सर्जकलाई पुरस्कारहरू दिँदा उसका कृतिहरूको बजारमा व्यापक प्रचारप्रसार भएको हुनुपर्ने ठान्छु म । लेखक कविका योगदान भनेका कृतिमार्फत नै हुनुपर्ने मलाई लाग्छ । साहित्यिक–सांस्कृतिक सङ्गठनमा लागेर नाम कमाउनुभन्दा त कृतिगत अमरता नै ठुलो कुरो हो । जिन्दगीभर सङ्गठनमा लागेर सिर्जना नगर्ने र लेखन सिर्जनामै रमाउनेबिच तुलना गर्दा दोस्रो नै बेस हुन् भन्ने लाग्छ ।
नेपाली साहित्यको भविष्य कस्तो छ भन्ने लाग्छ यहाँलाई ?
– नेपाली साहित्यमा पुराना कृतिलाई मात्र उत्कृष्ट मान्ने सोच देखिन्छ । नयाँ कृतिहरू पनि उत्कृष्ट ढङ्गले आएका छन् । नेपाली साहित्यलाई विश्वस्तरको बनाउन जमेर छलफल गर्नुपर्ने देखिन्छ । जुन कृति आए पनि विमोचन गर्ने र त्यसैलाई उत्कृष्ट, राम्रो भनी प्रशंसा गर्ने चलन भने हट्नुपर्छ । लेख्दैमा, प्रकाशन हुँदैमा गुणै गुणको मात्र चर्चा गर्ने बानी अन्त्य हुनुपर्छ । नेपालका सबै भाषाभाषीका सिर्जना वा साहित्य नेपाली नै हुन् । तिनको पनि चर्चा, परिचर्चा हुनुपर्छ । अब व्यापक रूपमा नेपाली साहित्य अनुवाद हुनुपर्छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साझा प्रकाशन, त्रिवि नेपाली केन्द्रीय विभागजस्ता सरकारी तथा मदन पुरस्कार गुठी, अन्तरर्राष्ट्रिय नेपाली साहित्य समाज, विश्व नेपाली साहित्य महासङ्घ आदि सबै मिलेर नेपाली साहित्यलाई उठाउन लाग्नुपर्छ । अहिले आएका सबै कृति उत्कृष्ट छैनन् । उत्कृष्ट कृतिको राष्ट्रिय, अन्तर्राष्ट्रिय भाषाहरूमा व्यापक अनुवाद हुनुपर्छ । भविष्यबारे सोच्दा सोच्दै कमसल खालका कृति प्रकाशन भइरहँदा भने त्यति उत्साहित हुन सक्दिन ।
यहाँको साहित्य सिर्जनाको उद्देश्य के हुने गर्छ ?
– नयाँ विषयवस्तुलाई नयाँ शैलीले प्रस्तुत गर्ने मेरो उद्देश्य हो । आफ्नो रचनाले अरूमा पनि प्रगतिशील विचार उठोस् भन्ने लाग्छ । आफ्ना विचारहरूलाई सङ्गठित गरेर कविता, निबन्ध वा समसामयिक लेखहरू लेख्दा पाठकहरू लाभान्वित भएको प्रतिक्रिया बेलाबखत पाएको छु । लेखनमा अध्ययन निकै महत्वपूर्ण हुन्छ । विद्यालय–कलेजका पाठ्यपुस्तक छिचोल्न तथा जागिरका सिलसिलामा दिनुपर्ने समयले भने नेपाली र विश्वसाहित्यको अध्ययन भने मैले त्यति गर्न पाएको छैन । नेपालका अन्य जातजातिका भाषा र अन्तर्राष्ट्रिय भाषा सिक्न पनि मेरो रुचि थियो तर सिक्दा सिक्दै छाड्नुपरेको स्थिति छ । अहिले पनि सिक्दै छु । त्यसले लेखनमा फाइदा पुग्ला भन्ने मेरो अनुमान छ ।
लेखक र पाठकप्रति यहाँको कुनै सुझाव एवम् प्रतिक्रिया छ ?
- लेखक र पाठकलाई सुझाव–सल्लाह दिने हैसियत त मेरो कहाँ छ र ! लेखकहरूले मौलिक विषयमै कलम चलाए राम्रो होला । अझ विधाभञ्जन गर्ने वा नयाँ विधा स्थापित गर्न योगदान दिए झनै बेस । तिनले सम्पादनपूर्व स्थापित साहित्यकार तथा विषयविज्ञहरूलाई एकपल्ट देखाएर प्रकाशन गर्दा पनि राम्रै होला । पाठकहरूले पनि जुनसुकै कृतिलाई राम्रो भनिदिनु ठिक होइन । कृतिहरूको निर्मम समीक्षा गरिदिए बेस होला जसले लेखकलाई आगामी कृतिमा राम्रो गर्न प्रेरणा जागोस् । पाठकहरूले पनि बुक होलिक्सजस्ता सङ्घसंस्थामार्फत पुस्तकको चर्चा, बहस गर्ने चलन चलाए हुन्थ्यो । समीक्षकहरूले पनि चर्चामा आउनैपर्ने कृतिको तुलनात्मक ढङ्गले समालोचना गरिदिएमा पाठकलाई कृतिहरूको छनोट गर्न सहयोग पुग्थ्यो । लेखक, पाठक र समीक्षकबिच नियमित अन्तरक्रिया भइदिए हुन्थ्यो । यस्तो बहस गैरसाहित्यिक क्षेत्र जस्तै अर्थविद्, राजनीतिकर्मी, समाजसेवी, उद्योगी, व्यापारी, कुटनीतिज्ञ, चिकित्सक, वकिल, इन्जिनियर, न्यायाधीश तथा सिर्जना क्षेत्रका ललितकलाकार, चलचित्रकर्मी, नाट्यकर्मी, गीतकार, सङ्गीतकार, गायक आदिसँग नियमित रूपमा गर्दा राम्रो हुन्थ्यो ।
‘अन्तर्बोध’ मार्फत साहित्यिक मनहरूलाई केही भन्नु छ कि ?
– राष्ट्रिय, अन्तर्राष्ट्रिय साहित्यिक कृतिहरू व्यापक रुपमा पढ्नुहोस्, विशद् रूपमा चर्चा, परिचर्चा गरेर लेखकहरूलाई बाटो देखाइदिनुहोस््, भविष्यमा आफू पनि लेख्नुहोस् ।