सम्पादकीय - ५९
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रदान गरिने आजीवन सुविधा खारेज भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान भाषा, साहित्य, कला, संस्कृति आदि कार्यको संरक्षणको लागि स्थापित सरकारी प्रतिष्ठान हो । आफ्नो सम्पूर्ण उर्जा भाषा, साहित्य, कला, संस्कृतिसम्बन्धी कार्यमा योगदान गर्ने श्रष्टाहरू धेरै छन् । प्रज्ञा–प्रतिष्ठानद्वारा आजीवन सुविधा प्रदान गरिने मुख्य मापदण्डले सो विषयलाई समेट्न सकेको थियो वा थिएन अध्ययन गरेपछि मात्र थाहा होला तर यहाँ विशेष योगदान गर्ने मुर्धन्य श्रष्टाहरू धेरै छन् । कुनै पनि निकायमा आजीवन निवृत्तिभरण त्यस संस्थामा आफ्नो उर्जाशील जीवन पूरै बिताएको व्यक्तिलाई दिने संसारभरको प्रचलन हो । नेपाल–प्रज्ञा प्रतिष्ठानले भाषा, साहित्य, कला, संस्कृति आदि क्षेत्रमा काम गरेका व्यत्तिलाई आजीवन सुविधा होइन कि विभिन्न किसिमको आर्थिक सहायता दिनुपर्दछ । बिरामी पर्दा उपचारको लागि अस्पतालमा लाग्ने उपचार खर्च दिनुपर्दछ । आर्थिक अवस्था उच्च रहेका र पहुँचको भरमा आजीवन सरकारी सुविधा दिने हो भने समानताको सिद्धान्त लागु हुन सक्दैन । देशभर लाखौँ श्रष्टाहरू छन् । तिनलाई समेट्न पनि प्रज्ञा–प्रतिष्ठानले सक्नुपर्दछ । प्रज्ञा–प्रतिष्ठान भागबण्डाको राजनीतिमा चलेको छर्लङ्गै छ । तर नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘प्रज्ञा नेपाली वृहत शब्द कोश’ निकाल्नुका साथै केही महत्वपूर्ण कामहरू पनि भएका छन् । अब प्रज्ञा–प्रतिष्ठानमा नयाँ नेतृत्व आएको छ । नयाँ नेतृत्वले राजनैतिकभन्दा प्राज्ञिक काम गरेर आफ्नो साख उच्च बनाउनुपर्दछ । प्राज्ञिक नेतृत्वले भाषा, साहित्य, संस्कृति, कला आदि क्षेत्रमा धेरै काम गर्नुछ । देशभर कति लेखक, कलाकार छन् त्यो हालसम्म एकीन छैन । कति लेखक, कलाकर्मीहरूले भाषा, साहित्य, कला, संस्कृति आदि क्षेत्रमा काम गरे र के कस्ता कृति, पुस्तक, पत्रिका निकाले र चित्र, कलाकृति बनाए त्यसको रेकर्ड छैन । यस्ता कार्यमा समेत प्रज्ञा–प्रतिष्ठानले काम गर्नुपर्दछ र मात्र प्राज्ञिक व्यत्तिका मन जित्न सक्दछ भन्दै लेखक, विज्ञापनदाता एवम् सम्पूर्ण नागरिकहरूमा नयाँ वर्ष २०८० सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।