संस्कृति
शीतल गिरी
परिचय
विश्वको इतिहासमा सबभन्दा पहिलो गणराज्यको स्थापना वैशालीमा भएको थियो । संसारका प्रजातान्त्रिक व्यवस्थाको लागि बज्जि गणराज्य धेरै नाम चलेको थियो । बज्जि गणराज्यको राजधानी वैशालीको सन्दर्भमा थुप्रै दन्त्यकथाबहरू प्रचलित छन् । बौद्धधर्मको त्रिपिटकअनुसार तथागत जब वैशालीबाट यात्रा गरिरहेका थिए, तब उहाँले आफ्ना शिष्य आनन्दलाई भन्नुभयो— “आनन्द ! वैशाली बडो रमणीय स्थान छ ।” वाल्मीकि रामायणमा चर्चित विशालपुरी र बुद्ध महावीरकालीन वैशालीमा भौगोलिक दृष्टिले भिन्नता हुँदाहुँदै पनि विशालता सन्निहित छ । आज पनि जब कहिल्यै वर्धमान महावीर, बुद्ध, पिङ्गलकीर्ति, अम्बपाली, गयाधर, रत्नाकर आदिको कर्मभूमिको चर्चा हुने गर्दछ, तब बज्जि भूमिको गौरब अझ बढ्ने गर्दछ । इतिहासकारहरूको मान्यतामा वैशाली गणराज्यको स्थापनापछि दोस्रो पुस्तामा विदेह राज्यको स्थापना भएको थियो । लामो समयसम्म विदेह राज्य लथालिङ्ग अवस्थामा रहेको थियो । जतिखेर संसार राजतन्त्रको पञ्जामा जकडिएको थियो, त्यतिखेर हामी बज्जिहरू (बज्जि, लिच्छवि, ज्ञातृक, विदेह, उग्र, भोज, इक्ष्वाकु र कुस) ले गणराज्य स्थापना गरेर लोकतान्त्रिक शासनको सफल सञ्चालनको एउटा आदर्श कायम गरिसकेको पाउँछौं । सुरक्षाको दृष्टिकोणले बज्जिगणराज्यको राजधानी वैशाली तीनवटा पर्खालले घेरिएको थियो, जसको बिचमा विशाल महल थियो । त्यसको बिचमा एउटा पोखरी थियो । त्यो मङ्गल अभिषेक पुष्करीणीको जलको उपयोग राज्याभिषेकको समयमा गर्ने गरिन्थ्यो ।
गङ्गा नदीको आधा भाग बज्जि सङ्घ र आधा भाग मगध राज्यमा थियो । बज्जिहरूको एकदम ठुलो संसद भवन थियो, जसमा प्रतिनिधिहरू बसेर भाग लिने गर्दथे । प्राचीन अर्थशास्त्री कौटिल्यको साहित्यमा वृजि (बज्जि) र लिच्छवि सङ्घको उल्लेख पाइन्छ । बज्जिका सोही वैशाली जनपदको भाषा हो, जसको नामकरण महापण्डित राहुल सांस्कृत्यायनले गरेका हुन् । जैन धर्मको चौबिसौं तीर्थङ्कर वर्धमानको जन्म पनि वैशाली नगरीमा भएको हो र उनले आफ्नो प्रामाणिक ग्रन्थ ‘लिंग्विस्टिक सर्वे अफ इन्डिया’ मा बज्जिका भाषालाई पश्चिमी मैथिली नाम दिएका छन्, अर्थात् मैथिलीको बिग्रिएको रूप भनेका छन् । बज्जिका नेपालको सर्लाही, रौतहट र बारामा बोलिने प्राचीनतम जनभाषा हो, यसको मैथिलीसँग कुनै सम्बन्ध छैन । यो जनभाषा भारतको उत्तर विहारको पूर्वी चम्पारण, पूर्वी सारण, सम्पूर्ण मुजफ्फरपुर, सीतामढी तथा पश्चिमी दरभङ्गा क्षेत्रमा बोल्ने गरिन्छ । गुप्तकालीन बज्जि गणराज्यको चर्चा फाह्यानको यात्रावृतान्तमा पनि पाइन्छ । आज यस भाषाको कैथी लिपि प्रायः लुप्त हुँदैछ । यस कैथी लिपिको कुनै पनि किसिमको प्रकाशन र पुस्तक पाइएको छैन, लिपिको बारेमा कुरो मात्र चल्ने गरेको छ, हस्तलिखित पुस्तक भने केही प्राचीन मठहरूमा अझ पनि उपलब्ध हुनुपर्छ । सर्लाहीदेखि बारासम्मका मानिस बज्जिका भाषा नै बोल्दछन् । कालचक्रको कुटिल गतिविधिहरूका कारण बज्जिकाको लोकसाहित्य लिखित रूपमा उपलब्ध नभए पनि लोकको जिब्रोमा परम्परागत साहित्य सुरक्षित छ ।
लोककवि घाघले कृषिसँग सम्बन्धित थुप्रै रचनाहरू गरेका थिए, जुन आज पनि लोकजीवनमा प्रयोग गरिँदै छ । नेपालमा हिन्दु, मुस्लिम, बौद्ध, सिख, जैन र इसाई सबै धर्मका मानिस बस्दछन्, जसको रहनसहन, खानपिन, भेषभुषा, बोलचाल एकअर्कासँग एकदम फरक छ, यिनीहरूका फरकफरक मातृभाषा छन्, त्यसैगरी नेपालको तराईमा पनि थुप्रै क्षेत्रीय भाषा बोल्ने गरिएको छ, जसमा बज्जिका, मैथिली, भोजपुरी, थारु र अवधी प्रमुख छन् । कुनै पनि देशको संस्कृति त्यस देशको रीतिरिवाज र त्यसअनुरूप नै लोकगीतको प्रचलन भएको छ, यिनै लोकगीतको आधारमा हामी त्यहाँको लोकसंस्कृतिको स्वरूप आकलन गर्न सक्दछौं । लोकव्यवहार रीतिमा परिणत भएर परिपक्व बन्दछ, तब एउटा प्रथा र परम्पराले जन्म लिने गर्दछ । मानव स्वयम् आफ्नो लागि पनि जिज्ञासाको विषय बनेको छ र यस्तो स्वकेन्द्रित जिज्ञासाको कारण उसले थुप्रै मानवीय अध्ययनहरूको विकास गरेको छ । सामान्य रूपमा मानवविज्ञानलाई हामी मानव र उसको कामको अध्ययन भन्न सक्दछौं । समाजविज्ञानले मनुष्य र उसको समूहको पारस्परिक सम्बन्धको अध्ययन गर्दछ ।
इतिहासले विशिष्ट घटनाहरूको वर्णन गर्दछ, तिथिमितिका हिसावले उनीहरूका कार्यकारण सम्बन्धहरूको विश्लेषण गर्दछ । सत्ताको प्राप्ति तथा त्यसको विभाजन र उपभोगका विभिन्न पक्षहरूको अध्ययन राजनीतिविज्ञान अन्तर्गत राख्ने गरिन्छ । मानव र उसको संस्कृतिको अत्यन्त नजिक भएर पनि यसभन्दा फरक अस्तित्व राख्दछ । सांस्कृतिक–सामाजिक अध्ययनको रूपमा मानवविज्ञानले विभिन्न संस्कृतिहरू र समाजको संरचना तथा प्रक्रियाहरूको अध्ययन गराउँदछ । उन्नाइसौं शताब्दीभन्दा पहिले यी विषय सामान्यत भूगोल अथवा इतिहासको एउटा भाग ठान्ने गरिएको थियो । मानवविज्ञानका कतिपय प्रारम्भिक अध्येताहरूका अनुमान थियो, मानवसमूहको भाषा तथा संस्कृति उनीहरूका प्रजातीय गुणहरूमा आश्रित हुने गर्दथे । यस विषयको वैज्ञानिक अध्ययनले प्रजातीय गुणहरू भाषा एवम् संस्कृतिसँग सम्बन्ध नभएको मान्यतालाई स्विकार्ने बित्तिकै मनुष्यको अध्ययन थुप्रै शाखाहरू र उपशाखाहरूमा विभाजन हुनगयो । यस दिशामा मानवविज्ञानले इतिहास एवम् समाज विज्ञानको अध्ययन शैलीलाई अँगाल्यो । तथ्यको अभावमा ऐतिहासिक अनुमानद्वारा प्राचीन संस्कृतिहरूको पुनर्संरचनाको प्रयत्न नभएको होइन ।
शारीरिक मानवविज्ञान तथा सांस्कृतिक मानवविज्ञानमा प्रत्येकको थुप्रै उपभोग छन् । शारीरिक मानवविज्ञानको एक भाग मानवको आदिकालदेखि लिएर वर्तमान कालसम्मका शारीरिक विकासको अध्ययन गराउँदछ र अर्को भाग मानवलाई वर्तमान प्रजातिहरू, उनीहरूको शारीरिक विशेषताहरूको वर्गीकरण गर्ने प्रयत्न गर्दछ । प्रागैतिहासको अध्ययनद्वारा हामी मानव इतिहास त्यो अन्धकारमय युगसम्म लैजान सक्छौं जसको सम्बन्धमा हामीलाई कुनै लिपिवद्ध प्रमाण उपलब्ध छैन । उपयुक्त परिस्थितिहरूमा भूगर्भ शास्त्रको वैज्ञानिक अध्ययन प्रणालीबाट हामी प्रागैतिहासिक कालको स्मृतिचिह्नको आयुको अनुमान गर्न सक्दछौं । यसको आधारमा मानवीय संस्कृतिको क्रमिक अनुमान गर्न सक्दछौं र यसको आधारमा पनि निश्चित गर्न सक्दछौं । मानवको यन्त्र र उपकरण तथा भौतिक संस्कृति र कलाको अवशेष उसको जीवनकथाको कतिपय पक्ष मात्र हाम्रो सम्मुख उपस्थित गराउँदछ र यसैको आधारमा हामी उसको सम्पूर्ण जीवन बुझ्ने प्रयत्न थाल्दछौं । नेपालमा बसोवास गर्ने विभिन्न जातिहरू आआफ्नो धर्म, संस्कृति, रीतिथिति, भाषा, भेषभुषामा आस्थावान् हुँदाहुँदै पनि समष्टिमा यिनीहरू राष्ट्रिय र नेपाली संकृतिमा एकबद्ध रुपले निष्ठा राख्दछन् । यसैले नेपालको राष्ट्रियताको जगेर्ना गर्ने विविध भाषा र जातिहरूको अध्ययन, मनन, अनुसन्धान र खोजी गरी तिनीहरूको उचित संरक्षण हुनु अति आवश्यक भइसकेको छ ।
यहाँको भाषा नेपालको धरोहर हो । यिनै भाषाहरूमा नै नेपाली लोकसंस्कृति जोगिएको छ । नेपालका जाति, तिनीहरूको भाषा र संस्कृतिको प्रागैतिहासिक अध्ययन गर्ने हो भने धक फुकाएर लेख्न सक्ने अवस्था छैन । इसापूर्वको समयमा वर्तमान बारा, रौतहट र सर्लाहीको भौगोलिक सीमा आजको जस्तो नभए पनि यहाँ बसोबास गर्ने जातिमा अहिर राउतहरूको बाहुल्य हिजोदेखि आजसम्म छँदैछ । नेपालीय बज्जिकाको कृषि गीतको अध्ययन भए पनि संक्षिप्तमा बज्जिकाको चर्चा गर्ने प्रयास गरेको हुँ । प्रस्तुत अध्ययनको स्रोतसामग्री लेखकको प्रकाशित रचना साथै रौतहटको खास गरेर मध्यभागको सामाजिक जनजीवन अध्ययनको आधारमा तगार पारेको हुँ । पूर्व प्रकाशित सामग्रीलाई बज्जिका कृषि गीत अध्ययनको बढी आधार बनाइएको छ । कोरोना कहरको वर्तमान समयमा आफंै उपस्थित भएर प्रत्यक्ष कुराकानी गरेर हेरेर सुनेर लेख्न सकिने वातावरण नभएको हुँदा आफ्नो स्मृतिमा रहेको ज्ञानको सहारा लिएको छु ।
कृषि कार्यको लागि गरिने पूजाआजा
नेपाली जनजीवनमा, विशेषतः हिन्दुहरूमा व्रत, पर्व र उत्साहहरूको आआफ्नो आध्यात्मिक, धार्मिक। मौलिक महत्व युगौंदेखि रही आएको छ । हाम्रो देशको कुनाकाप्चामा प्रत्येक महिनामा कुनै न कुनै किसिमको पर्व उत्सवहरू अवश्य नै मनाइन्छन् । यिनैमा स्थान विशेषको सांस्कृतिक गौरव–गरिमा छर्लङ्ग देख्न सकिन्छ । कृषि पेसा अपनाएका बज्जि समाजले कृषिकार्यसँग सम्बन्धित निम्न चाँड पर्व मनाउँने गरेको पाइन्छ— जूड शीतल, दीपावली र धनकटनी ।
(१) जूड शीतल
नववर्षको शुभागमनको साथै सुरु हुने र वासन्ती वातावरणमा मनाइने तथा नवचेतना, नवउमङ्ग, नवभावनाले प्रेरित पार्दै वैशाख महिनाको मादक पृष्ठभूमिमा पर्ने जूड शीतलको सांस्कृतिक वैभव कृषि कर्म अपनाएका बज्जि समाजले आज पनि धुमधामका साथ मनाउँछ । कृषि कर्म अपनाएका बज्जि समाजले नववर्षको पुनित दिवसलाई जूड शीतल चाडकै रूपमा मनाउँदै छन् । यसबाट कृषि कर्मको सांस्कृतिक महत्वको साथसाथै राष्ट्रिय महत्व पनि प्रष्ट हुन्छ । परिश्रमद्वारा अर्जित जुनसुकै नयाँ अन्न खानका लागि जबसम्म कुनै सामूहिक सामाजिक उत्सव मनाइँदैन, तबसम्म त्यो नयाँ अन्न खानु धार्मिक दृष्टिकोणले शुभ मानिदैन । यस प्रकार चैते बाली (रबी बाली) का लागि यो जूड शीतल पर्व तराईवासी बज्जि समाजद्वारा मनाइन्छ ।
जूड शीतल पर्व चैत्र मसान्तकै दिन सुरु हुन्छ । यस पर्वको अर्को महत्वपूर्ण पक्ष हो— चैत्र मसान्तको दिन पकाइएका बस्तुहरू बैशाख–सङ्क्रान्तिको दिन खाने । जौको सातु खाएर जूड शीतल मनाइन्छ । यस दिन बरी, झोरी, पापड र मिठाई पनि खाने गरिन्छ । जूड र शीतल शब्द मिली जूड शीतल बनेको छ । जुडको अर्थ हो जुटाउनु र शीतलको अर्थ हो चिसो ।
यसरी जूड शीतलको अर्थ हो वैशाखको चर्को घाममा पनि तन मन चिसो बनाएर कृषि कर्ममा लागिरहनु । यो कृषि पर्व बज्जिका क्षेत्रका प्रायः सबै जातिले मनाउने गर्दछन् । यस पर्वमा वैशाख १ गतेका दिन सातु खाने गर्छन् जसलाई सतुबाइन भनिन्छ । सातुले पेटलाई शीतलता प्रदान गर्दछ , वैशाख २ गते बिहान आफूभन्दा ठुला मान्छे आमा, बुबा, काका, काकी, हजुरबुबा, हजुरआमाले १ गते राति एउटा भाडामा राखेको बासी पानीले आफ्ना सन्तान अथवा आफूभन्दा साना केटा–केटीहरूलाई टाउकोमा पानी राख्ने चलन छ । टाउकोमा बासी पानी राख्नु भनेको गर्मी याममा आफ्ना सन्तानलाई रोगव्याधि नलागोस् शीतलता प्रदान होस् भन्ने मान्यता रहेको छ । त्यही दिन गर्मीबाट बचाउन बोट बिरूवाहरू नमरोस् भनेर आफ्नो प्रत्येक बोट बिरुवामा पानी हाल्ने गरिन्छ । यसले गर्दा बोट बिरुवाहरू सालैभरि हरियो रहिरहन्छ भन्ने मान्यता रहेको पाइन्छ । कृषि कर्म गर्ने समुदायले यो पर्व मनाउनाले वातावरण सन्तुलनमा प्रमुख भूमिका खेलेको पाइन्छ ।
(२) दीपावली
दीपावली हिन्दुहरूको मुख्य चाडमध्ये एक हो । बज्जि समाज पनि दीपावली पर्व मनाउने गर्दछन् । दसैँपछि कार्तिकको औँसीको रातमा दीपावली मनाउने
गरिन्छ । प्रायःजसो तिन दिनसम्म मनाउने गरिन्छ । दीपावलीको पहिलो दिन दिउँसोतिर सम्पूर्ण घरका सरसामानहरूलाई सफा सुग्घर गरिन्छ । साँझपख सम्पूर्ण घर वरिपरि सजाउने, दियो बाल्ने गरिन्छ । पुरुषहरू खुल्ला चउरमा गएर पराल, खरलाई बालेर रमाइलो गर्दै मनाउँछन् । यसलाई लुकारी भनिन्छ । लुकारी गर्दा लक्ष्मीलाई भित्र्याउन र घरमा केही नराम्रो छ भने त्यो भगाउने भन्ने मान्यता रही आएको छ । दोस्रो दिन लक्ष्मीपूजाको दिन बज्जि समाजका गृहस्थहरू आफ्ना आफ्ना गाई, भैंसी, बयललाई नुहाइ दिने र हरियो घाँसपात खुवाउने चलन रहेको छ । कृषि कर्ममा साथ दिँदै आएका पशुलाई सो दिन सजाउने पनि गर्दछन् । बज्जि समाजमा कतै कतै भने सो दिन खुला चउरमा भैंसीको हुलमा सुँगुरको बच्चा छोडिन्छ । भैंसीले आफ्नो सिङले सुँगुरको बच्चालाई लखेटी लखेटी मारेको गाउँलेहरू खुव रमाइ रमाइ होहल्ला गर्दै हेर्छन्— यसलाई हर्राहर्री भन्दछन् । यस्तोगर्दा खेतीपाती राम्रो हुन्छ, रोग व्याध लाग्दैन भन्ने मान्यता रही आएको छ ।
(३) धनकटनी
हाम्रो देश नेपाल मूलतः कृषिप्रधान देश हो । हाम्रो देशका विभिन्न भेगका सबै ठाउँमा माटो र हावापानी सुहाउँदो विभिन्न किसिमका बालीहरूको उब्जनी सालैभर नै भइरहन्छ । हाम्रो देशको प्रमुख अन्नभण्डार तराई नै हो । नेपालको विकासमा, खास गरी अन्न उत्पादनमा तराईको महत्वपूर्ण भूमिका रहेको छ । सम्पूर्ण नेपाललाई अन्नमा आत्मनिर्भर बनाउने पक्षमा रहेको तराईको महत्वपूर्ण भूमिका भविष्यमा पनि निःसन्देह महत्वपूर्ण नै रहिरहने छ ।
वातावरणविद्हरूको भनाइमा नेपालको हरियो वन विनाश भएकोले मौसम परिवर्तन हुँदै गएको हुँदा धानरोपाइँको समयमा पानी नपरी अनिकाल पर्नेछ । अल्पवृष्टि, खण्डवृष्टि र अतिवृष्टिले गर्दा कृषिउत्पादनमा ह्रास हुँदै गएको कुरो सबैलाई थाहा छ । तराई प्रदेशमा धानको रोपाइँ जुनदिन सुरु हुन्छ त्यसलाई रोपनी भन्दछन् र त्यस दिन रोपारहरूलाई भोजभतेर खुवाइन्छ । धनी मानिसहरूले त खसी काटेरै भोज ख्वाउँछन । साइतमा रोपनी ग¥यो भने धानको उब्जनी धेरै हुन्छ भन्ने विश्वास रहेको हुँदा एक किसिमको समारोहबिच धानरोपाइँ गरिन्छ । कृषिप्रधान देशमा कृषिउत्सवको रूपमा धानरोपाइँ थालिनु आश्चर्यको कुरो होइन । धान रोपाइँको पहिलो दिन खेतधनी र रोपाहार सबैले हिलो खेल्ने चलन सामञ्जस्य, समानता, समन्वय तथा साम्प्रदायिक उद्भावको प्रतीक हो । धानरोपाइँमा झैं धानकटनीमा लग्न मुहूर्त वा साइत हेर्ने चलन पाइँदैन । धान राम्ररी पाकेपछि गाउँका सबै मानिसहरू सरेह अर्थात् गाउँभन्दा टाढा आ–आफ्नो धानको खेतमा गएर धान काट्न थाल्दछन् । गाउँ सुनसान हुन्छ, तर सरेह पाकेको धानले पहेँलपुर भएकोले सबै मानिसहरूको भेला त्यहाँ हुन्छ । सामाजिक जीवनमा काम आउने धोबी, हजाम, बाहुन, लोहार, मालीको हिस्सा (भाग) यिनीहरूको अनुपस्थितमा पनि खेतमा सुरक्षत राख्ने प्रचलन छ । अतः धनकटनीको समयमा गाउँमा बस्ने त बुढापाका मात्र हुन्छन् । खेतका मालिक होस् वा जोसुकै होस् धान काट्दा टुक्रेका धानका बाला बटुल्ने अधिकारी बच्चाहरू नै हुन्छन् र त्यसबाट भएको फाइदा पनि यिनीहरूलाई नै हुन्छ । लोग्नेमानिस र स्वास्नीमानिस मिलेर यस धनकटनीमा भाग लिन्छन्, किनभने यिनीहरूको वर्षभरिको मेहनतको कमाइ यही हुन्छ । वर्षभरि खनजोत गरेर, माटो मलिलो पारेर तथा मल हालेर जुन फल उब्जन्छ, त्यो काटेर आफ्नो घरखलिहानमा ल्याउने अवसर हो यो धनकटनी । सरेहमा नटहरू आफ्नो ठुलो ढोलक बजाउँदै धान काट्नेहरूको मनोरञ्जन गर्दै खुशीले उफ्रँदै नाच्दै आफ्नो परिश्रम माग गर्दै खेतखेतमा चाहर्छन्— पारिश्रमिक पाएपछि सन्तुष्ट हुन्छन् ।
चारैतिरको दृश्यमा शुष्कता हुन्छ, तर कृषकहरूका अन्तरात्मामा खुसियाली । वर्षभरिको सपना साकार भएको देख्दा यिनीहरूलाई अपार आनन्दको अनुभूति हुन्छ । यो धनकटनी वास्तवमा एउटा ठुलो आनन्दको स्रोत हो, एउटा ठुलो कृषि उत्सव हो, शताब्दीऔंदेखि प्रत्येक वर्ष यो मनाउँदै आइरहेको छ र भविष्यमा पनि यो क्रम चलिनै रहनेछ । यसको महत्व कम हुनुको साटो झन्झन् बढ्दै जाँदो छ । चोरहरूको बिगबिगी दिनानुदिन बढ्दै गएकोले अब राति पनि धनकटनीको समय खेतमा बस्ने प्रचलन बढ्दै गएको छ । धानको एकएक दाना (गेडा) किसानहरूका लागि हीरामोती, सुनचाँदीभन्दा कम महत्वपूर्ण र मूल्यवान हुँदैन । जसरी अरू माङ्गलिक अवसर एवम् लोकोत्सवमा मानिसहरू आफ्नो खुसियाली लोकगीतबाट प्रकट गर्दछन्, त्यसरी नै यस आनन्दपूर्ण धानरोपनी र धानकटनीको अवसरमा पनि लोकगीतबाट बज्जिका क्षेत्र प्रतिध्वनित रहन्छ । किसानहरूको सांस्कृतिक पारस्परिक उत्सवको एउटा नयाँ मुहान् र नयाँ आयाम धनकटनीले उद्घाटित गर्नुको साथै आर्थिक समृद्धिको ढोका खोल्दछ र अर्थोपार्जन एवम् आजीविकाको लागि पनि अनेक अवसरहरू प्रदान गर्दछ । तराई प्रदेशको मुख्यबाली र प्रमुख उब्जनी धान भएकोले धनकटनीले मेहनत र अध्यवसायको पाठ पढाउँदैछ । मेहनतबाट नै खेतमा सुनौलो बाला फलाउन सकिन्छ र देशको चौतर्फी विकासमा यसको ठुलो योगदान रहन्छ । धनकटनीको काम गर्ने बेलामा गीतात्मक एवम् सङ्गीतात्मक वातावरणले दिने जागर र फुर्तीले गर्दा नै यस अवसरमा गाइने गीतहरू धेरै लोकप्रिय तथा कर्णप्रिय पनि हुन पुगेका हुन् ।
कृषि कार्यगर्दा गाइने लोकगीत र व्याख्या
बज्जिका महिलाहरू धान पाकेपछि मङ्सिरमा धान काट्न खेतमा जान्छन्, त्यसबेला महिलाहरूले धान काट्दै यस्तो गीत गाउँछन्—
भादो–कादो कटली आएली आएल अगहनमा ।
धानमामें लगलई कटनिआ हो राम ।
धनमा कटबई पसही सुखबई ।
बान्ही–छमन्ही लबई खलिहनमा हो राम ।
नआ–नआ हँसुआ कुटाके हम रखली ।
मोटगर हुई धानके झमाठ हो रामा ।
मने–मने सजनिके मन अगराएल ।
छुट जतई बन्हकी गहँनमा हो रामा ।
बितते फगुनमा तऽ गोदिया भरतई ।
खेलतई गोदीमें ललनमा हो राम ।
यस गीतमा भनिएको छ हिलो मुलो हुने भदौं महिना गइसकेको छ । अब त मङ्सिर महिना लाग्यो, प्रत्येक खेतमा पहेँलपुर भएर धानको बाला लहराइरहेको छन् । किसानहरूले खेतमा धान काट्न थालेका छन् । धान काटीवरी, फिजारेर सुखाएर त्यसको बोझा बाँधेर आफ्नो खलिहानमा लग्दैछन् । धान काट्नको लागि नयाँ नयाँ हँसिया बनाउन लगाएको थिएँ र पुरानोमा दाँत कटाएको थिएँ, धानीबाली पनि निकै राम्रो भयो । धानको गाज निकै मोटो भएको थियो, हातले समाउँन पनि नसकिने । बाली निकै सप्रिएको हुँदा गृहणीले मनमनै कुरा खेलाउँन थालेकी छिन्, धान रोपाइँ गर्दा खर्च नपुगेर बन्धकी राखिएको मेरो गहना अब त अवश्य निखनिने नै छ । यो खुशीको कुरा हो फागुनमा त पक्कै पनि आँङ अल्लुङ्गो हुनेछ । तब मेरो काखमा बालक खेल्ने छ ।
यसप्रकार हामी देख्दछौं बज्जिका लोकगीतमा समाहित काव्य रस धेरै अर्थपूर्ण एवम् भावपूर्ण हुन्छ । यसमा समुद्रझैँ गहिराई र आकाश झैँ विशालता पाइन्छ । कृषि कर्ममा लागेको बज्जिका समाजले खेत तयारी पार्दा, रोपाइँ गर्दा पनि लोकगीत घन्काउने गरेका छन् ।
रोपाइँको समयमा यस्तो लोकगीत गाउने गरेको पाइन्छ—
ननदीके अङनामे बैरियाके गछिया
ओपर सुगना बैठल लोटाए
कुछ खाए कुछ भुइँयामे गिराए
ओकर जुठकाठ ननदी मोरे कएले
ननदीके रही गेले गरिभिया कठिन दिन सावन
पुरब खोजइले पछिम खोजइले
कठिन मिले मिले कठिन दिन सावन
सबे बरियतिया गयडाबिच अएँले
ननदीके जन्म लेला होरिलवा
कठिन दिन सावन ..... ......
पंडितजी बोलाऊ की छठियार पुजाऊ
होरिलवा कठिन दिन सावन ।
खेतमा धान रोपनी गर्दा गीत हार्नी (गीत गाउँने आइमाईहरू) आफ्ना दुःख सुखका कुरा गीतको रूपमा व्यक्त गर्ने गर्छन्, यस रोपनी गीतमा भनिएको छ, नन्दको घरको आँगनमा बैरको रुख छ । त्यहाँ सुगा बस्छन् तिनीहरूले काचो पाकेको बैर खान्छन्, केही आँगनमा झार्छन् । सुगाको जुठो बैर मेरी नन्दले बढारेको, बटुलेको
कुरा मलाई सुनाएकी थिइन् । मेरी नन्दले गर्भधारण गरेकी छिन्, मध्यवर्षा साउनमा जिउ हलुङ्गो हुने हो । बाटो घाटो पुल पुलेसा पानी भरिएको, बाढीले बगाएको, बिगारेको यस्तो अप्ठेरो समय हुन्छ साउन । मलाई अहिले नै थाहा छ, नन्दको विवाहमा जन्ती आउँदाको कुरा । सासूआमा भन्नु हुन्छ तिम्रो नन्दको जन्म भएपछि त हो उसैको भाग्यले हाम्रो घरमा सह बस्न थालेको । त्यही लक्षिणकी नन्दको गर्भ सावनजस्तो अप्ठेरो महिनामा हुँदैछ, पंडितजीलाई बोलाउन पनि सजिलो छैन, नदीमा पुल छैन पानी टम्म भरिएको छ । छठियारमा त पंडितजी नभएपछि कसरी पूजा गर्ने ? छठियार त गर्नै पर्छ । हे भगवान् साउनमा महिना पुग्ने भनेपछि समय त अप्ठेरो परेको नै हो । रोपाईको दोहोरी लोकगीत—
अमवा त खएले रसिया जोडिया
ठिया चलाके हो मारलई
लागिगेलई चुनरीमे दाग
घर पछुअरबा हो धोविया भैया हितबा हो
छोडाइ देहु चुनरीके दाग हो
दगिया छोडवली हो सबरी
की हो देबु दान मोरा
दगिया छोडबनीमे तोहरोके देशऊ रे धोविया
कान दुनु सोनवा
धोबनीके देबौं गिरे हार
अगिया लगवबो रे सवरो कान दुनु सोनवा
बजरे खसएबो गरे हार
इहे देबो मोहराके दान ।
की हे कथि लेबो रे धोविया
दगबा छोडउनु दान हो
दे दे रे सबरी दुनु नरियलबा
एक हमार एक तोहार
नदेबऊ रे धोविया दुनु नरियलबा
एक हवे हमार एक हवे
लाख लगएले जे खेत खरियान ई
ई त हए पतिके हवे खेतखरियान
कैसे देबो रे तोहराके दान हो ।
रोपाइँ हुँदा गाउने गरेको यो मनोरञ्ना प्रदान गर्ने लोकगीत हो । यसमा दोहरी खेलिएको छ । गीत हार्नीहरू (गीत गाउँने महिलाहरू) दुई समूह बनाएर यस्तो लोकगीत गाउँदै मनोरञ्जन दिन्छन् । गीतमा भनिएको छ, रोपनीको बेला आँप पाक्ने समय हुन्छ, मेरो पतिले आँप खाएर जिस्कने क्रममा कोयाले मलाई हिर्कायो । मेरो पछ्यौरीमा आँपको दाग लागेको छ, घरका मान्यजनले देखेभने मेरो बारेमा के सोच्दा हुन् । ऐ धोवी दाइ मेरो पछ्यौरीमा लागेको दाग कसैले थाहा नपाउँने गरी घर पछाडि लगेर धोइ दिनुस्, त्यहाँ पानीको सुविधा छ । धोवीले भन्छ, तिम्रो पछ्यौरीमा लागेको दाग धोएर तिमीलाई लज्जित हुनबाट त म बचाइ दिन्छु, सो वापत तिमी मलाई के दिन्छौं । युवती भन्छिन्— मेरो चरित्रमा शंका गर्ने दाग हटाइ दियौं भने हे धोवी म तिमीलाई दुवै कानमा लगाउनको लागि सुनको मुन्द्री दिन्छु । तेरो धोविनीको लागि पनि घाटीमा लगाउँन हार दिन्छु । धोवीले भन्छ— आगो लगाइ दिन्छु, तिम्ले दिएको सुनको मुन्द्रीमा त्यो कानमा लगाए भने मेरी स्वास्नीले मप्रति शंका गर्न थाल्नेछे । झन् धोविनको लागि हार लगिदिए भने हाम्रो जीवनमा कलहको बिउ रोपिने छ र चट्याङ परेको रुखझँै तहसनहस हुनेछ । यस्तै नचाहिदो कुरा तिमीले मलाई दानमा दिने हो । तब युवती भन्छिन्, तिमी नै भन धोवी मेरो पछ्यौरीमा लागेको दाग धोएर मलाई समस्याबाट बचाए वापत तिमीलाई के चाहिएको छ भन, म दिन्छु । तब धोवी भन्छ, दिने नै हो भने तिमीसँग भएको दुइटा नरिवल छ हो त्यही देउ । एउटा तिम्रो लागि हुन्छ एउटा मलाई । तब युवती भन्दछिन्, धोवी यो त तिमीलाई दिन सक्दिन । यो त एउटा मेरो लागि हो र अर्को पतिको लागि । मेरो पतिले यसको लागि लाखौं खर्च गरेर विवाह गरेर ल्याएको छ । खेत खलियान रुपी मेरो जवानी उनैको लागि हो । तिमीलाई म दिन सक्दिन ।
किसान जागरणसम्बन्धी लोकगीत पनि हेरौं, यस्तो गीत धान रोपाइँ गर्दा या धनकटनीको समयमा नट, धोवी या गाउँघरको गवैयाले गाउँने गर्छन् –
भइया किसानबा हो, की करू तोरो बखान
जेठ बइसखबाके, नऽधुपवाके देखऽलऽ
खेतबोके जोतइत–जोतइत, ओकरो सुखबल
भइया किसनबा हो, की करू तोरो गुजगान
भइया किसनबा हो, की करू तोरो बखान ।
असाढ महिनबामें जब करलऽ रोपनिया
बरसऽले मेघ रिमझिम, परऽले देहपर पनिया
भइया किसनबा हो, केतना हतऽ तु हो महान
भइया किसानबा हो, की करू तोरो बखान ।
हरियाली खेतबाके, देख–देखके झुमल
बाढोसे दहएला पर, हिम्मत नऽ हारेल
भइया किसनबा हो, फेनु से पोपल तुहो धान
भइया किसानबा हो, की करू तोरो बखान ।
अघहन पुसबामें, जब करऽलऽ कटनिया
आधी आधी रतियामें, करऽलऽ ओसओनिया
भइया किसनबा हो, रखलऽनऽ जारा धेआन
भइया किसानबा हो, की करू तोरो बखान ।
तोहरे मेहनतियासे, अनवा इहां उपजऽले
सबके भोजनबा इहां, किसनबासे चलले
भइया किसनबा हो, केहुके नबा धेयान
भइया किसानबा हो, की करू तोरो बखान ।
कृषक दाजुभाइ, तपाईंहरूको बयान म कतिसम्म गरुँ । बैशाख जेठको चर्को घाममा आफ्नो शरीरको ख्याल नगरेर खेत जोत्नु हुन्छ । खेतमा उखेलेर राखेका झारपातहरू चर्को घाममा सुकेर समाप्त हुन्छ, खेतमा लगाएको बालीमा तिनीहरूले कुनै बिगार गर्न पाउँदैन । असार महिनामा धान रोपनी गर्नु हुन्छ । वर्षाको बेलामा पानी पर्न थाल्छ, पानीमा रुझ्दै भिज्दै धान रोप्ने र रोपेको धान हुर्काउनुहुन्छ । तपाईंहरूकै मेहनतले खेतमा लहलह गर्दै हरिया धान हावाको साथमा वयेली खेल्छ । कहिलेकाहीँ बाढी आउनाले हुर्किसकेको धान बगाएर लैजान्छ । तर पनि हरेस नखाएर पुनः रोप्नुहुन्छ । बडो मेहनतसाथ हुर्काएको धान जब पहेँलपुर भएर खेतमा नाच्न थाल्दछ तब रमाउँदै मङ्सिर पुषमा काट्नुहुन्छ । आधिरातसम्म काट्ने, दाइँ गर्ने, ओसार्ने गरेर धानका सग्ला दाना तयार पार्नुहुन्छ । तपाईंको मेहनतको कारण नै यहाँ अन्न उब्जने गरेको छ । तपाईंको मेहनतले उब्जाएको अन्न सबैले भोजन गर्छन् र बाचेका छन् । त्यस्तो कडा मेहनत गरेर अनेकौं दुःख कष्ट सहेर कर्तव्यपथमा बिचलित नहुने तपाईंको बयान गर्नको लागि मसँग शब्दको अभाव छ ।
कृषिकर्ममा लागेका किसानको उत्साह बढाउने अर्को लोकगीत यस्तो छ—
जे करी खेतबामें मेहनत, हुनके उपजा होई हो
करिहेन उहे तरक्की, जेकरा उपजा होई हो
बात बनएलासे भइया, काम नऽ कुच्छो होइअ
काम करे सेही भइया, कामो ओक्कर होइअ
बिना मेहनतके कओनो, नऽउपजा होइ हो
करिहेन उहे तरक्की, जेकरा उपजा होइ हो
खेती करेके हए भइया त, खेतके अप्पन जोतऽ
बीज गिराब, समय पर ओक्कर जाके तु तब रोपऽ
बिना खदबा परएले, निम्मन न उपजा होइ हो
करिहेन उहे तरक्की, जेकरा उपजा होई हो
समय–समय पर करऽ कमइनी आउरो ओकर सिंचाई
कीटनाशक दवाई छिडकऽ एहीमें हए भलाई
किसनवा करऽखेत रखबाली, बढिया उपजा होई हो
करिहन उहे तरक्की, जेकरा उपजा होई हो ।
जुन किसानले खेतमा मेहनत गर्छ, उसको खेतमा उब्जनी राम्रो हुन्छ । आर्थिक स्तरमा उन्नति गर्नको लागि, खेतमा उब्जनी राम्रो हुनुपर्छ, किसानको आय श्रोत भनेको नै उब्जनी राम्रो हुनु हो । काम गर्न छाडेर गफ चुटेर बस्दा उब्जनी हुँदैन । खेती गर्ने किसानले समयमा नै राम्रोसँग आफ्नो खेत तयार पानुपर्छ । समयमै बिउ राखेर, समयमा नै रोपइँ पनि गरिसक्नुपर्छ । यति गर्दैमा राम्रो उब्जनी पनि त हुने होइन । उब्जनी राम्रो लिनको लागि समयमा नै उचित मात्रामा मलखाद्य हालेर पानी पनि खेतमा लगाउनुपर्छ । यसरी खेती गर्नेले मात्र प्रगति गर्न सक्छ । यतिमात्र कहाँ हो र समय समयमा गोडमेल पनि गर्नुपर्छ, अवस्था हेरीकन औषधी र कीटनाशक पनि छर्किनुपर्छ । बस्तुभाउबाट हानि नहोस् भनी रेखदेख गर्ने काम पनि गर्नुपर्छ, अहिलेको समयमा रेखदेख गरिएन भने बालीको सुरक्षा गरिएन भने राम्ररी पाकेको बाली समयमै भित्र्याइएन भने प्रगति गर्न सकिन्न ।
उपसंहार
यथेष्ट प्रमाणको आधारमा बज्जि गणराज्य (रौतहट, बारा, सर्लाही) बारे धक फुकाएर लेख्ने अवस्था छैन । मगधका राजा अजातशत्रुले अष्टकुल बज्जिसङ्घको उच्छेद गरेपछि वैशालीबाट भागेका बज्जिहरूले यस सङ्घराज्य निर्माण गरे । वैशालीबाट भागेका बज्जि–लिच्छवीहरू वागमती नदीको किनारैकिनार यहाँ आए । काठमाडौं उपत्यका जाने क्रममा केही लहलहाउँदो घाँसले सजिएको सुरम्य यस भूमिमा बसे होलान् । यस क्षेत्रका दक्षिणतिरका रैथाने जाति अहिर आदिलाई चुरे फेदीका, भावर प्रदेशका थारु, दनुवार, किछडिया, मुसहरहरू बाजी भन्ने गर्दछन् । मागधी भाषाको आधार र शौरसेनी भाषाको प्रभाव ग्रहण गरेको बज्जिका भाषा पूर्वको मैथिली र पश्चिमको भोजपुरी भाषाबाट पीडित यस भाषाको पूर्वपश्चिमको भूभाग कम छ । भाषाको बारेमा पीडित यस भाषाको पूर्वको मैथिली र पश्चिमको भोजपुरी भाषाबाट पीडित यस भाषाको पूर्वपश्चिमको भूभाग कम छ । भाषाको बारेमा म नअल्झिएर संक्षिप्तमा बज्जि समाजका केही कृषि गीतमा आज रहेको छु । बौद्ध, जैन साहित्य र इतिहासको अध्ययन गर्दा गौतम बुद्धको समाजमा वैशाली केन्द्र विन्दु रहेको शक्तिशाली बज्जि गणराज्य पाउँछौं । समृद्ध बज्जिहरूले अविहित, अप्रज्ञप्तलाई विहित गर्दैनथे, विहितलाई उच्छेद गर्दैनथे । बज्जिगण अर्हतहङको रक्षा, सत्कार गर्दथे, साथै ज्ञानगुनका कुराहरू सुन्ने र आगत अर्हतको सुखपूर्वक विहार गर्नको लागि प्रबन्ध गर्दथे । त्यस्तो बलियो गणराज्यका बज्जिहरू वर्षकार ब्राह्मणको कुटिल चालमा पर्नाले पुरानो नियम पालन गर्न छाडे र कमजोर भए । अजातशत्रुबाट पराजित भै ज्यान जोगाउन भागेका बज्जिहरूको समूह यस भूभागमा आयो । हुनसक्छ अजातशत्रुसँग पराजित बज्जिहरूलाई चुरेफेंदीका आदिवासीहरूले बाजी भन्न थालेको होस् । प्राचीन अष्टकुल बज्जिसङ्घमा सम्मिलित प्रत्येकको आ–आफ्नो भाषा
थियो । अजातशत्रुबाट लखेटिएका बज्जिहरूले अरू केही ल्याउन नसके पनि भाषा, संस्कृति र संस्कार त पक्कै ल्याएका थिए । किनभने भाषा मानिसले जन्मजात अपनाएको प्यारो बस्तु हो । पुर्खाहरूले रक्षा गरेको त्यही बज्जिका भाषामा रहेका केही कृषि गीत संकलन गरेको हुँ ।
(रोपनीको दुई गीत गरुडा निवासी संजय ‘मित्र’बाट प्राप्त भएको हो ।)
सन्दर्भसामग्री
– गिरी, शीतल (२०७०) बज्जि र बज्जिका, काठमाडौं ः नेपाल
प्रज्ञा–प्रतिष्ठान ।
– गिरी, शीतल (२०६३) प्रसङ्गवश, गौर ः रश्मि प्रकाशन समूह, रौतहट ।
– वर्मा, डा. व्रजनन्दन, बज्जिका–भारतीय लोकसाहित्य कोश,
खण्ड ६, मीमांसक तथा सम्पादक डा. सुरेश गौतम) नईदिल्ली ः
संजय प्रकाशन, (भारत) ।
– विद्रोही, रामचन्द्र, बज्जिकार्पन, शिवहर ः बिहार राज्य बज्जिका
परिषद्, जिल्ला शाखा शिवहर (भारत) ।
समाप्त
