गीत
जेवी खत्री
.
के भयो र कसो भयो बुझ्न पाइँन मैले ।
हृदयको देवतालाई पुज्न पाइँन मैले ।।
देखे पनि नदेखे झैँ गर्दै गएपछि
आफ्नो छाया आफैँसँग टाढा भएपछि
पर–पर भएर नै बुझ्न पाइँन मैले ।
हृदयको देवतालाई पुज्न पाइँन मैले ।।
जून पनि धरतीसँग टाढा हुँदो रै’छ
तर पनि धरतीकै माया गाढा हुँदो रै’छ
किन यस्तो के भयो र बुझ्न पाइँन मैले ।
हृदयको देवतालाई पुज्न पाइँन मैले ।।
आफ्नो मान्छेसँग जति नजिक हऔँ भन्छु
जिन्दगीका दुःख–सुखसँगै रहुँ भन्छु
के भयो र टाढा भयौ बुझ्न पाइँन मैले ।
हृदयको देवतालाई पुज्न पाइँन मैले ।।
के भयो र कसो भयो बुझ्न पाइँन मैले ।
हृदयको देवतालाई पुज्न पाइँन मैले ।।
