कविता
हाेमशंकर बास्ताेला
एकएक मान्छेको टाउको गन्दै
एउटै मितिमा लाखौँलाख मान्छेलाई
ताता घाम वा झरीमा
लामबद्ध ठिङ्ग्याएर
एउटा फुलिस्केप जस्तो कागजमा
ल्याप्चे दस्तखत गर्न लगाएर
छिरेका हौ सिंहदरवार
तिमी छिरेपछि
खै के पाए त ?
तातो घाममा उभिएर
पसिना पुछ्ने नागरिकले
झरीमा उभिएर
मन खिन्न पार्ने जनताले
साँच्चै तिमीले त
सिंहदरवारको गेटबाट छिरेपछि
च्यातेछौ ल्याप्चे मतपत्रका ठेली
प्रतिवद्धताका तमसुक र मतदाताको विचार
कति झुक्याउने हो जनतालाई
तुइन र फड्के देखाउँदै
जतै भत्काएका गोरेटा बाटा देखाउँदै
धुलाम्य काल्ला र गरा देखाउँदै
चिल्ला सडक बनाउँछु भन्यौ
अन्धकार बस्ती झलमल्ल पार्छु भन्यौ
तर उज्याला सहरहरू पनि
छिनछिनमा अन्धकारिन्छन् विद्युत हुँदाहुँदै
ओ महासय !
थाहा छ तिमीलाई ?
थाहा छैन भने पनि
खोला छेउ बस्ने मान्छेहरूसँग सोधे हुन्छ
तुइन तर्दातर्दै
सिमलघरे जेठाको बगेको आँसु
फड्के भाँचिएर
सेताघरे माइलीको चुडिएको चोला
अनि हेर्नै पर्नेछ तिमीले
चर्केको सडकमा
चक्का भासिएर
छरपस्ट भएका मतदाताको लास
त्यसैले मित्र
भो अब नखोक
अपुरा सपनाहरू
नपोख दिनदिनै
पूरा नहुने विचारको पहाड
त्यो चुलिन्छ वा पोखिन्छ
जनता हेरिरहेछन्
सिंहदरवारको गेट बाहिरबाट ।
ःसमाप्तः