यसपालिकाे भेटवार्ता - ठाकुर बेलवासे
कवि ठाकुर बेलवासेको जन्म पिता ईश्वरीप्रसाद बेलवासे र माता पुनम बेलवासेको कोखबाट अर्घाखाँची जिल्लामा भएको हो । युवा पुस्ताका चर्चित कवि ठाकुर बेलवासे कवि मात्र नभएर साहित्यिक पत्रकार एवम् मिडिया पत्रकारिता क्षेत्रमा समेत संलग्न हुनुहुन्छ । ‘सर्वदा’ साहित्यिक पत्रिका समेत प्रकाशित गरिसक्नुभएका बेलवासेका सागरको वरिपरि मनहरूको समारोह (कविताकृति –२०५९), अचानक यो साँझ (कवितासङ्ग्रह–२०६७), त्रासमा ईश्वर (कवितासङ्ग्रह–२०६९) लगायत तीन कविता कृति र एक समालोचनासङ्ग्रह प्रकाशित भएका छन् । वर्तमान समयका बेथितिहरूको पर्दाफाँस गर्दै सुन्दर कविता सिर्जना गर्ने कवि ठाकुर बेलवासेले नेपाली भाषा, साहित्य र पत्रकारिताको क्षेत्रमा पु¥याउनुभएको योगदान स्वरुप हिमशिखर प्रतिभा पुरस्कार–२०५६, विराट् नेपाल कविता महोत्सव–२०५८, मानश्री युवा सम्मान –२०६०, विनय रावल स्मृति पुरस्कार –२०६६, लुनकरण दास गङ्गादेवी चौधरी नेपाल नवप्रतिभा पुरस्कार–२०६९, राष्ट्रिय कविता महोत्सव (प्रथम, ने.प्र.प्र., २०६९, युवावर्ष मोती पुरस्कार–२०६९, साझा पुरस्कार, क्षेत्रीय प्रतिभा पुरस्कारलगायत दुई दर्जनभन्दा बढी पुरस्कार एवम् सम्मान प्राप्त गरिसक्नुभएका युवा पुस्ताका चर्चित कवि ठाकुर बेलवासेसँग ‘अन्तर्बाेध’ साहित्यिक पत्रिकाका लागि होमशंकर बास्तोलाले गर्नुभएको छोटो कुराकानी ।
यहाँले साहित्यिक क्षेत्रमा लाग्ने प्रेरणा कसरी प्राप्त गर्नुभयो ?
– विद्यालयमा पढ्दादेखि नै मलाई कविता साहित्यमा निकै रुचि थियो । पाठ्यक्रममा भएका कविता खुबै पढ्थेँ र लेख्ने अभ्यास पनि गर्थें । साहित्यमा लाग्ने कुनै विशेष प्रेरणा मसँग थिएन । मैले नेपाली कविता साहित्यका अग्रजहरूका कविता विद्यालय तहको नेपाली विषयमा पढ्न पाउनु नै मलाई कविता साहित्यमा लाग्ने प्रेरणा मिल्यो सायद । मेरो रुचिलाई मेरा दाजु गोपाल बेलवासेले साथ दिने काम गर्नुभयो । साहित्यमा निरन्तर लाग्ने प्रेरणा र हौसला भने मेरो दाजुबाट प्राप्त गरेँ ।
यहाँको साहित्यिक यात्रा बारेमा केही जानकारी पाउन सकिएला कि ?
– विद्यालय तहदेखि नै मैले कविता लेख्दै आएको हुँ । पहिलो रचना २०४८ सालमा प्रकाशित भएको हो । २०५० सालदेखि म साहित्यिक परिवेशमा घुलमिल बन्न पुगँे । साहित्यिक गतिविधिहरूमा सहभागी हुन थालेँ । आफँैले पनि साहित्यिक कार्यक्रमहरू आयोजना गर्ने काम गरियो । २०५३ मा सुनाखरी वाङ्मय प्रतिष्ठान र २०५५ देखि सर्वदा वाङ्मय प्रतिष्ठान खोलेर काम गरियो । २०५५–२०५६ तिर सर्वदा निकै सक्रिय राम्रो साहित्यिकि संस्था बनेको थियो ।
२०५० सालदेखि आजसम्म आउँदा मेरा तीनवटा कविता कृति प्रकाशित छन् । एउटा संंयुक्त कविता कृति र एउटा समालोचना कृति प्रकाशित छन् । केही पत्रिका र पुस्तकको पनि मैले सम्पादन गरेको छु ।
यहाँ पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । नेपाली पत्रकारिता कस्तो रहेको पाउनुभएको छ ?
– यति बेला नेपाली पत्रकारिता संक्रमणकालीन अवस्थामा रहेको छ । इन्टरनेटका माध्यमबाट आएका न्यु मिडियाका कारण परम्परागत टेलिभिजन, रेडियो र पत्रिकाले अन्योलको स्थिति भोग्नु परिरहेको छ । संख्यात्मक रुपमा सञ्चारगृह र पत्रकारको वृद्धि भएको छ । गुणत्मक रुपमा पत्रकारिता खस्किएको छ ।
पत्रकारितामाथिको विश्वास घट्दो छ । पत्रकारले जे गरे पनि हुन्छ, भन्ने मान्यता नयाँ पत्रकार साथीहरूमा देखिन्छ । युट्युवरहरूले पत्रकारितालाई हतियार बनाएर सिंगो नेपाली पत्रकारिताको धज्जी उडाएका छन् । परिवर्तित सन्दर्भमा राज्यसँग समय अनुकूलको सञ्चारनीति छैन । जसको फाइदा युट्युवरहरूले उठाएका छन् ।आज पत्रकारितामाथिको घट्दो विश्वासलाई माथि उठाउनु र पत्रकारिताको निष्ठालाई जोगाउनु चुनौतीको विषय बनेको छ ।
पत्रकारिता क्षेत्रमा लाग्दाको यहाँको अनुभव कस्तो होला ?
– साहित्यको रुचिकै कारण म पत्रकारितामा लागेको हुँ । पत्रकारितामा लाग्ने प्रेरणा र साथ सहयोग पनि मेरा दाजु गोपाल बेलवासेकै रहेको छ । २०५३ सालमा मैले पहिलोपटक जनसत्ता साप्ताहिकबाट पत्रकारिता सुरु गरेको थिएँ । जनसत्ता त्यसबेलाको निकै चल्ने पत्रिका थियो । त्यसका सम्पादक रामचन्द्र न्यौपानेसँगको संगतबाट मैले पत्रकारितालाई अगाडि बढाएको हुँ । यसका सुख, दुःखका अनेकन पाटा त छँदैछन् ।
मैले सुरुदेखि नै व्यावसायिक पत्रकारिता गरेँ । त्यसबेला जनसत्तामा एक हप्ता प्रशिक्षार्थी पत्रकारका रुपमा काम गरेपछि मैले त्यही पत्रिकामा जागिर पाउने भएँ । सम्पादक रामचन्द्र न्यौपानेले महिनाको पन्ध्र सय दिनेगरी मलाई जागिर दिनु भयो । मैले पन्ध्र सयमा काम नगर्ने बताएपछि उहाँले व्यक्तिगत रुपमा थप १ हजार दिने हुनुभयो । रामचन्द्र न्यौपानेले दिने १ हजारबाट नगद पाँच सय मलाई दिने र पाँच सयको होटलमा लगेर खाना ख्वाउने सर्त थियो । यो सर्त उहाँले नै राख्नुभएको थियो । हप्ता दिनमा एकपटक उहाँले लैनचौर स्थित होटल एम्बेस्टरमा लगेर खाजा या खाना ख्वाउनुहुन्थ्यो । त्यस बेलासम्म काठमाडौंमा रेस्टुरेन्ट कल्चर आएको थिएन । सेकुवा र भट्टी होटल नै चल्तीका थिए । होटल एम्बेस्टरमा जो कोही जाँदैन थिए । अर्थात् मजस्तो सामान्य विद्यार्थीका लागि यो होटल आस गर्ने ठाउँ थिएन् । वास्तवमा यति ठुलो होटलमा नियमित गएर खाने अवसर रामचन्द्र न्यौपानेले दिनुभएको थियो । मलाई होटलमा गएर काँटा चम्चा समाउन सिकाउने रामचन्द्र न्यौपाने दाइ नै हो ।
पत्रकारिताले समान्य व्यक्तिलाई चाहेभन्दा बढी उठाउन र विशेष व्यक्तिलाई खसाल्न सक्छ भनिन्छ । यहाँको भनाइ के छ ?
– पत्रकारितासँग शक्ति छ, भनेकै भरमा निरन्तर गलत मान्छेलाई राम्रो भनेर प्रचार गर्नु र राम्रो मान्छेलाई गलत भनेर प्रचार गर्नु एक किसिमको भ्रान्ति मात्रै हो, लुतो कल्याइँको आनन्द जस्तो । यस्तो पत्रकारिता टिकाउ हुन्न र यो पत्रकारिता पनि होइन ।
यहाँ प्रेस काउन्सिल नेपालको बोड सदस्य हुनुहुन्छ । प्रेस काउन्सिलले पत्रकारिताको क्षेत्रमा के, कस्तो कार्य गरिरहेको छ ?
– प्रेस काउन्सिल नेपालको एउटै काम आचारसंहिताको कार्यान्वयन गर्नु र गराउनु हो । यस बाहेक काउन्सिलले अतिरिक्त कामका रुपमा पत्रकारलाई संरक्षण गर्ने, पत्रकारका पक्षमा बोल्ने पनि गर्दै आएको छ । वास्तवमा सरकार र पत्रकारितालाई सधैँ जोड्ने, सजिलो बनाउने पुलका रुपमा काउन्सिल सक्रिय छ । अहिले हामीले चमत्कार गरेका छौँ, भन्ने केही छैन । राम्रो काम गर्ने प्रयासमा काउन्सिलको वर्तमान बोर्ड सक्रिय रहेको छ । पत्रकारिताको विश्वास र पत्रकारको साख जोगाउने काममा काउन्सिल निरन्तर सक्रिय रहन्छ ।
यहाँ कविका रुपमा परिचित हुनुहुन्छ । सुन्दर र उत्कृष्ठ रचना सिर्जना गर्न के गर्नुपर्ला ?
– सुन्दर र उत्कृष्ट सिर्जना गर्छु, भनेर गरिने होइन । कला र भावनाको सुन्दर संयोजनले उत्कृष्ट सिर्जना जन्मिने हो । एकजना स्रष्टाले सिर्जना गरेका सबै सिर्जना उत्कृष्ट हुनुपर्छ भन्ने छैन् । औँलामा गन्न सकिने राम्रा सिर्जना भए भने एउटा लेखक कवि पाठकका मनमा बस्न सक्छ । औसत सिर्जना गर्दागर्दै उत्कृष्ट सिर्जना पनि जन्मिन्छ । अर्को कुरा रचना आफँैमा सापेक्ष र निरपेक्ष हुन्छ । एउटै सिर्जना कसैलाई गजब राम्रो लाग्छ । त्यही सिर्जना कसैलाई खत्तम लाग्छ । यस कारण सिर्जनालाई तौलन गाह्रो छ । सामान्यतया रचना औसत हुनुपर्छ । खत्तम लेखेर राम्रो लेख्छु, भन्नु भ्रम पाल्नु मात्रै हो । स्रष्टा आफँैले सिर्जनाको शक्ति र सौन्दर्यता बुझ्न सके उत्कृष्ट सिर्जना गर्न सकिन्छ ।
वर्तमान नेपाली कविता कस्तो छ भन्ने लाग्छ यहाँलाई ?
– म नेपाली कविताप्रति विश्वस्त छु । गर्व गर्छु । यसो भनिरहँदा, बजारमा आएका सबै कविता नामका कृतिभित्र कविता छैनन् । अहिले फेसबुके कविताको बजार छ, यो सुखद् होइन । राम्रा कुरालाई केही मात्रामा प्रचार चाहिन्छ, होला । तर होहल्ला भने चाहिदैन । होहल्ला क्षणिक कुरा हो ।
यहाँ साहित्यक पत्रकार पनि हो । मिडिया पत्रकारिताले साहित्यिक पत्रकारितालाई ओझेल पारको छ भनिन्छ । यहाँको के भनाइ छ ?
नेपालमा साहित्यिक पत्रकारिता ओझेलमै छ, यो सत्य हो । यसको बजार अति सानो छ । व्यावसायिक रुपमा मिडिया संचालन गरेकाहरूले साहित्यिक पत्रकारितालाई महत्व दिँदैनन् । करण यसमा पैसा र शक्ति छैन् ।
हाल यहाँ साहित्यसम्बन्धी के गरिरहनुभएको छ । भविष्यमा के कस्तो लक्ष राख्नुभएको छ ?
– मैले साहित्यमा कहिल्यै पनि योजना बनाउन सकिनँ । आजसम्म जेजे भएको छ, ती सबै काकतालीले भएका छन् । झण्डै ८ वर्ष अघि एक प्रकाशन गृहले प्रेम कविताकृति “सपना कार्की म खुसी छु !” को कभर बनाएर सामाजिक सञ्जालमा पनि राखेको थियो । अन्तिम प्रुफ हेराउने जिम्मा मेरो थियो । मैले त्यो काम गर्न सकिनँ । त्यो योजना यसै हरायो ।
दोस्रो कविता कृति अचानक यो साँझ एकजना प्रिय पाठकको लगानी र दवावमा प्रकाशित भएको हो । पहिलो कृति प्रकाशनसम्म कविताप्रतिको मोह र दम्भ निकै थियो । त्यसपछि ममा कविताप्रतिको उग्र मोह छैन् । बेलाबेला कविता कृति प्रकाशन गरिहालु जस्तो लाग्छ । फेरि मन मरेर जान्छ । त्यति धेरै केही रुचि छैन् । मृत्युमाथि सृङ्खला कविता लेखिरहेको छु । बेलाबेला कविता लेखिनै रहेको छु । यसरी लेखिएका कविताका २ वटा जस्तो कृति पुगे होलान् । वास्तवमा साहित्यका बारेमा मेरो कुनै योजना नै छैन् ।
नामले पनि साहित्यमा काम गरिरहेको हुन्छ भनिन्छ । के सिर्जनाभन्दा नाम शक्तिशाली हुन्छ ?
– त्यो क्षणभङ्गुर हुन्छ । त्यो “¥याप पप” गीतजस्तो । सुनुन्जेल उफ्रिने, सुनेर भ्याएपछि प्रभावहीन । साहित्यकारहरू चाकरी र चाप्लुसी नगर्ने भन्छन्, अरुले कसैको सम्मान गरेको मात्रै देखे भने पनि चाकरी गरेको ठान्छन् । आफूले अनुकूल शक्तिशाली व्यक्तिको तलुवा चाट्छन् । म अपवाद भन्दिन, यही समाजभित्रै छु । कुरो मात्राको हो । चाकरी चाप्लुसी मैले कति डिग्रीसम्म गरेको छु, गर्छु भन्ने हो । सम्झनुस् प्रधानमन्त्री या मन्त्री अथवा शक्तिशाली व्यक्तिले कुनै सामान्य सिर्जना गरे भने अनुकूलका कविलेखकहरू बाह्र हात उफ्रन्छन् । पत्रकारका त के कुरा गर्नु ।
यहाँका विचारमा वर्तमान नेपाली साहित्यको अवस्था कस्तो छ ?
– साहित्यलाई पनि बजारले खाएको छ । सामाजिक सञ्जालले निलेको छ । ठुलाठुला लेखकहरू पनि फेसबुकतिर दौडधुपमा देखिन्छन् । फेसबुकमा लेखकहरूको जुलुस छ । यसको अर्थ साहित्यमा काम कम हुन थालेको छ । यसो भनिरहँदा हरेक दिन पुस्तक प्रकाशन हुन छाडेका भने छैनन् ।
यहाँको साहित्य सिर्जनाको उद्देश्य के हुने गर्छ ?
– पहिला पहिला म मान्छेका बारेमा साहित्यिक सिर्जना गर्ने गरेको छु भन्ने दावी गर्थें । मान्छेप्रति बढी समर्पित हुने गर्थें । आजभोलि लाग्दै छ, सबैले त मान्छे लेख्ने हुन् । म पनि मान्छेभन्दा बाहिर गएर के पो लैख्न सक्छु । भोक, शान्ति, विद्रोह, प्रेम, उन्नति, प्रगति यस्तै त हो, लेख्ने ।
लेखक र पाठकप्रति यहाँको कुनै सुझाव एवम् प्रतिक्रिया छ ?
– लेखक र पाठक दुवै पूर्वाग्रही बन्नु हुँदैन । हल्लाका पछाडि दौडिने असल पाठक हुन सक्दैनन् । भ्रम पालेर ठुलो लेखक बन्न सकिदैन । भ्रमले त बाचुञ्जेल रनभुल्लमा पार्छ । एउटा लेखक, कविको जीवनपछि बाँच्ने त सिर्जना न हो । यस कारण भ्रममा होइन कि सिर्जनामा बाच्नुप¥यो ।
अन्त्यमा अन्तर्बोध मार्फत केही भन्नु छ कि ?
– ममाथि देखाएको सद्भावप्रति तपार्इंलाई धन्यवाद । साहित्यिक पत्रकारिता माथिको तपार्इंको समर्पणलाई सम्मान गर्दछु ।
समाप्त