सम्पादकीय - ६१
शरद ऋतु हरियाली पारेर बस्ती सुन्दर पार्ने ऋतु हो । यो ऋतु हिन्दु ऋतुहरूको छ वटा ऋतुमध्येको एक ऋतु हो । असोज–कार्तिक महिनामा पर्ने शरद ऋतु वसन्त ऋतुजस्तै सम शितोष्ण मौसमको ऋतु हो । शरद ऋतुमा चिसो मौसमको सुरुवात र गर्मीको समाप्ती हुने भएकाले दिनहरू सुन्दर र उमङ्गित लाग्दछन् । हिन्दुहरूको महान चाड दसैँ र तिहार प्रायः यही महिनामा पर्ने गर्दछन् । शरद ऋतुको समयमा गाउँ, बस्ती वा सहरहरू अन्य ऋतुहरूमा भन्दा हराभरा र सुन्दर देखिन्छन् । नजाडो नगर्मी यो यामका प्रत्येक दिनहरू सुन्दर र उल्लासमय लाग्दछन् । सहरहरू कंक्रिटले भरिएको भए पनि गाउँका बस्ती र जंगल पूरै हरियाली देखिन्छन् । बस्तीका खेत, बारीमा खेतीपातीले हरियाली हुनुका साथै बाँझो मैदानसमेत घामको चुम्बनमा हरियाली टल्किएर स्वर्णिम देखिन्छन् । यस ऋतुमा हिन्दुहरूको दशैँ र तिहाजस्ता चाडपर्वहरूमा विभिन्न कामले टाढाटाढा गएका अफन्तको मिलन गराउनुका साथै ठुलाबढाबाट टीका र जमरा लगाएर आशीर्वाद लिने गरिन्छ । तिहारमा लक्ष्मीपूजा गरी देउसी, भैलो खेलिन्छ । खेतबारीमा लगाएको कोदो, फापर, धान लगायत अन्नबाली युवा वयमा पुगेकाले हावाको झोकावमा हल्लिदा मन उमङ्गित हुन्छ । बोटबिरुवाका पात हल्लिएर एक अर्कामा ठोकिदा निस्किएको प्याट्ट प्याट्ट आवाजले रमाइलोपना सिर्जना गर्दछ । हो शरद ऋतुमा गाउँ, बस्तीहरू हरियालीले सुन्दरतम देखिए तापनि सहर कंक्रिटको जंगलले भरिएको छ । बोटबिरुवाका पातको प्याट्ट प्याट्ट आवाजले भन्दा सवारी साधनका आवाजले कानको जाली फुटाउँलाझैँ गर्छ । फोहोर र कोलाहलका कारण सहर प्रदूषित बनेको छ । बोटबिरुवा र हरियाली लगाउने स्थानमा घर उम्रिएर बाँकी जमिन र सडकमा समेत कंक्रिटले टालिएको छ । तर गाउँ यो समयमा हरियाली र सुन्दरताले मन, मुटुलाई छुन्छ । अतः ठुला चाडपर्वहरूसमेत प्रायः यसै ऋतुमा पर्ने गर्दछन् । त्यसर्थ पनि २०८० सालको विजयादशमी, शुभ–दीपावली एवम् छटपर्वको उपलक्ष्यमा आमाबुबा, दाजुभाइ, दिदीबहिनी, इष्टमित्र, विज्ञापनदाता एवम् सम्पूर्ण नागरिकहरूमा हार्दिक हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।