भेटवार्ता - डा. भागवत आचार्य
डा. भागवत आचार्य
(डा. भागवत आचार्यको जन्म माता नर्वदादेवी आचार्य तथा पिता स्व. नारायणप्रसाद आचार्यको कोखबाट तत्कालीन राजापानी– ९ (हाल हलेसीतुवाचुङ न.पा.–११) खोटाङमा २०२८ असार २३ गते भएको हो । शिक्षातर्फ विद्यावारिधि (नेपाली) गरेका आचार्यले एम. ए.– अर्थशास्त्र (प्रथम श्रेणी) तथा वी.एड. हासिल गरेका छन् । मूलतः कवि तथा समालोचक आचार्यको मुख्य कार्यक्षेत्र नेपाल राष्ट्र बैंक सेवा हो । हाल उनी उपनिर्देशक पदमा कार्यरत छन् । यसका अतिरिक्त उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत १६ वर्ष प्राध्यापन पनि गरेका छन् । हाल उनी नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ सभा सदस्यको जिम्मेवारीमा पनि छन् । उनी विभिन्न साहित्यिक सांस्कृतिक तथा सामाजिक सेवामूलक संस्थामा कार्यसमिति सदस्यका रूपमा कार्यरत छन् । साहित्य सन्ध्या, प्रश्रित प्रतिष्ठान उपत्यका शाखा, महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान (सल्लाहकार), खाम्तेल विकास मञ्च (सामाजिक सेवामुखी संस्था) का अध्यक्ष, जागृतिनगर विकास समितिका उपाध्यक्ष लगायतमा उनी संलग्न छन् भने नेपाली लोकवार्ता तथा संस्कृति समाज, दायित्व वाङ्मय प्रतिष्ठानलगायतका साहित्यिक–सांस्कृतिक संस्थामा संलग्न रहेका छन् । हालसम्मको स्थितिलाई हेर्दा उनको व्यक्तित्व बैंकर, सर्जक, प्राध्यापक, साहित्यिक पत्रकार लगायतका रूपमा स्थापित छ भने समाजसेवा र अध्यात्म उनको रुचिक्षेत्र रहेको देखिन्छ । हालसम्म उनका प्रकाशित कृतिहरूमा (क) कविता सिद्धान्त र नेपाली कविता (समालोचना - २०५८), (ख) स्नातक अनिवार्य नेपाली (व्याकरण र समीक्षा - २०६५), (ग) मनलाई सम्बोधन (कवितासङ्ग्रह - २०६६), (घ) विद्यार्थीसँग नेपाल राष्ट्र बैंक (सह - २०७०), (ङ) समृद्धितिर (वित्तीय चेतनामूलक गीतिएलबम -२०७०), (च) उज्यालोतिर (गीत–गजलसङ्ग्रह–२०७४), (छ) सुरुची - गीति एलबम (२०७८) रहेका छन् । मोदनाथ प्रश्रितका प्रबन्धकाव्यमा दर्शन (२०७४) उनको विद्यावारिधि अनुसन्धान ग्रन्थ हो । विभिन्न पत्रपत्रिकामा उनका कविता, गीत, गजल, निबन्ध, संस्मरण, नियात्रा तथा आर्थिक लेखहरू प्रकाशित छन् । उनले मिर्मिरे, नेपाल राष्ट्र बैंक समाचार पत्रिकाको सम्पादकको भूमिका पनि निर्वाह गरिरहेका छन् । उनले १५० वटा जति विधागत विशेषाङ्कसहित पत्रिका, पुस्तक, स्मारिका तथा समसामयिक ग्रन्थ सम्पादन गरेका छन् । उनी नेपाल विद्याभूषण, विष्णुचन्द्र प्रतिभा पुरस्कार - २०६७, हिराबहादुर खड्का साहित्य सम्मान - २०६७, मित्रप्रसाद–नरमाया विद्वत् पुरस्कार - २०७५ लगायत विभिन्न साहित्यिक सांस्कृतिक संस्थाबाट पुरस्कृत तथा सम्मानित भएका छन् । भारत, थाइलैण्ड, कोरिया, ताइवान, सिंगापुर, पपुवा न्यु गिनी, संयुक्त अरब इमिरेट्स, जोर्डन, कतार, टर्की, भियतनाम लगायत देशको भ्रमण गरेका डा. आचार्य मुलुकको अथतन्त्र क्षेत्रमा समेत जानकार मानिन्छन् । यस अङ्कमा उनै प्राज्ञ डा. आचार्यसँग समसामयिक साहित्यिक सांस्कृतिक तथा समसायिक विषयमा गरिएको वार्ता यहाँ प्रस्तुत गरिएको छ - सम्पादक) ।
यहाँले साहित्यक क्षेत्रमा लाग्ने प्रेरणा कसरी प्राप्त गर्नुभयो ?
– म सानैदेखि धार्मिक आध्यात्मिक वातावरणमा हुर्केको हुँ । घरमा पिताजीद्वारा श्रीमद्भागवत्, कृष्णचरित्र, महाभारत लगायतका ग्रन्थका श्लोक वाचन भइरहन्थ्यो । अहिले थाहा भयो कतिपय श्लोकहरू उपनिषद्, श्रीमद्भगवद्गीता, ब्रह्मसूत्र आदि ग्रन्थका पनि रहेछन् भने कतिपय चण्डी, रुद्री आदि ब्रह्मकर्मका तथा देवीदेवताका स्तुतिपरक रहेछन् । तिनको सस्वर वाचनको लयचेतनाले मेरो संस्कारमा प्रभाव पारेको म अनुभव गर्दछु ।
यसै गरी नेपाली पहाडी जीवनका लोकसाहित्यिक सामग्रीको सस्वरवाचन, गायन तथा प्रदर्शनमा सहभागिता तथा दृश्यावलोकनले पनि मेरो साहित्यिक लयचेतना निर्माणमा भूमिका खेलेको मलाई लाग्दछ । गाउँबेसी, मेलापात, हाट जात्रा आदि सन्दर्भमा प्रस्तुत हुने लोकगीत, बालन, मारुनी लाखेनाच आदिको प्रस्तुतिले पनि ममा साहित्यिक संस्कार भरिएछ । बिहाबटुलोमा रात्रिको समयमा दोहोरीशैलीको श्लोकवाचनमा म सानैदेखि सरिक हुन्थेँ । यसले मेरो श्लोकवाचनलाई परिष्कार गरेको म ठान्दछु । साथै, म साहित्यको विद्यार्थी भएको कारणले सिर्जनात्मक चेतना र संस्कार निर्माणमा उद्दीपनको भूमिका निर्माण भएको मलाई अनुभव छ । जसले साहित्यिक सिर्जनाको पूर्वीय तथा पाश्चात्य सैद्धान्तिक धरातलबारे मलाई जानकारी भयो । मेरा पिताजी ज्योतिषी भएका कारणले ज्योतिषका आधारभूत श्लोकहरू मलाई कण्ठस्थ हुन पुगे । यसले पनि मेरो साहित्यक पद्यमयता थप पल्लवित भएको जस्तो मलाई लाग्छ ।
यहाँको साहित्यिक यात्रा बारेमा केही जानकारी पाउन सकिएला कि ?
– मेरो जन्मस्थल खोटाङ जिल्ला राजापानी हो । त्यहाँस्थित तत्कालीन ज्योति निमावि (अहिले मा.वि.) मा अध्ययन गर्दादेखि नै म सिकारु कविता लेख्थेँ । उमेरले दाजु सहपाठी साथी पुरुषोत्तम आचार्य निमावि तहमा पढ्दा नै राम्रा कविता लेख्थ्यो । उसको सङ्गतले र कतिपय अवस्थामा प्रतिष्पर्धाले पनि म कविता लेख्न थालेँ । मावि तथा आइए पढ्दा पनि कविता लेखियो तर बिए पढ्दा मात्र भित्ते पत्रिकामा मेरो कविता प्रकाशित भयो तर त्यो कविता अहिले उपलब्ध छैन । यस सिलसिलामा स्नातकोत्तर पढ्दा समालोचनात्मक लेख वर्ण र यसको विश्लेषण नामक लेख ब्रह्मपुत्र (२०५३) मा प्रकाशित भयो । यो नै मेरो लेखन यात्राको कोषेढुङ्गा साबित भयो । यसपछि क्रमशः अन्य समालोचनात्मक तथा सिर्जनात्मक रचना क्रमशः प्रकाशित हुन थाले । यस क्रममा २०५८ सालमा कविता सिद्धान्त र नेपाली कविता नामक एक समालोचनात्मक कृति प्रकाशित भयो । पछि यसमा प्रकाशकले शैक्षणिक सामग्री समेत थपेर कविता सिद्धान्त र नेपाली कविता एवम् निबन्ध नामक कृति निकाल्यो । २०६२ सालमा सहलेखनमा स्नातक अनिवार्य नेपाली नामक व्याकरणात्मक कृति प्रकाशित भयो । सिर्जनात्मक कृतितर्फ २०६६ सालमा मनलाई सम्बोधन कवितासङ्ग्रह प्रकाशित छ भने २०७३ सालमा उज्यालोतिर गीतसङ्ग्रह प्रकाशित छ । २०७६ सालमा सुरुची नामक गीति एलबम निकालेको छु भने वित्तीय चेतनामुलक गीति एलबम समृद्धितिर नेपाल राष्ट्र बैंकले निकालेको छ । वित्तीय चेतनामुलक कृति विद्यार्थीसँग नेपाल राष्ट्र बैंक सहलेखनमा प्रकाशित छ । प्रकाशनलाई पर्खेर बसेका केही कविता, निबन्ध, समालोचना लगायतका कृति तयार छन् । उपयुक्त समयमा बाहिर ल्याउने विचार गरेको छु ।
यहाँ नेपाल राष्ट बैंकमा कार्यरत हुनुहुन्छ । नेपाल राष्ट्र बैंकबाट प्रकाशित मिर्मिरे पत्रिका मासिक रूपमा प्रकाशित भई भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याएको पाइन्छ । हाल मिर्मिरे पत्रिकाको प्रकाशन के कस्तो अवस्थामा छ ?
– म नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकमा कार्यरत छु र मिर्मिरे पत्रिकाको सम्पादकको जिम्मेवारी बैंकले मलाई दिएको छ । म सो पत्रिकामा सुरुमा सम्पादन सहयोगी, पछि उपसम्पादक, सहसम्पादक हुँदै सम्पादकको भूमिकामा छु । मिर्मिरे पत्रिका २०२९ सालदेखि मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकबाट प्रकाशित पत्रिका हो । सुरुमा यो पत्रिका समसामयिक थियो भने पछि त्रैमासिक, द्वैमासिक हुँदै लामो समय मासिक रूपमा प्रकाशित भयो । हाल यो पत्रिका अद्र्धवार्षिक छ जसमध्ये एउटा आर्थिक अङ्क र अर्को साहित्यिक अङ्कका रूपमा प्रकाशित हुन्छ । प्रकाशन सुरु गर्दा यस पत्रिकाको उद्देश्य बैंकमा कार्यरत कर्मचारीको सिर्जनात्मक र साहित्यिक चेतनालाई उन्नयन र प्रवद्र्धन गर्नु र साहित्यिक विकासमा यथोचित योगदान गर्नु रहेको थियो ।
यहाँले भनेजस्तै यस पत्रिकाले नेपाली साहित्यका फाँटमा गहन योगदान दिन पुगेको इतिहास साक्षी छ । यस पत्रिकामा प्रकाशित सामग्री विश्वविद्यालयका पाठ्यसामग्रीका रूपमा समाविष्ट छन् भने विभिन्न साहित्यिक विधागत विशेषाङ्क प्रकाशनमार्फत नेपाली साहित्यका कविता, कथा, निबन्ध, यात्रा साहित्य, समालोचना, नाटकका साथै संस्कृति, दर्शन, लोकवार्ता र अत्यन्त महत्वपूर्ण कुरा अर्थशास्त्र विषयलाई नेपाली भाषामा प्रस्तुत गर्ने कार्यमा यस पत्रिकाको ठुलो योगदान रहेको छ । नेपाली साहित्यका हस्तीहरू कृष्ण प्रधान, चिन्तनराज पाण्डे, वासुदेव अधिकारी, भीष्म उप्रेती, ठाकुर शर्मा भण्डारी, केदारप्रसाद आचार्य लगायतको कुशल नेतृत्वमा यो पत्रिका उत्तरोत्तर प्रगतिपथमा अघि बढेको इतिहासलाई म यहाँ स्मरण गर्न चाहन्छु । यस क्रममा मैले पनि यस पत्रिकाको सम्पादन कार्यमा यथोचित कार्य गर्ने अवसर पाएको हुँ ।
यहाँ नेपाल पज्ञा प्रतिष्ठानको पाज्ञ सदस्य हुनुहुन्छ । हाल नेपाल प्रज्ञा प्रतिष्ठानबाट के कस्ता कार्यहरू भइरहेका छन् ?
– नेपाल सरकारले मलाई २०७९ फागुन ३ गते प्रधानमन्त्री स्तरीय निर्णयबाट नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभामा मनोनयन गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ बमोजिम प्राज्ञ सभाको काम कर्तव्य र अधिकार बमोजिम म प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभामा आफ्नो भूमिका निर्वाह गरिरहेको छु । जस अनुसार सभाले वार्षिक नीति तथा कार्ययोजना पारित गर्ने, वार्षिक बजेट स्वीकृत गर्ने, कार्ययोजना कार्यान्वयनका लागि सहयोग पु¥याउने लगायतका भूमिका निर्वाह गर्दछ भने नेपाली भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिक शास्त्र विषयक्षेत्रको उन्नयन, विकास, प्रवद्र्धनका लागि अनुसन्धान, प्रकाशन, प्रोत्साहन गर्नु प्रज्ञाप्रतिष्ठानको मुख्य कार्य तथा जिम्मेदारी हो । जसमध्ये म दर्शनशास्त्र विभागको सदस्यको रूपमा कार्यरत छु ।
सो अनुसार प्रतिष्ठानका उद्देश्य हासिल गर्नमा मुख्य भूमिका प्राज्ञ परिषद्ले निर्वाह गर्ने गर्दछ । तोकिएका उपर्युक्त पाँचवटा क्षेत्रको अनुसन्धान, प्रकाशन, प्राज्ञिक मर्यादाको प्रवद्र्धनमा प्रज्ञा प्रतिष्ठान केन्द्रित भएको देखिएको छ । असार मसान्तसम्म अघिल्लो वर्षको कार्ययोजनाको निरन्तरताका रूपमा रह्यो भने साउनपछि प्रतिष्ठानले आफ्नो कार्ययोजना र बजेट ल्याएर पारित गरी कार्य प्रारम्भ गरेको छ ।
विभिन्न विषय क्षेत्र तथा सम्बन्धित क्षेत्रमा गहन योगदान दिएका स्नामधन्य व्यक्तित्वहरूको ज्ञान र अनुभवलाई प्रकाशनमा ल्याउने, अध्ययन र अनुसन्धान गर्ने, नेपालका राष्ट्रिय भाषाहरुरूको ज्ञान र अदृश्य सम्पदाको खोज, अनुसन्धान लगायतका कार्यमा पनि अहिले प्रज्ञा प्रतिष्ठान अघि बढिरहेको देखिएको छ । खास गरी नेपालका राष्ट्रिय भाषामा अवस्थित ज्ञान तथा वाङ्मय भण्डारलाई उन्नयन तथा प्रवद्र्धन गर्ने तर्फ प्रतिष्ठान लागिरहेको देखिएको छ ।
प्रज्ञा प्रतिष्ठानको वर्तमान प्राज्ञ परिषद्ले आजीवन प्राज्ञहरूद्वारा खाइपाइ आएको भत्ता कटौती गर्नुभयो नि । यसो गर्नु उचित हुन्छ र ?
– प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद्ले गरेको निर्णयका सम्बन्धमा प्राज्ञ सभामा मैले मेरो धारणा स्पष्ट रूपमा राखेको हुँ । प्रोत्साहनस्वरूप आजीवन प्राज्ञहरुलाई दिइएको उक्त रकमलाई दोहोरो सुविधाको रूपमा परिभाषित गरियो । वास्तवमा त्यो दोहोरो सुविधा होइन । यदि सो प्रोत्साहन भत्तालाई दोहोरो मान्ने हो भने ऐन नै संशोधन गर्नु उपयुक्त हुन्छ । अहिले दोहोरो सुविधा (?) को रुपमा जम्मा रु. ५,५०,०००÷– भत्ता वाङ्मयका क्षेत्रमा योगदान गरेका व्यक्तित्वमा जाने रकम किन कटाउने ? राज्यले गर्न नसकेका कतिपय प्राज्ञिक, बौद्धिक, वाङ्मयिक गुरुत्तर कार्यहरू समाजका बौद्धिक, प्राज्ञिक व्यक्तिहरूले गरिरहेका हुन्छन् । राष्ट्रका प्रतिभाहरूलाई सम्मानस्वरूप प्रदान गरिएको सानो रकम कटाउँदा प्रज्ञा प्रतिष्ठान स्वयम्को गरिमा र सम्मानमा आँच आउने निश्चत छ । बरु यसपछि नियुक्त हुने आजीवन सदस्यहरूलाई उक्त भत्ता प्रदान गर्न नसकिने भनेर सभाबाट निर्णय गर्नुु उपयुक्त हुन्छ । शिशुको दुधको खर्च कटौती गरेर पैसा बचाउनु उपयुक्त नहुने मात्र होइन घातकसिद्ध समेत हुुने गर्दछ । यस विषयको निक्र्यौल अदालतबाट हुने नै छ । पुनः उक्त सुविधा भत्ता हो भन्ने कुरा प्रज्ञा प्रतिष्ठानबाट निर्णय गरेर मन्त्रालय पठाइने र मन्त्रालयबाट रकम निकासा भई आउने प्रक्रिया रहेबाट स्पष्ट हुन्छ । यो कर्मचारीको तलबजस्तो स्वतः आउने नभई भक्ताबापत निर्णय गरेर दिने भएकाले यसलाई तलब भन्न मिल्दैन । सरकार, प्रज्ञा प्रतिष्ठानले प्रचलित नियम, कानुन बमोजिम निर्णय गरेर उपलब्ध गराउँदै आएको भत्ता सुविधा कटाउनु किमार्थ उपयुक्त हुँदैन । खाइपाइ आएको सुविधा कटाउनु उपयुक्त पनि हुँदैन, बरु उहाँहरूलाई ऐच्छिक रूपमा सो सुविधा अस्वीकार गर्न सकिने बाटो मिलाउनु समिचीन हुन्छ । उहाँहरूले उक्त सुविधा नलिने भन्नु भएमा मानार्थ सदस्यमा रूपान्तरण गर्न पनि सकिन्छ । राष्ट्रका वाङ्मय साधकहरूको ज्ञान, क्षमता र कार्यको पहिचान, प्रवद्र्धन र प्रोत्साहन गर्नका लागि राज्यका तर्फबाट केही सुविधा प्रदान गर्नु राज्यको कर्तव्य, अन्तर्राष्ट्रिय अभ्यास तथा स्वाभाविक आवश्यकता पनि हो ।
प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ सभा सदस्यको भूमिका कस्तो रहेको पाउनुभयो ?
– प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ सभा सदस्यको भूमिका अत्यन्त कमजोर रहेको पाएँ । मुलुकले प्राज्ञजस्तो गरिमामय स्थानमा पदासीन गराएपछि प्राज्ञत्वको गरिमा र गुरुत्वलाई संस्थाले नै स्थापित गर्न पनि सक्नुपर्दछ । प्रज्ञा प्रतिष्ठान परिषद्केन्द्री छ । परिषद्ले जे ग¥यो त्यही सर्वेसर्वा जस्तो छ । प्रतिष्ठानका क्रियाकलापमा सभाका सदस्यलाई अति न्युन मात्रामा सहभागी गराइन्छ । वास्तवमा कुनै पनि संस्थाको शक्तिशाली अङ्ग भनेको सभा नै हो । सभाले पारित नगरिकन कुनै पनि कार्यक्रम कार्यान्वयनमा जाँदैन । बजेट तथा नयाँ नीतिगत व्यवस्था तथा परिवर्तन गर्नु परेमा पनि सभा नै आवश्यक पर्दछ । तर सभालाई अत्यन्त दुब्लो र निम्छरो रूपमा व्यवहार हुँदोरहेछ । यो मेरो मात्र नभई प्राय सबै प्राज्ञ सभा सदस्यको अनुभव रहेको मैले पाएँ ।
नेपाल प्रज्ञा प्रतिष्ठान देशको प्राज्ञिक, बौद्धिक वाङ्मय मन्दिर हो जहाँ पाइला राख्नु कुनै पनि व्यक्तिका लागि गौरव अनुभव हुने गर्दछ । प्राज्ञिक क्षेत्रको सम्मान नै कुनै पनि देशको सभ्यताको परिसुचक बन्न सक्दछ । जुन देशमा बौद्धिक, प्राज्ञिक, वाङ्मयिक, दार्शनिक साधकहरूको सम्मान हुन्छ सो देश त्यति सुसंस्कृत बन्दछ । मलाई यस गरिमामय मन्दिरमा प्रवेश गरेपछि प्राज्ञसभा सदस्यज्यूहरू गरिमा र सम्मानमा केही नीतिगत व्यवस्था गर्नुपर्ने आवश्यकता देखेको छु । सभाका सदस्यज्यूहरूको गरिमाका लागि उहाँहरूलाई प्रतिष्ठानका गतिविधिमा सहभागी गराउने, सम्बन्धित क्षेत्रको विज्ञताका आधारमा कम्तीमा वर्षको एक पटक कार्यपत्र प्रस्तुत गर्न लगाउने, विभागहरूमा र प्रतिष्ठानबाट प्रकाशित हुने पत्रिकाको सम्पादन कार्यमा सरिक गराउने लगायतका कार्यमा लगाएमा प्राज्ञको गरिमा स्थापित भई कायम हुन सक्छ ।
यहाँ कवि, समालोचकका रूपमा परिचित हुनुहुन्छ । सुन्दर र उत्कृष्ट रचना सिर्जना गर्न के गर्नुपर्ला ?
– २÷३ वटा कुरा याद गर्नुपर्छ । साहित्यिक सिर्जनामा दुई वटा पक्ष ‘के’ भन्ने र ‘कसरी’ भन्ने कुरा हुन्छन् । ‘के’ ले कवि साहित्यकारले भन्न वा अभिव्यक्त गर्न खोजको विषयलाई र ‘कसरी’ले सो विषयमा प्रस्तुतीकरणको शैलीलाई सङ्केत गर्दछ । अझ साहित्यिक सिर्जनामा त विषयभन्दा पनि शैलीले सो सिर्जनाको उत्कृष्टता निर्धारण गर्दछ । शक्तिशाली संप्रेषण कुनै पनि सिर्जनाको उत्कृष्टताको परिचायक हो । कविताका सन्दर्भमा भन्नुहुन्छ भने विषयवस्तुका साथ बिम्ब, प्रतीक, अलङ्कार, छन्द, लय आदिको उचित संयोजनले कविता उत्कृष्ट हुन्छ भने कथा, निबन्ध, उपन्यास, नाटक, यात्रा साहित्य आदि गद्य रचनामा विधा अनुसारका आआफ्ना वैशिष्ट्य रहन्छन् । जसले रचनालाई सुन्दर र उत्कृष्ट बनाउँछ । यद्यपि कुनै पनि सिर्जनाको प्राण भनेको चाहिँ विषयवस्तु नै हो ।
वर्तमान नेपाली कविता कस्तो छ भन्ने लाग्छ यहाँलाई ?
– लयविधानका आधारमा वर्तमानमा कविताका गद्य र पद्य गरी दुई स्वरूप स्थापित भएका छन् । तर पनि कविताको मूल स्वरूप पद्य कविता हो भन्ने कुरा सर्वस्वीकार्य विषय हो । कविताको सुरुआत पद्य कविताबाटै भएको देखिन्छ । कवितामा भाव, भाषा र लयको त्रिवेणी रहन्छ । पद्य कवितामा बद्ध लय हुन्छ भने गद्य कवितामा मुक्त लय हुने गर्दछ । लय चाहिँ रहन्छ नै । लय नै कविताको मुख्य पहिचान हो ।
वर्तमान नेपाली कविता पनि पद्य र गद्य दुवै लयलाई आत्मसात् गर्दै यात्रारत छ । कविताले वर्तमान समयलाई अभिव्यक्त पनि गरिरहेको नै छ । यद्यपि कविता सिर्जनाले युगमाथि जुन हस्तक्षेप गर्नुपथ्र्यो, सो हुन नसकेको र कविज्यूहरूले अझै मिहिनेत गर्नुपर्ने देख्दछु । यसै गरी कविताको विषय क्षेत्र अहिले विश्वव्यापी बनिसकेको छ । सूचना प्रविधिमा आएको अकल्पनीय विकासले कविको चेतनामा वैश्विक हुन पुगेको छ । विश्वमा हुने घटनालाई कविहरूले कवितामा प्रस्तुति दिइरहेका हुन्छन् जुन नेपाली साहित्य क्षेत्रका लागि सुखद कुरा हो ।
हाल साहित्यसम्बन्धी के गरिरहनुभएको छ । भविष्यमा के, कस्तो लक्ष्य राख्नुभएको छ ?
– फुटकर लेखनमा नै केन्द्रित छु भन्नुपर्ला । सम्पादन, लेखन, कार्यपत्र प्रस्तुति लगायतका विषयलाई अघि बढाइरहेको छु । केही कृति तयार छन् अन्तिम साफी गरिरहेको छु । भविष्यमा सनातन धर्म, अध्यात्म, संस्कृतिसम्बन्धी विषयमा अध्ययन अनुसन्धान तथा प्रस्तुति गर्ने रुचि छ । पूर्वीय सनातन संस्कृतिमाथि पाश्चात्य संस्कृति हावी भइरहेको छ । यसले सनातन संस्कृतिका वैज्ञानिक पक्षमाथि ठूलो घात हुँदै गएको छ । यसबाट हजारौँ लाखौँ वर्षमा विकास भएको सम्पदा लोप हुने अवस्थामा पुगेको स्थिति छ । पाश्चात्य क्षेत्रको सभ्यता सनातन संस्कृतितर्फ आकर्षित भइरहेको छ तर हामी चाहिँ बत्तीको पुतलीझैँ पाश्चात्य शैलीप्रति आकर्षित भइरहेका छौँ । यसले हामीले हाम्रो स्व अस्मिता गुमाइरहेका छौँ भने मानव जीवनको अमल्य सम्पदामाथि कुठाराघात भइरहेको छ । यसतर्फ हामी सबै सजग र सचेत हुनु परेको स्थिति छ ।
जीवनमा साहित्य क्षेत्रमा लागेर के चाहिँ प्राप्त गरेजस्तो लाग्छ ?
– काव्यको प्रयोजन (केका लागि साहित्य) का सम्बन्धमा बाह्रौ शताब्दीका पूर्वीय काव्यशास्त्री आचार्य मम्मटको भनाइ बडो घतलाग्दो छ ः
काव्यं यशसेकर्थकृते व्यवहारविदे शिवेत्तरक्षतये ।
सद्यः परनिर्वृत्तये कान्ता सम्मिततयोपदेशयुजे ।। काव्यप्रकाश ।।
काव्यसिर्जनाबाट कविको यश बढ्दछ, अर्थोपार्जन हुन्छ, व्यवहारज्ञान प्राप्त हुन्छ, अशिवको नाश हुन्छ, अलौकिक आनन्द प्राप्त हुन्छ तथा प्रेयसीको जस्तै मिठो भाषामा जीवनोपयोगी उपदेश प्राप्त हुन्छ ।
एक साहित्यको विद्यार्थी तथा सर्जकको नाताले मैले साहित्यबाट धेरै कुरा प्राप्त गरेको छु । साहित्यले मलाई यश दिएको छ । समाजमा मैले मेरो चिन्तन तथा अनुभवहरू साहित्यका माध्यमबाट पस्किइरहेको छु । समाजले मलाई पहिचान दिएको छ । समाजलाई केही कामलाग्ने कुराहरू प्रस्तुतिको अवसर साहित्यले दिएको छ । साहित्यले दिने भनेको आनन्द नै हो । साहित्यिक सिर्जनाले नै मलाई यो उचाइमा पु¥याएको छ । यसले मलाई एउटा साहित्यिक पत्रकारका रूपमा स्थापित गरायो भने अहिले मलाई राज्यको तहबाट प्रज्ञा प्रतिष्ठानमा प्राज्ञको जिम्मेवारी प्रदान गरियो । मेरो साहित्यको लगावको नै परिणाम हो भन्ने मलाई लाग्दछ ।
यसै गरी विभिन्न विद्वान्हरूको सङ्गत गराइरहेको छ । म जहिले पनि बौद्धिक जगत्कै सान्निध्यमा रहने अवसर प्राप्त गरेँ । यो मलाई साहित्यकै अवदान हो । म कार्यरत संस्थाले मलाई भाषा विशेषज्ञको सम्मान दिएको छ । हो, के कुरा सही हो भने साहित्यबाट आर्थिक उपार्जन चाहिँ हुँदैन । व्यक्तिगत रूपमा मलाई साहित्यका माध्यमबाट अर्थोपार्जनमा ध्यान दिइरहन परेन । कर्म क्षेत्रमा लागेपछि यथोचित अर्थोपार्जन पनि हुनुपर्दछ र नेपालमा त्यो वातावरण छैन । तर साहित्यले मलाई अति धेरै दिएको छ । मेरो अस्तित्व भाषा, साहित्यसँग नै जोडिएको छ । यसैले साहित्य सिर्जना मेरो जीवनको मुख्य पाटो हो ।
नामले पनि साहित्यमा काम गरिरहेको हुन्छ भनिन्छ । के सिर्जनाभन्दा नाम शक्तिशाली हुन्छ ?
– नामले साहित्य क्षेत्रमा केही काम त गरिरहेकै हुन्छ । स्थापित सर्जक भइसकेपछि प्रकाशनका लागि, सम्मान पुरस्कारका लागि काम त गर्ला तर त्यो दिगो हुँदैन । विषय तथा शैलीका दृष्टिले उत्कृष्ट रचना नै शाश्वत, सार्वभौमिक, सार्वजनीन साहित्य साहित्य हुन सक्दछ । केही समय हल्ला गर्न र केही प्रभाव पार्न पनि नामले काम गर्ला तर एक सर्जकले उचाइ प्राप्त गर्न र समाजमाथि हस्तक्षेप गर्नका लागि साहित्यिक उत्कृष्टता नै आवश्यक पर्दछ ।
यहाँका विचारमा वर्तमानमा नेपाली साहित्यको अवस्था कस्तो छ ?
नेपाली साहित्य संख्यात्मक तथा गुणात्मक दुवै दृष्टिले उत्तरोत्तर विकासको अवस्थामा रहेको छ । यसले विश्वव्यापकता प्राप्त गरिरहेको छ । विश्वका सातै महादेशमा नेपाली साहित्य विस्तार भइरहेको छ । विश्वको परिस्थिति र परिवेशलाई नेपाली साहित्यले समेट्दै लगेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले विश्वमा छरिएर रहेका सर्जकलाई समेट्दै गएको छ र अनेक गतिविधि सञ्चालन पनि गरिरहेको छ । यसले धेरै देशमा शाखा विस्तार पनि गरिरहेको छ । सम्बन्धित देशले पनि सिर्जनाको प्रवद्र्धनात्मक प्रयास गरिरहेका छन् । प्रतिस्पर्धा तथा प्रतियोगिताहरू सञ्चालन भइरहेका छन् । यति भएर पनि विश्वसापेक्षतामा हेर्दा नेपाली साहित्यको दायरा सानो छ । हामीले हाम्रा उत्कृष्ट सिर्जनालाई अनुवादका माध्यमबाट विश्वबजारमा पु¥याउन धेरै मिहिनेत गर्नुपर्ने छ । यसले हाम्रो चेतनाको स्तर र मर्म विश्वमा पुग्ने अवसर प्राप्त हुन्छ । हामीले यसतर्फ ध्यान दिनुपर्दछ ।
यहाँको साहित्य सिर्जनाको उद्देश्य के हुने गर्छ ?
– अभिव्यक्तिको हुटहुटी नै मेरो लेखनको हेतु हो । यसमा समाजलाई केही कुरा भन्ने, अभिव्यक्त गर्ने र समाजले केही लेओस् भन्ने नै अभिप्राय हुन्छ । खास गरी सर्जकहरूको लेखनको ध्येय सामाजिक प्रतिष्ठा अभिवृद्धि नै हुने गरेको मेरो अनुभव छ । समाज सुसंस्कृत बनोस्, पाठकहरूले जीवनोपयोगी केही खुराक प्राप्त गरुन् भन्ने अभिप्रायले नै लेखिँदो रहेछ । कविता काव्यबाट थाहै नपाई सामाजिक, सांस्कृतिक संस्कार प्राप्त हुँदो रहेछ । यो साहित्यको शक्ति पनि हो । म आफूलाई त्यति उचाइको लेखक भनेर त भन्दिन । तर पनि बेला बेलामा सिर्जनात्मक हुटहुटी हुने गर्दछ जसले मलाई लेखनतर्फ उत्प्रेरित गर्दछ । कसैकसैले कुनै संस्थाबाट केही विषयमा लेखिदिन अनुरोध पनि हुने गर्दछ । त्यस बेलाको लेखनचाहिँ सोद्देश्यमूलक हुन्छ ।
लेखक र पाठकप्रति यहाँको कुनै सुझाव एवम् प्रतिक्रिया छ ?
– लेखौँ, लेख्दै जाऔँ, कुनै कुरा प्राप्तिका लागि नलेखौँ । निष्काम भएर लेखौँ, विकृतिका विरुद्ध लेखौँ, सौन्दर्यमा रमाउँदै लेखौँ, नेपाल लेखौँ, हिमाल लेखौँ, ज्ञान लेखौँ, विज्ञान लेखौ, मनोविज्ञान लेखौँ, अनुभव लेखौँ, समाज लेखौँ, ब्रह्मले देखेको लेखौँ । समाजलाई हस्तक्षेप गरेर लेखौँ, युग लेखौँ, विश्व लेखौँ तर केही प्राप्त हुने आशामा नलेखौँ । यस्तो निष्काम लेखनले अवश्य पनि एक समयमा उचाइ दिन्छ । फेरि उचाइमा पुग्न नलेखौँ आफैँ पुगिन्छ ।
अन्त्यमा अन्तर्बोधमार्फत केही भन्नु छ कि ?
– सर्वप्रथम मलाई मेरा अनेक कुरा पाठकसमक्ष पु¥याउने अवसर प्रदान गरेकोमा अन्तर्बोध प्रत्रिका तथा यसका सम्पादक श्री होमशंकर बास्तोलाज्यूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । साथै, यस अन्तर्बोध पत्रिकाले नेपाली साहित्यका सिर्जनागत, विधागत ज्ञानको सिर्जना र उन्नयनमा अनेक सफलता प्राप्त गरोस् भन्ने शुभेच्छासहित उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
अहिले देशमा अनेक किसिमका प्रहारहरू भइरहेका छन् । हामीले राजनैतिक स्थिरता कहिल्यै हासिल नहुने संविधान बनाएछौँ, अत्यन्तै खर्चिलो राज्य संरचना निर्माण गरेछौँ । हाम्रो अस्मिता र अस्तित्वका कसीहरूमाथि प्रहार भइरहेको छ । युवा तथा विद्यार्थीहरू नेपालमा बस्नै नसक्ने स्थिति आएको छ । राज्यसत्तामा बस्नेहरूबाटै सङ्गठित रूपमा राज्यविरुद्धका अपराध भइरहेका कुरा बाहिर आएका छन् । हाम्रा उत्कृष्ट संस्कार, धर्म, संस्कृति, दर्शन र जीवनाधारको जरा खन्ने र समाप्त पार्ने षड्यन्त्र भइरहेको देखिएको छ । यस्तो सङ्गीन अवस्थामा तपाईँ हामीजस्ता सचेत वर्ग जाग्नुपर्ने, उठ्नुपर्ने, बोल्नुपर्ने र पार्टी, समूह र पक्षभन्दा माथि उठेर देशको तहमा पुग्नुपर्ने भएको छ । राष्ट्र रहे हामी रहन्छौँ, राष्ट्र नै नरहे हामी के रहन्छौँ । यसतर्फ सजग रहन सबैमा अनुरोध गर्दछु ।
धन्यवाद ।