यसपालिकाे भेटवार्ता - डा. छायादत्त न्यौपाने बगर
डा. छायादत्त न्यौपाने ‘बगर’को जन्म माता देवरूपा न्यौपाने र पिता कमलप्रसाद न्यौपानेको कोखबाट पैँयु गाउँपालिका–४, पर्वतमा वि. सं. २०२२ साल आषाढ १६ गते भएको हो । नेपाली बालनाटकमा विद्यावारिधिगर्नुभएका न्यौपानेका बालदिवस (सचित्र बालकथासङ्ग्रह, २०६२), केही असल मानिसहरू (जीवनीसङ्ग्रह, २०६२), बाटो बताउने नाति (सचित्र बालकथासङ्ग्रह, २०६३), गुराँस झुल्दै छ (सचित्र बालदोहोरी गीतसङ्ग्रह, २०६३), बालदिवस, (सचित्र बालएकाङ्कीसङ्ग्रह, २०६३), कति राम्रो क (सचित्र बालगीतसङ्ग्रह, २०६३),आईँपाडीले दुध खायो, (सचित्र बालउपन्यास, २०६४), हजुरबाको गाउँ (सचित्र बालनिबन्धसङ्ग्रह, २०६४), पुतलीको बिहे (सचित्र बालकवितासङ्ग्रह, २०६५), टुर्रटुर्र कराउँछ (सचित्र बालकविता, २०६६), मुनीपाठी करायो (सचित्र बालकवितासङ्ग्रह, २०६५), साथीभाइको कथा (सचित्र बालकथासङ्ग्रह), भ्यागुताको बिहे यो (सचित्र कविता, २०६७), परर ताली (सचित्र बालनिबन्धसङ्ग्रह, २०६७), डाँफे चरी, उस्तै उस्तै छेपारो, केरै केरा (सचित्र बालकाव्य, २०७०), बाफसँग पानी (सचित्र कविताहरू, २०७०), प्वाँप्वाँ भ्वाँभ्वाँ (सचित्र कविताहरू, २०७०), कमिला (सचित्र बालकविताहरू, २०७५), हामी साथी साथी (सचित्र बालकविताहरू, २०७५), खेल्दै पढ्दै पढ्दै खेल्दै (२०७६), नेपाल (सचित्र बालकाव्य, २०७६ं), भाषा ः सिकाइ, सिप र सिर्जना, २०५३, कदर नभएपछि (निबन्धसङ्ग्रह, २०६४), बादलका रेसाहरू (निबन्धसङ्ग्रह, २०६४), वाङ्मयका कुरा (सङ्कलित समालोचनाहरू, २०६९) लगायत दर्जनांै कृतिहरू प्रकाशित भइसकेका छन् । वर्तमान समयमा लोकप्रिय रहदै आइरहेको ‘साइनो’ लेखनका प्रवर्धक एवम् वरिष्ठ साहित्यकार छायादत्त न्यौपाने ‘बगर’ले विद्यार्थीको कलम पत्रिका –२०४५, जम्को साहित्यिक मासिक पत्रिका –०५४, साहित्कि अभियान – ०५४, शिक्षा सौगात, राष्ट्रोद्घोष, नियति चक्रविमर्श (समीक्षाग्रन्थ) २०७४, साइनो सारथि लगायत दर्जन पत्रपत्रिका एवम् ग्रन्थहरूको सम्पादन गरिसक्नुभएका साहित्यिक व्यक्तित्व डा. छायादत्त न्यौपाने ‘बगर’सँग होमशंकर बास्तोलाले गर्नुभएको छोटो कुराकानी ।
नमस्कार सर, सन्चै हुनुहुन्छ । आजकाल केमा व्यस्त हुनुहुन्छ अचेल ?
– नमस्कार, ठिकै छ । सामान्य छ दैनन्दिनी । नियमित पठन–पाठन त हो नि ।
सरले भाषा साहित्यका धेरै कृति प्रकाशित गर्नुभएको छ । सम्पादनमा पनि सक्रियता देखिन्छ । यतातिर लाग्न केले प्रेरित ग¥यो ?
– पत्रपत्रिकामा साथीहरूका नाम देखेर रहर लागेको हो । विद्यालय तहमा अध्ययन गरिरहँदा अरु सर्जकका लेख–रचान प्रकाशनमा आएको देखेर मलाई पनि नाम छपाउने हुटहुटी जागेको थियो । त्यही हुटहुटीले यसतर्फ लगायो । विद्यालय तहको पठनपाठनको क्रमले पनि बालसिर्जनातर्फ डो¥यायोजस्तो लाग्छ ।
पाठकवृन्दलाई यहाँको साहित्यिक यात्राबारे केही जानकारी दिन मिल्छ कि ?
– मेरो पहिलो रचना ‘हाम्रो झन्डा’ शीर्षकको निबन्ध भारतको उत्तराञ्चल ऋषिकेशबाट तत्कालीन नेपाली छात्रसंघद्वारा प्रकाशित ‘नयाँ पुकार’ पत्रिका (वि. सं. २०४२) मा प्रकाशित भएको हो । पछि (२०४५) मा म र आत्मराम तिम्सिना (झापाली साथी) सम्पादक रहेर ‘विद्यार्थीको कलम’ नामको साहित्यिक पत्रिका बनारसबाट प्रकाशित गरियो । यसमा ‘लता’ शीर्षकको निबन्ध र सिडि शर्मा नाम राखेर ‘मेरो समाज’ शीर्षकको नाटक पनि प्रकाशित भएको हो । स्नातकोत्तर तहमा सिर्जनात्मक लेखन अन्तर्गत निबन्ध लेखेँ । यी रचनाहरू (२०६४) सालमा प्रकाशित ‘कदर नभएपछि’ निबन्धसङ्ग्रहमा सङ्कलित छन् । पत्रपत्रिकामा निबन्ध, समालोचना, कविताहरू क्रमशः प्रकाशित हुँदै आएका छन् । पछिल्लो समय नेपाली मन–माटाको मौलिक रचना साइनो कविता लेखेँ । सामाजिक सञ्जालबाट यसको व्यापक प्रचार प्रसार भइरहेको छ । नेपाली, थारु, संस्कृत, हिन्दी, अङ्ग्रेजी, मलेसियन लगायत धेरै भाषामा लेखिएर अनुहार किताब (फेसबुक) मार्पmत सार्वजनिक भइरहेको छ । २०७६ साउन १६ गते प्रथमपटक लेखिएको साइनो कविताका एकल, सामूहिक, विविध भाषाका समेत गरी १६ ओटा कृतिहरू प्रकाशित भइसकेका छन् । यस विषयमा सैद्धान्तिक बहस पनि हुँदै आएको छ ।
पछिल्लो समय कविताको उपविधा ‘साइनो’को लोकप्रियता बढ्दो छ । यसबाट कति सन्तुष्ट हुनुहुन्छ र यसको थालनी, विकास र सिद्धान्तको विषयमा साइनोजस्तै गरी सुत्रमा प्रकाश पारिदिनु न ।
– हो, यहाँले भन्नुभएको ठिकै हो । छोटो समयमा साइनो सिर्जनाले धेरै स्रष्टा र पाठक प्राप्त गरेको छ । प्रथम प्रयोक्ताका दृष्टिले खुसी लाग्नु स्वाभाविक हो तर यसलाई अझ धेरै पाठक स्रष्टाबिच पु¥याएर जीवन्त तुल्याउने हामी सबैको साझा जिम्मेवारी त बाँकी छ नि । त्यसैले सन्तुष्ट भइहाल्ने बेला भएको छैन । साइनो नेपाली भाषामा सुरु भएको साहित्यको मौलिक प्रयोग हो । यसलाई सर्जक÷समालोचकहरूले कविताको उपविधाका रुपमा सिर्जना र समीक्षा गरी चर्चामा ल्याएका छन् । यसको आरम्भ २०७६ साउन १६ गते प्रथम प्रयोक्ता डा. छायादत्त न्यौपानेले –
मान्छे छैन इमानी
न सहरमा धन छ
न त झोपडीमा पिसानी ।
फेसबुक मार्पmत सार्वजनिक गरेपछि भएको हो । ठिक एक वर्षपछि ६७ जना स्रष्टाका ७८९ रचानहरू समेटेर सामूहिक कृति ‘साइनो सारथि’ (२०७७) प्रकाशन गरी वार्षिकोत्सवमा विमोचन गरियो । यसको संरचना र स्वरुपका बारेमा बहस भयो । यसै गरी ‘साइनो वाङमय चौतारी’ नामक संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विधिवत् दर्ता भई साइनोसम्बन्धी विविध गतिविधि गर्दै आएको छ । यसले वार्षिकोत्सवहरूमा ‘साइनो सौरभ’ (२०७९) र ‘साइनो चौतारी’ (२०८०) गरी विभिन्न स्रष्टाका नेपाली, नेपाल, थारु, संस्कृत, अङ्ग्रेजी लगायतका भाषाका साइनो कविताहरू प्रकाशित गरेको छ । यसैगरी ‘पाल्पाली साइनो’–१ र २ समेत विभिन्न लेखकका ‘साइनो’ (२०७६) ‘निरुको साइनो’ (२०७७), ‘ब्रह्माण्ड साइनो’ (२०७७) ‘विरौटो’ (२०७७), ‘साइनो कविता’ (२०७८), मनको साइनो (२०७८) ‘अङ्ग्रेजी साइनो कलेक्सन’ (२०७८) ‘साइनो सिर्जना, साइनो सुमन, साइनो मञ्जरी’ र ‘साइनोका मुनाहरू’ (२०८०) यी कृतिहरू एकैपटक प्रकाशित भई सार्वजनिक गरियो । यसको प्रचार प्रसारमा विभिन्न पत्रपत्रिकाले पनि परिचर्चा लेख÷रचनाहरू प्रकाशन गरेर सघाइरहेका छन् । छापाबाहेक रेडियो, टेलिभिजनमा डा. न्यौपानेका अन्तर्वार्ता पनि प्रसारण हुँदै आएका छन् । सामाजिक सञ्जालमा प्रत्यक्ष वाचन तथा कविगोष्ठीहरूमा पनि वाचन हुँदै आएको छ । छोटो समयमा विश्वव्यापी बनेर लोकप्रिय बन्न सफल भएको छ ।
साइनोको संरचना ३ पङ्क्तिको हुन्छ । क्रमशः ७, ८ र ९ अक्षरमा रचना गरिन्छ । नेपाली व्याकरणको लेख्य परम्परा अनुसार अक्षर गणना गरी लेखिने साइनोमा चन्द्रविन्दु, शिरविन्दु र आधा अक्षर लेखिन्छ तर यी गन्तीमा पर्दैनन् । जस्तैः
खै कहाँ गए मान्छे ?
शून्य मन, बढ्दो भिड
भौंतारिए सन्तान यहाँ !
यसका ३ ओटै पङ्क्ति स्वतन्त्र पनि हुन्छन् । यिनको छुट्टा छुट्टै अर्थ र समुच्चमा एउटै अर्थ लाग्ने गरी गरिएको रचना उत्कृष्ट साइनो मानिन्छ ।
यहाँ बालसाहित्यको विकासमा क्रियाशील हुनुहुन्छ । बालसाहित्यका बारेमा के–के गरिरहनुभएको छ ?
– हो, मलाई बालसाहित्यमा केही गर्ने रहर छ । यसमा म फरक शैलीले प्रस्तुत हुने प्रयत्न गर्छु । गुराँस झुल्दै छ शीर्षकको बालदोहोरी, बाँसै बाँस, केरैकेरा, टुर्रटुर्र कराउँछ, मोटरसाइकलको बिहे, खेल्दै पढ्दैजस्ता बालकृतिहरू पृथक शैलीका बालमैत्रीपूर्ण पाठ्यदृश्य सामग्री हुन् । अहिले पनि किशोर उपन्यासको तयारीमा छु । केही बालनिबन्ध अङ्ग्रेजी भाषामा अनुवाद भएका छन् । हो, यहाँले भन्नुभएको साँच्चै हो ! म आपूm बालसाहित्यको विद्यार्थी हुँ भन्न रुचाउँछु । बालमन मस्तिष्कमा अटाउने गरी रमाइलो किताब लेख्ने तीव्र इच्छा छ ।
बालसाहित्यमा फरक शैली अपनाउनु भनेको सिर्जना बालकहरूका लागि बुझ्न कठिन बनाउनु होइन र ?
– होइन, होइन । फरक शैली भनेको सहज सम्प्रेष्य पनि हुन सक्छ नि । मेरो भनाइ र गराइ अन्य स्रष्टाको भन्दा भिन्न र रुचिकर बनाउने प्रयास हो । नव प्रयोगको अर्थ कठिन बनाउने भन्ने बुझ्नु भएन बरु रमाइलो बनाउने अभ्यास हो, प्रचलितभन्दा बेग्लै प्रस्तुति हो । उल्लिखित कृतिका नामले पनि छुट्टै स्वादको सङ्केत गर्छन् नि होइन र ? विभिन्न संस्करण आइसकेको भाषाः सिकाइ, सिप र सिर्जना भाषा शिक्षण कसरी सहज हुन्छ भन्ने विषयमा रचिएको बेग्लै शैलीको कृति हो । यो फरक शैलीको कृतिपछि यस्ता शिक्षणसम्बन्धी धेरै कृति आए ।
यहाँले निबन्धकार, समालोचक, बालसाहित्यकार, सम्पादक, साइनो कविताको प्रवर्तकको परिचय बनाउनुभएको छ । सुन्दर र उत्कृष्ठ रचना सिर्जना गर्न के गर्नुपर्ला ?
– सरल तरिकाले जटिल प्रसङ्ग कोट्याउनुभो । मैले पनि राम्रो सिर्जना कसरी गर्ने होला ? प्रयत्न गरिरहेको छु । सकेसम्म ऐतिहासिक महत्वका पुस्तक पढ्ने, स्थलगत अवलोकन गर्ने, आपसी विमर्शमा चासो राख्ने र आपैm पनि आफ्ना रचनाको पाठक, सम्पादक भएर गरिने अभ्यासयुक्त दीर्घ साधनाले राम्रो कृति जन्माउन सक्छजस्तो लाग्छ । बालसाहित्यको सन्दर्भमा पनि यो अभ्यास लागु हुन्छ र बालसमूहमा मिसिएर उनीहरूसँगै विभिन्न गतिविधिमा सहभागी हुने बानी बालमैत्री सिर्जनाका लागि फलदायी हुने देखिन्छ । एक वाक्यमा भन्नुपर्दा निरन्तर पढ्ने, प्रशस्त बहस गर्ने, चिन्तन मनन् गरी लेख्ने दीर्घ साधना नै हो गतिलो सिर्जनाको उर्वर भूमिजस्तो लाग्छ । समालोचना त झन् बौद्धिक कर्म हो र औजस्याहा पनि । धैर्य गरी सैद्धान्तिक ज्ञान र विश्लेषण शैली अपनाउन सके समालोचना लेखन परिपक्व हुन सक्छजस्तो लाग्छ । सम्पादन पनि विषय सचेतता र भाषिक दखलबाट हुने मसिनो काम कम चुनौतीपूर्ण छैन । जहाँसम्म साइनो कविताको विश्वव्यापीकरणको सुखद पाटो छ यसमा तपाईंहरू जस्तो नेपाली मनमाटो प्रेमी स्रष्टाको देन रहेको छ । साथीहरूको सद्भाव नटुटोस् यसले निरन्तरता पाओस् ।
वर्तमान नेपाली साहित्य कस्तो छ भन्ने लाग्छ यहाँलाई ?
– आज साहित्य सिर्जनामा युवाहरूको सक्रियता देखिन्छ । रोजगारीका लागि विदेशमा रहेका स्रष्टाहरूको सिर्जनकर्म विस्तारित हुँदै छ । नयाँ शिल्पशैलीका रचनाहरू आइरहेका छन् । जीवनबोधका दृष्टिले भने कृतिहरू कमजोर हुन् कि जस्तो देखिन्छ । सङ्ख्याको हिसाबले धेरै कृतिहरू प्रकाशनमा आइरहेका छन् । नारी स्रष्टाको सङ्ख्या पनि ह्वात्तै बढेको छ । सङ्ख्या बढेपछि गुणस्तरमा पनि प्रतिस्पर्धा हुन्छ । त्यसैले नेपाली साहित्य विश्वव्यापी बन्दै छ भन्न सकिन्छ । नयाँ शैली पछ््याउने अभ्यासमा स्रष्टाहरू सक्रिय देखिन्छन् । नेपालबाहिर पनि नेपाली साहित्यले प्रभाव छाड्दै छ । आख्यानसँगै कविताका उपविधाहरू सिर्जनाको लहरै चलेको छ । हामी भाषा–साहित्यका विद्यार्थीका लागि यो सुखद् पक्ष हो ।
नेपाली साहित्य अघि बढेको, विकसित भएको प्रसङ्ग जोड्नुभो । के देख्नुभो र त्यस्तो उज्यालो भविष्य ?
- नेपाली साहित्य समृद्ध भयो अब सन्तुष्ट भएर खुम्चिए हुन्छ भन्ने मेरो आशय पटक्कै होइन । साहित्यिक मूल्यका लागि साधना र सिर्जनाको खाँचो रहिरहन्छ नै तर साहित्य सिर्जना र नेपाली भाषा संस्कृतिप्रति पाठकहरूको सचेतनायुक्त चासो बढेको छ, उनीहरूले जिम्मेवारी बोध गरिरहेको अनुभूत हुन्छ । यो नेपाली मौलिक भाषिक सम्पदाको पक्षमा देखिएको जनअपेक्षा सँगसँगैको जिम्मेवारी बोध पनि हो र सकारात्मक छ । यसले साहित्यिक सिर्जनात्मक पाटोलाई पनि बलियो बनाउँछ भन्ने मेरो बुझाइ हो । आज नेपाली साहित्यको सिर्जनात्मक पैmलावटले धेरैतिर छोएको छ । यो पक्कै पनि सुखद सङ्केत हो ।
जीवनलाई साहित्यको विकासमा लगाएर के प्राप्त गरेजस्तो लाग्छ ?
– साहित्यले साधना गर्न प्रेरित गर्छ भन्ठान्छु । कर्ममा विश्वास गर्ने भएको हुनाले सक्रियता मन पर्छ । बालकहरू खुसी हुने गरी केही लेख्न सक्दा आपूm पनि खुसी भइन्छ । कसैले तपाईंलाई त्यहाँ पढेँ भन्दियो भने रमाइलो लाग्छ । पाठकीय प्रतिक्रियाले बेग्लै स्वाद दिन्छ । परिष्कृत हुने मौका मिल्छ । तपाईंहरू जस्ता साथीभाइ भेटिन्छ । धेरै पाठकहरू माझ पु¥याउँछ । यी र यस्तै प्राप्तिले सुखानुभूति गराउँछन् । अनुभव÷अनुभूतिमा काल्पनिक रङ भरेर पोखिन पाइन्छ नि ।
लेखक र पाठकप्रति यहाँको कुनै सुझाव एवम् प्रतिक्रिया छ ?
– ओहो ! सुझाव दिने हैसियत त म राख्दिनँ । हो, म कसरी होला पाठप्रिय बन्ने भनेर सोचिरहन्छु । त्यसका लागि मैले पाएका सुझाव ‘धेरै किताबहरू पढौं, असल मित्रहरूसँग विमर्शमा सहभागी होऔं, आफ्नो लेखनको पाठक÷सम्पादक आपैm पनि बनौं, साहित्यका विभिन्न गतिविधिमा सक्रिय रहौं’ । मेरो कुरा गर्दा सिर्जनाले पाठकको मन जित्न बल गरिरहेको छु । मैले पाठक तथा अग्रजबाट पाएका सुझाव मनमा खेलाइरहन्छु । पठन, मनन, लेखन, सम्पादन र पुनर्पठन सर्जकका लागि पौष्टिक खुराक हुन्जस्तो लाग्छ । विधि पु¥याएर गरिने साधना नै राम्रो सिर्जनाको सम्भावना हो भन्ने विश्वास लाग्छ ।
बालबालिकाहरूलाई पढ–पढ, एकोहो पढ भनिरहने हो र ? स्कुलमाशिक्षकले, घरमा बाआमाले ?
– सान्दर्भिक प्रसङ्ग कोट््याउनुभो । बालबालिकालाई बोझ हुने गरी एकोहोरो पढ–पढ भनेर दबाब दिने कुरा राम्रो होइन नै तर बालसाहित्यका कथा, कविता, निबन्धले मनोरञ्जन गराउँछन् नि ! यस्ता पाठ्यसामग्रीले । यसबाट बालकमा नयाँ नयाँ विकल्प खोज्ने अभ्यास बढ्छ । आपसी मित्रता, वन र वन्यजन्तुप्रति स्नेह राख्न सिक्छन् । हो, यहाँले सङ्केत गरेजस्तो आदेश÷निर्देश गरेर भारी बोकाउने होइन तर खेल्दै रमाउँदै पढ्दै समाज, प्रकृति भूगोल, विज्ञानसित परिचित हुने अवसरबाट वञ्चित राख्नु पनि त भएन बालकलाई । यस्तै कल्पना शक्तिको विकासमा पनि यी सन्दर्भ पुस्तक भरपर्दा सामग्री हुन् । बालसाहित्यले पाठ््यपुस्तकले भन्दा बेग्लै तरिकाले जीवनोपयोगी ज्ञान र सिप सिकाउँछ । यसर्थ यो पाठ््यविधि बोझ नभई रमाइलो पठन प्रक्रिया हो भनेर पत्याउन सकिन्छ ।
यहाँले भने जसरी बालकहरू बालसाहित्यसित रमाउन सक्छन् त ! नेपाली बालसाहित्य पनि यति विकसित र सम्पन्न भइसकेको छ ?
– हो, नेपालमा बालसाहित्यको विकास धेरै ढिलो भयो, सत्य हो तर पछिल्लो समय बालसाहित्यमा तीव्र गतिले राम्रा काम हुँदै आएका छन् । स्रष्टाहरू बालमन बुझेर साधना गर्दै छन् । आज त नेपाली बालसाहित्य चित्रमय रङ्गीचङ्गी प्रस्तुतिले बालमैत्री बनेको छ । पाठकको मन, शिक्षा, समाज, रुचिजस्ता विषयबोध गरी सिर्जना गर्ने अभ्यास भएको छ । बालसाहित्यले बालमन खुसी र सुखी बनाउँदै मानवीय संवेदना र पर्यावरणीय चेतनाको विकासमा समेत महत्वपूर्ण देन दिँदै आएको छ । बालसाहित्यले बालकलाई हिमाल, पहाड, र तराई, मेचीकाली चिनाउँदै रमाउन पुग्ने गरी खुराक दिन सक्ने भएको छ ।
बालसाहित्यका बारेमा महत्वपूर्ण कुरा उठानुभो । हाम्रा अभिभावक, शिक्षकले पनि बालसाहित्यको आवश्यकता महसुस गरेर बालकलाई सन्दर्भ सामग्रीतिरआकर्षित गर्छन् जस्तो लाग्छ ?
– हुन सक्छ तपाईंको अनुमान सत्यभन्दा टाढा छैन तर हामीलाई हाम्रो समाज सुसंस्कृत गतिशील बनाउनुछ भने भविष्यका नक्षत्र बालकहरूलाई पठन संस्कार दिनु जरुरी हुन्छ । पुस्तकसँग खेल्ने अवसर दिनु जाती हुन्छ । बालजीवन उज्यालो पार्ने चहकिलो इन्धन भनेको बालसाहित्य नै हो । यसको माध्यमबाट बालकलाई श्रमप्रति विश्वास, जीवनप्रति निष्ठा, समाजप्रति समताभाव जस्ता गतिशील चेतना दिइएन भने उनीहरू कसरी समयसँगै हिँड्न सिक्छन् ? समयसापेक्ष जीवनबोध गराउने दायित्व अभिभावक, विद्यालय परिवार र स्रष्टाको पनि हो । यसप्रति हामी सबै इमानदार हुनैपर्छ भन्ने मेरो बुझाइ रहेको छ । यस्तो मानवीय चेतनाको स्रोत साहित्यबाट बालकलाई टाढा राख्न मिल्छ र !
अन्त्यमा अन्तर्बोध मार्फत पाठकवृन्दलाई केही भन्नु छ कि ?
– भाषा साहित्यको उन्नयनमा अन्तर्बोधले छोटो समयमा उच्च योगदान गर्दै आएको छ । यो सजिलो काम होइन । यसमा समर्पणसँगै मिहिनेत चाहिन्छ । यसको निरन्तरता नटुटोस् । यसले निस्वार्थ नवसर्जकलाई प्रोत्साहन, समकालीनसँग सहकार्य गरी अग्रजलाई दिँदै आएको सम्मानमा कमी नआओस् । यसले गर्दै आएको वाङ्मयी सेवाले नेपाली मौलिकता कलासंस्कृति समृद्ध बन्न सकोस् । यही शुभकामना व्यक्त गर्दै मलाई प्राप्त यस अवसरका लागि सम्पादक होमशंकर बास्तोलासमेत अन्तर्बोध परिवारलाई धन्यवाद दिन्छु ।
अस्तु