गजल
ज्ञानु विद्राेही
चुहिँदैछ घरको छानो, टोलाउँछु एकोहोरो
मेरै मुटु भो अचानो, टोलाउँछु एकोहोरो
तराई, मधेश, पहाडको यौटै मात्र नयन पनि
छैन कुनै पल ओभानो, टोलाउँछु एकोहोरो
साँगुरिँदै गयो विचार, आफन्तकै परिभाषा
झन् झन् भेटिँदैछ सानो, टोलाउँछु एकोहोरो
भ्रमित देख्छु सबै सबै, दिशाबोध छैन कतै
हरायो कि हाम्रो रानो, टोलाउँछु एकोहोरो