आइमाई
कृष्ण बजगाईं
महिलादेवी आइमाई अचानक मेरो ल फर्ममा आइन् । केही वर्ष अघि म उनको वकिल थिएँ । फेमनिष्ट आन्दोलनको क्रममा उनीमाथि लगाइएको सबै मुद्दामा बहस गरेर उनको पक्षमा पैmसला गराउन न्यायधीशलाई बाध्य पारेको थिएँ । मैले मुद्दामा उनलाई जिताए पनि उनले बारम्बार यो तपाईंको जित हो भन्थिन् ।
उनी पुरुष सत्ताको चर्को विरोध गर्थिन् । उनको कुरा सुन्दा यस्तो लाग्दथ्यो कि उनले पुरुषसँग कहिलै विवाह गर्दिनन् । अचम्मको कुरा फेमिनिष्ट आन्दोलनमै सक्रिय एक फेमनिष्ट पुरुषको प्रेममा परिन् । प्रेम मात्र होइन विवाह नै गरिन् । ती पुरुषसँग प्रेममा परेर विवाह गरेको थाहा पाउँदा अरु महिलावादीहरूले उदेक माने । किनकि उनले पुरुसँग प्रेम र विवाह गर्ने कुराको कल्पना पनि गरेका थिएनन् । उनले प्रेम वा विवाह गर्नु परे महिलासँगै गर्नेछिन् भनेर ठट्टा गर्थे । हुन त प्रेम र विवाह विपरीत लिङ्गीबिचको सहज र प्राकृतिक सम्बन्ध हो ।
विवाह पश्चात उनको नारीवाद कमजोर हुँदै गएको आन्दोलनरत सहकर्मीहरूले आरोप लगाए । फेमिनिष्ट धार भुत्ते भएको भन्दै महिला आन्दोलनबाट उनलाई निकाले । उता आफैले मन पराएर विवाह गरेको फेमिनिष्ट श्रीमान्को अनुहारमा पुरुष सत्ताको क्रूर छाया देखिरहेकी थिइन् । श्रीमान्लाई पुरुष सत्ताको प्रतिनिधि पात्र ठानिन् । पुरुष सत्ताको विरोध गर्दागर्दै श्रीमान् विरोधी भएको थाहै पाइनन् । अन्त्यमा, लोग्नेसँग सम्बन्धविच्छेद गरी अंश दाबीका लागि मसँग कानुनी सल्लाह लिन आएकी थिइन् । उनले मुद्दा लड्न केही रकम पेश्कीस्वरुप मलाई थमाइन् ।
जिद्दीपन र अप्ठ्यारो बानी लगायत उनका बारेमा मलाई धेरै कुरा थाहा थियो । उनको धेरै घटनाको साक्षी पनि हुँ म । उनका सारा कुरा सुनिसकेपछि त्यो मुद्दा लड्न मलाई इच्छा भएन ।
‘मलाई भन्दा कुनै महिला वकिललाई यो मुद्दा लड्न लगाउनु भयो भने राम्रो हुनेछ ।’ पेश्की रकम उनलाई फिर्ता दिँदै मैले भनेँ ।
‘आइमाईको शत्रु भनेका आइमाई हुन् भन्ने कुरा तपाईंलाई थाहा छैन ?’ उनले उत्तेजित हुँदै भनिन् ।