शिवपुरीकाे यात्रा
शीतल गिरी
केही दिन पहिले एक जना विद्वान मित्रले पदयात्राको महत्व बताइरहेका थिए । यस प्रसङ्गमा काठमाडौँ उपत्यकाको उत्तरमा रहेको रमणीय शिवपुरी एकाएक मलाई सम्झना भयो । मैले उक्त स्थान पदयात्रा गर्न अति उत्तम स्थानको रूपमा लिनेगरेको छु । हुनसक्छ त्यही भएर होला पदयात्रा गर्दै ६ पटक पुगिसकेको छु । सबभन्दा पहिले २०७३ सालको पौष १ गते सुन्दरीजलबाट उकालो उक्लेर डाँडैडाँडा पश्चिम लागेर बुढानिलकण्ड गएका थियौं । यो रूट एकदिने पदयात्राको लागि पूर्ण छ । सुन्दरीजलको झरना, डाँडाबाट देखिने शौन्दर्य, हरियो वनमा भुल्न थालेमा गन्तव्यमा पुग्न पक्कै धौ धौ पर्छ । सुनेको हुँ, शिवपुरी क्षेत्रको महिमा कतिपय पुराणहरूले गाएको छ ।
परापूर्वकालको कुरा न हो पुराणको, म त अहिलेको कुरा गर्दैछु । भन्ने गर्छन्, शिवपुरीको बारेमा धेरैले जान्देन । बाटैबाटो पदयात्रा गरेका जसध्वज गुरुङ, डिल्लीराज अर्याल, जय छाङछा, डा. भक्त राई, डिल्लीरमण सुवेदी, श्रीओम श्रेष्ठ रोदन, लीलाराज दाहाल र म गएका थियौं । हामीसँग शिवपुरीको इतिहास खोज्ने समय पनि थिएन । के थियो त ? एकमात्र उद्देश्य पदयात्रा गर्दै बुढानिलकण्ठ पुग्नु थियो । लामो बाटोमा पदयात्रा गर्दा इतिहास खोज्न सकिन्न । पदयात्राको क्रममा सम्झेर लेखिएका कुरा त तथ्यको साथमा कल्पना यसरी मिसिएका हुन्छ कि ति सब कुरा लेखकको निजीपन बन्न पुग्दछ । यस्ता संस्मरणमा इतिवृत्तको कुनै क्रम श्रंखला नै मिलेको हुँदैन । यसकारण रमाउँदै गरिएको पदयात्रामा साहित्य हुन्छ इतिहास हुँदैन । भावनाको दहमा रहने स्रष्टा इतिहासमा अलमलिन पनि चाहँदैन । तारेभिरले नजिकको गाउँलाई त्रसाउँदो हो, प्राकृतिक विपत्तिमा त्राहिमाम् भन्दा हुन् तर पदयात्री त्यो भिर तल पुग्दा रमाउँछन्, किनभने केही समय हेर्ने न हो । हो शिवपुरी क्षेत्रमा पहिलो पदयात्राकै क्रममा सुन्दरीजलको झरना, उकालो गोरेटो बाटो, तारेभिर देखेर रमाएका थियौं ।
शिवपुरीको सौन्दर्यले तानिएर २०७४ जेष्ठ ५ गते स्रष्टाको दृष्टिले हेरेर यसको महत्व हाम्रो मनमस्तिष्कमा अझ राम्ररी बस्न गयो । पवित्र स्थल शिवपुरी मानौं ज्ञानको साधनास्थल भएको हुँदा नै शिवपुरी बाबा, टोडके बाबा, वज्रयानी गुम्बा, साधना केन्द्र विगतदेखि वर्तमानसम्म रहेको छ । शैव संस्कृतिमा खोज्ने गरिन्छ प्रत्येक नवीनताको आविष्कार परापूर्वकालमा शिवबाट हुन गएको हो । मानव जीवन सहज बनाउने, सहजताको साथ कार्यसम्पन्न गराउने तन्त्र निश्चय नै शिवको देन हो । आज विश्वव्यापी रूपमा विस्तारित योग महायोगी शिवबाट प्रसारित भएको भन्ने गरिन्छ । यही हो शिवपुरीको पदयात्रामा रमाउँदा थाहा पाएको कुरा ।
पौष महिनामा हामीसँग यात्रा गरेका श्रीओम श्रेष्ठ ‘रोदन’को अभाव रहेको महसुस हामीले गरेका थियौं । यस पटकको यात्रामा डा. धनप्रसाद सुवेदी, श्यामबहादुर ‘भावुक’, मन्दिरा मधुश्री, बखतबहादुर थापा र कालीबहादुर राई थपिएका थिए । शिवपुरीमा पदयात्रा गर्ने उद्देश्य लिएका हामी १२ जना शिवपुरीको पानी मुहानमा प्रवेश पास लिएर यात्रामा निस्किएका थियौं । हामी शिवपुरी क्षेत्रमा कहाँ कहाँ घुम्ने ? पानी मुहानको प्रवेशद्वारको उत्तरतर्फ रहेको ढुङ्गे सिढी उक्लेपछि जंगलको बिचमा रहेको सडक किनारमा केही बेर सुस्ताएर बिचार विमर्श गरेका थियौं । पदयात्रा भनेको सरासर हिँडिरहनु मात्र पनि होइन । बाटोमा देखिएका पाइएका
कुरोको यथार्थ खोजेर शब्द शब्द उनेर साहित्य बनाउने गरेका छौं । यथार्थमा स्वच्छ वातावरणमा साहित्य खोज्न भनेर महिनामा एक पटक भने पनि पदयात्रा थालनी गरेका हौं ।
पूर्वतर्फ ढुङ्गे सिढी उक्लदै माथि डाँडामा पिकनिक स्थलमा बसेर भोजन ग¥यौं । यहाँबाट एउटा बाटो देब्रेतिर ओरालो लागियो भने विष्णुमतीको मुहानमा पुगिन्छ । हामी त डाँडा काटेर पल्लो भित्तामा रहेको बागद्वार जानु थियो । त्यसैले दाहिनेतिर उकालो उक्लदै जादा कामधेनु गाई, कैलाश यस्तै यस्तै धार्मिक महत्वका कतिपय कुरामा नजर प¥यो । अझ उकालो उक्लदै हामी शिवपुरी पिकमा पुग्यौं ।
फराकिलो स्थान, हो यही शिवपुरी बाबाले साधना गरेर ज्ञान प्राप्त गरेका थिए । अनि हामी पूर्व उत्तरतर्फबाट ओरालो ओर्लिएर वागद्वार गएका थियौं । बाटोमा टोड्के बाबाले तपस्या गरेको टोड्का हेर्न पायौं । वागद्वारमा टोड्केबाबासँग भलाकुसारी गरी उकालो उक्लिएर हेलिपैड अनी वज्रयानी गुम्बा हेरेर फर्किएको पनि आज तीन वर्ष नौ महिना बितिसकेछ । वास्तवमा शिवपुरी प्रकृतिको वरदान हो उपत्यकावासीको लागि ।
२०७४ सालको असोज ६ गते आठ जना स्रष्टा पदयात्री साखु बज्रयोगिनी मन्दिर दर्शन गरी मणिचुड दह अवलोकन गरी सुन्दरीजल निस्किएका थियौं । बागद्वार अवलोकन गर्न सहभागी भएका जसध्वज गुरुङ, डिल्लीराज अर्याल, जय छाङछा, लीलाराज दाहाल, डा. धनप्रसाद सुवेदी, श्यामबहादुर ‘भावुक’, मन्दिरा मधुश्री, बखतबहादुर थापा र कालिबहादुर राई हाम्रो साथमा हुनुहुन्थेन । पदयात्राको आकर्षणले तानिएर शान्ति सापकोटा, शशी थापा, पोषरमण चापागाईं, नेत्र एटम, टंक सम्बाहाङ्फे थपिनुभएको थियो । मणिचुड दहको शौन्दर्य र सुन्दरीजलको झरना हाम्रो हृदयमा कहिल्यै भुल्न नसक्नेगरी बसेको छ । यस यात्रामा हामीले बज्रयोगिनी र विक्रमादित्यको बारेमा अलि गहिरिएर बुझ्ने मौका पायौं । पौराणिक राजा मणिचुडले यज्ञ गरेको यज्ञकुण्ड नै अहिलेको मणिचुड दह रहेको रहस्य थाहा पाउँदा अतिप्रभावित भएका थियौं । यतिमात्र होइन डाँडाको टुप्पामा जंगलको बिचमा रहेको दहमा पश्चिमतर्फबाट कलकल गर्दै पानी खस्दै गरेको दृश्य साँच्चै हेरिरहुँ लाग्ने छ । कोलाहलदेखि टाढा चराको चिरविरको सङ्गीतबिच स्वच्छ पानी दहमा खस्नासाथ कालो देखिन्छ । यो दृश्य देखेर सोचमग्न नहुने को होला । पुराणकालीन यज्ञको चरूले आफ्नो धर्म निर्वाह गर्दै आएको कारण पानी कालो देखिएको भन्ने मान्यता रही आएको छ । धर्मको दृष्टिले यो दह अति पवित्र मानेर पूजा गर्ने गरेको पनि पाइयो, जुन स्वभाविक लाग्यो ।
पदयात्राको दुईटा चमत्कारी परिणाम पाएका छौं । प्रकृतिको काखको पदयात्रा स्वास्थको दृष्टिले अति उत्तम छ र हप्तामा एकपटक गर्ने हो भने अझ राम्रो । पदयात्राको क्रममा रोचक जानकारी जुन पाइन्छ त्यो पढेको भन्दा निकै मौलिक हुँदोरहेछ । यसकारण त आज २०७७ चैतसम्म पनि स्रष्टा पदयात्रा अभियानले निरन्तरता पाएको छ । लाग्दछ यो अभियान सितिमिति रोकिनेवाला छैन बरू यसको स्वरूप बदलिन सक्छ, पूणविराम चाहिँ लाग्दैन ।
शिवपुरी पर्वतको उत्तरतर्फ रहेको पर्यटकीय स्थल चिसापानीमा पदयात्रा गर्दै १३ जनाको समूह २०७४ को मङ्सिर १ गते गएका थियौं । मणिचुड यात्रामा सहयात्री शान्ति सापकोटा, शशी थापा, पोषरमण चापागाई र हङकङ निवासी टङ्क साम्वाहाम्फे यस यात्रामा हुनुहुन्थेन । यस यात्रामा डा. धनप्रसाद सुवेदी, डिल्लीराज अर्याल, जसध्वज गुरुङ, लीलाराज दाहाल, प्रमोद प्याकुरेल, श्रीओम श्रेष्ठ ‘रोदन’, राजेश खनाल, प्रवेश हाङसोङ, दामोदर सापकोटा र हरि गौतम जोडिनुभएको थियो ।
किन पदयात्रा ? उत्तर एउटै हुन्छ स्वास्थ र सिर्जनाको लागि । नुवाकोट र सिन्धुपाल्चोकको पानीढलो अनी काठमाडौँको साध, पर्यटकीयस्थल चिसापानी सुन्दरीजलबाट उकालै उकालो उक्लिदै बास बस्न नगएको भए सूर्योदयको आनन्द लिनबाट बन्चित हुँइदो रहेछ ।
२०७५ मङ्सिर ७ गते काठमाडौँको गागलफेदीबाट पदयात्रा गर्दै डाँडामा रहेको रमणीय शहीदपार्कमा पुगेर त्यहाँको प्राकृतिक छटा अवलोकन गरी ओरालो ओर्लदै गोरेटो बाटो भएर रोमाञ्चक यात्रा गरी कागेश्वरी तीर्थ पुगेका थियौं । हिन्दु र बौद्ध दुवै धर्मावलम्बीका आस्थाको केन्द्र वैशाख पूर्णिमामा भव्य मेला लाग्दो रहेछ ।
मणिचुड दहबाट बगेर आएको पानीले यहाँ स–सानो झरनाको रूप धारण गरेकोले पनि प्राकृतिक शौन्दर्य बढाएको छ । त्यसमाथि झन् धातुको विशाल कागले कागेश्वरी तीर्थस्थलको महिमामा सुनमा सुगन्धको काम गरेको छ । कागेश्वरीबाट गोरेटोबाटो हिँड्दै थियौ । हो शिवपुरी पर्वतको विभिन्न बाटो भएर हामी पदयात्राको क्रममा हिँडेका छौं । जंगलै जंगल पदयात्रा गर्दै हामी सुन्दरीजलको त्यो स्थानमा पुग्यौं जहाँ मेलम्ची खानेपानी प्रोजेक्टको काम धमाधम हुँदैथ्यो । सामान्य अवलोकन गरेर बागमती खोला फलामेपुलबाट तरेर बसपार्क जान ओरालो ओर्लदै थियौं । यो रूट पदयात्रा गर्न अति रमणीय लाग्यो । जसध्वज गुरुङ, लीलाराज दाहाल, डिल्लीरमण सुवेदी, नेत्र ऐटम, प्रमोद प्याकुरेल, श्रीओम श्रेष्ठ ‘रोदन’, राजेश खनाल, प्रवेश हाङसोङ, दामोदर सापकोटा, हरि गौतम साथमा नहुदा पदयात्रीको मन खल्लो भएको थियो भने वसन्त रिजाल, एन. वी. जनकपुरी, शान्ती सापकोटा, ध्रुव धिमिरे, मन्दिरा मधुश्री र शुभारम्भ पाण्डे थपिनाले उत्साह बढाएको थियो । कारणवश केही मित्र पदयात्रामा सहभागी हुन नसक्दा स्रष्टा पदयात्रा अभियानले भने केही पनि गुमाएन, प्राप्ति नै गरेको छ । स्रष्टा पदयात्रा अभियानले मूर्त आदर्श प्राप्त गरेको हुँदा नै त यस यात्रामा हामी १० जना थियौँ र सात जनाबाट प्रारम्भ गरेको स्रष्टा पदयात्रा यस संख्यालाई सम्यक मान्नुपर्दछ । पदयात्रा गर्न चाहने स्रष्टाहरूको चाहना धर्मको दृष्टिले पवित्र थलो शिवपुरीको यात्रामा सम्मिलित हुन चाहिरहेका हुन्छन् र त हाम्रो पहिलो रोजाइमा शिवपुरी पर्दै आएको छ ।
२०७५ माघ ४ गते बिहान ८.१५ बजे बुढानिलकण्ठ बसपार्कबाट उकालो लागेर पानी मुहानमा गई शिवपुरी प्रवेशको लागि सहभागी प्रत्येकले रू. १२५÷– का दरलु टिकट लिएका थियौं । जेष्ठ नागरिक परिचयपत्रधारी डिल्लीराज अर्याल, एन. वी. जनकपुरी र मैले टिकट काट्न परेन सुविधा पाएका थियौं । वसन्त रिजाल, शशी थापा पण्डित, मन्दिरा मधुश्री, शुभश्री पाण्डे, शुभारम्भ पाण्डे र आकृति सिम्खडाले टिकट लिनु परेको थियो । राज्यले जेष्ठ नागरिकलाई सुविधा प्रदान गर्ने निति लिन थालेको कुरो यस कार्यले पनि पुष्टि गरिदियो । उत्पादन, आवागमन, यातायात, शिक्षा लगायतको क्षेत्रमा आफ्नो योग्यता र क्षमता निष्ठापूर्वक समर्पण गरेका जेष्ठ नागरिकलाई सुविधा दिनु स्वभाविक हो । शिवपुरीको यसपटकको यात्रा मूलबाटै बाटो गएर पश्चिम उत्तरतर्फ भञ्ज्याङ जाने बाटो पाएपछि सोही बाटो हिँड्न थालेका थियौं ।
चराहरूको आवाज सुन्दै निकै टाढा गएका थियौं बाटोको दुइतिर कलकल गर्दै पानी बग्दै गरेको पाउँदा मन प्रसन्न बनेको थियो । पदयात्रा गर्दै प्रकृतिको आनन्द लिने नीति स्रष्टा पदयात्राको भएको हुँदा वन, जंगल, पर्वत, पहरामा यात्रा गर्ने गरेका छौं र स्रष्टा पदयात्रा रोकिएको छैन । शिवपुरी पदयात्रामा निस्कनु प्रकृतिको सम्मानको प्रमाण पनि हो । यथार्थमा यात्रा गर्दै विष्णुमतीको मुहान यानी विष्णुपादुका अवलोकन गर्ने लक्ष्य थियो । समय पर्याप्त रहेकोले शिवपुरी पिक जाने खुड्किलै खुड्किला उक्लेर पिकनिक स्थल रहेको स्थानमा पुगेर देव्रेतर्फको बाटो यानि पश्चिम उत्तरको ओरालो ओर्लिएर पुग्ने निर्णय लियौं । यसो गर्दा वागद्वारको यात्रा नगरेकाहरूले पनि शिवपुरी हाइटको आनन्द लिन पाउन भन्ने नै थियो ।
समय अनुसार पदयात्रामा कहाँ र कतिसम्ममा पुग्न सकिन्छ स्पष्ट खाका बनाउँन सकिएन भने पदयात्राको आनन्द लिन सकिदैन र फर्कन निकै सकस पर्छ । स्रष्टा पदयात्राको संयोजकको नाताले यस्ता धेरै सम्भावनातर्फ विचार गर्नै पर्ने हुन्छ र गरिन्छ । समूहभन्दा करिब ३०० मिटर अगाडि हुनुहुन्थ्यो रिजालजी । एक्लै टाढा निकैटाढा बाँदरहरू चिच्याएको, चराहरू अतालिएको आवाज सुन्नासाथ सहभागी स्रष्टालाई भनेका थिए, यस्तोमा बाघ पनि हुनसक्छ, डराएर नै बाँदर र चराहरू कराउँदै छन् । तीस चालिस वर्ष पहिले जंगलमा सिकार गर्न जाँदाको अनुभवको आधारमा जानकारी गराएका थिए । माथि पिकनिक स्थलबाट तल ओरालो के लाग्नु भएको थियो बसन्तजी तल सडक किनारमा दुईटा बाघ गजधम्म बसेको देख्नुभयो अनि हतारिदै फर्केर आएर जानकारी गराउँनुभयो । जानी जानी बाघको मुखमा जानु उचित थिएन र गएनौं । पदयात्राको क्रममा पुग्ने भनेर निश्चय गरेको विष्णुमतीको मुहानमा पुग्न सकेनौं, तर पनि यात्रा रोमाञ्चक रह्यो ।