सम्पादकीय - ६३
आज प्रतिभा पलायनले देश आक्रान्त छ । देशभित्र रोजगारी र आर्थिक अभावका कारण युवाहरू विदेश पलायन भइरहेका छन् । आर्थिक रुपले सम्पन्न र बढी सिप र क्षमता भएका युवायुवतीहरू विकसित देशमा रोजगारी र अध्ययनका लागि गइरहेका छन् । उनीहरू ती देशमा स्थायी आवासीय अनुमती प्राप्त गरेपछि देश फिर्न बिर्सन्छन् । यही देशले हुर्काएर तोतेबोली सिकाउँदै युवा अवस्था पुर्याएपछि रोजगारी र अध्ययनका लागि विदेश गए पनि फर्कदैनन् । अर्को तर्पm कम आए भएका र प्राविधिक क्षमता कम भएका युवायुवतीहरू खाडी मुलुकमा श्रम बेचिरहेका छन् । यही कारण आफ्नो देशमा रोजगारी नपाएर विदेशमा भौतारिनुपर्ने बाध्यता हो । अभाव र गरिबीले थिलथिलो भएको आफ्नो व्यवहार सल्टाउन खाडी जान पनि उत्ति नै रकम खर्च गर्नुपर्दछ । राम्रो सिप नभएका कारण खाडी गएका केही नेपाली श्रमिकहरू रित्तो हात फर्केका छन् । घर, बारी बन्दगी राखेर उडेका कति युवाहरू अकालमा ज्यान गुमाएर बाकसमा लाश फकाउनुपरेका दुखान्त घटनाहरू हाम्रै गाउँ, बस्तीमा बिद्यमान छन् । केही युवायुवतीहरू आर्थिक अभाव नभएका र उच्च शिक्षाको अवसर देशमै हुँदाहुँदै विकसित देशमा पलायन हुने र नफर्कने समस्या झन् विकराल बनेको छ । देशमा राजनैतिक स्थायित्व नहुनु, भ्रष्टाचार आदिका कारण समृद्धिको यात्रा हालसम्म सुरु हुन सकेको छैन । आर्थिक क्रियाकलाप प्रायः गिर्दो अवस्थामा छ भने सिप र क्षमता अनुसारको रोजगारी प्राप्त नहुँदा युवायुवतीहरू विदेश पलायन भइरहेका छन् । विकसित देशमा छिरेका युवा युवतीहरू फर्केर आउने अवस्था कमै मात्र देखिन्छ । यही आधारमा युवायुवतीहरू विदेश पलायन हुने हो भने भविष्यमा यो देश बृद्धबृद्धाहरूको आश्रम मात्र नहोला भन्न सकिदैन । त्यसर्थ पनि सरकारले देशभित्रै रोजगारीका अवसरहरू सिर्जना गर्ने, उच्च शिक्षाको लागि राम्रो पठनपाठन संचालन गर्ने, युवा प्रेरित कार्यक्रमहरू संचालन गर्ने, भ्रष्टाचारको उन्मूलन गर्ने गरी देशलाई समृद्ध गर्नसके मात्र विदेश पलायनलाई केही हदसम्म रोक्न सकिएला कि भन्ने आशा राख्न सकिन्छ । देशको समृद्धिको यात्रामा सबै नेपाली लागेर अघि बढ्नुपर्छ भन्दै नववर्ष २०८१ सालको उपलक्षमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।