यसपालिकाे भेटवार्ता - मनाेज न्याैपाने
मनाेज न्याैपाने
कवि मनोज न्यौपानेको जन्म माता कृष्णा न्यौपाने र पिता शिवकुमार न्यौपानेको कोखबाट गोगने, भोजपुरमा वि. सं. २०२३ साल साउन १३ गते भएको हो । नेपाली साहित्य एवम् साहित्यिक पत्रकारितामा सक्रिय कवि मनोज न्यौपानेका आगोमा उम्रिएको दुबो (कवितासङ्ग्रह–२०६२), आगोको मूर्च्छना (विलयन काव्य –२०६२), रगतको दरवार (विलयन काव्य –२०६६), अन्तिम (गजलसङ्ग्रह –२०६९) लगायतका पुस्तकहरू प्रकाशित भएका छन् । नेपाली कथा, कविता, गजल, समालोचना आदिमा सशक्त रुपमा कलम चलाइरहनुभएका मनोजादित्य नामले समेत परिचित लोकप्रिय कवि मनोज न्यौपानेले नानी (बाल पत्रिका), शिवपुरी सन्देश त्रैमासिक, श्रष्टा चैत्र ३० (श्रष्टा आन्दोलनको आलेख) पत्रिका सम्पादन गर्नुभएको छ । भाषा साहित्यमा समर्पित भए वापत उहाँले गजलश्री सम्मान–२०६०, कविता महोत्सव, प्रथम–२०६२ (नेपाल प्रज्ञा–प्रतिष्ठान), षडानन्द प्रतिभा पुरस्कार–२०६२, लोकतान्त्रिक सम्मान–२०६३ (पोखराबाट), अभिनव गजल सम्मान–२०६८, वनिता व्यथित काव्य पुरस्कार–२०७८, बाह्रखरी कथा प्रतियोगिता प्रथम–२०७८ लगायतका पुरस्कार एवम् सम्मान प्राप्त गरिसक्नुभएका साहित्यिक व्यक्तित्व मनोज न्यौपानेसँग होमशंकर बास्तोलाले गर्नुभएको छोटो कुराकानी ।
यहाँले साहित्यमा लाग्ने प्रेरणा कहाँबाट प्राप्त गर्नुभयो ? विस्तृत रूपमै बताइदिनुहोस् न ।
– कुरा घरबाट सुरु गरौँ । त्यसो त, घरमा मलाई कविता लेख्न प्रत्यक्ष रूपमा प्रोत्साहित गरिएन । कविता प्रतियोगितामा पुरस्कृत भएर घरमा आउँदा भने सबैजना खुसी हुनुहुन्थ्यो । हजुरआमा त ‘कस्तो कविता थियो तेरो, सुना त’ भनेर सुनाउन लगाउनुहुन्थ्यो । परोक्ष रूपमा भने लेखनमा आकर्षित हुने कारण घर पनि थियो । मेरो घरमा दैवज्ञराज न्यौपाने, केदार न्यौपाने, मञ्जुल, प्रदीप नेपाल –(त्यो बेला संजय थापाका नाममा लेख्नुहुन्थ्यो उहाँ) आदिको नाम गौरवसाथ लिइन्थ्यो । उहाँहरूसँगको भेटले पनि मलाई एक किसिमको छुट्टै उर्जा दिन्थ्यो ।
तर मलाई लाग्छ यी तलका तीन–चारवटा नामसँग मेरो जीवनमा भेट नभएको भए सायदै म कवि–लेखक हुन्थेँ ! जबाफ सविस्तार नै दिने अनुमतिको सदुपयोग गर्न चाहन्छु ः
त्यसमध्येको एउटा नाम हो माधव लुइँटेल । म बिराटनगर छेउको गाउँमा बस्दा उहाँ मेरो छिमेकी हुनुहुन्थ्यो । हाम्रो परिवारको अत्यन्त आत्मीय र न्यानो सम्बन्ध थियो उहाँसँग । हामी पल्लाघरको काका भन्थ्यौँ श्रद्धाले । मैले घरमा चकचक गरेँ कि घरबाट, ‘काकाकहाँ गएर पढ्’ भनेर पठाउनुहुन्थ्यो । काकाले ¥याकबाट साहित्यिक किताब निकालेर पढ्न दिनुहुन्थ्यो र भन्नुहुन्थ्यो, ‘ठुलो स्वरले पढ ।’ किताब कुनै बालकृष्ण समका हुन्थे; कुनै गुरुप्रसाद मैनालीका, कुनै कसका त कुनै कसका ! कुनै किताब मलाई मनपर्थे र कुनै मन पर्दैनथे । मेरो चकचकको सिर्जनात्मक दण्ड थियो त्यो, जसले मलाई साहित्यिक कृतिको पाठक बन्नलाई ठुलो मदत ग¥यो । साहित्यिक किताब खोजीखोजी पढ्ने बानी बसायो ।
मलाई लेखनमा प्रेरित गर्ने अर्को नाम हो, नेत्र कुमारी दाहाल गुरुआमाको । उहाँ मलाई स्कुलमा नेपाली पढाउनुहुन्थ्यो । शुक्रबार–शुक्रबार कक्षामा कथा, कविता, चुटकिला वा रोचक घटना सुनाउन लगाउनुहुन्थ्यो । म कक्षाको मेधावी विद्यार्थीमा गनिन्थेँ । त्यसैले पनि मैले सुनाउनैपर्ने दबाब थियो । नसुनाउँदा कुटाइ त खाइँदैनथ्यो तर आफूलाई कताकता अप्ठेरोबोध हुन्थ्यो । प्रत्येक शुक्रबार सुनाउने सामाग्री सकिँदै गएपछि मैले आफैँ कथाकविता बनाएर सुनाउन थालेँ । यसरी मेरो पाठक मनोजबाट लेखक मनोज बन्ने यात्राको अनौपचारिक रूपमा सुरुवात् भयो ।
विद्यालयमा संस्कृत र नेपाली पढाउने अर्को शिक्षक हुनुहुन्थ्यो पंडित टेकनाथ अधिकारी गुरु । उहाँ संस्कृतमा पनि कविता रच्न सक्ने सामथ्र्यवान् कवि हुनुहुन्थ्यो । ‘तिमीमा कवित्व सामथ्र्य छ’, भनेर उहाँले मलाई लेखनका लागि प्रोत्साहित
गरिरहनुहुन्थ्यो । घरमै बोलाएर पनि मलाई ‘लेख्न नछोड्नु’ भन्नुभएको थियो ।
कक्षा ८ पुगेपछि हामी बिराटनगरमा बस्न थाल्यौँ । शनिवार–शनिवार शनिवासरीय साहित्य समूहमा जान थालेँ । त्यहाँ दधिराज सुवेदी, भानुभक्त पोखरेल, कृष्णभूषण बल, नारायण तिवारी, महेश प्रसाईं, प्रमोद प्रधान, विवश पोखरेल, इन्दिरा प्रसाईं, मधु पोखरेल, सुवास ढकाल, गोकुल अधिकारी, राधिका गुरागाईं जीवनाथ धमलाहरूसँग भेट हुन थाल्यो । उहाँहरूका कविता सुनेपछि मलाई पनि ठुला उमेरकाले सुनाउने विषय र शैलीमा कविता लेख्न मन लाग्यो । कविता कमजोर नहोस् भनेर लेखेपछि काका कविराज न्यौपानेकहाँ गएर देखाउन थालेँ । उहाँले मैले लेखेका कविताका हरफ हरफको अर्थ, सन्दर्भ, सौन्दर्यको व्याख्या गर्दै ‘यस हरफमा यसो गर तेरो कविताका भावका लागि यो शब्द सुहाउँछ, यो हरफले कविता कमजोर बनाउँछ’ भनेर सुझाव दिनुहुन्थ्यो । मैले उहाँको सुझाव चित्त नबुझाउँदा पनि रिसाउनु हुन्थेन, ‘मेरो कुरो पछि बुझ्छस् । अहिलेलाई जे मन लाग्छ, त्यसै गर्’ भनेर हाँस्नुहुन्थ्यो । कवितातत्व के हो ? काव्यदोष के हो ? कविता लेख्दा के–के कुरामा ध्यान दिने ? यी सबै कुरा विस्तृत रूपमा बताएर मलाई कविता लेख्न प्रेरणा दिने मेरो मार्गदर्शक गुरु उहाँ नै हो । एक समय म लेखनबाट सन्यास लिने विचारमा पुगेको थिएँ । त्यस्तो बेलामा मलाई सन्यास लिन नदिने पनि उहाँ नै हो । उहाँले भन्नुभयो, ‘तेरो कलम तेजिलो छ । लेख्न छोडिस् भने पछि पछुतो हुन्छ । लेख्न नछोड् ।’
यहाँको साहित्यिक यात्रा बारेमा केही जानकारी पाउन सकिएला कि ?
– मेरो औपचारिक लेखन यात्राको आरम्भ वि.सं. २०३९ सालमा भारतबाट प्रकाशित हुने आर्यसमाजमा पढ्ने नेपाली विद्यार्थीहरूले प्रकाशन गरेको पत्रिका ‘एटम बम’ साप्ताहिकमा कविता प्रकाशन गरेर आरम्भ भयो । चार दशक पूरा भएको छ मेरो लेखन यात्राको । यसबिचमा मेरो कृतिगत रूपमा ‘आगोमा उम्रिएको दुबो’ (कवितासङ्ग्रह, २०६२), ‘आगोको मूच्र्छना’ (विलयन काव्य, २०६२), रगतको दरबार (विलयन काव्य, २०६६), र ‘अन्तिम’ (गजलसङ्ग्रह, २०६९) प्रकाशित छन् ।
यहाँ कवितालगायत साहित्यका विविध विधामा कलम चलाइरहनुभएको छ । यहाँका कविता पाठकले अत्यन्त मन पराइरहेका छन् । यसको रहस्य के होला ?
– यो प्रश्न त पाठकलाई सोध्नुपर्ने हो जस्तो लाग्छ । मैले उहाँहरूको अनुभूति कसरी बताऊँ ! प्रश्न सोधिहाल्नुभयो, जबाफमा यत्ति भन्छु – मैले पाठकका चिन्ता, चासो, समस्या, मर्म, रुचि, स्वाद, सरोकार केही मात्रामा भए पनि बुझेछु क्यारे ! पाठकका जीवनका कुनै न कुनै आयामलाई स्पर्श गर्न सकेछु क्यारे ! उहाँको मनलाई तरङ्गित पारेछु क्यारे !
सुन्दर र उत्कृष्ट कविता लेख्न के गर्नुपर्ला ?
एउटा कविलाई उत्तर दिन गाह्रो प्रश्न हो यो । मैले दिने उत्तर अनुसारका कविता मैले नै लेख्न नसकिरहेको हुनसक्छु । मेरो विचारमा, सुन्दर र उत्कृष्ट कविता लेख्न कला र विचारको सुन्दर संयोजन हुनुपर्छ । यसका लागि जे गर्दा कविता जीवन्त हुन्छ, त्यसमा ध्यान दिनुपर्छ । रचनाले हृदय र मस्तिष्क दुवैलाई तरङ्गित पार्न
सक्नुपर्छ । जीवन र जगत्सँग जोडिन सक्नुपर्छ । नवीनता दिन सक्नुपर्छ । पाठकले केही महिनापछि उही रचना पढ्दा पहिले पढेभन्दा फरक अर्थ कवितामा भेटूँन्, यस्तो सामथ्र्य कवितामा भर्न सक्नुपर्छ ।
यहाँ कविका रुपमा नै बढी परिचित हुनुहुन्छ तर पनि अप्रत्यासित रुपमा कथा लेखनमा राष्ट्रियस्तरको ठुलो पुरस्कार बाह्रखरी कथा प्रतियोगितामा प्रथम हुनुभयो । कविताबाट कथा लेखनमा कसरी सफलता प्राप्त भयो ?
– मैले अनौपचारिक रूपमा लेखन सुरु त कविताबाटै गरेँ । (अनौपचारिक भन्नाले कतै प्रकाशित नभएका, स्कुलमा लेखेर बुझाइएका र सुनाइएका रचनाको कुरा गरेको हुँ ।) त्यसो त, लेखन कविताबाट सुरु गरे पनि म स्कुलदेखि नै कथामा पनि आकर्षित भएको थिएँ । कक्षा दशमा छँदा नै एक दर्जनजति कथा लेखेको थिएँ । ती कतै प्रकाशित हुन नपाई हराएर गए ।
त्यो बेला कविता प्रकाशित नभए पनि सुनाउने मञ्च पाइन्थ्यो तर कथा सुनाउने मञ्च पाइँदैनथ्यो । त्यसैले कविता नछापिए पनि कविगोष्ठीमा भेटिने कविहरूका बिच कविको परिचय बन्दै गयो मेरो । कथाकारको परिचय बन्नै पाएन । पाठक, श्रोताले नवोदित कविका रूपमा मन पराएको देखेर मैले पनि कथातिर मेहनत गरिनँ । किताब किन्दा पनि कविताकै बढी किनियो, कथाका कमै किनियो । समालोचनाका किताब किन्दा पनि कविताकै समालोचना गरेका किताब रोज्न थालियो । साथीभाइसँग मागेर पढ्ने किताबको सूचीमा मात्र कथा र उपन्यास विधा परे । त्यसैकारण बाह्रखरी कथा प्रतियोगितामा मेरो कथा प्रथम हुँदा पाठकलाई अप्रत्यासित लाग्नु स्वाभाविकै नै हो ।
कविताका कृति प्रकाशन गर्न प्रकाशक अन्कनाउँछन् । त्यसैले आख्यानतिर जानुप¥यो भन्ने मनमा लागेको बेला बाह्रखरी प्रतियोगिताकको सूचना आयो । भाग लिऊँ कि नलिऊँ भएँ ! त्यसो त पुरस्कार भनेको झटारो हो, लाग्न पनि सक्छ र नलाग्न पनि । आफैँलाई परीक्षण गर्ने मौका पनि थियो हो । पहिला यस प्रतियोगितामा पुरस्कृत कथाहरू खोजेर पढेँ । यत्तिको त म लेख्न सकिहाल्छु नि जस्तो लाग्यो । भाग लिएँ, प्रथम नै पो भएँ । बाह्रखरीमा प्रथम हुनु भनेको स्थापित हुनुरहेछ । एउटै कथाले मलाई कथाकारको परिचय दियो ।
अचेल तपाईंलाई राम्रो कथाकारका रूपमा पनि चिन्छन् । लामो समय तपाईंभित्रको कथाकारमाथि तपाईंले अन्याय गरेजस्तो लाग्दैन ?
– साँच्चै भन्ने हो भने मभित्रको कथाकार मानव रूप लिएर बाहिर निस्कँदो हो त मलाई ढुटो पारेर कुट्थ्यो जस्तो लाग्छ । मैले मभित्रको कथाकारमाथि गर्नु अन्याय गरिरहेको रहेछु । बाह्रखरी कथा प्रतियोगितामा भाग लिएपछि मात्र यो थाहा पाएँ ।
हाल यहाँ साहित्यसम्बन्धी के गरिरहनुभएको छ र भविष्यमा के, कस्तोे लक्ष्य राख्नुभएको छ ?
– म अहिले केही कृतिलाई अन्तिम रूप दिने कार्यमा व्यस्त छु । काव्य र उपन्यासमा काम गरिरहेको छु । आाख्यान विधामा यूपाख्यान बारेका चिन्तन गरिरहेको छु ।
के तपाईं विलयन लेखनलाई छोडेर नयाँ बाटोमा जान लाग्नुभएको हो ? यो यूपाख्यान भनेको के हो ?
– मैले विलयन लेखनलाई छोडेको छैन । त्यसमा पनि काम गरिरहेकै छु । काव्यमा विलयनको प्रयोग गरिएको थियो । आख्यानमा केही नयाँ गर्न खोज्दा यूपमा पुगियो । युपाख्यान पनि विलयनकै चित्रको रूपकलाई आख्यानमा कसरी ल्याउने भन्ने सोचका साथ अघि बढाउँदै छु । अहिलेको सामाजिक सञ्जालमा रत्तिएको मानिस विशृङ्खलित शृङ्खलामा बाँच्दै छन् । टिकटक, फेसबुक, रिल आदिमा मानिस आधा मिनेटभित्र समवेदना र शुभकामना टाइप गर्न भ्याउँछन् । एउटै पोस्टमा आधा मिनेट पनि अडिदैनन्, अर्कोतिर लागिहाल्छन् । मानिसको यो स्वभावलाई विलयनमा उल्लेख भएको चित्रको रूपकसँग जोडेर म केही नयाँ गर्न सोच्दै छु । विशृङ्खलित शृङ्खलालाई चित्रमा जस्तै आख्यानमा ल्याउने प्रयास गर्दैछु । नयाँ बाटोमा जानु भनेको पुरानो हिँड्न छोड्नु भन्ने होइन । विलयन छोड्दिनँ । यूपाख्यानबारे म गृहकार्यमै छु । अहिले नै धेरै नबोलूँ ! काम भइसकेपछि बोलूँला ।
विलयनका साथीहरूसँगै कि एक्लै यो कार्य गर्दै हुनुहुन्छ ?
– आख्यानमा विलयनका साथीहरूले त्यस्तो मेहनत गरेको देखेको छैन । त्यसैले म मात्र छु युपाख्यानमा अहिले । पछि जोडिन सक्नुहुनेछ ।
युपाख्यानका रूपमा कुनै कृति पनि आउँदै छ कि ? केही बताउन मिल्छ ?
– एउटा उपन्यास आउँदै छ । यो एउटा कालखण्डको साहित्यिक पत्रकारिता र लेखनलाई युपका रूपमा लिएर लेखिएको कृतिका रूपमा आउने छ । यो युपन्यासका बारेमा विस्तृत रूपमा कृति आएपछि नै थाहा हुने छ । अहिलेलाई रहस्यकै गर्भमा राखौँ यसलाई ।
जीवनमा साहित्य क्षेत्रमा लागेर के चाहिँ प्राप्त गरेजस्तो लाग्छ ?
– साहित्य क्षेत्रमा लागेर मैले प्राप्त गरेको आफ्नै जीवनको आयु लम्ब्याउने काम हो । म एक समय अति अप्ठेरोमा थिएँ । मर्न चाहन्थेँ म । आत्महत्या गर्न चाहन्थेँ । त्यो बेला साहित्यले मलाई मर्नबाट रोक्यो । विक्षिप्त हुनबाट रोक्यो । बाँच्न प्रेरित ग¥यो । अतिशय दुःखमा हुनेले जीवनवादी साहित्य रचना गर्नुपर्दोरहेछ । यसले तपाईंलाई बाँच्ने प्रेरणा दिन्छ । यो मेरो अनुभव हो ।
वर्तमान नेपाली कविता कस्तो छ भन्ने लाग्छ यहाँलाई ?
– सबै समयमा राम्रा–नराम्रा दुवै थरी कविता लेखिन्छन् । जुनसुकै कालमा पनि पछिसम्म बाँच्ने रचना थोरै हुन्छन् । वर्तमानमा पनि राम्रा–नराम्रा दुवै थरी कविता लेखिएका छन् । साधनाका हिसाबले भने पहिलाका कवि धेरै साधना गर्थे जस्तो लाग्छ । अहिले समय जटिल हुँदै गएर हो वा धेरै कमाउनका लागि समय खर्चन परेर हो, अहिलेका कविहरूले साधनामा उतिसारो समय दिन सकेको देखिँदैन । अहिलेका छन्द कविता पढ्दा कवि शिरोमणि लेखनाथ र माधव घिमिरेको जस्तो साधना नपुगेको देख्छु । लामा कविता पढ्दा मोहन कोइरालाको जस्तो साधना पनि देख्दिनँ । त्यसो त, हरेक युगमा लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, वैरागी काइँला र भूपी शेरचन खोजेर पनि हुँदैन । तिनीहरूका पनि सबै रचना राम्रा थिएनन् । अहिलेका कवि पनि युगलाई चिनाउन सफल छन् । शक्तिशाली कविता सिर्जना गरिरहेका छन् । त्यसो त, वर्तमान नेपाली कविताबाट पूर्ण सन्तुष्ट छु पनि भन्दिनँ । अझ राम्रो कविता पढ्ने रहर त मनमा राख्नै प¥यो नि, हैन र !
लेखक र पाठकप्रति यहाँको कुनै सुझाव एवम् प्रतिक्रिया छ ?
– लेखकले बजारमा गएर पुस्तक किन्दा जुन स्तरको किन्नुहुन्छ, त्यस्तै आफूले प्रकाशन गर्ने रचना पनि स्तरीय होस् भन्ने ध्यान दिनुहोला । आफैँलाई मन नपरेको कुरा प्रकाशनका लागि नपठाउनुहोला । यस्ता रचना फेसबुकमा पनि पोस्ट नगर्नुहोला । किताबले दुनियाँ चिन्न, मानिसको मन चिन्न, तपाईंलाई परिपक्क बनाउन मात्र मदत गर्दैन । तपाईंलाई धोका दिन र गलत मार्गमा पु¥याउन पनि मदत गर्दछ । त्यसैले पाठकले पनि के पढ्ने, कस्तो किताब पढ्ने, किन पढ्ने त्यो बुझ्न प्रयास गर्नुपर्छ. । तपाईंले किताब किन पढ्ने र कस्तो पढ्ने भन्ने बुझ्नुभएन भने धोका पाउनुभयो ।
अन्त्यमा, अन्तर्बोधमार्फत साहित्यिक मनहरूलाई केही भन्नु छ कि ?
– अचेल हामीकहाँ घर–घरमा बालबालिकाले अङ्ग्रेजीमा बोलेकोमा खुसी हुने चलन बढेको छ । अङ्ग्रेजी शब्द प्रयोग गरेकोमा रमाउने चलन बढेको छ । कुनै नयाँ भाषा सिक्नुलाई म नराम्रो भन्दिनँ । तर आफ्नो भाषामा भएका शब्दलाई बिर्सनु चाहिँ राम्रो होइन । हाम्रो भाषाको फलानो शब्दलाई फलानो भाषामा यसो भनिन्छ भनेर जान्नुचाहिँ राम्रो हो । यस्तो नहोस् कि ‘सोधपुछ’ लेखेको ठाउँमा गएर यहाँ ‘इन्क्वायरी’ कहाँ छ भनेर सोध्नु नपरोस् । पसलेले नक्सा भनेको बुझ्ने तर मानचित्र भनेको नबुझ्ने स्थिति नआओस् । कुनै सामानको मूल्य पैसठ्ठी रुपैया भनेको नबुझेर हाम्रा नानीबाबुले ‘पैसठ्ठी भनेको कति हो ? अङ्ग्रेजीमा भन्नुस्् न ।’, नभनोस् । नेपाली बालबालिकाको आइक्यु संसारका बालबालिकाको तुलनामा कमजोर रहेको खबर पढेथेँ मैले । यो भनेको आफ्नो भाषा कमजोर हुँदै जानुको परिणाम हो । अचेल तीन वर्षको हुँदैदेखि अङ्ग्रेजी माध्यमबाट पढाउनुको परिणाम हो यो ।