ह्याप्पी होलिडेज
रश्मी भट्ट
आज डिसेम्बर चौबिस तारिक सोमबार दुई हजार अठार । क्रिसमस् एभ, अमेरिकाको एक ठुलो पर्व, उत्सव अर्थात् क्रिसमस साँझ । हरेक वर्ष डिसेम्बरपच्चिसमा पर्ने क्रिसमसले अमेरिकामा मात्र नभएर विश्वका धेरै ठाउँमा तहल्का पिट्छ । एक हप्ता अघिदेखि नै चहल पहल सुरू भइसकेको छ तर क्रिष्टिनालाई भने मात्र घर पुगेर आराम गर्ने हतारो छ । काम सकेर घर फर्कदै गर्दा क्विन्स प्लाजामा बेलुकी सात बजे ट्रेन पर्खदैछे ऊ । अनेकौ चिजबिज बोकेर अरू केही मानिसहरू पनि पर्खदैछन् । आउने जानेको घुइँचो उस्तै छ । बाहिर जति झिलीमिली भए पनि पाताले ट्रेनभित्र उज्यालो कमै छ । एक्काइस गते शुक्रबारदेखि नै ह्याप्पी, ह्याप्पी होलिडेज गीतहरू सर्वत्र बजिरहेका छन् । गीत तिनीहरूलाई नै रमाइलो लाग्दो हो जसले साँच्चै बिदा पाइरहेका छन् र घुमघाम र रमाइलो गर्न कुनै सुन्दर ठाउँ जाँदै छन् । हैन कसका लागि ट्यार् ट्यार् बजाएका होलान् नि यी ताइन तुइका अङ्ग्रेजी गीतहरू । स्वर पनि ठिकै छ तर सुन्नै मन लाग्दैन उसलाई । सात वर्ष भयो अमेरिका बसेको तर क्रिष्टिनालाई छुट्टी के हो थाहै छैन । सरकारी बिदामा काम नगरेको त दिनै छैन
उसको । कामबाट फर्कंदै गर्दा हतार हतार क्रिसमस ट्रीले सजाइएका सपिङ्ग मल छि¥र्यो, केही किनमेल ग¥यो, फोटो सोटो खिच्यो, फेसबुकमा राख्यो सकियो । त्यो दिन कोठामा बस्ने तीनै जना साथीभाइ एकसाथ खाना खाइयो भने, अहो भाग्य ! यो भन्दा ठुलो खुसी अरू केही छैन, चाड पर्वहरूमा ।
आहा क्रिष्टिना तेरो नाम कति राम्रो, यो त विदेशी नाम हो । कसैको छैन तेरो जस्तो युनिक र राम्रो नाम । गोरी पनि छेस्, राम्री पनि छेस् तँ त पक्कै विदेश जान्छेस हा. हा. हा. । आइ ए पढ्दाका सुरूवाती दिनहरूमा मिल्ने सबै साथीभाइहरू उसलाई यसै भनेर जिस्क्याउँथे । ऊ भने वास्तै गर्दैनथी, के हो विदेश, म किन जाने, के गर्न जाने, कसरी जाने, वाहियात ? गलल्ल हाँसेर उडाइदिन्थी । एक दिन उसले आमालाई भनी– ‘ममी मेरा सबै साथीहरूले तेरो नाम कति राम्रो भन्छन्, कसरी जुराउनुभयो मेरो नाम ?’ ममीले भनिन्, ‘तिमी जन्मनुभन्दा दुई वर्ष पहिले नै तिम्रो बाबा र म जगिरको सिल्सिलामा तालिमको लागि एक वर्ष वेलायत बसेका थियौं । जब तिमी जन्म्यौ, नाम राख्ने विषयमा धेरै छलफल भयो । अन्त्यमा हामीले त्यहाँका महिलाहरूको धेरै नाममध्ये यही मन परेर राखेको । मलाई किन नभन्नुभएको त ममी ? तिमी नै अहिले सत्र वर्ष लागिसक्यौ, अझ त्यसभन्दा पनि दुई वर्ष अगाडिको कुरा, फेरि प्रसङ्ग पनि परेन के सुनाइरहनु र बिर्सेथेँ पनि । विदेशको वर्णनले छोराछोरीप्रति मोह जागेर आउँछ बेकारमा ।
ओहो बाबाममीले त विदेश पनि देख्नुभएको रै’छ, ऊभन्दा तीन वर्ष सानोभाइले पनि खुबै चाख दिएर सुन्यो । एकपछि अर्को गर्दै तिनै साथीहरू विदेशिन थाले, क्रिष्टिनालाई पनि लाग्यो म पनि जाउँ, देशमा सधँै बन्द हड्ताल, लुटपाट हिंसा र बलत्कारबाहेक केही छैन । जाने कोसिस किन नगरौं ? योजना बाबाममीलाई सुनाई । तिम्रो सोचाइ नराम्रो पनि होइन, अहिले देशको स्थिति पनि ठिक त छैन, हामी रोक्न पनि चाहन्नौ र जाउ जाउ पनि भन्न चाहन्नौँ । हामी त सरकारी तालिम मार्फत गएका हौं धन कमाउन नभए पनि त्यहाँ प्रवासी र पढ्न जानेले भोगेका कष्टपूर्ण जीवन देखेका छौं । विदेश कसैले हावाको तालमा वर्णन गरेजस्तो सजिलो चाहिँ छैन है छोरी । यहाँ हामी तिमीलाई एम.ए.सम्म दुःख कष्ट गरी राम्रोसँग पढाउन सक्छौं तर त्यहाँको खर्च भर्न सक्दैनौ । धन त के कुरा पढाइ नै अलपत्र हुनसक्छ । तिम्रो सोच, दसौँपटक राम्ररी सोच आजैदेखि कमाउँदै सबै काम गर्दै पढ्नुपर्छ तिमीले नत्र बेहाल हुन्छ तिम्रो । क्रिष्टिनाले ढिपी छोड्दै छोडिन । धन, बल, समय लगाएरै आमाबाबुको समर्थनमा ऊ २०११ अप्रिल छ तारिक अमेरिकाको ज्याक्सन हाइट आइपुगी । तोकिए वमोजिम बाबाकै साथीको छोरी लिन आई । उसैसँग अर्की एक साथीसमेत महङ्गो भाडालाई सेयर गरी मिलेर बस्न थाले । दश, पन्ध्र दिनपछि नै कलेज पाँच दिन र दुई दिन सस्ता मस्ता घण्टे काम गर्न थाली । बाहिरी संसार कस्तो छ उसलाई थाहै भएन । आफ्ना थुप्रै साथीहरू आएर काम न पढाइ अलपत्र परेको पनि देखी ।
हिम्मत साथ काम र पढाइ त गर्न लागी तर अन्तिमका दुई सेमेष्टर उसले पनि राम्ररी पूरा गर्न सकिन । ओभरहोष्टे भइ, न घर फिर्न सकी, न पढ्न । आमा बाबुलाई झल्झली सम्झी । रातो दिन लुकी लुकी थोरै पैसामा काम गर्दै ग्रिन कार्डको लागी धेरै पैसा तिर्दै गई । संसारभरि नै नाम चलेको तर थोरै पैसामा लुकीलुकी काम गर्ने रेष्टुरेण्टमा झन् उसलाई कसले बिदा दिने ? जहाँ बैध कामदारहरूलाई त कैल्यै सुको पैसा बोनस, बिदा र बिदाको दिन काम गर्दा दुई पैसा सुविधा छैन । उसले गर्न हुने र पाएका सबै काम गरी । कहीँ कतै उसले सरकारी त के सधैँको शनिबार आइतबार बिदाको पनि कहिल्यै अवसर पाइन । बिदा चाहिन्छ भन्यो भने कामै खोसिने, बलजफ्ती गरौं भने अवैध बसाइ क्रिष्टिनाले हुनसम्म चोट पाई ।
“नाम मेरो क्रिष्टिना पर्यो आज देशैलाई बिर्सनु भन्दै तरक्क आँसु झारी । नेपालमा साथीहरू मच्चीमच्ची हाँस्दै, खेल्दै, पिउँदै नाच्दै, रमाउँदै क्रिसमस मनाइरहेका र फोटो खिची फेसबुकमा हाल्न थाले । उसलाई क्रिसमस अमेरिकामा
धेरै मनाइन्छ यो नेपालमा भ्रम जस्तो भयो । हे साथीहरू म कहाँ भाग्यमानी छु ? तिमीहरू कति भाग्यमानी रमाउँदै बाँचेका छौं, मलाई बेकार दुःखैदुःख । जति पर्खनुपरे पनि एफ ट्रेनले एक स्टपमै गुटुटु ज्याक्सन हाइट पु¥यायो । फेरि ओर्लेर बस लिएर कोठामा पुग्दा साँढे आठ भन्दा पनि बढी भइसकेछ । भएका साथी पनि मिलेर घुम्न गएका र अरूसँग नमिल्दा ऊ एक्लो भएकी छ आजको यो झिलीमिली साँझमा । मुर्छा परेर रोई, त्यति नै बेला आमाले भिडियो कल गरिन् । काममा छु भोलि कल गर्छु भनेर ढापछोप गरी रूवाइ देखाउन चाहिन । किनेर ल्याएका खानेकुरा खाई र झ्याप्पै निदाई । रातमा नब्युँझदै एकैचोटि उज्यालो भयो । बिहान उठेपछि निद्रादेवीलाई धन्यवाद दिई नत्र रोएरै रात बित्ने थियो । फेरि काममै निस्की । एकातिर अपुरो पढाइ अर्कोतिर अबैध बसाइ, काममा बिदा कहिल्यै छैन हरे जिन्दगी ।
क्रिष्टिनाको अर्थ दुःख रहेछ क्यारे, नाम पनि स्वदेशी नै राख्नु नि । बाबाममीले पनि गल्ती नै गर्नुभएछ । जताततै चर्को स्वरले बजेको ‘ह्याप्पी होलिडेज’ धुनले उसको दिमाग चक्करायो । काम गर्ने ठाउँमा पुग्दा झन् चर्को स्वरले बजाइएको रहेछ । उसलाई यति रिस उठ्यो कि हटाउ यी सब बकवास । तिमीहरूले मलाई छुट्टी दिएका छौ र बजाउन ? बन्द गर सबै । फेरि रिसलाई शान्त गर्दै भनी – तेरो लागि कहाँ बजाएका हुन् र आफ्नै लागि बजाएका छन् नाचेका छन् उफ्रेका छन् । म मान्छेहरू र यिनीहरूको लागि मेरो मन छ र ? मलाई चाडपर्व र बिदा मनाउनुपर्छ र ? बाउ अमेरिका रे ? गरिब दुःखीदाखी, तल्लो र निम्छरो वर्गलाई यस संसारमा कहाँ इन्साफ छ हँ ? होलिडे पनि होइन होलिडेज रे मानौं एक हप्ता बिदा दिएका छन् ।
चाड पर्व भनेको संसारभरि नै नामी र दामीलाई हो । आफ्नो देशमा म धनी नभए पनि गरिब परिवारमा थिइन् । कति रमाइला थिए ती चाडपर्वहरू । त्यहाँ पनि मनाउन नसक्ने र नपाउनेहरूले विरोधको स्वर उरालेको मैले देखेको छु । रोएको, कराएको सुनेकी छु । अन्यायमा पर्नेले न हो रूने कराउने, चिच्याउने तर म त यहाँ त्यसो पो किन गर्न पाउँछु र हँ ? देशमा बसेर विदेशाँ यस्तो छ, उस्तो छ भन्दै खोक्नेहरूलाई म चुनौती दिन चाहन्छु । अन्याय अत्याचार कहाँ छैन ? त्यसको मात्रा कति छ भन्ने मात्र हो । युवा लगायत सक्षम शक्तिलाई पलायन हुनै नदिने नीति र शिक्षा हुनुपर्छ राज्यको । बालक र बुढाबुढी कहिल्यै पनि आफ्नो इच्छाले परदेशिदैनन् ।
कति बक्बक गरीगरी क्रिष्टिनाले आफैंसँग । मालिकले सुन्ने गरी बरक्क गरेकी भए सायद जागिरबाट हात धुनेथी अहिले नै । हुनेखानेहरू शुक्रबारदेखि नै दश पन्ध्र दिन छुट्टी लिएर सुन्दर सुन्दर ठाउँ घुम्न गइरहेछन् म र म जस्तालाई भने यस्तो । सारा सुपर मार्केट, सपिङ्गमल, रेष्टुरा, घरका काम हामीजस्तै अलपत्रे, कि त यो पर्वै नमनाउने केही जात जाति तथा अरू सबै सबै नेपाली, बंगाली, पाकिस्तानी तथा अरबी आदिहरूले चलाइदिएका छन् र चौबिस घण्टा जागा छ अमेरिका ।
आखिर फेरि तिनै वर्गमाथि अन्याय र अत्याचार छ । फुर्सदै क्रिष्टिनालाई कैले छ र ? दश बिस मिनेट फुर्सद भएको बेला यसो न्युज र अमेरिकन नेताहरूका कुरा सुन्छे ऊ । कोहीकसैले यस्ता वर्गको समस्या बारे चासो दिएको पाउँदिन । विभिन्न देशका संघ, संस्थाहरू एकजुट भएर रून कराउन जान्छन् तर सुनुवाइ नै हुँदैन । एकदमै दुःख लागेर आउँछ क्रिष्टिनालाई । उसको त बोल्ने ठाउँसम्म पनि छैन । अवैध मान्छे ऊ के कराउने ।
यी सात वर्ष साँच्चै कठिन वर्षहरू रहेछन् । जीवनमा ह्याप्पी फर मी, ह्याप्पी फर यु, ह्याप्पी फर एभ्री बडी भन्ने गीतजस्तै हुनुपर्ने होइन र ? तर यस्तो हुनै नसक्ने रहेछ, सबैलाई कहाँ मिल्छ भाग्य÷सुख छानी छानी । झन् म त अठारै वर्षको लाउँ लाउँ र खाउँ खाउँको उमेरमा आएर यति धेरै दुःख पाएँ । यो सबै मेरो नामले गरेको जात्रा होजस्तो लाग्छ । नागरिकता बनी नसकेको भए फेरेर हिमानी, भेरी, राप्ती, रारा, सगरमाथा आदि राख्ने थिएँ । ती साथीहरू पनि दोषी छन् जसले मलाई विदेशको मोह जगाए । आफूहरू त फसे फसे, मलाईसमेत फसाएर छोडे । हैन हैन दोष मेरो आफ्नै हो । आवेगमा जोसँग रिस गरे पनि मानिसका सुख दुःख आफंै र भगवान्बाट मात्र निर्देशित छन् । दुई रात भयो एक्लै बसेको, यो झनै ठुलो पीडा । भोलि त आउलान् साथीहरू पनि । जसो तसो निदाउनै प¥यो ।
बिहानै उठेर उही कामको चटारो, बाटोभरि बस, ट्रेन जताततै उही गीतकै धुन, चहलपहल यो सबै अब न्यु इयरपछि मात्र समाप्त हुनेछ । सबै काममा फर्केपछि दुईदिन छुट्टी माग्नुपर्ला बेतलबी । कोही न कोही कसै न कसैले नमनाइदिए कसरी रहन्छ र ? चाडपर्वको शोभा पनि दुःखी मात्र भइरहनुभन्दा म पनि मिलेर मेरो पनि बिदा नै छ भन्ने सोचेर यही गीत गाउँदै हिँडौ कि क्या हो । ट्रेनको ढोकै अघि एक ग्रुप धमाका मच्चाएर नाच्दै रै’छ । क्रिष्टिना पनि त्यही हुलको पछाडिपट्टि बसेर दुखेको खुट्टाहरूलाई लाटोबुङ्गो उफ्रेजस्तै थचारेर ह्याप्पी, ह्याप्पी होलिडेज भन्दै नाची ।
उसलाई लाज, डर, घिन संकोच केही लागेन । कोही नेपालीले देख्ला र चिन्ला भन्ने पनि लागेन । देखे पनि के नै बिगार गरेकी छु र ? लुकी लुकी बाँचेकी उसलाई कसले पो चिनेको छ र ? फेरि दुई चार फोटो खिची र घरतिर लम्की । सायद अहिलेसम्म त साथीहरू पनि आइसके होलान् । केही खाना बढी नै किनेर लिएर जान्छु । सधैँ मेरा पनि यस्तै दिन कहाँ रहलान् र ? हामीजस्ता कसैलाई पनि बस्न नदिने भनेको सरकारको पालामा पनि ग्रिनकार्ड त भरखरै हात लागेको छ ।
सात दिन काम गर्दा एक पैसा साथ नभए पनि वैध भए अब त्यो पढाइ छ महिनामै पूरा गर्छु । सरकारी धेरै ठाउँमा कामको निवेदन दिएकी छु । एक न एक ठाउँमा कसो ननिस्केला ? त्यसपछि मलाई यस्ता होलिडे मनाउन कसले छेक्ने ? म पनि कम्ता उफ्री उफ्री ह्याप्पी ह्याप्पी होलिडेज भनांैला र ? ऊ आफंैसँग गमक्क परी । अझ उसलाई यो भन्दा ह्याप्पी फर मी, ह्याप्पी फर यु, ह्याप्पी फर एभ्री बडी भन्ने गीत नै बढी राम्रो लाग्यो । सात सात वर्ष अवैध बसाइले एक पटक देश फर्कन नसकेकी म आमाबाबा, भाइ आफन्त साथीभाइ र देश भेट्न नेपालै फर्कनुपर्छ ।
आफ्नै साथीभाइसँग ह्याप्पी ह्याप्पी होलिडेज भन्दै रमाउनुपर्छ । अझ होइन होइन अठारै वर्षमा आएकी म सात वर्षमा भर्खर पच्चिस त भएँ नि । देशमै बसेर सेवा गर्नुपर्छ, घरजम पनि बसाउनुपर्छ । आमाबाबाको दिल पनि हँसाउनुपर्छ । एक स्टप पनि कति ढिलो गरेको ट्रेनले भनेर हेर्छे त ऊ त आठ स्टप बढी नाघेर जमैका पो पुगिसकिछ । लौ बर्बाद भयो भनेर क्यु साठी बस चढेर फर्कन लागि । बस चढेकी मात्रै थिई, ड्राइभरले उही चर्को स्वरमा गीत बजायो ह्याप्पी ह्याप्पी होलिडेज, ह्याप्पी होलिडेज ... । हैन हौ, यो मोरो त बस हाँक्दैछ, गीतसँगै रमाउँदै पनि छ । उसको कान फुट्लाजस्तो भयो तर बन्द गर भन्ने साहस र अधिकार त कहाँ नै थियो र ऊसँग ?