देशभर सहकारी डुबेर वचतकर्ताको निक्षेप रकम फिर्ता नहुँदा वचतकर्ता आन्दोलित छन् । सानोतिनो वचत गरेका जनताको रकम डुब्ने अवस्था देखिएकाले आन्दोलित हुनु स्वाभाविक हो । दुध बिक्री गरेर, मकै पोलेर, किराना पसल गरेर, दैनिक श्रमिक काम गरेर, सामान्य व्यवसाय गरेर भविष्यको गर्जो टार्न वचत गरिएको रकम संचालकले मोजमस्तिी गरेर खर्च गर्दा वचत नै डुब्ने अवस्था रहँदा वचतकर्तालाई पीडा हुन्छ नै । सहकारीहरूले ऋण उठ्न नसक्ने क्षेत्रमा लागानी गरेकाले पनि ऋण नउठ्ने अवस्था आएको हुनसक्छ । त्यति मात्र नभएर सहकारी संस्थाहरूले सहकारीको मूल्य, मान्यता र सिद्धान्तको आत्मसात् नगरी ऋण लगानी गरेकाले सहकारीहरू समस्याग्रस्थ देखिएका हुन् । सहकारीमा जम्मा गरिएको निक्षेप रकम अपचलन भएर फिर्ता नभएका कारण वचतकर्ताहरू देशभर आन्दोलन गरिरहेका छन् । निक्षेपकर्ताको बचत रकम सहकारीको उद्देश्य र सिद्धान्त विपरीत कानुनको प्रत्यक्ष बर्खिलाप हुने गरी दुरुपयोग गरेको, ऋण दिँदा जमानत वा सुरक्षण नराखी वा धितोको अस्वाभाविक बढी मूल्य कायम गरी ऋण प्रवाह गर्ने गरेको, कृत्रिम व्यवसाय खडा गरी ऋण दिने गरेका कारण समस्या उत्पन्न भएको भन्ने कुरा समस्याग्रस्त सहकारी छानविन प्रतिवेदनले औंल्याएको देखिन्छ । सरकारको सहकारीप्रतिको अनुगमन र कडा कानुनको अभावमा सहकारीका व्यवस्थापकहरूले जनताको रकममा मोजमस्ती गरेका हुन् । महँगा र बाक्ला पेपरमा वार्षिक क्यालेण्डर छाप्नु, संचालकलाई अनावश्यक सुविधा दिनु, वार्षिक साधारण सभा तथा संस्थाको उत्सवमा तडकभडक खर्च गर्नुले पनि सहकारीको अनावश्यक प्रशासनिक खर्च बढेको देखिन्छ । प्रशासनिक खर्चलाई नियन्त्रण गर्दै सेयर सदस्यको भावना अनुसार लगानी गर्नुपर्दछ । लगानीकर्ताको सेयर रकम डुबे पनि वचत हिनामिना र डुबाउन मिल्दैन । त्यसर्थ सहकारीहरूमा समस्या आउनै नदिने गरी काम गर्न कार्ययोजना बनाएर अगाडि बढ्नुका साथै कडा कानुनी तथा नीतिगत व्यवस्था गर्नुपर्दछ । त्यति मात्र नभएर सहकारी संचालकहरूले नैतिकता र इमान्दारिता देखाउँदै सहकारीको आधारभूत मूल्य, मान्यता र सिद्धान्तको पालना गराउँदै निश्चित सिद्धान्त र मापदण्डका आधारमा ऋण रकम उपलब्ध गराउनु पर्दछ । ऋणीले ऋण समयमै नतिरेमा ताकेतासमेत गरी ऋण उढाउन पहल गर्नुका साथै वचत रकम सेयर सदस्यहरूमा मात्र लगानी गर्न सकेमा केही हदसम्म निक्षेप अपचलन कम हुने थियो कि ?
सम्पादकीय
June 14, 20241 minute read
0
सम्पादकीय - ६४