यसपालिकाे भेटवार्ता - कृसु क्षेत्री
कवि कृसु क्षेत्रीको जन्म माता वसुन्धरादेवी सुवेदी र पिता मानबहादुर सुवेदीको कोखबाट अर्जुनधारा–७, झापामा वि. सं. २०३२ साल पौषमा भएको हो । नेपाली साहित्य क्षेत्रमा सुपरिचित कवि क्षेत्रीका अद्र्धमुदित आँखाहरू (गजलसङ्ग्रह–२०५७), आगोको मूच्र्छना (संयुक्त कवितासङ्ग्रह-२०६१), बोधिसत्वको मृत्यु उत्सव(कवितासङ्ग्रह–२०६१), म्यान्मामा नेपाली भाषा, साहित्य र संस्कृति (२०६७), रगतको दरवार (२०६३), जापानमा नेपाली भाषा र साहित्य (अनुसन्धानात्मक–२०६७), चौध वर्षपछि (२०७१), निलो आँसु (२०७३), चराको गीत (कवितासङ्ग्रह–२०७४), विलयन लेखन (२०७८), कालजयी नेपाली कविता (२०७९) लगायतका कृतिहरू प्रकाशित भइसकेका छन् । वर्तमान समयका लोकप्रिय कवि कृसु क्षेत्रीले प्रतिनिधि नेपालीगजल–२०६१, साहित्यकार विनय रावलः सिर्जनायात्राको अभिरेखाङ्कन –२०५९, प्रश्नै प्रश्नका बिच प्रेरणा–२०६१, प्रतिनिधि म्यान्माली नेपाली कविता–२०६५, प्रतिनिधि नेपाली हाइकु, मिर्मिरे, वसुन्धरा द्वैमासिक, मानश्री त्रैमासिक, समकालीन नेपाली साहित्य मासिकजस्ता पत्रिका एवम् पुस्तकको सम्पादन गर्नुभएको छ । भाषा, साहित्यको क्षेत्रमा उल्लेख्य योगदान गरेवापत उहाँले राष्ट्रिय प्रतिभा पुरस्कार (२०५८), पूर्वाञ्चल प्रतिभा पुरस्कार (२०५९), ललिता काव्य पुरस्कार (२०४९), गजलश्री सम्मान(२०६०), राष्ट्रिय कविता महोत्सव (प्रथम, २०५७ ने.रा.प्र.प्र.), त्रिचन्द्र देवकोटा सम्मान (२०६०), हरिभक्त कटुवाल सर्वदा वाङ्मय पुरस्कार (२०६३), युवा वर्ष मोती पुरस्कार (२०६६), देवकोटा शताब्दी स्वर्णपदक (२०७६), सिम्पल आट्र्स सम्मान(२०७२), भानु द्विशताब्दी स्वर्ण सम्मान (२०७३), राष्ट्रिया युवा प्रतिभा पुरस्कार(२०७५), व्यथित वनिताश्री काव्य पुरस्कार (२०७७), व्यथित काव्य पुरस्कार (२०७७), ससिद्धि कलाश्री पुरस्कार (२०८०) जस्ता दर्जनांै पुरस्कार एवम् सम्मान प्राप्तगरिसक्नुभएका विलयन लेखनका प्रवत्र्तक एवम् साहित्यिक व्यक्तित्व कृसु क्षेत्रीसँग होमशंकर बास्तोलाले गर्नुभएको छोटो कुराकानी ।
साहित्यमा तपाईं कसरी आकर्षित हुनु भो, यहाँको साहित्यिक यात्राबारेमा केही बताइदिनोस् न ?
– साहित्यप्रतिको आकर्षण त मुख्य पारिवारिक कारण नै हो । म सानै छँदा आमाले मिठो स्वरमा रामायण, महाभारत, भागवत गीता अनि गुणरत्नमाला वाचन गर्नुहुन्थ्यो । आमाको वाचन निदाउन र ब्युँझन पनि काम लाग्थ्यो । आमाकै कारण विस्तारै साहित्य तर्फ आकर्षित हुन थालेँ । अलिपछि बुझ्ने हुँदा दाजु दुबसु क्षेत्री राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा चर्चित साहित्यकारका रुपमा परिचित भैसक्नुभएको थियो । गाउँमा, स्कुलमा, जिल्लामा दाजुको नामको ईष्र्या र चर्चित हुने लालसाले पनि साहित्यकार बन्न प्रेरित गरेको हो । सुरुसुरुमा दुबसु दाजुकै कविता चोर्दै स्कुलतिर कविता सुनाउन थालेपछि त वाह वाह भैहालेँ । दश, एघार वर्षमा त मञ्चमा कविता सुनाउन एउटा राम्रै नाम भैसकेको थिएँ म । पछि २०४३ सालमा पूर्वाञ्चल दैनिकमा गजल छापियो । २०४३ सालमै प्रसिद्ध साहित्यिक पत्रिका रुपरेखामा मुक्तक छापिएपछि त म साहित्यकार भैहालेँ नि । २०४९ सालमा सीताराम साहित्यिक प्रतिष्ठानले आयोजना गरेको ललिता काव्य पुरस्कारबाट प्रथम पुरस्कृत भएपछि भने छापिन र देखिन थालेको हुँ ।
नेपाली कवि भएको नाताले विदेशमा गएर लेखनमा केही फरक पाउनुभएको छ ?
– नेपाली कवि भएको नाताले विदेशमा गएर लेखनमा निश्चय पनि फरक अनुभूति त हुन्छ नै । अध्ययनको दायरा र अनुभूतिको सीमामा पनि फरक हुँदोरहेछ । लामो विदेश बसाइँको क्रममा मलाई के लाग्यो भने हाम्रा प्राकृतिक बिम्बहरूलाई विश्वको परिवेशमा एकाकार गर्दै लेखनमा सुधार गर्न सकिने रहेछ । विशेष गरी विदेशमा रहँदा नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न पहल गर्ने सम्बन्धमा उत्साह पनि पलाउँदो रहेछ । अमेरिका, युरोप, बर्मा वा अन्य मुलुकमा जहाँजहाँ म कामको सिलसिलामा पुगेँ मैले आफ्नो लेखनमा कमी कमजोरी औंल्याउन र हाम्रा शदियौँदेखिका कुमारी बिम्बहरूलाई टिपेर लेखनमा अगाडि बढाउन जोड दिएको छु । अन्तर्राष्ट्रिय साहित्यिक गोष्ठीमा सहभागी हुँदा मैले नेपाली साहित्यलाई गहन अध्ययन गरिदिन बारम्बार अनुरोध गरेको छु ।
नेपालमा रहँदा तपाईं भाषा साहित्यको उन्नयनमा सक्रिय हुनुहुन्थ्यो । विदेशमा रहेरसमेत सक्रिय हुनुहु्रन्छ । यो कसरी संभव भइरहेको छ ?
– आफूलाई सक्रिय राख्नुमा मुख्य कुरा त व्यक्तिगत इच्छाशक्ति नै हो । नेपालमा रहँदा साहित्यिक माहौलले काम गर्दथ्यो र अझ बढी साहित्यिक गतिविधिमा सक्रिय भैरहन अनुकूल हुन्थ्यो । विदेशमा त्यो अलि सम्भव नहुने रहेछ । वेफुर्सद त हुन्छ नै, बेफुर्सदीको अभिनय पनि गर्नुपर्ने त्यसमा लेखनको माहौल नहुने भएकाले स्वदेशमै जस्तो सक्रियतामा कमी त हुन्छ नै । म फुर्सद भयो कि साहित्यिक संगत र साहित्यिक गतिविधिमा रमाउन मन पराउने भएकैले विदेशमा समेत सक्रिय भएजस्तो भान परेको हो । तर त्यो सम्पूर्णमा यथार्थ हैन । हामी परदेशमा रहँदा फुर्सद पाउने बित्तिक्कै यसो साहित्यिक काम गरेजस्तो गर्छौं र ठुलै तीर मारेजस्तो गरेर प्रचारप्रसार गर्छौं । कामभन्दा प्रचार ज्यादा देखिएको मेरो सन्दर्भमा पनि सही हो ।
नेपाली रचनालाई अङ्ग्रेजी वा अन्य भाषामा अनुवाद गरेर विदेशी पाठकसम्म पु¥याउन सम्भव छ कि छैन ? तपाईंलाई के लाग्छ ?
– नेपाली भाषाको स्तर अन्तर्राष्ट्रिय लेखनकै स्तरमा छ भनेर गर्वका साथ भन्न सकिन्छ । हाम्रा लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, माधव घिमिरे, मोहन कोइराला, भूपी शेरचन, बैरागी काइँला, ईश्वर वल्लभ, हरिभक्त कटुवाल, तुलसी दिवस, कृष्णभूषण बल, विष्णुविभू घिमिरे, दुबसु क्षेत्री, दिनेश अधिकारी, श्रवण मुकारुङका कविता विश्वको मापदण्डमा दाँजिन योग्य छन् । यसैगरी गोविन्द गोठाले, वीपी कोइराला, दौलतविक्रम विष्ट, इन्द्रबहादुर राई, मदनमणि दीक्षित, पारिजात, ध्रुवचन्द्र गौतम, सरुभक्त, वानिरा गिरी आदिका उपन्यास पनि विश्व स्तरकै छन् । कथामा पनि गुरुप्रसाद मैनाली, गोविन्द गोठाले, वीपी कोइराला, पुष्कर शमशेर, भवानी भिक्षु, ध्रुवचन्द्र गौतम, रमेश विकल, सनत रेग्मी, ध्रुव सापकोटा, सीता पाण्डे आदिका कथाहरूले विश्व साहित्यमा आफ्नो सबल उपस्थिति जनाउन सक्ने नै छन् । निबन्ध विधामा पनि देवकोटा, कृष्णचन्द्रसिंह प्रधान, भैरव अर्याल, शंकर लामिछाने, माधवप्रसाद पोख्रेल, कृष्ण धरावासी आदिका निबन्ध उच्चकोटिका छन् । पुरानो पुस्तादेखि समकालीन पुस्तासम्म यस्ता असंख्य नामहरू लिन सकिन्छ जसका रचना विश्वस्तरमा तुलनायोग्य र गणनायोग्य छन् । यस्ता अनगिन्ति कृतिहरू हामीले विश्वबजारमा प्रवेश गराउन सकेका छैनौं । अहिलेसम्म त नगण्य कृतिहरू अनुवाद भएका छन् जुन नबिकेर लेखक स्वयम् गुमनाम भएको अवस्था छ । कतिपय सुपरिचित लेखकहरू झोलामा किताब बोकेर बेच्न हिँडेको र कतिपय लेखकले आफ्नो कृति किनिदिन सामाजिक सञ्जालमा बारम्बार अनुरोध गर्दा पनि नबिकेको गुनासो बारम्बार सुनिएको छ । कृति उत्कृष्ट नभएर हैन अनुवादकको क्षमताको कमी अनि बजार व्यवस्थापनमा कमीका कारण पनि यो समस्या देखा परेको छ । विश्वबजारमा विशेषतः पश्चिमा मुलुकहरूमा एकैपटक दशौं लाखप्रति पुस्तक छापिन्छन् अझ त्योभन्दा त प्रकाशनपूर्व नै लाखौंप्रति माग भइसकेको हुन्छ । हाम्रो त्यो अवस्था छैन । हाम्रा कृतिहरू अनुवाद गरेर प्रकाशन गर्नु त एउटा आत्मरति मात्र भएको छ ।
अब यहाँले सोध्नुभएको प्रश्नमै केन्द्रित भएर एक वाक्यमा भन्नुपर्दा राम्रा उच्चकोटिका कृतिहरू विश्वबजारमा फैल्याउन सरकार, प्रज्ञा प्रतिष्ठान तथा अन्य निजी संस्थाहरूले गम्भीर पहल गर्नुपर्ने आवश्यकता टडकारो रुपमा देखिन्छ ।
नेपाली साहित्य लेखन र अन्तर्राष्ट्रिय साहित्यमा के फरक पाउनुभएको छ ?
– केही स्वनामधन्य लेखकहरूका रचना अन्तर्राष्ट्रिय साहित्यमा दाँजिन योग्य नै छन् । मैले माथि यस विषयमा चर्चा गरेको छु । तर समग्र लेखनको अवस्था हेर्दा हामी धेरै पछाडि परेका छौं । हामी कविता, उपन्यास, गजलमा के लेख्न हुन्छ, के हुँदैन भनेर बहसमा केन्द्रित छौँ आजपर्यन्त । विश्व हाम्रो जस्तो अर्थहीन बहस हेरेर, रमाएर बसेको छैन । साहित्यको यो यात्रामागोरेटो बाटोमै हिँडिरहेको छौँ हामी तर उनीहरू स्थलमार्गको राजमार्ग पनि छाडेर हवाइ उडानमा छन् । नयाँ नयाँ सिद्धान्त, वाद, धारा अनि आयाममा चलिरहेको छ विश्वसाहित्य । अर्को महत्वपूर्ण भिन्नता भनेको अध्ययनको कमी पनि हो । हामीले लेखेको हाम्रो परिवेश धरातलबाट बाहिर निस्कन सकेका छैनौँ । अरुको साहित्यलाई अझ भनौँ विश्वसाहित्यलाई नजिकबाट नियाल्न सकेका छैनौँ । विश्वसाहित्यलाई सुरुचिपूर्वक नियाल्दै हाम्रो परम्परागत सांस्कृतिक एवम् प्राकृतिक बिम्ब र प्रतीकलाई प्रयोग गरिएको सृजना नवीन र विश्वस्तरमा तुलनायोग्य नै हुन्छ भन्ने मलाई लाग्दछ ।
तपाईं हाल कतारको नेपाली दुतावासमा कार्यरत हुनुहुन्छ । त्यहाँको साहित्यिक अवस्था कस्तो पाउनुभएको छ ?
– साँच्ची भन्ने हो भने मैले सरकारी काम, साहित्यिक यात्रा वा निजी भ्रमणको सिलसिलामा तीन दर्जन मुलुक भ्रमण गरिसकेको रै’छु । यसपटक मध्यपूर्व आउँदा भने मलाई एक विशेष अनि पृथक् अनुभूति भएको छ । पारिवारिक सुखको खोजीमा अरबको खाडीमा ५० डिग्रीको तापक्रममा ढुङ्गा पिटेर, सडक बिल्डिङ बनाएर बचेको समयमा साहित्य सिर्जना गर्ने यहाँका हातहरूलाई म त हृदयदेखि नमन गर्न चाहन्छु । पसिना बगाएर भौतिक सुख कमाएको खुसी एकातिर छँदैछ भने अर्कोतिर परिवार छुट्टिनु परेको प्रवासी जीवनका पीडाहरू त असीमित छन् । कामकै सिलसिलामा हात काटिएका, खुट्टा भाँचिएका अनि आफ्नो देश फर्कंदा पनि कफिनमा लास भएर फर्किनुपर्ने असह्य वेदनाहरू त कति हो कति छन् । काम नपाउने, दलालले पलपल ठग्ने, सरकारी निकायले दुःख दिने सबै कठिनाइ बेहोर्दै पनि अलिकति खुसी र मनको सन्तोकको लागि सिर्जना गरेर रमाउने सर्जकहरू असंख्य भेटेँ मैले । अरबमा लेखिएका कविता, उपन्यास, कथामा नेपाली साहित्यकै मूलप्रवाह बराबर खोज्नु गलत मात्र हैन अज्ञानता पनि मान्छु म । तथापि गजल, मुक्तक, गीतजस्ता विधामा मूलप्रवाह बराबरको वा अझ त्योभन्दा पनि उत्कृष्ट सिर्जना हुने गरेको छ ।
तपाईंको विचारमा वर्तमान नेपाली साहित्यको स्थिति कस्तो छ र कस्तो हुनुपर्छ भन्ने लाग्छ ?
– सिर्जनात्मक लेखनको आधारमा नेपाली लेखन पनि निकै समृद्ध रहेको छ । तर वास्तविक लेखनलाई व्यवसायीकरणको प्रभाव पर्न थालेर संकटको अवस्थामा गुजर्दैं छ नेपाली साहित्य । गुणवेत्ताका आधारमा कमजोर भएका रचनाहरू पनि ठुलाठुला प्रचार सामाग्री होर्डिङ बोर्डमा प्रचार गर्ने, ठुलाठुला घरानाका मिडियाबाट लेखनको मूलमर्म नै नबुझ्ने गरी प्रचारप्रसार हुने तर राम्रा कृतिहरू छायामा पर्ने अवस्था सिर्जना भएको देखिन्छ । अझ तिनै स्वघोषित लेखकहरू नै राखेर लिटररी फेस्टिबलका अनेक नाममा साहित्यको हुर्मत काड्ने अनि त्यही आत्मरतिमा रमाउने काम भैरहेको छ । यसले दूरदराजमा बसेर भाषा, साहित्यको उत्थानमा लागी पर्ने विशुद्ध साहित्यकार छायामा परेको अनुभूति भैराखेको छ । अझ प्रवासका भूमिमा श्रम खर्चदैं साहित्य सेवा गर्ने श्रमिक त गुमनाम बनाउने अवस्था पनि छ । त्यसमाथि गहन र गम्भीर साहित्य नै नभएका सडक कविताजस्ता रचनाहरूलाई अधिक महत्व दिने गरिदा पनि गम्भीर प्रकृतिको सिर्जनामा असर परेको छ । अर्को प्रसङ्ग पनि छ पुरस्कारको विकृति । पुरस्कार सट्टापट्टादेखि पुरस्कार पाउनलाई मरिहत्ते गर्ने, पुरस्कार पाउने मात्र साहित्यकार नपाउने गैरसाहित्यकार अनि पुरस्कृत कृति मात्र ठुलो अरु केही हैन भन्ने सतही प्रचारबाजी र प्रपोगण्डाबाट पनि नेपाली साहित्यलाई जोगाउनु पर्नेछ । यी यस्तै सीमाबाट जोगाउन सके त नेपाली साहित्य मैले माथि भनेझैं निकै समृद्ध र विश्वस्तरको नै छ भन्न हिचकिचाई रहनुपर्दैन ।
हाल यहाँ साहित्यसम्बन्धी के गरिरहनुभएको छ र भविष्यमा के कस्तो लक्ष्य राख्नुभएको छ ?
– भविष्यमा यही नै गर्छु भनेर खासै त्यस्तो योजना केही बनाउने गरेको छैन । योजना बनाएर लक्ष्य राखेर काम गर्ने मान्छे नभएर नै लथालिङ्ग छु म । हालै, कतारमा भोगेका घटना परिघटनाहरू जोडेर नयाँ कवितासङ्ग्रह तयार भएको छ । भूमिका लेख्ने काम सकिने बित्तिक्कै प्रेसमा पठाउन तयार गरेको छु । यसमा साठी वटा कविताहरू छन् । जसमा पहिलोपल्ट प्रवासका पीडासँगै प्रेमप्रणयसँग सम्बन्धित कविताहरूमात्र सिर्जना गरेको छु । दुई वर्ष पहिले वीपी कोइराला फाउन्डेसनबाट कालजयी नेपाली कविताको सम्पादन गरेको थिएँ । त्यसको अङ्ग्रेजी र हिन्दी अनुवाद यस वर्ष प्रकाशन गर्ने तरखरमा छु । मेरो मित्र विलयन कवि मनोज न्यौपानेसँग मिलेर विलयन लेखनसँग सम्बन्धित केही थप कामहरू पनि गर्ने सोचमा छु ।
लेखक र पाठकप्रति यहाँको कुनै सुझाब एवम् प्रतिक्रिया छ ?
– हामी लेखकहरू विगतदेखि आजपर्यन्त समान प्रकृतिका समस्यासँग जुधिरहेका छौं । आजभन्दा ७० वर्ष पहिले साझाले कुनै लेखकको कृति एक हजारप्रति छाप्थ्यो आज पनि उति नै प्रति छाप्छ । तर त्यो बेला एक हजारप्रति घरघरमा बाँडेर पढ्ने पाठकहरू हुनुहुन्थ्यो । रामायण घरघरको अमूल्य सम्पत्ति थियो त्यो बेला । आज लेखकका कृतिहरू गोदाममा थुप्रिएका छन् । कतिपय लेखकहरू त झोलामा किताब बोकेर स्कुल कलेजमा बेच्दै हिँडेको सुन्नमा पाइन्छ । स्वयम् विश्वविख्यात वैज्ञानिक महावीर पुन टाउकोमा किताब बोकेर गाउँगाउँ बेच्दै हिँड्नु परेको छ भने सामान्य लेखकको अवस्था के होला यसै अनुमान गर्न सकिन्छ । पाठक गुमाएर लेखक भएको अहम् पाल्दै गरेका छौं हामीले । त्यसमाथि सामाजिक सञ्जाल र विश्वलाई एकै आँगनमा ल्याइपुराउने ग्लोबलाइजेसनले त नेपालका साहित्यकारहरू टामाटिमी अवस्थामा पुगेका छन् । यसतर्फ गम्भीर भएर बेलैमा सचेत हुनु परेको छ । पाठकलाई त के भनौं र मैले । लेखकले सबै गुमाउन सक्छ तर पाठक गुमाउन सक्दैन । पाठक पनि वास्तविक लेखक र अरुमा फरक छुट्याउन सक्ने स्तरमा बसिदिन अनुरोध छ । सस्ता रचनालाई नै महान् पगरी भिराइदिएर एउटा गम्भीर सर्जकको कृति छायामा नपरोस् भन्ने तर्फ पाठक पनि सचेत हुनुपर्नेछ । लेखक पनि गम्भीर लेखक र पाठक पनि गम्भीर पाठकको रुपमा भइदिए नेपाली साहित्यको कालजयीपनको कल्पना गर्न सकिन्छ भन्ने म ठान्दछु ।
अन्त्यमा अन्तर्बोध मार्फत साहित्यिक मनहरूलाई केही भन्नु छ कि ?
– खासै केही छैन । म त अचेल छापिनभन्दा पनि छोपिन रुचाउन
थालेको छु । अन्तर्वार्ता नदिएको लामो समय व्यतित भैसकेको रहेछ । आज अन्तर्बोधले पाठकसमक्ष
पुग्ने अवसर दिएको छ । मैले आफूलाई लागेको विचार खुला हृदयले पेश गरेको छु । कसैलाई
आक्षेप लगाएको हैन तर त्यस्तो लागेको देखिएमा म यसै वार्तामार्फत सबैसमक्ष क्षमायाचना
पनि गर्दछु । लामो समय पश्चात पाठक समीप पुग्ने अवसर दिनुभएकोमा अन्तर्बोध साहित्यिक
त्रैमासिकलाई हार्दिक आभार प्रकट गर्दछु । धन्यवाद ।