अछामी... रौतेल... सत्ववाद
साँझ पर्न अझ धेरै बाँकी छ । अछामी शासक नाग मल्लका रौतेला (राजकुमार) रिपुमल्लको तथ्य जान्ने जिज्ञासा मेरो मनमा अविरल बढिरहेकै हुन्छ । सानैदेखि तेजिला र फुर्तिला थिए यतिले मात्र मेरो धित मरेको छैन । पूर्णता नै मृत्यु भए अपूर्णता मृत्युको दैलो पनि त हुन सक्छ । लोककथा भन्ने वस्तु समय र स्थानको सम्बन्धमा बुझ्नु पर्छ— तथ्य यही नै हो । मानिसहरू लोककथाको परिधिभित्र स्वतन्त्र भएर, शान्त वातावरणमा आफ्नै प्रकारको इतिहासको रूपरेखा स्पष्ट रूपमा कोर्छन् । देख्ने सुन्ने सबैले रौतेलालाई पछि सुयोग्य शासक हुनसक्ने अनुमान गरेका थिए । मानिसहरू आफ्नो मनको बह लोककथाको रूपमा कहेर शान्ति र सान्त्वना पाउन चाहिरहेकाहुन्छन् ।
आजभन्दा निकै वर्ष अगाडि नेपालको सुदूर पश्चिम डोटी राज्यको अजमेरूमा कुशल शासकको अभाव भएकोले राज्यप्रति वफादार भाइभारदारले कुशलतापूर्वक राज्य चलाउन सक्ने शासक खोज्दै थिए । हुन पनि कुनै राज्य कुशल शासकको अभावमा अस्तव्यस्त हुनेगर्छ । राज्यको अस्तव्यस्तता हटाउन हाँसु कठायत, प्रयाग जैसी आदि भारदार ठालुहरूको बैठक बस्यो । पुरानो समृद्ध राज्य डोटी मासिन दिन चाहेनन् । अछामी रौतेला रिपुमल्लमा उनीहरूले चाहेको प्रतिभा देखे ।
यसकारण उनीहरूले नाग मल्लसँग रिपु मल्ललाई मागेर गद्दीमा राख्ने निर्णय लिए । यस कामको लागि हाँसु कठायतको नेतृत्वमा एउटा प्रतिनिधि मण्डल बनाए । ज्योतिषीले निकालेको शुभ साइतमा त्यो प्रतिनिधि मण्डल अछाम पुग्यो ।त्यो प्रतिनिधि मण्डल अछामको तिमिलसैन पुग्यो । सुयोग्य शासक मागेर ल्याउने तथ्य ध्यानमा राखेका थिए । नेतृत्व गरेका हाँसु कठायतले नाग मल्लसित कुरा राखे । कसैसँग केही कुरा माग्ने काम सहज होइन । माग्न त, जुंघा समातेर होइन पाउ पर्न सक्नुपर्छ । लामो छलफलपछि नाग मल्लले— “रौतेलाले के भन्छ, मानेछ भने सल्लाहा गरौँला” भन्ने जवाफ दिए ।
नाग मल्लले रौतेला रिपु मल्ललाई पहिले एकान्तमा बोलाएर डोटी राज्यको राजा बन्न जान सक्ने या नसक्ने बारे सोधपुछ गरे । ज्ञान, असल र खराबको विचार, डर, त्रास, चिन्ता, असुरक्षा आदि विचार गरी आफ्नो योग्यता र बहादुरी देखाउन पाइने मौका गुमाउन नचाहेका रौतेला राजी भए । प्रचलन अनुसार नाग मल्ल, रौतेला र हाँसु कठायतको प्रतिनिधि मण्डलबीच धर्म–सम्झौता भयो । उत्तम साइत जुराउनका लागि प्रयाग जैसीलाई जिम्मा दिइयो । उनले स्थानीय ज्योतिषी समेतलाई साक्षी राखेर असोज अष्टमीको सुदिन खटन गरे । सो तिथिमा लिन आउने गरी प्रतिनिधि मण्डल डोटी फक्यो ।
डोटी राज्य र रिपु मल्लको अस्तित्व र भावना मिल्दोजुल्दो देखिएकोले बाजा, घोडा र झराला सिपाहीको लस्कर लिएर तोकिएको साइत छोप्न अछाम पुगे हाँसु कठायत र प्रयाग जैसी । अछामी राजा नाग मल्लले रौतेलाको भावनालाई नैतिकताको दृष्टिकोणले हेरेको हुँदा आएका लस्करलाई बाख्रो काटेर भोज ख्वायो । अनर्थ हुन नपाओस् भनी प्रयाग जैसीले खट्न गरेको शुभ साइतमा रौतेला रिपु मल्ललाई टीका लगाइ, माला पहिराइ, श्यामकर्ण घोडामा चढाइयो । दमाई अघि लगाएर बाजा घन्काइयो । कलसारू पञ्चकन्या र जैसीलाई समेत अघि लगाइ बिदा गरियो ।
नेपालको सुदूर पश्चिम भेग अशान्त डोटीको अजमेरुमा त्यो लस्कर पुग्यो । त्यहाँ उपस्थित विशाल जनसमूहले भव्य स्वागत ग¥यो । अनि धामी, डाङ्ग्रेहरूले बाह्र भाइ मस्ट, नौ बैनी भवानी, कैलास, मानसरोवर, शैलेश्वरी, मालिका, सुर्मालगायत अन्य देवीदेउतालाई “दाहिना भए, रख्खे गरे” भन्दै पुकारे । अनि राज्यका जनता नयाँ राजाको शासन कस्तो होला भनी आपसमा कानेखुशी गर्दै राजाको सत्ववाद एक एक गरी विचार गर्ने सल्लाह गरे । धूप, ध्वजा, अक्षता र पाठा चढाइँ बढाइँ सहित अछामी रौतेलालाई डोटी अजमेरुको गद्दीमा बसाले । मलाई थाहा छ, नेपाली लोककथाका आधारभूत तत्वहरू, वास्तवमा लोक इतिहास नै हो । पहिलेका शासक निरै पाललाई हाँसु कठायतको नेतृत्वमा भारदारी–ठालु सभाको निर्णयबाट पदच्युत गरी सकिएको थियो ।
जनसाधारणले ओलक–कोसेली ल्याएर भेट गरे । हुड्केहरू गाथा–चाँचरी गाएर नाचे । खेलाडीहरू देउडा खेलेर रमाए । अब त शासन बदलिएको थियो । लथालिङ्ग भएको शासन व्यवस्था सुदृढ हुँदै गयो । पछि अछाम, उकु, अजमेरु, देवल हाट आदिको संयुक्त डोटी राज्य बनी त्यसको राजा रिपु मल्ल नै भए । अजमेरुकोटमा सुन्दर देवल, स्नानघर, पँधेरा र चौतरा बनाइए ।