कविता -
म भोग्दै छु मैभित्र पीडा दुखेको ।
म खोज्दै छु अस्तित्व मेरो लुकेको ।।
स्वयंबाट टाढा भएझैँ विचित्रै ।
हराएछु मैले मलाई मभित्रै ।। १
कुराबाट सिक्ने अनौठा कुराले ।
मलाई सिकाए र बुझ् भन्न थाले ।।
मलाई नचिन्ने म कस्तो रहेछु ।
भयो ज्ञान अज्ञानमा पो रहेछु ।। २
थिएभित्र मेरा अनेकौँ तरङ्ग ।
निकै भोगवादी, विलासी
उमङ्ग ।।
यिनैले छिराए अँध्यारो कुनामा ।
म मख्खै थिएँ मोजको भावनामा ।। ३
मलाई म चिन्दै छु बिस्तार आज ।
र लाग्दै छ आफ्नै कथा भन्न लाज ।।
म मान्छे हुनै पर्छ भन्ने बुझेरै ।
निहार्दै छु आदर्शमा रूप मेरै ।। ४
‘म’को कल्पना भावना होस् सबैको
।
म हाँस्दा मनोभाव हाँसोस् सबैको ।।
जसै रुन्छ कोही म कल्पेर रोऊँ ।
म एक्लै यहाँ हाँस्न खोज्ने नहोऊँ ।। ५
अहङ्कारले, स्वार्थले
टुक्रिएँ म ।
स्वयंबाट विच्छिन्न जस्तै थिएँ म ।।
मलाई जगाए छिरी चेतरश्मि ।