मजदुर बजार
संविधानको प्रस्तावनालाई
देब्रे आँखा झिम्क्याउँदै
चलेको छ व्यस्त सहरको चोकमा
एउटा मजदुर बजार
कोही जिन्दगीको साइकल पेल्दै आएका छन्
कोही कुर्कुच्चा खिइएको चप्पलले
खियाउँदै आफ्नो भाग्यको चक्र
कोही खाली खुट्टाले माटोको गाला चुम्दै
कोही चरम बाध्यताको इन्धनले
जिन्दगीको इन्जिन लतार्दै
तर सबैले बोकेका छन् केही न केही
कसैले बोकेका छन् विधान बनेको खुर्पी
कसैले तक्दिर बनेको कोदालो
कसैले तुवाँलो बढार्ने वर्षातजस्तो झाडु
कसैले हथाँैडा जस्तो मठी
सबैको विवशता एउटै देशान्तर रेखामा हिँडेको छ
सबैको गालामा नियति एकै तालमा नाँच्छ
सबैको भाग्यको पहिरो एकै लयमा खस्छ
सबैको निधारमा बेरोजगारीको थप्पड एकै चोट्ले पर्छ
सबैको पेटमा अस्थवस्थ सँगै
भोक एकै मुद्रामा खिल्खिलाउँछ
रोजगारीको सपना टाढा आकाशको चङ्गाझैं टाँगिएको छ
यद्यपि कमजोर आशाको लहरो समात्दै झुन्डिएका छन् मजदुरहरू
किनभने बाल्नुछ भरे चुलोमा भोकको ठिही सेक्ने आगो
पोत्नुछ सन्तानका गालामा हाँसोको रंग ।
उभिएका छन् यिनीहरू सडक पेटीमा लहरै
मानौं कि यी व्यस्त शहरको सडक पेटीमा
बिक्रीको निम्ति सजाइएका सस्ता चाइनिज सामानहरू हुन्
आउँछ एउटा भुडिबाल क्रेता जसको खन्नु छ बारी
गर्छ मोलमोलाई एउटा भोको मजदुरसँग
जसले कहिल्यै गरेको थिएन मोलमोलाई
पिज्जा र बर्गर पार्लरहरूमा
अर्को आउँछ पुँजीवादको पासो
थाप्छ र पार्छ एउटा बुढो मजदुरलाई ।
यो बाध्यताको ग्यास च्याम्बर हो
केही गर्नुको विकल्पहीन बिकल्पभित्र
सास फेर्दा फेर्दै मरेका छन् यिनका रहरहरू
यो समयको उष्णतामा
अग्लिनु अघि नै पग्लिएका छन् सपनाका हिमशिखरहरू
मध्ययुगीन दास बजार सम्झाउने आधुनिक पुँजीबजारमा
चलिरहेछ भोकको अनन्त खरिद बिक्री
विवश शोकगीतको निर्लज्ज क्रय बिक्रय
तर छेवैको पुरानो प्रेक्षालयमा भने
एउटा बुढो प्रोफेसर पढाइरहेछ माक्र्सवाद ...वर्षौदेखि ।
– बर्दिबास –१४, महोत्तरी