समीक्षा -
सदानन्द अभागी
डुमरवानाको सेरोफेरोभित्र नवराज रिजालको दृष्टि
डुमरवानाको सेरोफेरो स्थान विशेषको बारेमा लेखिएको परिचयात्मक पुस्तक हो । वि.स.२०५८ सालमा प्रकाशित यो पुस्तकबाट डुमरवाना गाविसलाई चिनाउने काम गरिएको छ । हालको वर्गीकरणअनुसार १६ स्थानीय तह रहेको बारा जिल्लामा त्यतिबेला ९८ गाविस र एक नगरपालिका थिए । डुमरवाना तिनैमध्येको एउटा स्थानीय निकायको नाम हो । हाल यो गाविस जितपुरसिमरा उपमहानगरपालिकाभित्र समेटिएको छ । आधा दर्जनभन्दा बढी स्थानीय तहहरू मिलाएर बनाइएको जितपुर–सिमरा उपमहानगरपालिकामा साविकको डुमरवाना गाविसको सम्पूर्ण क्षेत्रलाई ४ वटा वडाहरूमा विभाजन गरिएको छ ।
प्रस्तुत डुमरवानाको सेरोफेरो डुमरवाना गाविसको चिनारीको रूपमा प्रकाशित पुस्तक हो । तर त्यतिमा मात्र यो पस्तक सीमित छैन । यो पुस्तकको महत्व आज पनि त्यत्तिकै छ । घना जङ्गल र महेन्द्र राजमार्गले छोएको डुमरवानालाई जान्न र बुझ्न यो पुस्तक अत्यन्तै उपयोगी रहेको छ । डुमरवानाले गरेका सामाजिक, सांस्कृतिक, शैक्षिक र विकास निर्माणका क्रियाकलाप यहाँभित्र मिहिन ढङ्गले समेटिएको छ । यसका लागि स्रष्टा रिजालले निकै परिश्रम र मेहनत गरेका छन् । यो पुस्तकमा आवरण पृष्ठ सहित अगणनीय २०, गणनीय पृष्ठ ९६ र विविध ८ गरी १२४ पृष्ठ सङ्ख्या छन् । डुमरवाना गाउँ विकास समिति नै प्रकाशक रहेको यस पुस्तकभित्र निभिन्न १२ उपशीर्षकहरू रहेका छन् । यी उपशीर्षकले डुमरवानाको सम्पूर्ण परिवेश खोतलेको छ । यतिमात्र हैन मात्र यसको विगत र वर्तमान जान्न खोज्नेहरूको जिज्ञासा पनि पूरा गर्ने अभीष्ट राखेको छ ।
पुस्तकभित्र समाहित तितो÷टर्रो उपशीर्षकमा अनुसन्धानकर्ताको डुमरवानाप्रतिको धारणा रहेको छ । डुमरवानाप्रति उनी अभिमत यसरी राख्छन् –“डुमरवाना मेरो गाउँ, मेरो बस्ती । डुवमरवाना मेरो हाँसो मेरो खुसी । डुमरवाना मेरो सपना, मेरो विपना । डुमरवाना मेरो विगत, मेरो वर्तमान । डुमरवाना मेरो हाँगो मेरो डाली ।” यसरी डुमरवानालाई सबैथोक देख्ने र मान्ने रिजालले डुमरवानालाई अत्यन्तै प्रेमिल भावले सम्बोधन गरेका छन् । त्यही माटोका उपज रिजालले गरेको माटोको भक्तिलाई अस्वभाविक मान्न सकिँदैन । यो उनको उच्च माटो प्रेम हो । हरेक माटो प्रेमीहरूले गर्ने अभिव्यक्ति यस्तौ हुन्छ । यसर्थ उनी डुमरवानालाई आफूभित्र समाहित गरेर सम्बोधन गर्छन् । आफू र आफ्नो परिवेश भुलेर कहिल्यै अगाडि पुग्न सकिँदैन । यो यर्थाथ बुझेका त्यहीँका स्थानीयवासी रिजालको सोच र चिन्तनलाई अन्यथाको नजरले हेर्न सकिँदैन ।
स्थायीबासी हुनुको नाताले उनी डुमरवानाप्रति अगाध श्रद्धा र आदरभाव राख्छन् । यो हेरक सचेत नागरिकमा हुनुपर्ने यो एउटा मौलिक गुण होे । आफ्नो पहिचान वा चिनारी खोज्नेले आफू उभिएको धरातल सम्झनु अति आवश्यक छ । न सम्झे पनि बाँझ्न त सकिन्छ तर त्यो पहिचानको बचाइ हुन सक्दैन । यस पुस्तकले तत्कालीन डुमरवाना को यथार्थतालाई सूक्ष्म ढङ्गले विश्लेषण गरेको छ । वर्तमानमा नाफामुखी चिन्तनले ठुलो काम गरिरहेको छ । म र मेरोको भावको सर्वत्र राज छ । आफू जन्मेको माटोको लागि केही गरौँ भन्ने सोच बोकेकाहरू सानो सङ्ख्यामा छन् । ठुलो सङ्ख्यामा रहेकाहरूको नजरमा ती कुरा पर्न सकिरहेका छैनन् । भाषा, साहित्य, कला र संस्कृतिप्रति आममानिसको खासै ध्यान जान सकिरहेको छैन । राज्य पनि खासै सम्वेदनशील भएझैँ लाग्दैन । रिजाल यी कुरामा अत्यन्तै सचेत र संवेदनशील देखिन्छन् । ती कुराहरू बिर्सेर सकारात्मक जिन्दगी बाँच्न नसकिने उनको मनसुवा देखिन्छ ।
हिजोदेखि आजसम्म देशको हाम्रो सम्पूर्ण वातावरण राजनीतिमय, भाषणमय र होहल्लामय छ । अहँ, विकासमय, प्रगतिमय र उन्नतिमय पटक्कै हुन सकिरहेको छैन । अधिकांश मानिसहरू सम्पूर्ण रूपमा आफूलाई भुलेर ती कुराहरूको पछिपछि दौडिरहेछन् । त्यस्ता कुराले तिनीहरूका मन मस्तिष्क पुरापुर भरिएका छन् । आफूलाई सम्पूर्ण रूपमा भुलेर ती त्यस्ता कुराहरूमा रमाइरहेका छन् । त्यो उन्नति र प्रगतिको बाटो हैन । विश्वास बेच्नेहरू पेट पालेका भरमा आफूलाई चिरञ्जीवी भनाउन तल्लीन देखिन्छन् । राजनीतिका पनि सीमा र अवस्था हुने हुँदा यसलाई विश्वासको छातीमा राख्नुपर्ने आशय लेखकको देखिन्छ । मानिस संस्कृति र परम्पराप्रति विमुख हुँदै पराया संस्कृति अवलम्बनतिर लागेकामा उनको मनमा पीडा र आक्रोश देखिन्छ । आफूलाई नेपाली जाति भन्न रूचाउने हामीले नेपाली हुन के के गरेका छौ त ? यो प्रश्न उनले सबैका सामु राखेका छन् ।
यही माटोमा केही गरौँ, गर्नुपर्छ र गरे सकिन्छ भन्ने सोचका उनी देशको माटोलाई प्रत्येक नागरिकले चुमिरहनुपर्छ भन्ने धारणा राख्छन् । हाम्रो ध्यान यता गएको छ त ? उनको बारम्बारको प्रश्न छ । हामी हाम्रो देश नेपाल बनाउने देश निर्माता तथा अग्रजहरूको जानकारी भन्दा विदेशीहरूबारे जान्न र बुझ्न धेरै उद्यत
छौँ । पहिले आफूलाई चिनेर अर्कालाई चिने राम्रो हुने उनको सोच देखिन्छ । आफूलाई कहिल्यै चिन्नतिर नलाग्ने तर पराय मात्र चिन्न खोज्ने सोच कुनै पनि हालतमा राम्रो हैन । यसले क्षणिक रूपमा लाभ दिलाए पनि कालान्तरमा हानि हुने निश्चित जस्तै छ । यसर्थ त्यसो नगरौँ सधैँ देश र देशको माटोलाई शिरमा राखेर अगाडिको बाटो तय गरौँ रिजालको प्रेमपूर्ण आग्रह रहेको छ । हामी यो बाटोबाट विस्तारै अर्को बाटोतिर गइरहेका छौ । बेलैमा सोचौँ उनी आग्रह र अनुरोध दुवै गर्न बिर्सदैनन् ।
अतीतदेखि वर्तमानसम्मः उपशीर्षकमा डुमरवानाको पृष्ठभूमिदेखि नामाकरणसम्मका कुराहरू आएका छन् । पृष्ठभूमिमा ७५ जिल्ला, १४ अञ्चल र ५ विकास क्षेत्रअनुसार मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल बारा जिल्लाको डुमरवाना गाविस र यसको विकास कर्मलाई जोडिएको छ । डुमरवानामा मानव बसोबास भएको दुईसय वर्षमा पुग्न लागे पनि यसको स्वरूप बृद्धि ४०÷४५ वर्ष अघि सुरु भएको उनको ठम्याइ छ । नेपाल एकीकरण हनुअघि बारा जिल्ला तिरहुत अर्थात् सिम्रौनगढबाट मकवानपुर राज्यमा पर्नु, त्यहाँका राजा हिउँदमा बारागढीमा बस्न जानु, यो क्षेत्रमा प्रशस्त वन हुनु, राणाकालीन प्रधानमन्त्रीहरू शिकार खेल्न आउनु जस्ता कुराले यो क्षेत्रको महत्व बढाएको छ । अझ यो कृषि प्रधान जिल्ला हो र यसले काठमाडौँको बजारमा तरकारी र खाद्यान्न पु¥याइरहेको छ भन्ने लेखकको ठहर छ ।
महेन्द्र राजमार्गको निर्माणअघि काठमाडौँबाट ठोरी हुँदै पूर्वी तराईका जिल्लाहरूमा जाने अधिकांश कर्मचारी यही बाटो हुँदै आवत जावत गर्नु,, नेपालको जेठो राजनीतिक दल प्रजा परिषद्का नेता टंकप्रसाद आचार्य र दशरथ चन्द्रका बिच वि. सं. १९८० मा राणा शासनको अन्त्यको लागि डुमरवानाकै वार्ड नं. ७ (हालको जितपुर सिमरामा १६) मा पर्ने मौवादहमा विस्तृत कुराकानी गरिएको तथ्यले पनि यो स्थानको महत्व दर्शाउँछ । गाविस नामाकरण सम्बन्धमा तीन परिभाषा उल्लेख गर्दै यथार्थको नजिक रहेको परिभाषालाई विश्लेषण गर्ने काम समेत गरिएको छ ।
भौगोलिक वस्तुस्थिति उपशीर्षकमा यसको क्षेत्रफल अन्दाजी ५४ वर्ग किलोमिटर, सिमाना (पूर्वमा हरैयार मनहर्वा, पश्चिममा सिमरा, उत्तरमा अमलेखगञ्ज र दक्षिणमा फत्तेपुर गाविस रहेको उल्लेख छ । भू–बनोटमा पूर्ण रूपमा तराई प्रदेशमा पर्ने, हावा पानी उष्ण र अर्धउष्ण, नदीनाला दुधौरा, बालगंगा, पसाहा, प्राकृतिक वनस्पतिमा गाविसको उत्तरमा घना तथा उष्णप्रदेशीय सदाबहार जंगल र दक्षिणमा मानव बस्तीहरू, पशुपंक्षीमा जंगली र घरपालुवा जनावर भएको तथा आरक्षबाट आउने हात्ती तथा बाघले दुःख दिने गरेका अनेक सन्दर्भ छन् । पर्यटकीय क्षेत्रको सम्भावनामा हलखोरिया दह, जलेश्वर महादेव, नवदुर्गा भवानी, रामजानकी मन्दिर, जघट्टा र मैनादेवी मन्दिर आदि विवरण रहेको देखिन्छ ।
सामाजिक परिवेशमा विविधताले सजिएको समाज, विभिन्न जातजाति सहित रैथाने थारु, ब्राह्मण, क्षत्री, नेवार, मगर, गुरुङ, राई आदिको मिश्रित बसोबास रहेको उल्लेख छ । रहनसहन बहुजातीय बहुभाषी, बहुधार्मिक र बहुसंस्कृतिक भएकोले आआफ्ना परम्परा संस्कृति चाडपर्व आदि साथमा लिएर आएका र मानिरहेका पाइने उल्लेख छ । भेसभुषामा (रैथाने जाति र हिमाली क्षेत्रदेखि पहाड हुँदै विविध स्थानबाट बसाइँ सराइँ गरेर आएका र भारतीय मूलका समेत आदिको आफ्नै किसिमको वेसभुषा पहिरन रहेको उल्लेख छ । यसको अलावा आम मानिसहरूमा सांस्कृतिक सचेतना कम हुँदै गएको चर्चा पनि गरिएको छ ।
धर्ममा हिन्दु धर्माबलम्वीको बाहुल्यता भए पनि बौद्ध, क्रिश्चियन र इस्लाम पनि रहेको उनको धारणा छ । धार्मिक स्थल र मठमन्दिरमा रामजानकी मठ डुमरवानाको सबभन्दा पुरानो देवस्थल भएको र हरेक वर्ष शिवरात्रीमा मेला लाग्ने लेखककोले उल्लेख गरेका छन् । भाषामा नेपाली भाषा पहिला, थारु दोस्रो भाषाका रूपमा छन् । यसैगरी भोजपुरी, धाँगड, राई, लिम्बू, तामाङ, मगर, नेवार,गुरुङ आदि यहाँका अन्य भाषाहरू हुन् ।
शैक्षिक भावभूमिमा डुमरवानामा करिव २०० वर्ष अघिदेखि मानव बस्ती बसेको भए पनि शैक्षिक इतिहास त्यति लामो नभएको उनको ठहर छ । यही गाविसको वडा ७ मा नवराज रिजाल र दिलबहादुर भट्टराईको विशेष सक्रियतामा २०३८ सालमा नवयुवा पुस्तकालय खुलेको इतिहासको उल्लेख गरेका छन् । यही पुस्तकालयले २०३९ को दसैँको अवसरमा ‘गंगालालको चिता’ र २०४० सालमा बौलाहा काजीको सपना नाटक मञ्चन गराएको उल्लेख छ । त्यसपछि पनि जनचेतनाका लागि भन्दै विभिन्न नाटकहरू देखाइएको तर पछि गएर यो कामले निरन्तरता पाउन नसकेको उनको ठहर छ । यसैगरी हात्तीसारमा खुलेको पुस्तकालय पनि नियमित हुन नसकेर
कालान्तरमा बन्द भएको कुरा उनले सो पुस्तकमा लेखेका छन् ।
अभिमत उपशीर्षकमा भोलिको डुमरवाना कस्तो हुनुपर्छ ? तपाई कस्तो डुमरवानाको परिकल्पना गर्नुहुन्छ भन्दै लेखकले विभिन्न स्थानीय व्यक्तिहरूसँग कुराकानी गरेका छन् । सुव्यवस्थित डुमरवानाको निम्ति आवश्यक पर्ने मुख्य मुख्य कुरा केके होला भन्ने प्रश्न चार दर्जन व्यक्तिसँग राखिएको उल्लेख छ । यस्तो अभिमत डुमरवानाका गाविस अध्यक्ष, उपाध्यक्ष र स्थानीयवासी स्नातकहरूलाई सोधिएकामा थोरैले मात्र उत्तर दिएका थिए । अर्थात् तिनीहरूमध्ये ९ जनाले डुमरवानाको विकाससम्बन्धी र एक जनाले वनसम्बन्धी धारणा राखेका थिए ।
यो पुस्तकमा गाविसको सम्पत्ति विवरण, प्रमुख समस्याहरू र समाधानका निम्ति गरिएका प्रयत्नहरू, भविष्यका लक्षहरू, गाविस भित्रका विभिन्न तालिम प्राप्त प्राविधिक जनशक्तिको विवरण, गाउँ विकास समिति डुमरवानाले २०५४ देखि २०५८ सम्म गरेका कामहरूको विवरण लागत रकम, उपलब्ध जनसहभागिता, लाभान्वित घरपरिवार विवरण, गाउँ विकास समिति डुमरवानाको आम्दानी खर्चको विवरण, विविध फोटोहरू, उपसंहार सन्दर्भग्रन्थ सूची, परिशिष्ट १ मा वर्तमाान डुमरवाना गाविसले हालसम्म गरेका कामहरूको छोटकरी विवरण, गाविस डुमरवना वडा नं ४ कि. नं. १५५ को जग्गाको, व्यवस्थापन कार्य योजना, अभिनन्दन पत्र, कदर पत्र आदिको विवरण सहित यो अनुसन्धान अध्ययन समाप्त भएको छ । अनुसन्धान भन्दा पनि यहाँ खोज्ने काम भएको छ भन्न सकिन्छ । खोज्ने कामको पनि अनेक उद्देश्य हुन्छन् । यहाँ डुमरवाना गाविसको यथार्थ अवस्था कस्तो छ, कमी कमजोरी के के छन् । यसलाई कसरी सुधार गर्न सकिन्छ । यसको बहुमुखी विकास कसरी गर्न सकिन्छ, त्यसको लागि भावी योजनाहरू के के छन् । यिनै विषयमा रिजालजीले बहुआयामिक रूपमा अध्ययन गर्ने प्रयास गर्नु भएको देखिन्छ । यो अत्यन्तै सह्रानीय काम हो । यसले एकातिर यहाँको परिचय विस्तार गर्छ भने अर्कोतिर जनाका नाममा भए गरेका काम पनि देखाउँछ ।
खोजी निरन्तर चलिरहने प्रक्रियाको नाम हो । यो कहिल्यै पनि सकिँदैन । अस्तिदेखि आजसम्म खोज्ने क्रम चलिरहेको छ । खोजकर्ताहरू आआफ्ना काममा लागिरहेका छन् । भोलि वा पर्सि पनि खोज्ने काम सकिँदैन । यो त निरन्तर चलिरहन्छ । सकिने भएको भए हाम्रो भागमा यो काम आउने नै थिएन । यसर्थ खोज्ने काम हाम्रो भागमा आएको हो । अनि हामीले यो काम पूरा गर्न सक्दैनौँ । यसको जिम्मा भावीपुस्ताको काँधमा पुग्छ र उनीहरूले पनि त्यो काम पछिल्लो पुस्तालाई जिम्मा लगाउँछन् । यसरी त्यो काम नरोकिइकन अगाडि अगाडि बढ्दै जान्छ ।
डुमरवाना गाविसको अध्ययनमा स्थान विशेष अवलोकन, कार्यालयले गरेका कामको संकलन र विश्लेषण गाविससँग सम्बन्धित सबै दल, जनता, संस्थानहरू, बौद्धिक सर्कल, शिक्षक लगायत सबैको धारणा लिखित, प्रश्नावली बनाएर अन्तर्वार्ता लिएर गाविसको आर्थिक, सामजिक, शैक्षिक, भौगोलिक, वन, यातायात आदि विषयको अध्ययनलाई पूर्णता दिन गरिएको कार्य प्रशंसनीय देखिन्छ । यस अनुससन्धानभन्दा पहिला अध्ययन (पूर्व अध्ययन) भएको आभास मिल्दैन । त्यसोहुँदा रिजालजीको यो अनुसन्धान नै यस गाविसको पहिलो अनुसन्धान हो भन्न सकिन्छ ।
यसका लागि शारीरिक, मानसिक, बौद्धिक, शैक्षिक सबै प्रकारको लगानी यसमा लगाइएको छ । यो मार्गदर्शनलाई गाविसले व्यवहारमा उतार्छ भन्ने जानकारी लिन अनुसन्धानको खाँचो छ भन्दै यस्तो गहन कार्य गर्नुभएकोमा नवराजजीलाई धन्यवाद दिदै भावी जीवनको सुस्वास्थ, दीर्घायु र उज्ज्वलताको कामना गर्दछु ।
– कावासोती, नवलपुर