संस्मरण -
काजी राेशन
बाग्लुङको पञ्चकोटमा राधेश्याम लेकाली
यसपटक एउटा कविलाई भेटेँ बोलेर स्पर्श गरेँ ऊ पहाड बनाउन आएको रहेछ । उसले पहाडको सम्बन्धमा धेरै लेख्यो, बोल्यो र आफ्नो अभिव्यक्ति समेत जनमानसमा पोख्यो । एउटा सुन्दर पहाड वेरुप भएको देख्दा कसलाई दुःख लाग्दैन ? पहाड भन्नासाथ हरियाली, हराभरा र सौन्दर्यपूर्ण भन्ने सम्झिन्छ । तर त्यहाँ त्यो लावन्यता कम हुँदै गएको र मानवीय सभ्यता, मानवीय धरातलजस्तै प्रकृति वन्न गएकोमा अथवा यस्तो दुरावस्था बनाउनेहरूप्रति कविले धेरै शंखनाद ग¥यो र सबै सचेत र जागरुक समेत बने । त्यो बेलाको भाव र तरंगको उपज सिर्जनामा पोखेका थिए । जुन रुपमा सुधार अझै भएको छैन । त्यो कविले लेखेका थिए–
अटल विश्वास र दृढतासाथ
शिर ठाडो पारेर
उभिएको शान्त पहाडहरू
यतिवेला
ज्वालामुखी बनेर
शून्य हृदयले
धमिला आकृतिहरूमा
घृणा, आक्रोस र वेदना पोखिरहेछन्
हो, यति बेला
खरानी, आँशु र टाटा रगतमा
अनुवादित भई
पहाडहरू जलिरहेछन् । (पहाड जलिरहेछन्, कवितासङ्ग्रहबाट)
त्यस्तै उनले “असहाय वर्तमान” मा पीडा पोखे, “स्विकार्य छैन” भनी इन्कलाव गरे र पछि आएर “नैकिताको बन्दुक देउ” भनी मागे, अनुनय गरे ।
राधेश्याम लेकाली यस्तै यस्तै कवि हुन जसको शक्तिले गण्डकी थुन्छ र वादल झार्छ । त्यति मात्रै कहाँ तमाम शोषित पीडितहरूका पक्षमा उभिएर नेतृत्वदायी भूमिका समेत खेल्छन् ।
समय परिस्थिति सधै एकनास रहिरहन्न । सत्ता, शक्ति र बागडोरमा पनि उथल पुथल भैरहन्छ । प्रत्येक उथल पुथलमा साहित्यले दिव्य दृष्टि लगाएको हुन्छ र कविले कसैको मोलाहिजा विना आफ्नो शब्दवाण प्रयोग गर्दछ र तत्कालीन अवस्थाको दस्तावेज बन्छ ।
२०५९ सालमा पहाड जलिरहे छन् । २०५६–२०६० का कवितासङ्ग्रह लेखेर आगो बनेका कवि २०८० सालमा पहाडलाई हराभरा बनाउन, चराचुरुङ्गीहरूको वास बनाउन, गाईबस्तुको लागि खाना बनाउन र एउटा सुरम्य स्थल बनाउन उनी आए । मैले आफ्नै आँखाले बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा देखेँ । सुकिला, डाँडाकाँडामा थम्थम्ती हिँड्ने, सहासी, सधैँ बाजी जित्ने जितारुको रुपमा मैले पाएँ । उनले जलसम्पदा पर्यावरणको संरक्षण गर्छु भनी सबैको अगाडि प्रतिवद्धता जाहेर गरे । यो प्रतिवद्धता, यो निर्माण र पहाड बनाउन उनको साथ केही सहकर्मी थिए जसले खनखान गर्ने, कोही विरुवामा पानी हाल्ने, ओत दिने आदि इत्यादि कामहरूमा सरिक थिए । जल नै प्राणी वोट विरुवा र पृथ्वी जगतकै एकमात्र प्राण घार भएकोले जलको स्वस्थता, निर्मलता र यसको संरक्षणको लागि राधेश्याम लेकाली साथ गएका एक हुल कविले जल सम्पदाको संरक्षणको लागि सामूहिक निशानी बाचे ।
राधेश्याम लेकालीलाई थाहा छ । आजका कवि भावनामा मात्रै होइन यथार्थतामै लाग्नुपर्छ । उपदेश दिएर मात्र नपन्छिइ कार्यमै जुट्नुपर्छ ।
देश विदेशमा नेपालको मान प्रतिष्ठा र इज्जत राख्ने राधेश्याम लेकालीको चाह विदेशमा पनि उत्तिकै छ । साहित्यको कर्मभूमि जुन धरातलबाट पनि हुन सक्छ । सब धरातल आफ्नै हो पराई भन्ने नै छैन । जसरी साहित्य सर्वव्यापी छ त्यस्तै साहित्यलाई चलायमान गर्ने पाइलट साहित्यकारहरू व्याप्त मानिन्छ । कविको एउटा झुप्रो कटेरोबाट पनि विश्व दर्पण हुन सक्छ । यसैले त साहित्यको सिमाना हुँदैन ।
पञ्चकोटलाई साहित्यमय बनाउन पञ्चकोट भाषा, साहित्य र संस्कृति संरक्षण सम्मेलन नेपाल संस्था नै बनाइयो र उही पहाड बनाउने र प्रतिबद्धता वाचन गर्ने राधेश्याम लेकालीलाई अध्यक्षको लागि प्रस्तावित गरेँ । वास्तवमा लेकालीको क्षेत्र लेक हो । गाउँ बस्ती हो, ग्रामीण भेक हो जहाँ हार्दिकता आत्मीयता र स्वच्छता किरण हुन्छ । २०१५ असार १५ गते इलामको मालापथमा जन्मेका लेकालीले बागलुङको पञ्चकोट सिगार्न कसिनु त्यति असान्दर्भिक छैन किनकि ऊ कविताकारी मात्र होइन, कर्मवीर पनि हो । म उनको साथ छु र साथ दिइरहनेछु ।
– ९८४७६२१३०९
बागलुङ