कथा -
विकल त्यागी
ठुलाे धुलाे
सर्जेन्ट वीरबहादुर कुनै हालतमा गाउँ नछाड्ने निधोमा थियो । ऊ सबैलाई भन्थ्यो भेडीगोठबाटै भागेर लाहुर गइयो । दोस्रो विश्वयुद्ध लडियो । मानो घोप्टिएको रहनेछ र भाग्यवश बमबारुदको छर्राबाट बचियो । दुई पैसाको लागि ज्यानको बाजी थापेर दुष्मनको किल्ला भत्काइयो । बाँचुन्जेल पराई भूमिमा पराईकै सेवा गरियो । मातृभूमिको पाप लाग्छ होला गाँठ्ठे ! कमसेकम मर्ने बेलामा आफू जन्मेकै धुलोमा मिसिन पाऊँ !
ब्रिटिस क्याप्टेन छोरो जगबहादुरले रिटार्यड भएपछि बाबा आमालाई काठमाडौँमै स्थायी बसोबास गर्न बोलाए । तर तिनले पटक्कै टेरेनन् । बाबा सार्जन वीरबहादुरको आफ्नै भनाइ थियो – सधैँ जन्म घरदेखि परपर कति रहनु ? पैसाको निम्ति पूरा बैँस जोवन परदेशमा बिताइयो । बुढेसकालमा पनि के परबास बस्नु ? त्यहाँ गएर त एउटा सानो कोेठामा कोचिनुपर्छ । सास फेरिरहनै मुस्किल । हातगोडा चलाउन पाइदैन । यताउता हिँड्डुल गर्न नपाएपछि जिउ बिग्रिएर असमयमै रोगी भइन्छ । फेरि त्यहाँ त जता गए नि महँगो विषादीसितै प्रदूषण खानुपर्छ । यहाँ त जन्मैले चिनेको ठाउँ सधैँ रमाइलो लाग्छ । यहाँ त ननिको नरमाइलो भन्ने केही हुँदै हुँदैन । आफ्नो गाउँ ठाँउ त्यसै त्यसै प्यारो लाग्छ । स्वच्छ वायु मण्डलमुनिको रमणीय वातावरणमा रमाउन पाउँदा शरीरभित्र भएका सम्पूर्ण विकारहरू मासिएजस्तो लाग्छ । बिहान बेलुकी ताजा खाना खान पाउँदा रोगव्याधि दूरदूर भागेझँै लाग्छ । दिउँसो गाईबस्तुहरू हेरिरहँदा नियमित व्यायाम पुगेझँै लाग्छ । चाडपर्वहरू लोक पारामा मनाउन पाउँदा साह्रै आनन्द आउछ । त्यहाँ त उही गुहेझिँगा धपाउनु...! किन जाने हामी काठमाडौँ ? राजा बस्ने गाउँको लोभ हुँदो हो त, म उहिल्यै त्यतै जोडजाम गरिहाल्थँे नि ।
बुहारी बिमला घरीघरी जगबहादुरसित गुनासो पोख्थिन् – छिः ! हाम्रो सासूमा र बा क्या नजाती । समाजसामु हामी नराम्रो देखाउनलाई पहाडमा दुःख गरेर बसिरहन्छन् । दुनियाँले भन्दो हो, फलानोको छोरा बुहारी आफू चाहिँ सुखमा मोज गर्दै बस्छ र आमा बाबालाई चाहिँ दुःखै दुःखको झमेलामा फसाउँछ स्वार्थी संसारमा सरमको ओखती छैन ।
गोर्खा भूतपूर्व सैनिक संगठनको निरन्तर सामाजिक समानताको आन्दोलन पश्चात् बेलायत सरकारले पेन्सन र तिनका परिवारलाई आवासीय भिसा दिन थाल्यो । सधैँ सुखसयलको लोभी मानव जाति । क्याप्टेन साहेव जगबहादुर र क्याप्टेनी साहेबनी विमलालाई काठमाडौँको सुखसयल कम्ती भइगो । उनीहरूले बेलायतको निम्ति आवासीय भिसा मिलाउन थाली हाले । यसै क्रममा गाउँमा रहेका आफ्ना आमा बाबासित यस विषयमा चर्चा चलाउदा तिनले ठाडै आगो ओकले । भिडियो कलमै पालैपालो बचनीय बम वर्षाउन थाले – जहाँ गए नि धरती त एउटै हो तर धर्तीमाता भन्नु आफ्नो जन्मभूमि मात्रै हो । माताले सधैँ आफ्ना सन्तानप्रति मधुर ममता बाँडिरहन्छिन् । उनले सधँै आफ्ना सन्ततिलाई न्यानो काखमा राखिरहन्छिन् । माताको तातो मायाले कहिल्यै बिजाउँदैन, सधँै सुम्सुमाइरहन्छ अंगप्रत्याङ्गभरि । जन्मजात रगतमा घुलित धुलो ठुलो हुन्छ स्वर्ग भन्दा पनि ।
भौतिक विलासी रहरले मदहोश भएका छोरा बुहारीको मनलाई आमा बाबाको आदर्श बचनले एकछेउ चुम्न सकेन । काठमाडौँको घर भाडामा लगाएर उनीहरू बेलायत हुइँकिए ।
रिसाएका आमा बाबाले हामीलाई किन सम्झन्थे ? हामी जति नै विकासको नौरंगले पोतिएको शहरमा बसे पनि उहाँहरू भन्दा साना नै हुन्छाँै । एक प्रकारले भन्ने हो भने हाम्रा जीवित भगवान् त उहाँहरू मात्रै हुनुहुन्छ । साँच्चै भन्नुपर्दा सबैका सच्चा सजीव ईश्वर त आमा बाबा मात्रै हुन् । अरु त सबै मिथकीय भुलभुलैयाका रुमानी रिकापी । आमा बाबाले नै जन्माएर हुर्काउनु भो । पढाउनु भो र ठाउँ ठाउँमा पु¥याउनु भो । उहाँहरूको दिव्य आशीर्वादले नै हाम्रो भाग्य चम्किएको हो । त्यस्ता भाग्य विधाताहरूलाई सानो भएर घरीघरी हामीले नै सम्झिनुपर्दछ । यो हाम्रो परम कर्तव्य हो । उहाँहरूलाई विश्वासमा लिएर एकै ठाउँ बस्न नसक्नु हाम्रो कमजोरी हो । यस्तो नाजुक वाद्र्धक्य अवस्थामा उहाँहरूलाई हाम्रो हातले सेवा शुश्रूषा गर्नुपर्ने हो । कहिलेकाहीँ त आफू विल्कुल कर्तव्यच्युत भइयो कि जस्तो लाग्छ । कताकता आत्माभित्र शाश्वत देवताको निमित्त मरिसकेको छोरो जस्तो लाग्छ । खैर यो जिन्दगी यस्तै भयो । प्रायः कामबाट घर आएपछि साँझपख रक्सी तनतनी तान्दै र चुरोटको धुवाँ बुङबुङती उडाउँदै एक्लै बर्बराइरहन्थ्यो जगबहादुर विमलासित ।
हेर्दाहेर्दै जगबहादुरका धेरै पल्टने साथीहरूले आफ्ना गाउँमा भएका आमा बाबाहरू बेलायत ल्याउन सफल भए । उनीहरू भन्थे– हाम्रा आमा बाबाहरू पनि सुरुसुरुमा यस्तै अक्करो कुरा गर्थे । हामीले सम्झाको पटक्कै सुन्न नसक्ने । हामीले बुझाएको पटक्कै बुझ्न नमान्ने । तर समयको घामपानीले जिन्दगीलाई गलाउँदै ल्याएपछि सहारा खोज्न बाध्य पर्दाेरहेछ । कहीँ हिँड्नुप¥यो कि लँगडोले बैशाखी खोजे जस्तै । अनि त आफ्ना बचेराहरूको हात नसमाई सुखै पाएनन् विचराहरूले । राष्ट्रिय तथा औद्योगिक उत्पादन अत्यन्त नगण्य रुपमा भएको र भ्रष्टचारको महामारीले सख्त आक्रान्त भएको देशका एकाध नागरिकले राष्ट्रप्रेमपूर्ण बेसुरा राग अलापेर के लछारपाटो लाग्छ ? भटाभट यतै नआई खैरियत रहेन । पिर नगर्नुहोस् जगबहादुर तपाईको आमा बाबाले पनि यही कथा दोहो¥याउनु हुनेछ ।
उच्च रक्तचापको व्यथा वीरवहारदुरको परिवारमा पुख्र्यौली पेवा जस्तै थियो । उसले पल्टनमा हुँदै औषधी सेवन गर्न थालिसकेका थिए । अझ स्वास्थ्य चौकीका अहेव मुकुन्द झाले बा सुगर र प्रेसर त सहोदर दाजुभाइ हुन नि भन्दा उसको मुटुको धड्कन बढ्थ्यो । उमेर पाको भएर होला उसलाई एक मिनेट पलेटी कसेर उठ्दाखेरि भननन भाउन्न छुट्थ्यो । उसलाई एक मिनेट जति उकालो चढ्यो भने माथा चक्कराउँथ्यो । ऊ जहाँ जे भेट्यो त्यहीँ आँखा चिम्म गरेर थचक्क बसिहाल्थे ।
एकदिनको बिहान सबेरै दुःखद घटना घट्यो । विचरो ! वीरबहादुर ओछ्यानबाट उठ्नै सकेन । उसलाई थाहा भइसकेको थियो कि घामले भर्खरै डाँडा कटेर आफ्ना न्यानो पाइलाहरू घरको आँखीझ्यालबाट भित्र घुसाउँदै कोठाहरू उज्यालो पारिसकेका छन् । मझेरीहरू लालीमायुक्त तुल्याइसकेका छन् । तथापि ऊ आफ्नै ओछ्यानमा
ऐया ! ऐया ! भन्दै छट्पटाइरहेको थियो । आखिर उसले दुईदिन औषधी छुटाउनु परेको सजाय भोग्नु परिहाल्यो । उसलाई पक्षघात भयो । हुन त औषधी छुट्नमा उसको विराम थिएन । सिटामोल जस्तो साधारण औषधी सजिलै नपाउने गाउँमा त्यति विशेष दीर्घरोगको औषधी मिलोस् कसरी ? पहिला छोरो काठमाडौँमा हुँदाखेरि त उसलाई औषधी पाउन उतिसारो कठिनाई परेन । तर अर्काको बाबा आमाको दुःखविमारप्रति कुनैै छोरा छोरी चिन्तित र सचेत रहने कुरै भएन ।
अँध्यारो ओढारभित्र धेरै प्रकारका हाउगुजी लुकेर बसिरहेका हुन्छन् भन्ने कहावत जस्तो भयो । गाउँघरको पुरानो चलन । गाउँघरका बुढाबुढीहरूको सल्लाह माफिक वीरबहादुरलाई पहिला प्रथम चिकित्सक धामी कहाँ लगियो । विजुवा सोवितमानले थालभित्र ठाउँठाउँमा चामल पुरुषपुरुष भाग लगाएर हेर्दा बोक्सीले मृत्युवाण हानेको भन्यो र ठुलो चिन्ता बस्नुपर्ने बतायो । विजुवा सोवितमानले भनेझैँ गाउँका ठिटाहरूले एउटा छेपारो अँठ्याए । छेउकै खोल्सीबाट केही गड्यौला ल्याए । गाउँभरि शुभप्रभातको जानकारी दिलाउँदै हरप्रात बसिरहने छिप्पिएको एउटा भाले, एकघरी केराबोट, काउलापात र केही तितेपाती तिनले तयार पारे । पूरा एकरातभर धुनचटसितले चिन्ता बसाइ भो । सबै गरेर सोवितमानले लगभग पाँच हजार जति पचाइ गो । ढोलढ्याङग्रोको ठट्टाइले पूरा एकरातभर गाउँवासीलाई रमिता भई गो । तर ती वीरबहादुरलाई बिसको उन्नाइस् भएन । उसको बेथाको पाइला एक खुड्किलो तलतिर झर्नै मानेन । डंकिनीको मृत्युवाण झन्झन् गहिरिएर रातभरिको अनिदोले होला, उसलाई झिकिदे गाँडभन्दा थपि दे गाँड भनेझैँ भयो । ऊ सख्त सिकिस्त भयो ।
जति नै लौरो टेक्दिन भने पनि बुढेसकालमा बैशाखी नभै नहुने । बैशाखी पनि आफ्नै मायाले बनाएको चाहिने । यस्तै भयो सार्जन वीरबहादुरलाई । उसले छोरो जगबहादुरलाई नेपाल झिकाएर भन्यो – अब हामी तेरै शरणमा प¥याँै । “पाले नि पाल, मारे नि मार ... !!”
गाउँको खेत र बारी धवलसिंहलाई अँधियामा जिम्मा लगाए । घर रुङ्नलाई कोही मान्छे नपाएपछि भोटेताल्चा मारिदिए र सम्बन्धित मुकाममुकाममा आवश्यक कागजपत्रहरू मिलाएपछि जगबहादुरले आमा बाबालाई बेलायत लिएर उड्यो ।
बेलायत जस्तो विकसित एवम् औद्योगिक राष्ट्र । सबै मानिस आ–आफ्ना काममा मस्त व्यस्त । कोठाभित्रको वातावरण साह्रै उच्चाटप्रद । छोरा बुहारीसित बिहान बेलुकी मात्रै भेटघाट हुने । बाहिर एकछिन डुलघुम गरौँ भने दिउँसै हराइला भन्ने डर । चिन्न बुझ्न र जान्न सकिएन भने बाहिरी झिलमिले रमिताले मात्रै सुख र सन्तुष्टि मिल्दैन भन्ने कुरा आज पनि पुष्टि भयो । हामीलाई त यो कुरा उहिल्यै थाहा थियो । थाहा थियो र नै हामीले हाम्रो घर नछाड्ने निधो गरेका थियौँ । यो सन्तानको बाटो बिराइले कहाँ ल्याइपु¥यायो ? कहाँ ल्याइपु¥यायो ? एकजात मन नपरेको बिरानो मुलुकको बन्दकोठाभित्र थेचारिनुपर्दा यो जिन्दगी साह्रै हैरानीमा प¥यो । भाषा, भेषभुषा र संस्कृति पटक्कै नमिल्ने यो कस्तो अजीवको जीव बस्ने ठाउँ .. ! पहेलो धातुले कानको लोती तुन्रुङ्ग झुण्डाएर के गर्नु ? जिन्दगी तातो तावामा माछी पाकेझैँ सुदूर स्वर्गको सम्झनाको डढेलोमा पाक्नु परिरहेको छ । कोठाको सानो सोफामा बसिरहेकी विमलाले जगबहादुरसित मनभित्रको घाउ दुखाइ देखाइन् ।
मानिसको जीवनमा आत्मसन्तुष्टि भन्दा ठुलो दवै केही रहनेछ । भौतिक देहले जति नै कष्ट काट्नु परे पनि उसलाई मनभित्र दर्द छैन भने ऊ चिरकालसम्म निरोगी रहन सक्छ तर उसको मन÷मुटुलाई पिर चिन्ताको किटाणुले कुटुकुटु खाइरहेको छ भने रोगले लक्का जवान भन्दैन । त्यही पिर चिन्ता नै कालको मुहान भइदिन्छ । त्यस्तै भयो वीरबहादुरलाई । बेलायतमा बसोवास गर्न थालेको दुई वर्षमै उसलाई मधुमेहले समेत भित्रभित्रै माया गर्न थाली गो । उसलाई छिनछिनमै भोक, पियास र पिसाव लाग्न थाल्यो । शरीर त्यसैत्यसै थाकेर आउनुको साथै भित्रभित्र मस्ती मरेर आउन थाल्यो ।
आइतवारको दिन । छोरा बुहारी दुवै जनाको ड्युटी अफ थियो । बिहानको खाना खाइओरी स–परिवार कोठाभित्र सुखदुःखका वातचित मारिरहेका थिए । यतिकैमा सार्जन वीरबहादुरले आज अत्यन्त गहिरो बह पोखे, हेर छोरा बुहारी हामी त उमेरले नेटोमाथिको घाम भइसक्यौँ । कतिखेर पश्चिमी किनारमुनि पिलिक्क डुबिन्छ केही पत्तो छैन । त्यसै पनि यो प्रेसर र सुगरले गिजोलेर थङथिलो बनाएको शरीर कुनवेला पुर्लुक्कै ढलिन्छ यकिन छ्रैन । हामीलाई त रातोदिन गाउँघरकै झझल्को लागिरहन्छ । ओछ्यानमा निदाउनु भन्दा अगाडि उतैको पाखा, पखेरी, उतैको वन जंगल, उतैको खोलानाला, उतैको छाँगा छहरा, उतैको पानी पँधेरी, उतैको घर मटान, उतैको खेतबारी, उतैको बस्तुभाउ र उतैको खर्क चरन आँखाभरि झलझली नाचिरहन्छन् । त्यसैले अब हामीलाई नेपाल लैजानु नेपालको पनि हाम्रो थातथलो (गाउँ) मै लैजानु । काठमाडौँमा त हामी बस्दै बस्दैनौ । यहाँ ननिको लाग्दा लाग्दै तिमीहरूको मन राख्नलाई बसेको पनि दश वर्ष भन्दा बढ्ता भइसकेछ । यो विसिलो ठाउँमा बोझ भएर कति बस्न ? हाम्रो हृदयको इरादा यो छ कि हामीले पहिलोपल्ट यो शरीर जुन धुलोमाथि ओराल्यौँ, त्यही धुलो माथि नै अन्तिमपल्ट बिसाउन पाउँ । हामीले जुन पँधेरीको पानी पहिलोपल्ट पियौँ, त्यही पधेरीको पानी अन्तिमपल्ट पिउन पाऊँ । हामीले जुन आकाशको अक्सिजन पहिलोपल्ट लियाँै, त्यही आकाशको अक्सिजनसित अन्तिमपल्ट धुवाँ भएर मिसिन पाउँ र हामीले जुन खोलीमा पहिलोपल्ट पौडी खेल्यौँ, त्यही खोलीमा अन्तिमपल्ट अँगार खरानी भएर बग्न पाऊँ । तब मात्रै हामी स्वर्ग पुग्नेछ्रौँ र तिमीहरूलाई शुभआर्शीवाद प्रदान गरिरहन समर्थ हुनेछौँ ।
् बाबाको मर्मान्तक मुराद बुझेर छोरो जगबहादुर गम्भीर भए । क्षणभंगुर स्वार्थको पछि लागेर साँच्चै नै हामीले नि बाटो बिराएछाँैै भन्ने यथार्थबोध उसलाई भइरह्यो । आफ्नो माटोको सुवास सुग्न छाडेर कस्तुरीको चालामा चलिरहेको विराम उसलाई भइरह्यो ।
बेलायतको जाडो । ड्युटी पूरा गरेर आएपछि त्यही जाडोलाई शरीरबाट केहीछिन धपाउनको निम्ति जगबहादुर र विमला तातो कफी पिउँदै गफिरहेका थिए । हेर विमला, मरेर साथै लैजान पाउने केही रहनेछ । हामीले यहाँ दुःख गरेर के पाइरहेका छांै ? जसरी नि खैरेले हामीमाथि शोषण गरिरहेकै छन् । हाम्रो लगातारको सामाजिक न्याय र मानवाधिकार प्राप्तिको आन्दोलनलाई तुहाउनको निम्ति यसो आफ्नो देशमा ठाउँ दिए जस्तो ग¥यो । काम दिए जस्तो ग¥यो अनि भक्कु ट्याक्स काट्यो । आफ्नो पैसा अर्काे देशमा जानबाट रोक्यो । दोस्रो नागरिकको दर्जामा राखेर अपहेलना ग¥यो । यही त हो नि यिनीहरूको चालबाजी । तसर्थ आमा बाबाको देदिव्य भावनाप्रति श्रद्धा राख्दै हामी आफ्नै जन्मगाउँ जाउँ बाँचुन्जेलसम्मका लागि र यहाँको आवासीय भिसालाई त्यागिदिउँ सधैँका लागि ।
आफ्नो खसमको निर्णय विमलालाई कताकता छिपछिपे रुपमा सत्य हो कि जस्तो लाग्यो । तर भौतिक ऐश र विलासी जिन्दगानी बिताउनुमा अभ्यस्त भइसकेको मनको तनलाई सुखद भोगमोहबाट विच्छेद गराएर फटाउन उनलाई उतिसारो स्वीकार थिएन । मरेपछि को के हुन्छ ? कसलाई थाहा छ देखेर आउने कोही छैन । सब काल्पनीकी । तथापि यसो भन्दैमा बाँकी परिवार पूरा पूर्वमा र म अकेली पश्चिममा बसोबास गर्ने कुरा त कुनै हालतमा उचित हुँदैन । उनले यस्तै यस्तै दुविधायुक्त कुराहरू मनभरि खेलाउदा खेलाउदै अन्ततोगत्वा जगबहादुरको निर्णयप्रति स्वीकारोक्ति जनाइन् र राज्यको कानुनी प्रक्रिया पूरा गरेर उनीहरू सबै नेपाल फर्किए ।
सुरुसुरुमा जगबहादुर र विमलाको सुकिलामकिला ज्यानले गाउँको धुलोमुलोसित लडीबडी गर्न संकोच माने पनि सुस्तसुस्त मनको अंकुशले तनका हाँगाविङ्गाहरूलाई तत्धरातलको गर्तमा निहार्दै ल्यायो । सुखसयलले सुकुमार देखिएका हात खुट्टाहरूमा विस्तारै पहाडी धुलो मिसिदै गयो । क्रिम पाउडरले सुन्दर देखिने मुहारभरि पसिनाको रसायन लेपन हुन थाले । घरभरि बस्तुभाउ, खेतबारीभरि अन्नबाली लहलाएर हरियाली । घर, मटान यथोचित लिपपोत, रंगरोगन र च्यादरको छानो पाएर नवदुलहीझैँ सिँगारिएर चिटिक्क । वीरबहादुरको पारिवारिक आगमनले गाउँमा छुट्टै प्रकारको विशेष रौनक आउन थाल्यो । जेठको भावर उष्णतामाथि अचानक साउने वर्र्षा वर्षिएर शीतल भएको पृथ्वी जस्तो पूरा गाउँ । ढिकी जाँतो गर्दा होस् । पँधेरीमा पानी भर्दा होस् । चरनमा चौपाया चराउँदा होस् । खेतबारीमा मेलापात गर्दा होस् या होस् चौतारीमा थकाइ मार्दा सबका सब गाउँलेहरू एकआपसमा वातचित मार्न थाले – अब त लाहुरे खलक ढुक्कसित यता बस्न आएका रे । काठमाडौँमा पनि कोही नबस्ने रे । तिनलाई नपुग्दो के थियो र ...! गाउँघरको माया लागेर उता कहीँ पनि रथिनै सकेनन् रे । बाउ छोराको ब्रिटिस पेन्सन छँदै थियो । तर तिनले आफ्नो थातथलोलाई रोजे । धन्य धन्य हो तिनको मन । अब त हामीले सहज व्याजदरमा पैसा चलाउनपाउँछौ । अझ सबै लाहुरे यसरी नै गाउँ फर्केदेखि पूरै गाउँ नमुना बन्ने थियो । सायद अब ऋणको तलाउमा चुर्लुम्म डुबेर खाडी भासिएका लाहुरेका सन्तान जसरी आफ्नै बाँझो खेतबारीहरू खनीखुर्सी गर्न आउँदा हुन् र कहीँ असारे, कही मङ्सिरे र कहीँ नगदे बाली लगाउँदा हुन् । अनि त हामी हरक्षेत्रमा आत्मनिर्भर बन्दै आउनेछौ । यसको सम्पूर्ण श्रेय तिनै लाहुरे परिवारलाई जानेछ । जसले आफ्ना प्रथम पद डोबको धुलोलाई यति ठुलो मानेर माया गरे ।
जीवनको अन्तिम घडी आपूmले रोजेको ठाउँमा रमाउन पाएर हो या छोरा बुहारीलाई आपूmसित राख्न पाएर हो सर्जेन्ट वीरबहादुर गाउँ आएपछि त्यति सारो बिरामी भएन । आत्मसन्तुष्टिको उपल्लो चुली चुमिरहेका ऊ आफ्नी रामप्यारीलाई भन्थे–हेर बुढी, अब हामी जहिल्यै मरे पनि केही फरक पर्दैन, सिधै स्वर्ग पुग्ने छौँ ।