कथा -
म तिम्री आमा हुँ !
‘तपार्इं हरेक आमाहरू महान् हुनुहुन्छ । तपार्इंहरूकै नैतिक
बल र मतबाट आज म संसद् सदस्यमा निर्वाचित भएको छु । बच्चा जन्माउनु मात्र होइन
जसले मातृवात्सल्य दिएर आफ्नो कर्तव्य पूरा गर्छ । ऊ नै वास्तविक आमा हो ।’ विश्वासले प्रमुख अतिथिको
मतव्यमा भनेका थिए ।
उज्ज्वल अनुहार, प्रष्ट र हक्की बोली, त्रिचालीस वषीय नेताको
भाषणलाई सन्तमायाले एकटकले सुनिरहेकी थिइन् । उनको त्यो उमेर रोगी भएर ज्यान
डाँडामाथि अस्ताउन लागेको घामजस्तै हुन लागेकोे थियो । लोग्नेको पनि के कुरा गर्नु, दिनदिनैको सुर्ती र तमाखुको
तल्तल मेटाउँदा मेटाउँदै भूकम्पबाट भत्किएर ढल्नै लागेको घरझैँ भएको थियो शरीर ।
त्यसमाथि रातभरको खोकीले समयमै निदाउन सक्ने अवस्था होइन । एउटा भएको सन्तान
अमेरिका छिरेपछि नसम्झिन्थ्यो, नबिर्सिन्थ्यो । सन्तमायाले सम्झेर कुनै समयमा
फोन गर्दा, ‘अहिले म काममा छु, बिजी छु, तपार्इंहरूको जस्तो मलाई
कहाँ फुसर्द छ र ! फुसद भएपछि फोन गरौँला’ भनेर फोन राखिदिन्थ्यो । केहीदिन अघि फोन गरेर
यो सम्पत्तिको संरक्षण गर्न गरेको अनुरोधमा उसले भनेको थियो, ‘आमा, तपाईंंंहरूको त्यो बाँदर
लाग्ने दुई रोपनी भिर मलाई चाहिँदा पनि चाहिँदैन । तपाईंंहरू जेसुकै गर्नोस् ।
मलाई त्यो देश फर्किएर आउन मन पनि छैन ।’
उसले
कति चाँडै भुल्न सकेको आफ्नो देश, माटो, खोला–नाला, समाज, घरपरिवार । सुविधाको लोभले आफ्नो जन्मभूमि
भुल्नु कहाँसम्मको राष्ट्रियता र देश प्रेम हो ?
सन्तमायालाई साँच्चै पीडा
भएको थियो आफूले जन्माएर पनि छोराछोरीको माया पाउन नसकेको वर्तमान जीवनको दर्द ।
यो उमेरमा विश्वासले आमा भनेर सम्बोधन गरेको विषयले सन्तमायाको ह्रदय तरङ्गित भएको
थियो । आजभन्दा त्रिचालीस वर्ष अघि जसरी उनको ह्रदयमा मातृत्व पलाएको थियो त्यो
सम्झेर आज उनलाई भक्कानो छुटेको हो । तर त्यो विषय न विश्वासले पत्याउँथ्यो न
समाजले । उनी आफू मात्र वास्तविक साँची भएर जिन्दगीको यो मोडसम्म बाँचिरहेकी थिइन्
।
òòò
सन्तमायाको जीवन एउटा कथाको
वास्तविक घटनाभन्दा फरक थिएन । जुन विगत सम्झेर पश्चाताप र ग्लानी खपेर बाँच्नु
सिवाय अरू केही हुँदैन ।
सन्तमायाको बिसै वर्षमा बिहे
भएको थियो । घरको आर्थिक अवस्था दयनीय भएकाले लिलामानले सन्तमायालाई एकदिन भनेका
थिए, ‘सन्तमाया, हाम्रो बिहे भएको मात्र
एकवर्ष भएको छ । यो एक्काइस वर्षको कलकलाउँदो जवानीमा तिमीलाई छाडेर विदेश जान
मलाई कहाँ मन थियो र ? छोराछोरी जन्मिएपछि खाने मुख
बढ्छ । त्यसमाथि बढाउनु र पढाउनुप¥यो । म विदेश जानैपर्ने भयो ।’
त्यतिखेर सन्तमायाको उज्ज्वल
अनुहार मलिन भएको थियो । तर वर्तमान र भविष्यको आर्थिक पीडाले लिलामानलाई रोक्न
सक्ने उनमा सामथ्र्य थिएन । त्यही भएर उनले भनेकी थिइन्, ‘हजुर ! दुई वर्षमा विदेशबाट
फर्की हाल्नु होला । जेजस्तो कमाइ हुन्छ, त्यही रकमले अलिकति खेती किनेर खुसीले जिन्दगी
बिताउँला ।’
घरपरिवार, आमाबाबु, श्रीमती यी सबैलाई छाडेर उनी
पराई मुलुक हिँडेका थिए । घरबाट बिदाई हुने बेलामा छेउछेउमा च्यातिएको थैलीबाट
पाँचसयका दुई ओटा नोट दिएर आशीर्वाद दिँदै आमाले भनेकी थिइन्, ‘चिरञ्जीवी रहेस् छोरा ।
बाबु ! यो पैसाले बाटामा
केही किनेर खानु । आमाको मन न हो, यो घरबाट तँ बाहिर निस्कदा मेरो ह्रदय यति
रुन्छ कि त्यो म कसरी व्यक्त गर्नसक्छु ! बुझ्ने छोराले मेरा आँखाबाट झर्दै गरेका
आँसु देखेर अवश्य पीडा बुझ्नसक्छ ।’
उनले आमाको अनुहारमा दृष्टि
लगाउँदा आमाका आँखा पूरै टिलपिल थिए । लिलामानले आमाका आँसु पुछिदिएर आमा र
बाबुबाट बिदाई लिएका थिए । आमाका आँखाका आँसु पुछेका हातले सन्तमायाका आँसु पुछेर
उनलाई आँगालो मार्दै बिदा भएको उनको मानसपटलमा अहिलेझैँ लाग्छ ।
वास्तविक भन्ने हो भने
मान्छेको अनुपस्थितमा वर्षामा बढेको नदी हिउँद लागेपछि घट्दै गएझैँ माया पनि
बिस्तारैबिस्तारै घट्दै जाँदोरहेछ । सन्तमायाको घर र माइतीघर साहै्र टाढा नभए पनि
मात्र एक दिउँसोको बाटो हो । उनको माइतीघर जान खोला तरेर जानुपथ्यो, उही त हो रावाखोला ।
वर्षायाममा तर्न नसकिने भएकाले माइती जादा खोला पुलबाट तर्नुपर्दथ्यो । हिउँदमा
खोला सजिलै तर्न सकिने थियो । माइती जाने घर र घर आउने बिच बाटोमा सन्तमायासँगै
स्कुल पढ्दाको बालसखी रबिको घर थियो । रविलाई उनले स्कुल पढ्दादेखि नै धेरै मन
पराएकी थिइन् । तर रविले खास दिलचस्वी दिएको थिएन । रविका छोराछोरी हुर्की सकेकाले
सन्तमाया रविको घरमा जाँदा औधी मान गर्थे । त्यो आउजाउको बिचमा उनी माइत जाँदा र
घर पर्कदा रविसँग राम्रै हिमचिम बढेको थियो ।
एकदिन उनीहरूबिच एकान्तमा
रहेर पोखिनै लागेको बैँस समाल्दै रविले भनेको थियो, ‘तिमीहामी दुवै बिबाहित व्यक्ति हौँ । हाम्रो यो
बैँसको उन्मादित कृयाकलाप पर्दाफास भयो भने तिम्रो र मेरो पूरै घरबार भाँडिन्छ ।
तसर्थ अब हामी नभेटौँ ।’
सन्तमायाले कपालको चुल्ठो
बाँध्दै छिल्लिएर भनेकी थिइन्, ‘छोराछोरीकी आमालाई मात्र कति अँगालो मार्छउ ।
मेरो त न बच्चा जन्मिएर शरीर बिग्रिएको छ, न मन । किन मेरो बैँसबाट टाढा हुन खोज्छौ ? तिम्रो बैवाहिक सम्बन्ध
बिगार्न पनि त मैले यो सम्बन्ध गाँसेकी होइन नि । लोग्ने विदेशमा छ । यहाँ दिनै
यौवनको मात चढ्छ । दुई वर्षसम्म यो फुटिसकेको बैँसलाई म कसरी रोक्नु ?
रविले अलिकति मुस्कुराएर
भनेको थियो, ‘जमाना पनि खै कस्ता आए ? लोग्ने वा स्वास्नी परिवारका
लागि विदेशमा कमाउन जान्छन् । त्यहाँ उनीहरू ताता घाममा डडेर कमाएको पैसा घर
पठाउँछन् । यहाँ भने लोग्ने वा स्वास्नी पग्लिदै गरेको बैँसको बाँध फुटाएर
मोजमस्ती गर्छन् । अचम्म छ आजको जमाना !’
‘हेर रवि, भोक लागेपछि नखाइ अघाइदैन भन्ने त सबैलाई थाहै
छ । फेरि मिठो खान कसलाई मन लाग्दैन होला र ? तिमीले पनि त मेरो बैँसमा हात हाल्यौ । कति
मलाई मात्र भन्न सकेको ।’
‘सन्तमाया हामी दुईको कारणबाट
कसैको बैबाहिक सम्बन्ध नष्ट नहोस् । म एउटा बिवाहित पुरुष । यो कुरा तिमीले
राम्ररी बुझेकै हौली । हाम्रो सम्बन्ध मेरी श्रीमतीले थाहा पाइन् भने मेरो हाल के
हुन्छ ?’
सन्तमायाले रविलाई दाहिने
हातले बिस्तारै घँचेडेर भनिन्, ‘मैले तिमीसँग पछि पछि लागेर जान्छु भनेकी छु र ? उहाँ नआउन्जेलसम्म त हो नि
... ।’
‘तलमाथि भयो भने म जिम्मेवारी
हुन्न नि ?’
‘बैँस लुट्ने हामी दुवै ।
आघाएपछि सिर्जित हुने परिणाम भने मैले मात्र फेस गर्ने !’ उनले अझ दृढ भएर भनिन्, ‘नो टेन्सन । टाँसिन्छे भनेर
नसोच ।’
तर त्यो एउटा घटनाले उनको
जीवन मर्नु वा बाच्नुको दोसाँधमा उभिएको थियो । वास्तविक भन्ने हो भने, सन्तमाया लोग्नेविना आमा हुन
लागेकी थिइन् ।
एकदिन सन्तमाया सासुले
बनाइदिएको कोसेली बोकेर माइततिर लागिन् । खडेरी परेकाले छ महिना अघिदेखि पानी
परेको थिएन । त्यही भएर होला रावाखोला सुकेर जो कोही तर्न सक्ने अवस्थामा थियो ।
त्यही खोलाको किनारमा बसेर सन्तमाया धेरैबेर रोइन्, चिच्याइन् । तर उनको वेदना र प्रार्थना
सुनिदिने कोही थिएन । खोलाको सुरिलो सुसेली र पानीको छालले पनि सन्तमायालाई
जिस्क्याएझैँ लागेथ्यो, ‘ए सन्तमाया बच्चा कहिले
पाउँछेस् । लिलामानलाई बाबु देखाउँछेस् भने त ऊ विदेशी मुलुकमा भाँडा माझ्न गएको
डेढ वर्ष हुनलाग्यो । जन्मिन लागेको बच्चाको बाबु तैले देखाउन सकिनस् भने घर वा
माइतीले तँलाई घरबाट निकालिदिन्छन् र यो खोलाको पानीजस्तै ढुङ्गाहरूमा बजारिदै बजारिदैै
कहाँ हो कहाँ जानुपर्छ । बरु आइज अहिले मसँगै जाऔँ । मसँगै आइस भने ती तेरा सबै
पीडाहरू पानीको चिसोले मसँगै हिँडेको केही क्षणमा बिलाउने छन् र तेरो अस्थित्व
मेटिनेछ ।’
के के सोच्दा सोच्दै
सन्तमायाले सकिनसकी खोला तरिन् तर उनका पाइला एकदम कमजोर थिए । जिउ गह्रुँगो भएर
प्रसव बेदना सुरु भएको थियो । उनी खोलावारिको बर्खेमा पुगेर वरिपरिका झ्यासहरू
जम्मा पारेर त्यही झ्यासमाथि पल्टिइन् । त्यसबेला उनलाई प्रसव वेदनाले अत्यन्त
च्याप्यो । घरबाट बिहान सात बजे हिंँडेकी सन्तमाया भोलिपल्ट दश बजेसम्म त्यही
बर्खेको झ्यासमाथि लडेकी थिइन् । झ्यासमाथि ओछ्याएको मजेत्रोमा एउटा बच्चा
च्याँ... च्याँ... गर्दै रुँदै थियो ।
सत्ताइस घण्टाको विचार
विमर्शले उनको जिन्दगी के हुने भन्ने निक्र्योलो हुनसकेको थिएन । सन्तमायाका
दिमागमा थरीथरीका विचार र भावनाहरू खेलिरहेका थिए, ‘बच्चासँगै त्यही खोलाको दहमा हाम फालेर मर्ने, बच्चासँगै रविको घरमा गएर
जवरजस्ती भित्रिने, बच्चालाई खोलाको भेलमा
झ्याँकेर आपूm मात्र घर जाने ।’
तीन विकल्प उनले सोचिन् ।
उनलाई अझै बाँच्नु थियो । यो अनमोल जिन्दगी किन खेर फाल्नु ? बच्चा हरेक स्वास्नी मान्छेले
जन्माइ नै रहेका हुन्छन् । कति महिलाहरू परपुरुषसँग लागेर अर्कै घरबार बसालेकै छन्
। रविसँग गएर जिन्दगीभर कलह हुन्छ । समाजले कति थुक्छथुक्छ । यी विकल्प पनि उनलाई
ठिक लागेन । बरु बच्चालाई खोलामा बगाएर जाने, यो विकल्प उनलाई ठिक लाग्यो । यो न कसैलाई थाहा
हुन्थ्यो न घरबार बिग्रिन्थ्यो ।
उनी बर्खेबाट बच्चालाई
छातीमा टाँसेर खोलाको किनारमा पुगिन् । उनको मातृह्रदय एकाएक पग्लियो । उनका
हातहरू थरर कामे । उनले क्वाँ... क्वाँ... रोएर बच्चालाई छातीमा बेस्सरी टाँसिन् ।
खोलामा बगाउने बित्तिकै बच्चा मर्न सक्थ्यो । उनको मनले त्यसो गर्न नमानेर बच्चा
बोकेर अलिपर बगरमा उभिइन् । खोलाको बगरमा ठुलाठुला ढुङ्गा थिए । ती ढुङ्गाको आडमा
सुकेका काँसका डाँठहरू जम्मा गरेर उनले राखिन् । वरिपरि ढुङ्गाको गारो लगाएर सानो
ओडारजस्तो बनाइन् । अनी मजेत्रोमाथि बच्चा सुताएर उठेकी मात्र के थिइन् फेरि बच्चा
टिपेर छातीमा टाँसिन् र क्वाँ क्वाँ रुन थालिन् । उनका आँखाबाट झरेका आँसुले
बच्चाको अनुहार अलेली भिजेको थियो । उनले बच्चालाई छातीमा टाँसेर अघाउन्जेली दुध
खुवाइन् र त्यहीँ सुताइन् । बच्चालाई ढुङ्गाले नकिचिने गरी छोपेपछि उनी दृढ भएर
उभिइन् । त्यसपछि उनी खोलामाथिको टारी खेतको डिलमा पुगेर छाती पिटीपिटी दुवै हातले
आँसु पुछेर रोइरहेकी थिइन् । एकाएक रोई मुर्छा परेर ब्युँतिदा एउटा अधबैँसे
मानिसले बच्चा बोकेको देखिन् । त्यतिखेर उनकोे ह्रदय केही हल्का भएको थियो ।
डम्बरसिंह काँसघारीमा
गाईबस्तु छाडिदिएर खोलाको भित्तामा रहेको क्यामनाको बोटको छाहारीमा बसेका थिए ।
उनी चर्को घामको कारण धेरै प्यास लागेर खोलाको किनारमा पुग्दा बच्चा रोएको सुने ।
यताउता हेर्दा कतै मान्छे छैन । खोलाको ढाँडमा कतैकतै बच्चाका समेत चिहान थिए ।
एक्लैदुक्लै हुँदा चिहान नजिकैतिर तर्साउँछ भन्ने डम्बरसिंहले सुनेका थिए । बच्चै
हो कि के हो भन्ने मनमनै सोचेर डम्बरसिंहले केही बेर उभिएर शान्त किसिमले सुने ।
त्यो रुवाइ जीवित बच्चाकोजस्तै आवाज थियो । ‘यो भ्रम होइन वास्तविकता हो । एकपटक के रहेछ
बुझौँ ।’ डम्बरसिंह बच्चा रोइरहेको
स्थानमा पुगे । वरिपरिका ढुङ्गा पन्छाएर हेर्दा साँच्चै त्यहाँ बच्चा नै थियो । दश
मिनेटसम्म उनले यताउता हेरे तर उनका आँखाले देख्न सक्ने चारैतिरको दिशामा कुनै
मानव आकृति देखिएन । उसको मनमा एउटा भावना आयो, ‘म आजसम्म बाबु हुन सकिनँ । मेरी श्रीमती आमा
हुन सकिनँ । हो, आज मलाई भगवान्ले बाबु बनाउन
खोजेका होलान् । यो बच्चा लिएर पाल्छु । कसैले यो मेरो बच्चा हो भनेर केही दिनसम्म
माग्न आयो भने दिउँला । नत्र पापिनी आमाले खोलामा फालेको बच्चा म संरक्षण
गर्छुभन्दा गाउँ, समाजले के नस्विकार्ला र ?’ भन्ने सोचेर उनले बच्चा
हातमा समाए । रुँदै गरेको बच्चा एकाएक रुवाइबाट रोकियो ।
डम्बरसिंहले बच्चालाई आफ्नो
इष्टिकोट फुकालेर बेरबार गर्दै छातीमा टाँसेर भने, ‘आजकाल ह्रदयमा कस्तो माया र दया नभएका आइमाई
जन्मिएका रहेछन् । आफ्नो गर्भबाट जन्मेको बच्चा खोलाको छेउमा फालेर जान सक्ने
आमाको ह्रदय ढुङ्गाभन्दा कति कठोर रहेछ । त्यस्तालाई आमा पनि कसरी भन्नु ?’
बच्चा भुइँमा राखेर उनका
दुवै हात समाएर डम्बरसिंहले फेरि भने, ‘हेर् बाबु ! तँ अभागी रहेछस् । दुध खुवाएर
सेकताप गर्नुपर्ने बेलामा तँलाई बगरको ढाँडमाथि फालेर आमा हिँडिछे । त्यो वास्तवमै
पापिनी आमा हो । आफ्नै कोखबाट जन्मेको बच्चा फाल्न सक्ने आमा नभएर नरपशु हो । उसको
ह्रदयमा मातृवात्सल्य भन्ने कुरा रहँँदैरहेनछ । खैर, केही छैन । म तेरो भाग्य निर्माण गर्छु ।
आजदेखि म तेरो बाबु बनेँ ।’
òòò
सन्तमायाले यतिखेर त्रिचालीस
वर्ष अघि आफ्नो जीवनमा घटेको बिर्सनै नसक्ने घटना सम्झिएकी थिइन् । यो उमेरसम्म
उनलाई थाहा थियो विश्वास मैले जन्माएको छोरो हो । मात्र सरोगेट छोरो । यो कुरा न
विश्वासलाई थाहा थियो न समाजलाई । थाहा थियो त त्यही बच्चा छाडेका ठाउँका नबगेका
खोलाका ढुङ्गा र सन्तमायालाई थियो । आज त्यो सम्झनाले उनी भक्कानिएकी थिइन् ।
उनले जन्माएर पालेको छोराले
बिदेश गएर बिर्सिएकोमा पीडा त थियो नै तर विश्वास आफूले जन्माएको छोरो हो भन्न उनी
न सक्थिन् न त समाजका कुनै मानिसले पत्याउँथे । विश्वासको सामाजिक कार्य र
राजनैतिक सेवाबाट सन्तमाया राम्ररी प्रभावित भएकी थिइन् । मञ्चमा प्रमुख अतिथिको
नाताले उनलाई खादा ओडाइदिँदा सन्तमायाको मन यति प्रफुल्लित भएको थियो कि त्यो कसरी
व्यक्त गर्न सक्थिन् र ?
घुँडा दुखेर मञ्चमा आउन
नसकेको अवस्थामा दुवै हात अठ्याएर विश्वासले मञ्चमा लगेको र खादा लगाइदिएर सम्मान
गर्दाको क्षणले सन्तमायाको मन खुसीले गद्गद् भएको थियो । खादा लगाइदिएपछि एकहातले
सन्तमायाको पाखुरामा समाएर मञ्च अगाडि श्रोतादीर्घाको अघिल्तिरको खाली कुर्सीमा
बसाउँदा सन्तमायाको मुखबाट एक्कासि झिनो स्वरमा निस्किएको थियो, ‘विश्वास तिमीलाई विश्वास
नलाग्न सक्छ । मैले नै तिमीलाई जन्माएकी हुँ । म तिम्री आमा हुँ !’
त्यतिखेर मञ्च र
श्रोतादीर्घामा भएका सबै मान्छेहरू आश्चर्य मानेर सन्त मायातिर हेर्दै थिए ।
- ९८४१३६५७६६